बाहिर राम्रो भएर के गर्नु ?
शान्ति मिश्रसँग लामो समय शिक्षाको सेवा गरेको अनुभव छ । उहाँको जन्म वि.सं. १९९५ असार ७ मा काठमाडौंको झोँछेमा भएको हो । उहाँका पिताको नाम जानकीलाल श्रेष्ठ र माताको नाम कृष्णदेवी श्रेष्ठ हो । उहाँहरू तीन दिदीबहिनी र एक भाइ जन्मनुभएको हो । शान्ति जेठी छोरी हुनुहुन्छ । उहाँ त्रिभुवन विश्वविद्यालयमा पूरा समय पढाउने पहिलो महिला प्राध्यापिका हुनुहुन्छ । उहाँ त्रिवि पुस्तकालयको संस्थापक लाइब्रेरियन हुनुहुन्छ । अमेरिकाबाट लाइब्रेरी साइन्समा एमए गर्ने उहाँ पहिलो नेपाली महिला हुनुहुन्छ । त्यसअघि उहाँले इतिहासमा एमए गर्नुभएको थियो । त्यस्तै विशिष्ट श्रेणीमा रहेर सरकारी सेवा पुर्याउने पनि उहाँ पहिलो महिला हुनुहुन्छ । उहाँले लामो समय त्रिविको पुस्तकालयमा काम मात्र गर्नुभएन । ‘पुस्तकालय विज्ञानको रुपरेखा’ नामक पुस्तक आफ्ना पति नारायणप्रसाद मिश्रसँग मिलेर लेख्नुभएको छ । आफ्नो जीवन र संघर्षबारे उहाँको अंग्रेजी पुस्तक ‘भ्वाइस अफ ट्रयुथ : द च्यालेन्जेज एन्ड स्ट्रगल्स् अफ ए नेप्लस्ज उमन’ भारतको बुक फेथ (दिल्ली) नामक प्रकाशनले निकालेको छ । महिलाको आत्मकथा भएको यति मोटो किताब त्यसअघि नेपालमा कसैको छापिएको छैन । उहाँले रुद्रराज पाण्डेको बहुचर्चित सामाजिक उपन्यास ‘रुपमती’ को अंग्रेजी अनुवाद गर्नुभएको छ । पछिल्लोपटक उहाँको अंग्रेजी उपन्यास ‘ए विडोज गिफ्ट’ छापिएको छ । त्रिवि पुस्तकालयमा लाइब्रेरियन रहँदा सन् १९७९ मा अन्तर्राष्ट्रिय बालदिवस मनाउने एउटा योजना बनाउनुभयो । उहाँले नेपालस्थित विभिन्न दूतावासबाट बालसाहित्यका पुस्तक माग्नुभयो र तीनै पुस्तक राखेर प्रदर्शनी गरियो । धेरै बालसाहित्यकार र साना विद्यार्थीलगायत हजारौंले प्रदर्शनी हेरेका थिए । त्यस्तै विश्व विख्यात ‘एलिस इन वन्डरल्यान्ड’ बालकथाको पुस्तकलाई नेपालीमा अनुवाद गर्न उहाँले स्विकृति पाउनुभएको थियो । उक्त कथा ‘लेविस क्यारोल’ले लेख्नुभएको हो । लेविसकै नाममा स्थापित ‘लेविस क्यारोल सोसाइटी अफ नर्थ अमेरिका’ले स्विकृति दिएपछि चूडामणि बन्धूले उक्त पुस्तकलाई नेपालीमा अनुवाद गर्नुभएको थियो । उहाँका थुप्रै लेखरचना विभिन्न पुस्तक एवं पत्रपत्रिकामा प्रकाशित छन् । श्रीमती मिश्रले बंगलादेश, भारत, थाइल्यान्ड, फिलिपिन्स, सिंगापुर, मलेसिया, हंगकंग, इरान, इजरायल, स्विट्जरल्यान्ड, इटाली, फ्रान्स, बेलायत, अमेरिका, रुस, कोरिया, चीन, पोर्चुगल, भूटान, स्पेन, अष्ट्रेलिया भ्रमण गर्नुभएको छ । धेरै देशी-विदेशी कार्यशालामा विभिन्न कार्यपत्र प्रस्तुत गरेकी श्रीमती मिश्र विभिन्न पुरस्कारबाट सम्मानित हुनुहुन्छ । इन्टरनेसनल पेन, नेपालको संस्थापक अध्यक्ष रहेकी मिश्र संयुक्त राष्ट्रसंघीय महिला संगठन र एक्टिभ उमन अफ नेपालको सम्मानार्थ सदस्य हुनुहुन्छ । यसपटक श्रीमती मिश्र सानो छँदाका केही सम्झना :
म सानो छँदा अलि लिखुरे थिएँ । एकपटक निमोनिया भयो । म आमाको पेटमा हुँदा आमाले पर्याप्त सन्तुलित खाना नपाएकाले मलाई यस्तो भएको जस्तो लाग्छ । निमोनिया निको भयो । मलाई आँखाको समस्या देखापर्यो । मैले ५/६ महिना आँखै खोलिन् । आमाले मलाई गुभाजूकहाँ लानुभयो । गुभाजूले भन्नुभयो, ‘तिमीलाई हेरेर मेरो कुकुर भुकिरहेको छ ।’ साँच्चै मैले आँखा खोलेछु । कस्तो अचम्म !
