वसुन्धरा भुषाल सानो छँदा

समलाई भ्यागुतो

वसुन्धरा भुषाल चलचित्रकी अभिनेत्री हुनुहुन्छ । उहाँलाई हाँस्यसाम्राज्ञी उपाधि दिइएको छ । वसुन्धराको जन्म २००७ फागुन २६ मा काठमाडौंको क्षेत्रपाटीमा भएको हो । पिता सानुमान सिंह र माता बुद्धकुमारी सिंहका ६ छोरी र एक छोरा जन्मे । उहाँ साहिली छोरी हुनुहुन्छ । उहाँले आरआर क्याम्पसमा आइएसम्म पढ्नुभएको छ । उहाँले १ सय ३५ भन्दा बढी चलचित्रमा अभिनय गर्नुभएको छ । उहाँले रंगमञ्चबाट चलचित्र क्षेत्रमा प्रवेश गर्नुभएको हो । उहाँको पहिलो चलचित्र ‘आमा’ हो । ‘आमा’ मा उहाँ ‘ए रात्तै’ थेगो भन्ने बाल-कलाकार हुनुहुन्थ्यो । उहाँ चलचित्रकी पहिलो हाँस्य अभिनेत्री हो । भ्वाइलिन बजाउने पनि नेपालकै पहिलो महिला हुनुहुन्छ । चेतनारायण-वसुन्धरा पुरस्कार गुठीको अध्यक्ष, चलचित्र कलाकार संघ आदि संस्थामा रहेर काम गर्दै आउनुभएको छ । भुषालले भारत, तत्कालिन सोभियत संघ, उत्तर कोरिया, चीन, बर्मा, हङकङ, थाइल्यान्ड, अमेरिका, बेलायत, फ्रान्स, जर्मनी, स्विट्जरल्यान्ड, जापान, क्यानडा जस्ता देशको यात्रा गर्नुभएको छ । उहाँले धेरै सम्मान पाउनुभएको छ । पछिल्लोपटक अमेरिकाको न्यूयोर्क कलामञ्चको लाइफ टाइम अचिभमेन्ट अवार्ड र नेप्लीज वुमन वेल्फेयर अर्गनाइजेसनबाट सम्मान पाउनुभयो । यसपटक वसुन्धरा सानो छँदाका केही सम्झना :
सिंहदरबारभित्र एउटा स्कुल थियो । त्यो वुमन भोलन्टियर सर्भिसले चलाएको थियो । मैले कक्षा ३ सम्म त्यहि पढें । कक्षा ३ बाट ९ सम्म लैनचौरको कन्या हाइस्कुलमा पढें । एसएलसी दिने बेलामा म पकनाजोलको नेपाल युवक माध्यमिक विद्यालय पुगेकी थिएँ । २०२६ सालमा एसएलसी दिएँ । सेकेन्ड डिभीजनमा पास भएँ ।
म २०१४ सालमा पहिलोपटक मञ्चमा पुगें । जनसेवा हलमा ‘हात काट्यो वरै चालिसे चुराले, माया फाट्यो बरै गाउँघरको कुराले’ गीतमा नाचें । ‘डोला मैयाँ’ नाटकमा सुसारेको अभिनय गरें । सांस्कृतिक संस्थानमा २० वर्ष त जागिर खाएँ । नाटककार बालकृष्ण समकी चेली हुन पाएँ । मैले विजु वज्राचार्य अध्यक्ष रहेको ‘जननाट्य परिषद्’ बाट कलाकारिता सिके ।
सानोमा अरुलाई हँसाउन र तर्साउन खुब मनपर्थ्यो । तर आफू चाहिं खुब डराउँथे । म अनुहारमा कालो वा रातो रंग दलेर अरुलाई तर्साउँथे । काठको भर्‍याङमा हात छिराएर खुट्टा तानिदिन्थें । मलाई साथी बढी नै चाहिन्थ्यो ।
मलाई सानोमा भुवन थापा चन्द, सुभद्रा अधिकारी र विमला श्रेष्ठले नृत्य र अभिनय सिकाउनुभयो । मैले नारायणदेवी प्रधान, शिला मानन्धर, सरिता श्रेष्ठ, कृष्णा प्रधानलाई साथी बनाउन पाएँ । साह्रै सानो छँदाकी साथी देवकी श्रेष्ठ हुन् । लैनचौरमा कञ्चनमाला चालिसे, रोशन प्रधान साथी भए । टोलमा खेल्ने साथी शशी वैद्य र माधुरी शाह हुन् । लैनचौरमा पण्डितजी सर जगन्नाथ प्याकुरेल हुनुहुन्थ्यो । उहाँ पनि कडा स्वभावका हुनुहुन्थ्यो । म चाहिं उहाँलाई पनि हसाउँथे । नृत्य जान्ने भएकाले धेरै पटक माफी पाउँथे । इन्दिरा मानन्धर टिचिङ प्राक्टिसका लागि आउनुभयो । उहाँले हामीलाई धेरै माया गर्नुहुन्थ्यो । खेलकुदमा सहभागी गराउनुहुन्थ्यो । साइकल दौडाउने, आलु चम्चामा राखेर दौडने, तीनखुट्टे, कपर्दी खेलिन्थ्यो ।
