डेजी बराइली सानो छँदा

अचानक रुख ढल्यो

डेजी बराइली प्रसिद्ध गायिका हुनुहुन्छ । उहाँका ‘भैंसी लड्यो है माया …’, ‘मायालुले सम्झ्यो कि कसो…’ गीत प्रसिद्ध छन् । उहाँ दार्जीलिङमा बस्नुहुन्छ । यी गीत नेपालमा रेकर्ड भएका हुन् । ती गीत गाउँदा उहाँ १५ वर्षकी हुनुहुन्थ्यो । गीत रेकर्ड गर्न उहाँ सन् १९७५ मा बद्रि दुर्गा खरेल, दावा ग्याल्मो, गणेश शर्मासहितका गीत-संगीतका अगुवाका साथ लागेर पहिलोपटक नेपाल आउनुभयो । ‘भैंसी लड्यो’ कमल दर्नालले संकलन गर्नुभएको हो । ‘मायालुले सम्झयो कि कसो’ गीत शशि ठटालले लेख्नुभएको हो । शान्ति ठटालको संगीत छ । पछिल्लो गीतमा भने गायिका दावा ग्याल्मोले साथ दिनुभएको छ । डेजीले नेपाल आउनुअघि नै अल इन्डिया रेडियो, खर्साङबाट स्वर परीक्षा पास गर्नुभएको थियो । पहिलोपटक आएको ९ वर्षछि २०४१ मा आउँदा उहाँले ‘बादलमा नाँची हिंड्ने पहाडकी सानी…’ सहित अरु चार गीत रेकर्ड गर्नुभयो । त्यसको ८ वर्षपछि मुरलीधरसँग प्रज्ञा भवनमा गीतल कार्यक्रममा आएपछि १२ वर्षछि ०५९ मा गोर्खा पार्वत्य परिषद, दार्जीलिङका तर्फबाट उहाँ सांस्कृतिक कार्यक्रमका लागि काठमाडौं आउनुभयो । उहाँको जन्म सन् १९६० अप्रिल २५ मा दार्जिलिङको रंगमुक-चियाबारी कमानमा भएको हो । उहाँका पिता चन्द्रसिंह र माताको नाम राधिका हो । उहाँका दुइ भाई छन् । उहाँले लोरेटो कलेजबाट बीए पास र रामकृष्ण बिटी कलेजबाट बिएड पास गर्नुभएको छ । नेपाल र भारतका विभिन्न शहरमा उहाँले कार्यक्रम गर्नुभएको छ । नेपालय नामक संस्थाले पलेंटी कार्यक्रममा उहाँलाई पटकपटक ल्याएको छ । उहाँले भुटानमा कार्यक्रम गर्नुभएको छ । उहाँलाई विराटनगरका वाणि प्रकाशन र वनिता प्रकाशनले सम्मान गरेका छन् । उहाँले दार्जिलिङको गिरी पुरस्कार पाउनुभएको छ । दार्जिलिङे प्रतिभाहरू- कर्म योञ्जन, दावा ग्याल्मो, कुमार सुब्बा, कमल दर्नाल, शान्ति ठटाल, जस योञ्जन प्यासी, मणिकमल छेत्रीलगायतको साथ र संगत नभइदिएको भए पनि उहाँको स्वर फैलन गाह्रो पर्ने उहाँ बताउनुहुन्छ । उहाँले गाएका एउटा खुला किताब, भिखारी हुँ म, कति बग्यो कति बग्यो पुल मुनि पानी रेशम श्रोताले अत्यधिक रुचाएका स्तरीय रचना हुन् । उहाँले अल इन्डिया रेडियोमा दुई सय जति गीत गाउनुभएको छ । दार्जीलिङे स्रोताका लागि मुटु भरीका गीत अल्बम निकाल्नुभएको छ । उहाँका छोरा अनमोल र छोरी विमोचना छन् । यसपटक श्रीमान संगीतकार चन्दन लोमजेलका काठमाडौं आएकी डेजी सानो छँदाका केही सम्झना :
मेरो नाम सानैदेखि डेजी हो । मेरो बाबा रंगमुक चियाबारी कमानको सार्वजनिक प्राथमिक पाठशालाको हेडमास्टर हुनुहुन्थ्यो । आमा कमानमा काम गर्नुहुन्थ्यो । आमालाई मेनेजर लिगकी श्रीमतीले खुब माया गर्नुहुन्थ्यो । श्रीमती लिगले नै मेरो नाम डेजी राखिदिनुभएको हो । लिगले मलाई छोरी बनाउन देऊ भनेर आमालाई भन्नुभएको थियो रे । आमाले कसरी मान्नुहुन्थ्यो ?
सार्वजनिक पाठशालामा कान्छा मामा भीमबहादुर लकान्द्री पनि पढाउनुहुन्थ्यो । मलाई संगीतको क्षेत्रमा लगाउने गुरु पनि उहाँ नै हो । दश मिनेटको ब्रेकमा टिचर्स रुममा लगेर थपडी बजाएर संगीत सिकाउनुहुन्थ्यो । बजाउने बाजा थिएनन् ।
