लक्ष्मी गिरी सानो छँदा

बाँदर मेरो साथी

लक्ष्मी गिरी कलाकार हुनुहुन्छ । उहाँ नेपाली, भोजपुरी, मैथली र नेपाल भाषा (नेवार समुदायको भाषा) चलचित्रहरूमा चरित्र अभिनेत्री हुने पहिलो महिलाकलाकार पनि हुनुहुन्छ । उहाँको जन्म २०११ माघ ६ मा काठमाडौंको पशुपति क्षेत्र, देवपत्तनमा भएको हो । उहाँका पिताको नाम मुक्तिनाथ पौडेल र माताको नाम उजेली अधिकारी हो । उहाँ एक्लो सन्तान हो । लक्ष्मीले एक सयभन्दा बढी चलचित्रमा अभिनय गर्नुभएको छ । उहाँलाई ३ सय ७२ वटा टेलिश्रृंखलामा देखिसकिएको छ । मदनकृष्ण र हरिवंशको नाटक ‘विज्ञापन’ को कूल ३ सय ८९ प्रदर्शनमा उहाँले २ सय ८९ पटक अभिनय गर्नुभएको छ । यसबाहेक उहाँले अभिनय गरेका नाटकको संख्या धेरै छ । ‘विज्ञापन’ नाटककै प्रदर्शन र अन्य कार्यक्रमसहित उहाँले अमेरिकाका ३५ राज्य, बेलायतका ३ राज्य, हङकङका धेरै भाग, भारत आदि देश देख्ने मौका पाउनुभएको छ । कलाकारिताबाहेक उहाँले २०२८ देखि २०५१ सालसम्म नेपाल राष्ट्रबैंकको जागिरे भएर बिताउनुभयो । बैंकको सहायक पदमा कार्यत हुँदा २०३८ सालमा बैंकको रजतजयन्तीका अवसरमा प्रदर्शित नाटकमा उत्कृष्ट प्रदर्शन गरेवापत दुई ग्रेड वृद्धि भयो । २०४२ सालमा नेपाल टेलिभिजनको औपचारिक प्रसारण सुरु भएयता निरन्तर नेटीभीमा अभिनय गर्ने महिलाकलाकार उहाँमात्रै हुनुहुन्छ । उहाँको पहिलो टेलिश्रृंखला ‘अप्रिल फर्स्ट’ हो । उहाँ साहित्यमा पनि रुचि राख्नुहुन्छ । यसपटक गिरी सानो छँदाका केही सम्झना :
मैले ब्राह्मण परिवारमा जन्मिए पनि नेवारी भाषाको डबली नाटकबाट आफ्नो अभिनययात्रा सुरु गरेकी हुँ । पशुपतिमा ७/७ दिन, १५/१५ दिनमा नाटक हुन्थ्यो । चाडपर्वले पनि मलाई कलाकार बन्न प्रेरणा दियो । मैले ११ वर्षदेखि बालकलाकारका रुपमा अभिनय थालेकी हुँ । त्यो बेलाको समाज, महिलालाई समाजले हर्न दृष्टिकोण ज्यादै संकुचित थियो ।
म एक वर्षको हुँदा नै बुबा बित्नुभयो । उहाँ त्यसबेलाको ज्यामिरे एयरलाइन्स र गरुड एयरलाइन्सका लागि काम गर्नुहुन्थ्यो । पोखरा बस्नुहुन्थ्यो । उहाँको सम्झना छैन । एउटा तस्बिरसमेत छैन । कोही कसैसँग भए, पाउँदा म असाध्यै खुसी हुने थिएँ । मेरी हजुरआमा देवकुमारी पौडेल सबभन्दा तगडा हुनुहुन्थ्यो । उहाँ पाल्पा पुगेर बिरामीको सेवा गर्ने पहिलो नर्स हुनुहुन्थ्यो । बुबा बितेपछि आमा र उहाँ भएर नै सबै घर सम्हाल्नुभएको हो । पाल्पाबाट फर्केपछि हामी पशुपतिक्षेत्रमा बस्यौं । अनि हजुरआमाले नर्सको तालिम पाउनु भयो । उहाँको दीक्षान्त समारोहमा म पनि गएकी थिएँ । १८ जना नर्स २०१८ सालमा तयार पारिएका थिए । म पनि आफू नर्स बन्छु भन्थें ।
मैले पशुपति पाठशाला (अहिलेको शारदा माध्यमिक विद्यालय) मा पढें । २०२९ सालमा एसएलसी दिएँ । २०३० सालमा बिहे भयो । त्यसपछि पढ्ने मौका मिलेन ।