मैले आँखा नखोल्दा धेरैले अब यसका आँखा सधैंका लागि भित्र पस्छन् भनेर आमालाई डर देखाउँदा रहेछन् । आखिर त्यस्तो त नहुने रहेछ । मैले आँखा खोलेपछि आमा असाध्यै खुसी हुनुभयो । त्यहि घटनापछि मलाई कुकुर मन पर्न थाल्यो ।
त्यसपछि मलाई गलफुला आयो । त्यसमा आमाले घरेलु औषधी बनाएर लगाइदिनुभयो । निको भएन । झनै रातो भयो । पहिलेपहिले त डाक्टर हुँदैनथे । वैद्य हुन्थे । त्यसपछि कम्पाउन्डर आए । आमाले पनि मेरो गलफुला देखाउन एकजना कम्पाउन्डरलाई बोलाउनु भयो । उनले भने, ‘तिमीले यस्तो दुखाई कसरी सहन सक्यौं ।’ त्यसपछि उनी गए । भोलिपल्ट आएर त्यो चिरिदिए । मलाई धेरै दुख्यो । मैले सहेर बसे । गलफुला निको भएपछि म फेरि बिरामी भइँन ।
अनि आमा पो बिरामी हुन थाल्नुभयो । म जेठी छोरी भएकाले सानै भए पनि मैले घरको काम गर्नुपर्थ्यो । म भान्सामा बसेर खाना पकाउँथे । दाउरा काँचा भएकाले काठको ढुंग्रीले फुक्थे । आँखा पोल्थ्यो । हात काला हुन्थे । म खाना पकाउँदै पराल र झुम्राको पुतली खेल्थें ।
एकपटक आकाश गड्याङगुडुङ गर्यो । चट्याङ त तरकारीको कराइमा परेजस्तो लाग्यो । म कराउँदै भागेको थाहा पाएर बिरामी आमा मकहाँ आइपुग्नुभयो ।
बुबा जुद्धोदयको शिक्षक भए पनि मलाई पढाउन त्यत्ति उत्साहित हुनुहुन्नथ्यो । म पढ्न चाहन्थें । मैले लेख्न एउटा सिलेट र सेतो ढुंगा पाएँ । घरमा जो आए पनि लेख्न लगाउँथे र आफू सिक्थें । ठूलो वर्णमालाबाट पनि केही सिकें । पछि मलाई शान्ति निकुञ्ज स्कुल पठाउनु भयो । कक्षा ५ सम्म त्यहीं पढें । कक्षा ४ बाट ५ मा जाँदा फर्स्ट भएकी थिएँ । एकजना शिक्षकले एउटी विद्यार्थीलाई भगाएर बिहे गरेपछि त्यही डरले मलाई स्कुल नपठाउने कुरा भयो । म पनि आमाबुबालाई दुःख होस् भन्ने चाहन्नथें । घरै बसेर पढें । कन्या मन्दिरबाट एसएलसी दिएँ ।
मेरा शिक्षकहरू चित्तरञ्जन नेपाली, नन्दलाल जोशी, रेणुलाल सिंह, भुवनलाल प्रधान हुनुहुन्थ्यो ।
हाम्रो आर्थिक अवस्था उत्तिको राम्रो थिएन । अरुका जस्ता लुगा हुँदैनथें । कुनै बिहेमा जानुपर्यो भने आमाले अरुकै लुगा मागेर ल्याइदिनुहुन्थ्यो । म लगाउन मन गर्दिनथें । तर आमाको चित्त नदुखोस् भनेर अन्तिममा त लगाउँथे । मलाई लाग्थ्यो- ‘बाहिर राम्रो भएर के गर्नु ? मान्छेको मन पो राम्रो हुनुपर्छ ।’
बुबा राम्रा चित्र बनाउनुहुन्थ्यो । भ्वाइलिन बजाउनुहुन्थ्यो । मलाई पनि भ्वाइलिन सिकाउनु भन्दा बुबाले सिकाउनुभएन । त्यसबेला छोरीलाई पढाउनसमेत अरु काम गर्न अग्रसर गरिन्नथ्यो ।
पछि बुबालाई एकजना राणाका छोराले तीन हजार रुपैयाँ दिए । त्यो पैसाले हामीले झोंछेमा घर किन्यौं । थाहा छ, त्यो पैसा भरिया लगाएर बोकाउनु परेको थियो । त्यसबेला तीन हजार त्यति धेरै हुन्थ्यो ।
म शान्त स्वभावकी थिएँ । मलाई फूल मनपर्थे । अहिले पनि मनपर्छन् । चरा उडेको मनपर्थ्यो । चराजस्तै उड्न पाए हुन्थ्यो जस्तो लाग्थ्यो । झोंछेको घरमा गौंथली आउँथे । ती चरा धेरै मेहेनत गरेर आफ्नो गुँड बनाउँथे । मलाई नाच्न मनपर्थ्यो । अरु बेला होइन्, सरस्वतीपूजामा हामी नाच्थ्यौं ।
म कम खान्थे । खान चाहिं सबै मनपर्थ्यो ।
पहिले हामीले पढ्दा धेरै दुःख थियो । अहिले धेरै सुविधा छ । यसले पढ्नुहुन्छ र उसले हुँदैन भन्ने पनि छैन । त्यसैले साना नानी धेरै पढ । धेरै अगाडी बढ ।
(शब्द : राजेश कोइराला, तस्बिर : नवराज वाग्ले, २०६५ मंसिर २० मा कान्तिपुर दैनिकको बालकोसेली कोपिलामा प्रकाशित)