वुमन भोलन्टियर सर्भिस जाँदा दिदी सिता थापा र उहाँकी साथी बुनु भण्डारीले झुण्याएर लानुहुन्थ्यो । सिंहदरबारको तबेलामा सेना हुन्थे । म मजाक गर्दै जान्थे । म नआएको दिन उनीहरूलाई नियास्रो लाग्थ्यो । सोध्थे रे । १३/१४ वर्षी हुँदा ‘आमा’ चलचित्रको छायांकन चोभारमा हुँदै थियो । म दिदी भुवन चन्दसँग गएँ । त्यहाँ ‘गरौंला हामी सिर्जना…’ गीत छायांकन हुँदै थियो । म छोराजस्तो फूर्तिलो थिएँ । शिवशंकर नायक हुनुहुन्थ्यो । भुवन दिदी होची भएकाले इँटमाथि उभ्याएर छायांकन गरिएको थियो । मेरो बोली सुनेर चलचित्रका निर्देशक हिरासिंहले ‘छोकडा फिल्ममे काम करेगा ?’ भन्नुभयो । मैले पनि ‘देगा तो करेगा’ भने । अनि थेगो भएको बालकलाकारको अभिनय गरें । घरभित्रको सुटिङ गर्न कलकत्ता गएँ ।
वुमन भोलन्टियर सर्भिसमा पढ्दा कुमार सर हुनुहुन्थ्यो । उहाँ कडा स्वभावको हुनुहुन्थ्यो । म चाहिं उट्पटयाङ गर्थें । पढ्न चाहिं पढ्थें । नारायण ज्यापू सरले स्काउट खेलाउनुहुन्थ्यो । एकदेखि सयसम्म सासै नफेरि भन्दा सरबाट स्यावास पाउँथे । साथीहरूतिर हेर्थे । आफूलाई ठूलै युद्ध जिते जस्तो हुन्थ्यो । सिंहदरबारमा आरुबखडा, अम्बाका रुख थिए । हामी चोरेर खान्थ्यौं । एकपटक त घण्टी बजिहाल्यो । हतार गरेर खाँदा गिजा नै काटियो ।
प्रज्ञा प्रतिष्ठानमा तीन वर्ष काम गरें । एकपटक प्लास्टिकको सर्प किनेकी थिएँ । राष्ट्रकविकी छोरी शान्ति बाथरुम जानुभएका बेला ढोका तलबाट त्यहि सर्पभित्र छिराउँदै निकाल्दै गर्दा साँच्चैको सर्प ठानेर उहाँ त कम्बटमाथि चढेर निकै बेर बस्नुभएछ ।
म नाटकको कक्षामा कोही बस्न लाग्यो भने स्वाट्ट कुर्सी तानिदिन्थे । एकपटक मलाई मेरो कुर्सी तानिदिए । म उत्तानो परें ।
सम आफ्नो झोलामा नाटकलाई चाहिने सबै सामान लिएर हिंडनुहुन्थ्यो । त्यसबेला प्रज्ञा भवन बन्दै थियो । वर्षाको बेला थियो । उहाँ अर्कैतिर फर्केका बेला मैले एउटा भ्यागुतो उहाँको त्यो हातेझोलामा हालिदिएँ । उहाँ नाटकको तयारीमा लाग्दा झोलाबाट केही निकाल्न खोज्नुहुन्थ्यो । भ्यागुतो भाग्थ्यो । एकपटक च्याप्प समातेर निकाल्दा त भ्यागुतो । तर्सनुभयो ।
पूर्व-पश्चिम राजमार्ग खन्न थालेपछि चन्दा उठाउन हामी कलाकार गयौं । जनकविकेशरी धर्मराज थापा हाम्रो टिम लिडर हुनुहुन्थ्यो । नृत्य गर्दा मेरो खुट्टा फर्कन्थ्यो । खुट्टा फर्केको ठिक हुन्छ भनेर मलाई भिटामिन भनेर बड्क्यौंला खुवाइदिए । मैले ‘मरि जा’ भनें ।
यस्ता धेरै घटना छन् । भनि साध्य छैन ।
भिटामिन भनेर बड्क्यौंला खुवाइदिए । मैले ‘मरि जा’ भनें ।
यस्ता धेरै घटना छन् । भनि साध्य छैन ।
(शब्द : राजेश कोइराला, तस्बिर : नवराज वाग्ले, २०६७ जेठ ९ कान्तिपुर दैनिकको बालकोसेली ‘कोपिला’ मा प्रकाशित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

<