ओल्गा मुर्रे सानो छँदा

सबैकी छुल्याहा

ओल्गा मुर्रे नेपाली बालबालिकालाई माया गर्ने अमेरिकी हुनुहुन्छ । उहाँलाई ‘ओल्गा दिदी’, ‘ओल्गा ममी’ भनेर चिनिन्छ । उहाँले ‘नेपाल युथ अपर्च्युनिटी फाउन्डेसन’को स्थापना गर्नुभएको छ । उहाँ संस्थाको अध्यक्ष हुनुहुन्छ । फाउन्डेसनले बालबालिका र युवाका लागि काम गर्दै आएको छ । ओल्गा सन् १९२५ जुन १ मा रोमानियाको ट्रान्सिलभानियामा जन्मनुभएको हो । ओल्गाका पिताको नाम जोसेफ र माता माटिल्डा हो । उहाँले कोलम्बिया विश्वविद्यालय (सन् १९४९) मा राजनीतिकशास्त्र पढ्नु भयो । जर्ज वासिंगटन विश्वविद्यालयको ल स्कुल (सन् १९५४) बाट कानुनमा स्नातक (बिएल) गर्नुभयो । उक्त स्कुल पढ्ने थोरै छात्रा थिए । त्यसबेला महिलालाई वकिल हुन गाह्रो थियो । उहाँ क्यालिफोर्निया राज्यको सर्वोच्च अदालत पुग्नुभयो । उहाँलाई प्रधानन्यायाधीश फिल गिब्सनले अनुसन्धान गर्ने वकिलको काम दिनुभयो । उहाँले मानवअधिकार, महिलाअधिकार र वातावरण संरक्षणबारे महत्वपूर्ण फैसलामा सहयोग गर्नुभयो । उहाँ सन् १९८४ मा पहिलोपटक नेपाल जानुभयो । पोखराबाट घुम्दै सिकलेसको पुग्नुभयो । सन् १९८५ र १९८७ मा फेरि नेपाल जानुभयो । बालबालिकाको अवस्था नराम्रो देख्नुभयो । सन् १९९० मा उहाँले फाउन्डेसनको स्थापना गर्नुभयो । अहिले उक्त फाउन्डेसनलाई ‘नेपाल युथ फाउन्डेसन’ मात्र भनिन्छ । ३७ वर्ष अदालतको सेवा गर्नुभयो । उमेर पुगेर सन् १९९२ मा काम छाड्नुभयो । उहाँले पश्चिम नेपालका कमलरी मुक्तिका लागि काम गर्नुभएको छ । ओल्गाले सन् २००१ पछि धेरै सम्मान पाउनुभएको छ । धेरै देश घुम्नुभएको छ । ओल्गा ६/६ महिना नेपाल र अमेरिका बस्नुहुन्छ । यसपटक ओल्गाका बाल्यसम्झना :
म छ वर्षको हुँदा हामी अमेरिका आयौं । मेरा दिदी, बहिनी र दाजु जन्मनुभएको हो । म तेस्रो हुँ । सुरुमा अंग्रेजी बोल्न गाह्रो भयो । बुबाआमाले हामीलाई हामीजस्ता साना साथीसँग खेल्न पठाउनुहुन्थ्यो । तीन महिनामै हामीले फरर अंग्रेजी बोल्न जान्यौं । अनि स्कुल गयौं । मैले न्युयोर्क पब्लिक स्कुल पढें । यो सरकारी स्कुल हो । यहाँका सरकारी स्कुलमा ड्रेस लाउनु पर्दैन । स्कुल हिंडेर जान्थे । २० मिनेटमा पुगिन्थ्यो ।
मलाई मनपर्ने विषय इतिहास हो । स्कुलमा म राम्रो विद्यार्थी थिएँ । धेरै जान्ने वा जान्दै नजान्ने होइन । म धेरै साथीमाझ प्यारी थिएँ । सबैसँग घुलमिल हुन्थें । म अरूलाई माया र दया गर्ने स्वभावकी थिएँ । अझै करुणा र न्यायमा विश्वास गर्छु ।
सानोमा किताब पढ्न रुचि राख्थें । कथाजस्ता र अन्य पुस्तक पढ्थे । मलाई ‘रोलर स्केट’ मन पर्थ्यो । त्यो पनि म साथीहरूसँग खेल्थे । मलाई भ्वाइलिन बजाउन मन पर्थ्यो । स्कुलमा विभिन्न क्लब थिए । त्यसमा म सदस्य थिएँ । म स्कुलमा विभिन्न प्रतियोगितामा भाग लिएर धेरै प्रमाणपत्र पाएकी थिएँ । मलाई हटडग र आइसक्रिम खुब मन पर्थ्यो ।
बिदाका बेला परिवारका सबै सदस्य धेरै घुम्थ्यौं । शहरबाहिर जान्थ्यौं । बिदाभरलाई घर भाडामा लिन्थ्यौं । त्यहि बस्थ्यौं । त्यहाँ आगो ताप्थ्यौं । गीत गाउथ्यौं । छलफल गर्थ्यौं ।
बुबाआमाले हामीलाई खुब माया गर्नुहुन्थ्यो । बुबा विश्वका विभिन्न समाचार कति सुन्दै छौं की छैनौं भन्ने बुझ्नुहुन्थ्यो । आफूले जानेको सिकाउनुहुन्थ्यो । खाना टेबलमा त्यस्ता विषयमा छलफल हुन्थ्यो । आमा भने हामीले कस्तो खायौं ? हाम्रो स्वास्थ्य कस्तो छ ? जाडोमा न्यानो लुगा लगायौं की लगाएनौं ? भन्ने ख्याल गर्नुहुन्थ्यो ।
घरमा बेलाबेला दिदीबहिनी र दाजुसँग तर्कातर्की हुन्थ्यो । म आफ्ना कुरा राख्थे । जो पनि आफ्ना कुरा ठीक हो भन्छन् । सबै मेरा कुरा ठीक होइन भन्थे । मलाई छुल्याहा भन्थे ।
स्कुलबाट फर्केपछि हामी खाजा खान्थ्यौं । एक घण्टा जति खेल्थ्यौं । अनि पढ्न बस्थ्यौं । यो हाम्रो रुटिन नै थियो ।
स्कुल पढ्दा मेरा अक्षर राम्रा थिएनन । अचम्म लाग्छ । कहिलेकाही त म मेरै अक्षर चिन्दीनथें । पढ्न सक्दिनथें ।
अन्त्यमा, म नेपालका साना साथीलाई धेरै पढ्नु भन्छु । पछि धेरै राम्रो मान्छे हुन सानैमा मेहेनत गर्नुपर्छ । आफू के बन्न खोजेको हो । त्यो स्पष्ट हुनुपर्छ । मन दह्रो बनाउनुपर्छ । त्यसो भनेर रमाउँदै मेहेनत गर्नुपर्छ ।
(कान्तिपुर दैनिकको २०६७ कार्तिक १४ को बालकोसेली ‘कोपिला’ मा प्रकाशित, शब्दः राजेश कोइराला/अमेरिका, तस्बिर : नेपाल युथ फाउन्डेसन)
Want to read page, click here to get PDF.

Write a comment