लीलाराम न्यौपाने सानो छँदा

मृत्युको मुखमा नुन

लीलाराम न्यौपाने समाज सेवामा संलग्न उद्योगपति हुनुहुन्छ । उहाँको जीवनीमा आधारित पुस्तक हालै सार्वजनिक भएको छ । लीलाराम-कुन्तीदेवी न्यौपाने प्रतिष्ठानले न्यौपानेले सामाजिक सेवामा योगदान पुर्‍याएवापत उहाँको जीवनीमा आधारित ‘लीलाराम न्यौपानेको जीवनी र व्यक्तित्व’ नामक पुस्तक सार्वजनिक गरेको हो । न्यौपाने-परिवारले अम्बे सिमेन्ट, अम्बे स्टिल्स, जगदम्बा सिमेन्ट, यमयम चाउचाउ जस्ता करिब डेढ दर्जन उद्योगमा लगानी गरेको छ । लीलारामले व्यक्तिगत रुपमा धेरै संघसंस्थालाई धेरै सहयोग गर्नुभएको छ । उहाँको जन्म १९८५ साल चैत २९ गते गुल्मी जिल्लाको हुँदी झेर्दीथुम्कामा भएको हो । उहाँका पिताको नाम विश्वराम र माताको नाम गायत्रीदेवी हो । उहाँहरू तीन दाजुभाई र एक बहिनी जन्मनुभएको हो । लीलाराम कान्छो छोरा हुनुहुन्छ । बहिनीको सानैमा निधन भयो । यसपटक न्यौपाने सानो छँदाका केही सम्झना :
म जन्मँदा पिता घरमा हुनुहुन्नथ्यो । दाजुहरू लिएर पितामाता नेपाल आउनुभएको थियो । त्यसबेला हाम्रो परिवार बर्मामा बस्थ्यो । नेपाल आएको एक वर्षभत्र बर्मा फर्कनु पर्ने भएकाले पिता फर्कनुभएको थियो । म जन्मेको ५ महिनामा ठूला बुबा लालुप्रसादसँग आमा हामीलाई लिएर बर्मा लाग्नुभयो । म ९ महिनाको भएपछि पिताजीको निधन भयो । हाम्रो हेरचाह ठूला बुबा लालप्रसादले गर्नुभयो । तर पछि उहाँको पनि दुई वर्षपछि निधन भयो । पिता र जेठाजूको निधनपछि आमाले निकै दुःख गरेर हामीलाई हुर्काउनुभयो । अर्काको देशमा यस्तो दुःख कसैलाई नपरोस् ।
सानोमा हामीलाई पनि निकै दुःख भयो । म ४ वर्ष पुगेको थिइँन । एउटा घटना भयो । माटो खन्दा टाउकोमा कुटोले लाग्यो । गहिरो चोट लाग्यो । रगत बग्यो । धुलो हालेर रगत रोकियो । अहिले भए त्यसो गर्नुहुँदैन भन्ने ज्ञान हुन्थ्यो ।
बर्मामा हामी सेखौ गाउँमा बस्थ्यौं । त्यहाँ नेपालीको ठूलो बस्ती थियो । त्यहाँका सबैजसो मानिस खेतीपाती र पशुपालन गर्थे । त्यहाँ बाहुन, क्षेत्री, मगर, नेवार, कामी, दरै, सार्की आदि थिए ।
सानोमा हामी गुली-डन्डा, बाघचाल खेल्थ्यौं । माताले हामीलाई पढाउने व्यवस्था गरिदिनुभयो । हामी पिर्कामा लेख्थ्यौं । एकजना बंगाली मुलका मास्टर घरमै आउनुहुन्थ्यो । उहाँले तीन विषयमा एमए गर्नुभएको थियो । धेरै राम्रो पढाउनुहुन्थ्यो । सात वर्षको उमेरमा माहिला दाई बित्नुभयो । अनि ठूल्दाई र म मात्र बाँकी भयौं । म पढाइमा दाईभन्दा सिपालु थिएँ । एकपटक भनेपछि वा पढाएपछि म भुल्दिनथें । ध्यान दिन्थें । मन लगाएर सुन्थे पनि ।
हामी नेपाली र अंग्रेजी समय छुट्याएर पढ्थ्यौं । दाजुभन्दा म अलि सुरो थिएँ । आमाले कतै जानुपर्दा मलाई लिएर हिंड्नुहुन्थ्यो । म चन्चले र रिसाहा पनि थिएँ । दगुर्ने, भाग्ने, लडाईं मनपराउने स्वभाव थियो ।