कक्षा पाँचपछि मैले दार्जीलिङको सन्त टेरेजा गर्ल्स हाइस्कुलमा पढें । गीतमा रुचि भएकाले कमानमा भन्दा शहरमा बढी उन्नति हुन्छ भनेर मलाई दार्जीलिङ ल्याइयो । म फूपुको घरमा बस्थें । कमानका अर्का मेनेजर ज्योफ्रीले मेरो पर्ढाई खर्च दिनुभएको थियो । उहाँका बालबच्चा थिएनन । हाम्रो कमानको बच्चाले हाम्रै नाम उचो पारेको छ भनेर खर्च दिनुभएको हो । उहाँको चाँडै निधन भएपछि कक्षा ९ र १० का लागि पढाई खर्च बाबाले गर्नुभयो । मैले म्युनिसिपल गर्ल्स हाइस्कुलबाट स्कुल फाइनल (एसएलसी जस्तै) दिएँ ।
सानो छँदा कमानकै मेम साबका नानीहरूसँग खेल्थें । लुकीचरी, भाडाकुटी, गट्टी, चुराका टुक्रा आदि खेलिन्थ्यो ।
स्कुल जाँदा उकालो थियो । बाटोमा ठूला दाईहरूले एउटा गीत गाऊ न भन्नुहुन्थ्यो । म अँटेरी पनि गर्थे । गाउँदिन पनि थिएँ । कहिले गाउँथे । म मीठो गीत गाउने भएकाले सबैले मन पराउँथे । गीत गाउन लगाउनेमा अहिले दार्जीलिङमै काम गर्ने डा. मुन्ना शेर्पा पनि हुनुहुन्थ्यो ।
प्राथमिक पढ्दा स्कुलनजिकै बजार थियो । बाबाले पैसा र घर ल्याउनुपर्ने सामानको स्लिप दिनुहुन्थ्यो । म सामान लिएर घर आउँथे । एकदिन घर पुग्ने बेलामा हुरी आयो । घरछेउका वर-पिपलमध्ये वरको रुख अचानक ढल्यो । घरमा हाँगाले लाग्यो, तर त्यति क्षति भएन ।
म सानो छँदा दुब्ली र अग्ली थिएँ । घर तल एउटा दोकान थियो । त्यहाँका साहुजी भन्नुहुन्थ्यो, ‘डेजी त तीन फड्कोमा यहाँ आइपुग्छिन् ।’
म आमालाई काम सघाउँथे । स्कुलमा अलमलिएर बस्दिनथें र चाँडै घर फिर्थे । सोझी खालकी थिएँ । बदमासी गरेको थाहा छैन । प्राथमिक पाठशाला जाँदा दुइटा बदमास केटाले एउटा टीनको पाताले घुँडामा रगडिदिए । रगत नै आयो । एउटा त प्रदीप थियो । अर्को को थियो कुन्नि । मैले बाबालाई भनें । उहाँले चिट्ठी लेखिदिनुभयो । स्कुलमा लगेर सरलाई दिएँ । उनीहरूले सजाय पाए ।
मेरा अक्षर त्यति राम्रा थिएनन । इतिहास, गणित पढाउँदा अल्छि लाग्थ्यो । नेपाली नै मनपर्थ्यो । फिजिकल र लाइफ साइन्समा पनि राम्रो अंक आउँथ्यो । सानो छँदा त स्कुल जान अल्छि लाग्थ्यो । हरिप्रसाद सरले गणित पढाउनुहुन्थ्यो । मलाई उहाँले पढाएको सम्झेर अल्छि लागेको हो । एकदिन बाबाले कोठामा थुन्नुभएको थियो । एक दिन नाङ्गै पारेर बारीमा फ्याँकिदिनुभएको थियो । घरै अगाडी बाटो थियो । अरु गएको देख्दा बाबालाई यस्तो भएको होला । पछि त ठूली हुँदै गएँ । पढ्न मन लाग्न थाल्यो ।
प्राथमिक पाठशालामा थोमस सर हुनुहुन्थ्यो । सन्त टेरेजामा फिलोपिना लेप्चा, मेरी, बिनापानी, देवकी, चन्द्रकला, नरमाया गुरुमा हुनुहुन्थ्यो । म्युनिसिपलमा सविता, शान्ति, चिन्तामणि, विष्णु क्षेत्री गुरुमा हुनुहुन्थ्यो । सन्त टेरेजामा नमिता राई, विमला प्रधान साथी थिए । म्युनिसिपलमा बिन्दु, सत्यमणि, सन्ध्या, रेखा मेरा साथी थिए ।
अन्त्यमा, मलाई भन्न मन लागेको छ, हामीले अनुशासित र धर्ममा आस्था हुनुपर्छ । नराम्रो बाटोमा लाग्नुहँदैन ।
(शब्द : राजेश कोइराला, तस्बिर : नवराज वाग्ले, २०६७ वैशाख २६ कान्तिपुर दैनिकको बालकोसेली कोपिलामा प्रकाशित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

<