भीम नौलखा सानो छँदा

सिंगियाका बयर

भीमराज नौलखा प्रजातन्त्रका योद्धा हुनुहुन्छ । उहाँ विराटनगरमा रहेर राणा शासन फ्याँक्ने आन्दोलनमा लाग्नुभयो । भीमराज पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका बालसखा हुनुहुन्छ । उहाँको जन्म १९८५ साल असोज १३ मा विराटनगर ९ मा भएको हो । उहाँका पिता सुगनमल र माता मख्खुदेवी हुनुहुन्थ्यो । उहाँहरू छ छोरा र एक छोरी गरी सात सन्तान जन्मनुभएको हो । उहाँ ठूलो-कान्छो छोरा हो । यसपटक नौलखा सानो छँदाका केही सम्झना :
मेरा पिता सुगनमल र गिरिजाप्रसादका पिता कृष्णप्रसाद साथी-साथी हो । म सानो छँदा आदर्श स्कुल खुलेको थियो । स्कुल फुसको झोपडीमा थियो । हामीलाई पढ्न जान डर लाग्थ्यो । पिताजीलाई कृष्णप्रसाद पिताले आग्रह गरेपछि हामी पढ्न जान थाल्यौं । कृष्णप्रसादले चकलेट देखाएर स्कुल जाने भएमात्र दिन्छु भन्नुभयो । जताततै जंगल थियो । दाजुहरू चेनरुप, म र भाई हर्षचन्द स्कुल जान्थ्यौं ।
म सात वर्षको भएपछि पिता बित्नुभयो । घरका सबैलाई दाईहरूले हेर्नुहुन्थ्यो । त्यसमा पनि ठूलो दाईले धेरै काम जिम्मा लिनुपर्थ्यो । पिताजी हुँदा सानालाई ज्ञान बाँढ्नुहुन्थ्यो । उपदेश दिनुहुन्थ्यो ।
एकपटक खेलखेलमा झगडा भयो । हामी घर आयौं । यो कुरा गिरिजाबाबुले थाहा पाउनुभयो र हाम्रो घर आउनु भयो । हामीलाई लिएर जानुभयो र झगडा मिलाउनुभयो ।
स्कुल जाँदा भागेर सिंगिया खोला पुग्थ्यौं । त्यहाँ बयर टिपेर खान्थ्यौं । खेल्थ्यौं । हामी धुपछाया, कपर्दी खेल्थ्यौं । खुब दौडन्थ्यौं ।
म आठ/नौ वर्षको हुँदाको कुरा हो । कपाल काट्दा हामी बीचमा खुइल्याउँथ्यौं । अहिलेका केटाहरूले जे गर्छन्, त्यो त हामीले त्यसबेला नै गरेका हौं । म त्यसबेला दाईसँग कोलकाता गएको थिएँ । त्यहाँ मेरो कपाल कटाइ मन पराइएन । अनि यहाँ आएर मिलाइयो ।
हामीलाई श्याम झा, नीलभयनारायण राय, पण्डितजीले पढाउनुभयो । झा सर हेडसर हो भने पण्डितजीले संस्कृत पढाउनुहुन्थ्यो । मलाई अंग्रेजी र हिन्दी मनपर्थ्यो ।
मैले २००४ सालमा एसएलसी दिएँ । हामीसँग पुष्पराज तापडिया, हंसलाल गोल्छा, भवरलाल राठी, हजराज बोहरा पढ्थे । आमोद उपाध्याय त्यहि विद्यालयमा पढ्नुहुन्थ्यो । उहाँ अर्कै कक्षामा हुनुहुन्थ्यो । स्कुलमा छात्रा एकदम कम थिए । जो छात्रा थिए, त्यो कोइराला निवासबाट आएका हुन्थे ।
हाम्रो स्कुल-ड्रेस थिएन । म सिलाएको जुत्ता लगाउँथे । हाफपेन्टजस्तो कट्टु लगाएर स्कुल जान्थ्यौं । टोप लगाउने चलन थियो ।
स्कुलमा सजाय दिने चलन थियो । पिटाई खाइन्थ्यो । मैले भने अरुभन्दा कम पिटाई खाएँ भने पेन्सल हालेर हात घुमाइन्थ्यो ।
दश वर्षको भएपछि म लुकेर सिनेमा हेर्न जोगबनी गएँ । म घरमा काम गर्ने केटोसँग साइकलमा गएको थिएँ । साथीकहाँ पढ्न गएको भनेर झूठो बोलें । दाईले थाहा पाएर पिट्नुभएको थियो ।
त्यसबेलाको होली निकै रमाइलो हुन्थ्यो । एक महिनाअघि रंग हाल्न थालिन्थ्यो । मुसलमान र पुलिसबाहेक सबैलाई रंग हानिन्थ्यो । पिताजीले ठूलोठूलो पित्तलको पिचकारी किनीदिनुहुन्थ्यो । साथमा नोकरलाई पानी बोक्न अह्राउनुहुन्थ्यो । तिहार र रामनवमी पनि खुब रमाइलो हुन्थ्यो । दशैं मनाए पनि हामी मासु नखाने भएकाले त्यत्तिको रमाइलो हुँदैनथ्यो ।
मेरा ह्यान्डराइटिङ ठिकै थिए । यसका लागि टिचरले खुब ध्यान दिनुहुन्थ्यो । घरमा पढाउने चलन थिएन । हामी व्यापारी भएकाले हिसाबले खुब ध्यान दिनुपर्थ्यो ।
लुकेर सानैमा चिया खान्थ्यौं । चिया बेच्ने मान्छे बाटोमा भेटिन्थ्यो । आलुको चटपटे खाइन्थ्यो । हामीलाई अनुशासनमा राखिन्थ्यो । चोरी गरेको थाहा पाए सजाय मिल्थ्यो ।
यस्तै रमाइलो गर्दागर्दै बाल्यकाल बित्यो ।
(शब्द : राजेश कोइराला, तस्बिर : भीम घिमिरे, २०६७ वैशाख ५ मा कान्तिपुर दैनिकको बालकोसेली कोपिलामा प्रकाशित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

<