बंगाली मास्टरजीले म ९ वर्षो हुँदासम्म पढाउनुभयो । अनि आमाको निधन भयो । सबैथोक बिग्रियो । त्यसपछि मैले धेरै काम गर्नुपर्ने भयो । मैले धेरै ठाउँमा जागिर खाएँ । १८/१९ वर्षको हुँदा अस्पतालमा जागिर खाँदा राती ड्युटी हुन्थ्यो । काम धेरै गर्नु पर्दैनथ्यो । राती ११ देखि बिहान ७ सम्म अस्पताल बस्दा बिरामीलाई केही भए वा उनीहरूले बोलाए काम हुन्थ्यो । यहि मौकामा मैले ट्युसन पढें । त्यसबेला पनि अर्का बंगाली गुरुजी हुनुहुन्थ्यो । उहाँ पनि धेरै राम्रो पढाउनुहुन्थ्यो । उहाँले पढाएको अंग्रेजी मलाई अझै काम लाग्दैछ ।
बर्मेली मुलका साथी थिए । हामी खेल्न जान्थ्यौं । तर उसको भाषा आफूले र आफ्नो भाषा उसले नबुझेपछि धेरै बेर खेलिदैनथ्यो ।
बर्मामा दशैं, तिहार, होली जस्ता चाड मनाइन्थ्यो । भारतका मानिस भएकाले होली रमाइलो हुन्थ्यो । हामीसँग प्रशस्त पैसा नहुने भएकाले चाडपर्व रमाइला हुँदैनथे । पशुपालन गरेको थियो र दूध आदि बेचिन्थ्यो । खान त हामी दाल, भात, तरकारी नै खान्थ्यौं । मलाई भने चामल भुटेको (खट्टे) खान मनपर्थ्यो । खट्टे दूधमा हालेर खाँदा मीठो लाग्थ्यो ।
आमा निधन हुँदाको एउटा घटना छ । हिउँदमा गाईवस्तु पाल्न घरबाट १०/१२ माइल टाढा लानुपर्थ्यो । एकपटक आमा थला पर्नुभयो । गाईवस्तु र दाजु त्यति टाढा हुनुहुन्थ्यो । अघिल्लो दिन आमालाई अस्पताल गएर भेटें । दूध घरघर लगेर बेच्नुपर्थ्यो । भोलिपल्ट आमा हेर्न जाँदा त्यो शय्यामा हुनुहुन्नथ्यो । मैले सोधें, ‘यहाँको मान्छे खोई ?’ त्यहाँका मान्छेले भने, ‘डेथ भयो ।’ उहाँको शरीर अन्यत्र लगिएछ । दाजुलाई बोलाउन सकिएन । उहाँ क्रियापुत्री बस्नुभयो ।
दोस्रो विश्वयुद्ध हुँदा हामी बर्मा मै थियौं । गोर्खा राइफल जापानी सेनाविरुद्ध लड्थ्यो । हामीले आफूलाई गोर्खाली भनेर चिनाउनु हुँदैनथ्यो । जापानीले मारिहाल्थे । टुपी पालेकाले हामी आफूलाई गान्धी भन्थ्यौं । त्यसो गरेर हामी बाच्थ्यौं ।
विश्वयुद्धका बेला एक वर्ष त बाघ-भालु लाग्ने वनमा बस्यौं र राती गएर बर्मेलीहरूको धान काट्ने, झाट्ने काम गर्थ्यौं । वनमा बस्दा आगो बाल्नुहुँदैनथ्यो । बम बर्साउँथे । हामी वनमा छौं भन्ने जापानीलाई कहिल्यै थाहा भएन ।
एकपटक फर्सी र पिंडालु बोकेर जाँदा जापानीले फेला पार्‍यो । सामान हेर्‍यो र २/३ किलोमिटर हिंडाएर उसको क्याम्प पुर्‍यायो । यता घरमा अबेरसम्म नफर्कदा मलाई जापानीले मारे भन्ने भएछ । तर क्याम्प लगेर तरकारी राखेर मलाई एक भाँडो नुन दियो । त्यसबेला एक किलो नुनलाई ४ सय रुपैयाँ पर्थ्यो । म फर्केपछि सबै खुसी भए ।
म भैंसी हेर्न वन गएको थिएँ । भैंसी हरायो । फेला परेन । रात पर्‍यो । रुखमा चढें । रातभर हाँगामा बसेर बिहान उत्रे । भैंसी खोजेर भोलिपल्ट घर फर्कें । एकपटक भैंसी लिएर फर्कदा मसानघाट आइपुगें । भुतले अँगालो हालेजस्तो लाग्यो । हातमा हँसिया थियो । त्यसैले हानें । चिच्याएँ । म कराएकाले भैंसी डराएर दौडिए । म पनि भैंसीसँगै घर पुगे । भुतले भेटेकाले पानी फुकेर खान दिनुभयो । त्यो अन्धविश्वास हो । भोलिपल्ट भुत भएको ठाउँ हेर्न गएको त पोथ्रो पो रहेछ । आफू हिंड्दा त्यो घुमेजस्तो देखेको रहेंछु । हँसिया त्यहिं रहेछ ।
मैले युद्ध, मातापिताको अभाव र दुःख खुब सहेको छु ।
(शब्द : राजेश कोइराला, तस्बिर : नवराज वाग्ले, २०६७ जेठ १६ मा कान्तिपुर दैनिकको बालकोसेली कोपिलामा प्रकाशित)

Write a comment