२०२४ सालमा गाउँफर्क अभियान भन्ने कार्यक्रम आएको थियो । त्यसबेला रेडियो नेपालको बालकार्यक्रम यादव खरेलले चलाउनुहुन्थ्यो । म कविता लेख्न जान्ने थिएँ । अरुका लागि पनि कविता लेखिदिन्थें । मेरा कवितामा अरुले पुरस्कार पाउँथे । म भने खिन्न हुन्थें । महिनाको अन्तिम कार्यक्रम थियो । मैले कविताबाहेक विभिन्न आवाज निकाल्ने जमर्को गरें । बच्चा रोएको, रेल कराएको, कुखुरा कराएको आवाज निकालेर सुनाएपछि यादव खरेलले पाँच मोहर दिनुभयो । निकै रमाइलो लाग्यो ।
म कक्षाकै जान्ने विद्यार्थी थिएँ । मलाई गणित मन पर्दैनथ्यो । अंग्रेजी, विज्ञान मनपर्थ्यो । कण्ठ गर्ने भएकाले मन परेको हो । मेरो ह्यान्डराइटिङ ठिकै थिए । मलाई साथी बनाउन उत्तिको मन पर्दैनथ्यो । म ज्ञानी थिएँ । म किताब खुब पढ्थे । किताब नै साथी भए ।
स्कुलमा ड्रेस थिएन । स्कुलमा छोरीहरू पढ्थे । तर कम थिए । पशुपतिक्षेत्रमा छोरी पढाउनुपर्छ भन्ने चेतना थियो । अहिलेको सञ्चारग्राम भएका ठाउँमा सरसफाइ गर्नेहरूको बसोबास थियो । एकदिन हामी साथीले बोलाए भनेर त्यहाँ गयौं । सुँगुरको मासु पकाएको रहेछ । खपासप खायौं । घर आएर आमालाई सुनाउँदा गहुँत, गोबर, सुनपानी छर्केर हजुरआमाले नुहाइदिनुभयो । त्यसबेलाको समाजका अगाडी त्यसो नगर्दा आफू भिन्न हुने डर थियो ।
घरमा मलाई ‘भवु’ भनेर बोलाउनुहुन्थ्यो । त्यो भनेको भवानी हो । न्वारानको नाम नुतनकुमारी हो । म सानोमा हजुरआमासँग सुत्थें । एक्ली छोरी/नातिनी भएपनि पुल्पुलिएर म बिग्रीनछु ।
सानोमा रुख चढ्न खुब सिपालु थिएँ । रातो पुलदेखि गुह्येश्वरीसम्मका सल्ला र नास्पातीका सबै रुख चढेकी थिएँ । मलाई बाँदरसित खेल्न मनपर्थ्यो । एकपटक बाँदर नै घर ल्याएँ । घरमा गाली गर्नुहुन्थ्यो । मैले बाहिरै राखेर खानेकुरा दिएकी थिएँ ।
शिवरात्रीमा भारतबाट तीर्थयात्रु आउँथे । होटल र धर्मशाला थिएनन् । घरघरमा बस्थे । जति बसे पनि ३/४ सय भारतीय रुपैयाँ लिने चलन थियो । म ‘माइजी यह पशुपतिका बेटा है’ भनेर पैसा चढाउन लगाउँथे । धेरै पैसा भेला पारेर भट्मास किन्थे र साथी, साना भाइबहिनीलाई बाँढ्थें ।
म पौडी खेल्थें । घरबाट आमाको पेटिकोट लुकाएर लगेर पौडन्थें । पेटिकोट नपाउँदा ठूलो टालो लान्थें । एकपटक साथीले धकेलिदिए । असार/साउनको भेल थियो । निकै तल पुर्‍यायो । एकजना सिपालु दाईले कपालमा समाएर सररर पारेर निकाले । उनले मलाई नपौडनु, चुप लागेर बस्नु भनेका थिए । म क्यारेमबोर्ड, ब्याडमिन्टन खेल्थे । हाइजम्पमा पहिलो भएर २०२६ सालमा पहिलो भएँ ।
हामीलाई सूर्यमान श्रेष्ठ, बद्री श्रेष्ठ, भीष्म बाजे, विजयसिंह बर्मा, इन्दु तुलाधरले पढाउनु भयो । हामी फूर्तिला थियौं । त्यसैले जोरपाटीको चामुन्डा स्कुल खोल्ने बेलामा नृत्य गर्न गयौं ।
यसरी नै बाल्यकाल बितायौं ।
(शब्द : राजेश कोइराला, तस्बिर : नवराज वाग्ले, २०६७ जेठ २३ मा कान्तिपुर दैनिकको बालकोसेली कोपिलामा प्रकाशित)

Write a comment