सुशिला चापागाईं सानो छँदा

ठेकीको दही चट्

सुशिला चापागाईं विराटनगरकी समाजसेवी हुनुहुन्छ । उहाँले ‘नारी विकास संघ’ नामक संस्थामार्फत महिलाको चौतर्फी विकास गर्दै आउनुभएको छ । उक्त संघको स्थापना २०३७ कात्तिकमा भएको हो । यसका अहिले पाँच क्षेत्रीय कार्यालय : हेटौडा, धरान, इलाम, विराटनगर र बेलबारीमा छन् । २३ शाखा छन् । सुशिलाको जन्म १९९२ साल मंसिर २ गते भोजपुरको र्‍याङ, सुन्तलाबारीमा भएको हो । उहाँका पिताको नाम विष्णुप्रसाद अधिकारी र माताको नाम अयोध्यादेवी अधिकारी हो । उहाँहरू ३-३ दाजुभाइ र दिदीबहिनी जन्मनुभएको हो । सुशिला माहिली छोरी हुनुहुन्छ । उहाँको विवाह चापागाईं परिवारमा भयो । ११ वर्षमै बिहे भएपछि उहाँ दिङ्ला जानुभयो । २०१८ सालमा मधेश आउनुभयो । केही समय मोरङको देहातमा बसेपछि उहाँ विराटनगर आउनुभयो । उहाँ धेरै संस्थाको सदस्य हुनुभयो । अहिले आफ्नै संस्थामा मात्र बढी समय दिनुहुन्छ । सुशिलाले थाइल्यान्ड, श्रीलंका, भारतजस्ता केही देश भ्रमण गर्नुभएको छ । समाजसेवा गरेकाले उहाँलाई धेरै पुरस्कार र सम्मान प्रदान गरिएको छ । यसपटक सुशिला सानो छँदाका केही सम्झना :
आमाले स्वस्थानी भन्नुहुन्थ्यो । त्यसबेला स्कुल थिएन । घरमा गुरु राखेर भाइहरूलाई पढाइन्थ्यो । भाइहरूले पढ्दा म पनि सँगै पढ्थें । रुद्री पढ्दा रुद्री नै भन्थें । धुलौटेमा लेख्ने चलन थियो । त्यसमा अक्षर चिन्यो । अनि आफूभन्दा सानालाई अक्षर चिनाउँथे । छोरीमान्छेले चन्डी पाठ गर्नुहुँदैन भनिन्थ्यो । मलाई अक्षर चिनाउने काम दाजु तुलसीप्रसादले गराउनुभयो । बिहा नहुन्जेल भाइ टिकाप्रसादसँग पढें । कान्छो भाइ चाहिं पटक्कै पढ्न मन गर्दैनथ्यो । म भने यसलाई कुटीकुटी पढाउँथें ।
आमाले मलाई पिटेको याद छैन । साह्रो बोलेको पनि याद छैन । बुबाले पिट्नुहुन्थ्यो । तर कम । उहाँ वीरगञ्जमा मालमा काम गर्नुहुन्थ्यो । चाडपर्व र अरु कहिलेकाहीं मात्र घर आउनुहुन्थ्यो । हामीलाई धेरै सामान ल्याइदिनुहुन्थ्यो । सबैलाई बाँढ्नुहुन्थ्यो । बुबा भन्नुहुन्थ्यो, ‘मैले यो छोरी जन्मेपछि धन कमाएँ ।’
भाइ टिका र म उस्तै उमेरका थियौं । घरमा ठेकीमा दही जमाइन्थ्यो । हामी भने ठेकीबाट दही झिकेर खान्थ्यौं र हात गाग्रीमा चिप्थ्यौं । पानी सार्दा महिजस्तो बाक्लो पानी आएपछि यो के भयो भन्ने कुरा उठ्यो । कुरा त खुल्यो । दिदीले पिट्नुभयो । त्यसपछि दही चोरेर कहिल्यै खाएनौं ।
भात मझेरीमा बसेर खान्थ्यौं । एकपटक रिसाएर एक मुठी भात हुर्‍याएपछि चुल्हो भएका ठाउँसम्म पुग्यो । बच्चाको जुठो भनेर सबै खाना फ्याँकियो ।
हाम्रोमा प्रशस्त धान फल्थ्यो । धेरै कामदार थिए । खेती अरुलाई पनि गर्न दिइएको थियो । गाई-भैसी हेर्ने फुयाँल बा भन्ने एकजना गोठालो हुनुहुन्थ्यो । हिरा भन्ने महिला थिइन, उनले हाम्रो हेरचाह गर्थिन् ।
सानैमा बिहे भए पनि मैले थानेश्वर गुरुसँग पढें । उहाँ भतिजा-भतिजीलाई पढाउने गुरु हुनुहुन्थ्यो । उहाँले लेखिदिनुहुन्थ्यो, अनि म सार्थें । त्यहाँ पनि छोरीमान्छेले पढ्नु हुँदैन भनिन्थ्यो । तर घरका मान्छेले होइन, बाहिरका मान्छेले हो । म किताब, कापी झोलामा लुकाएर राख्थें । त्यसबेला नै अंग्रेजीका ‘बुक १’, ‘बुक २’ र ‘बुक ३’ भन्ने किताब थिए । बुहारीहरू पढ्न जान्ने भएकोमा गौरव गरेकै सुनिन्थ्यो । त्यहाँको रामचन्द्र मन्दिरमा पुराण लगाएको थियो । सासुले ‘मेरा बुहारीहरू पात्रो हेर्छन्,’ भनेको मैले पनि सुनेकी थिएँ । सासुहरूले यस्तो प्रशंसा गर्दा खुब खुसी लाग्थ्यो ।
(शब्द : राजेश कोइराला, तस्बिर : भीम घिमिरे, २०६६ चैत २९ मा कान्तिपुर दैनिकको बालकोसेली कोपिलामा प्रकाशित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

<