कुलचन्द्र गौतम सानो छँदा

हँसिला बालकवि

कुलचन्द्र गौतम विश्वभरका बालबालिकाको हितमा काम गर्ने नेपाली हुनुहुन्छ । उहाँले लामो समय संयुक्त राष्ट्रसंघमा काम गर्नुभएको छ । राष्ट्रसंघमा सबैभन्दा माथिल्लो ओहदामा पुग्ने उहाँ एक नेपाली पनि हुनुहुन्छ । उहाँको जन्म गुल्मी जिल्लाको अमरपुर गाउँमा २००६ साल मंसिर ६ गते (सन् १९४९) भएको हो । उहाँका पिताको नाम ओमप्रसाद र माताको नाम हिमा गौतम हो । उहाँ पहिलो सन्तान हो । उहाँहरू ३ भाइ र ४ बहिनी जन्मनु भएको हो । स्कुलको पढाई सकेपछि सिधा सम्पर्कबाट अमेरिका पढ्न जान खोज्दा उहाँले पासपोर्ट पाउनु भएन । एक वर्ष काठमाडौं बस्नुपर्‍यो । त्यो बेला उहाँले काठमाडौंको त्रिचन्द्र कलेजमा पनि पढ्नुभयो । पढाई खर्च जुटाउन अमेरिकी सहयोग नियोग (युएसएआइडी) का विभिन्न सामग्री अनुवाद गर्नुभयो । एक वर्षपछि सहसचिव दीर्घराज कोइरालाको मद्दतले उहाँ अमेरिका आउन पाउनु भयो । सन् १९६८ सेप्टेम्बरमा अमेरिकाको न्यू ह्याम्सर राज्यको डार्मोथ कलेजमा आएर पढ्नुभयो । त्यहाँ पढ्न आइपुग्ने उहाँ पहिलो नेपाली विद्यार्थी हुनुहुन्थ्यो । प्रिन्स्टन र हार्भर्ड युनिभर्सिटीमा पढ्नुभयो । भियतनाम युद्धप्रतिको चासो र त्यसपछि युद्धविरामका लागि भएको पेरिस सम्झौताले उहाँलाई राष्ट्रसंघप्रति आकषिर्त गर्‍यो । उहाँले सन् १९७३ मा राष्ट्रसंघमा प्रवेश गर्नुभयो । संघमा उहाँलाई राष्ट्रसंघीय बालकोष (युनिसेफ) मा खटाइयो । भियतनाम जानुभयो । त्यसपछि संघका लागि निरन्तर काम गर्नुभयो । गौतमले कम्बोडिया, हैटी, ल्याटीन अमेरिकी तथा क्यारिबियन देशहरू, लाओस, भारत आदिमा पुगेर काम गर्नुभयो । बालकोषका कार्यकारी निर्देशक हुनुभयो । सन् २००७ डिसेम्बरमा संघबाट सेवानिवृत्त हुनुभयो । उहाँ अहिले धेरै सामाजिक संस्थामा रहेर काम गर्नुहुन्छ । विश्वका धेरै देश पुगेका गौतमले विश्व चर्चित सम्मान पाउनुभएको छ । उहाँ २०६७ साउनदेखि प्रधानमन्त्रीका सल्लाहकार हुनुहुन्छ । राष्ट्रसंघ महासभा अध्यक्षमा उहाँलाई नेपालले उम्मेद्वार बनाएको छ । यसपटक गौतम सानो छँदाका केही सम्झना :
अमरपुर गुल्मीको विकट गाउँ हो । म सानो छँदा हाम्रो गाउँ देशका अरू गाउँ जस्तै थियो । त्यहाँ खानेपानी, बिजुली, बाटोघाटो, अस्पताल थिएन । म त्यहिं हुर्के । त्यहि मेरो शिक्षा आरम्भ भयो । मलाई हजुरबुबा कपिलमणि गौतमले अक्षर चिनाउनु भयो । उहाँ मलाई संस्कृत पढाएर ठूलो पण्डित बनाउन चाहनुहुन्थ्यो । मैले गाउँकै एक गुरूसँग संस्कृत पढें । चण्डी, रूद्री, अमरकोश, व्याकरण पढें । सात वर्षको उमेरमा म नदी पारीको गाउँमा गएर पढ्थे ।
म सानो छँदा पृथ्वीको उत्पत्ति, तारा, आकाशदेखि धर्म, अनौठा चमत्कार जस्ता विषयका बारेमा अनेकौं प्रश्न गर्थे । पछिसम्म मलाई मेरा अग्रजले भन्नुहुन्थ्यो । उहाँहरूलाई यस्ता प्रश्न सोध्यासोध्यै गरेर म दिक्क लगाउँथे रे ।
दश वर्षको भएपछि मलाई संस्कृत र धर्मशास्त्र पढाउन भारतको काशी (बनारस) लगियो । तर त्यहाँ धेरै पढिनँ । एकजना नातेदारले अंग्रेजी स्कुल पढ्दा पछि सरकारी जागिर खान सजिलो हुन्छ भन्ने सल्लाह दिएपछि मलाई काठमाडौं लगियो । तर काठमाडौंको हावापानी मलाई फापेन । म बिरामी भएँ । मलाई घर फर्काइयो । त्यसपछि मेरो पढाई तानसेन, पाल्पामा भयो । तानसेन पुग्न घरबाट ३ दिन हिड्नुपर्थ्यो ।
एसएलसीभन्दा पहिला मैले तानसेनको जनता माध्यमिक विद्यालय (अहिले उच्च मावि) मा पढें । त्यो स्कुलमा हाम्रा हेडमास्टर जगतबहादुर जोशी हुनुहुन्थ्यो । उहाँ भाषा, साहित्य, संगीतमा रूचि राख्नुहुन्थ्यो । हामीलाई प्रेरणा दिनुहुन्थ्यो । म स्कुलभरमै राम्रो विद्यार्थी थिएँ । उहाँ मलाई भन्नुहुन्थ्यो, ‘तिमी जेहेन्दार छौ । मेहनत गर । राम्रो पढ । ठूलो मान्छे बन्छौं ।’ अहिले पनि उहाँको प्रेरणालाई सम्झन्छु । त्यसैले मैले उहाँका नाममा आफ्नो विद्यालयमा एउटा सभाकक्ष बनाइदिएको छु ।
स्कुल पढ्दा कक्षाका किताब मलाई निकै सजिला लाग्थे । छोटो समयमै पढेर सिध्याउँथे । अनि म पुस्तकालय चहार्न हिंड्थे । तानसेनमा त्यसबेला नै २/३ वटा पुस्तकालय थिए । त्यहाँको धवल पुस्तकालय, नेपाल भारत सांस्कृतिक केन्द्रको पुस्तकालय निकै राम्रा थिए । हरेक दिन पुस्तकालय जान्थे । त्यसबेलासम्म लेखिएका नेपाली साहित्यका पुस्तक मैले हाइस्कुल सक्दा पढिसकेको थिएँ । मैले लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम, भीमनिधि तिवारी आदिले लेखेका पुस्तक पढेको थिएँ । त्यसो गर्दा १६ वर्षको हुँदा मैले नेपाली साहित्यमा उत्कृष्ट कृति पढिसकेको थिएँ । मलाई नेपाली र अंग्रेजी विषय पनि मन पर्थ्यो ।
त्यस्तै असल पुस्तक र जोशी सरको हौसलाले म साहित्यमा विशेष चाख राख्ने विद्यार्थी भएँ । अन्ताक्षरीमा त मेरो नाम खुब चलेको थियो । म छोटा निबन्ध लेख्न सिपालु थिएँ । कविता राम्रो लेख्थें । कविगोष्ठीमा भाग लिन्थें । त्यसबेला जिल्लामा बडाहाकिम हुनुहुन्थ्यो, दिगम्बर झा । उहाँ पनि साहित्यमा लाग्नेलाई प्रोत्साहन दिनुहुन्थ्यो । उहाँले मलाई ‘बालकवि’ लेखिएको मेडल दिनुभएको थियो ।
म जनता स्कुलमा कक्षा ७/८ मा पढ्दा दुई जना अमेरिकी केन मार्टिन र बिल क्लेटन आउनुभएको थियो । उहाँहरू अमेरिकी स्वयंसेवक संस्था ‘पिस कर्प’ स्वयंसेवक हुनुहुन्थ्यो । उहाँहरू अंग्रेजी पढाउनुहुन्थ्यो । म राम्रो विद्यार्थी भएकाले उहाँहरूको संगत गर्न पाएँ । उहाँहरूसँग अंग्रेजी बोल्न सिके । उहाँहरूसँग चेस खेल्थे । उहाँहरू मलाई भन्नुहुन्थ्यो, ‘तिमी राम्रा विद्यार्थी हौं । स्कुलको पढाई सकेपछि पढ्न अमेरिका जान कोशिश गर्नु ।’ मलाई अचम्म लाग्थ्यो, ‘कसरी जान पाइने होला ?’ मलाई उहाँहरूबाट पनि ठूलो प्रोत्साहन मिल्यो ।
म सानोमा पढन्ते थिए । हँसिलो थिए । म एसएलसी दिंदा काठमाडौं पुगें । मैले जुद्धोदय पब्लिक हाइस्कुल (जेपी हाइस्कुल) क्षेत्रपाटी (ठमेल) बाट एसएलसी दिएँ । फर्स्ट डिभिजनमा पास भएँ । त्यस बेला देशभरमा फर्स्ट डिभीजनमा पास हुने निकै नै कम विद्यार्थी हुन्थे ।
यसरी बाल्यकाल बित्यो । ठूलो भएपछि अमेरिका पुगे र धेरै बाहिर रहें । अब देशका लागि केही गर्न फर्केको छु ।
म ‘उद्देश्य के लिनु, उडि छुनु चन्द्र एक’ भन्न चाहन्छु ।
(२०६७ कार्तिक ७ कान्तिपुरको बालकोसेली कोपिलामा प्रकाशित, शब्द : राजेश कोइराला/अमेरिका, तस्बिर : युनिसेफ)
Want to read page, click here to get PDF.

Write a comment