भुवनहरि सिग्देल सानो छँदा

झारपातबाट मसी

भुवनहरि सिग्देल काव्यकार (साहित्यकार) हुनुहुन्छ । उहाँका खण्डकाव्यहरू : आर्तनाद (२०५४), कानी (०५५), कुलबहादुर (०५८), डल्ले (०५८) र समयचक्र (०६४) प्रकाशित छन् । त्यसैगरी ‘खाते’ (नव्यकाव्य, ०५५), ‘धरणीधर’ (महाकाव्य, ०५५), ‘मेनुका’ (महाकाव्य, ०५६), ‘विभुधारा’ (०६१), ‘रो कविता’ (कवितासंग्रह, ०६१) र ‘अतीत जब वर्तमान बन्छ’ (कथासंग्रह) पनि आएका छन् । उहाँ २००७ जेठ ५ गते काठमाडौंको बाँडभञ्ज्याङ गाविस ३ मा जन्मनुभएको हो । उहाँका पिता नन्दलाल र माता मीनकुमारी हुनुहुन्थ्यो । सिग्देलले शिक्षक पनि धेरै वर्ष भएर बिताउनुभएको छ । यसपटक सिग्देल सानो छँदाका केही सम्झना :
पिताजी ५५ वर्षको हुँदा म जन्मेको हुँ । बुबाले ५० वर्षको उमेरमा दोस्रो विवाह गरेपछि म जन्मेको हुँ । म १४ वर्षको भएपछि बुबा पनि बित्नुभयो । धेरै उमेरमा जन्मेको छोरो भएकाले मलाई घरबाट टाढा लगेर पढाइएन । घरमै रुद्री, चण्डी, वेद आदि पढ्नुपर्छ भनेर बुबाले दिनुहुन्थ्यो । म सानैदेखि धेरै कन्ठस्थ गर्नसक्थे ।
एकपटकको कुरा हो । बुबाले मलाई, ‘एक अध्याय वेद कन्ठस्थ गरे, एक मोहर दिन्छु’ भन्नुभयो । त्यतिबेलाको मोहर त धेरै पैसा हुन्थ्यो । मैले कन्ठस्थ पार्दै निकै कमाए । ४/५ अध्याय गरेपछि बुबाले झेल गर्नुभयो । दुई अध्याय कन्ठस्थ गरेपछि एक मोहर दिन्छु भन्नुभयो । मैले कन्ठ गर्न छाडें ।
मलाई अक्षर चिनाउने काम हजुरबुबा एकनाथ सिग्देलले गराउनुभएको थियो । काठको फल्याकमा धुलो राखेर अक्षर सिकेको थिएँ । लेख्न कलम पाइन्नथ्यो । कलम बोक्ने र घडी भिर्ने मानिस दुई जनामात्र थिए । कोही मानिस कति बजे जन्मेको हो भन्ने समेत थाहा हुन्न थ्यो । समय भन्नुपर्दा बाख्रा बाँध्ने बेला, गाई फुकाउने बेलामा आदि भनिन्थ्यो । घडी बाँध्ने एकजना जागिर खान शहरमा डेरा गरी बस्नुहुन्थ्यो । बिदामा आएका बेला ‘अहिले बाख्रा बाँध्ने बेला भयो, यहि बेला बच्चा जन्मेको थियो । अहिले कति बज्यो होला ?’ भनेर सोधिन्थ्यो ।
रेडियो पनि थिएन । लेख्नका लागि बाँसको ढुटो तिखार्न सिकियो । दाई बुद्धिसागर जेलमा जागिरे हुनुहुन्थ्यो । एकपटक घर आउँदा एक मुठा नेपाली कागज ल्याइदिनुभयो । यो २०१२/१३ सालको कुरा हो । बाँसको कलम त बन्यो । तर मसी केबाट बनाउने भन्ने भयो । हाँडीको मोसो चलाउँदा जताततै कालो लाग्ने डर थियो । एकनाथ हजुरबुबाले ओखरको बोक्रो र मुसुरे कटुसको पात २/३ घण्टा पकाएर आएको घोल कालो हुने बताउनु भयो । ओखरको बोट सबैका घरमा हुँदैनथ्यो । सुवेदी बाजेका घरमा थियो । एउटा थोत्रो हाँगो दिए । मैले मसी बनाए । एउटा सिसीमा राखे । मसी नसुकोस् भनेर कपडा भिजाएर सिसीमा हालें । चोप्दै लेख्न थालें ।
दशैंको दक्षिणाबाट ५ मोहर भएको थियो । यसैबाट पहिलो कलम किनें । म तिहारमा राम्रो देउसी भट्याउँथें । देउसीको पनि पैसा हुन्थ्यो । सबै पैसा भेला पारेर भरत दाजुलाई दिएको थियो । उहाँले शहरबाट किनेर ल्याइदिनुभयो । कलम पाएको रातभर म सुतिनँ ।
म सात वर्षको हुँदा ब्रतवन्ध भयो । ब्रतवन्धअघि कपाल काट्नु हुँदैन भनेकाले कपाल लामो थियो । कपाल काट्ने चलन थिएन । ब्रतवन्ध भएपछि धोती लगाएर खाना खान पिर्कामा बस्नुपर्थ्यो । खाना खाँदा बोल्नुहुँदैन भनिन्थ्यो । इशाराले खाना माग्नुपर्थ्यो । दालका ठाउँमा तरकारी पाइन्थ्यो । के गर्नु बोल्नु भएन ?
मेरो धेरै समय गोठालो भएर बित्यो । घरमा २ भैंसी, ४/५ वटा गाई, ६ वटा बाख्रा थिए । चराउन जंगल लानुपर्थ्यो । जंगलमा बाघ लाग्थ्यो । गोठालो जाँदा शम्भुप्रसाद सिग्देल, मुरारी सिग्देल, विश्वनाथ सिग्देल साथी हुन्थे । त्यहाँ सिग्देलका धेरै घर थिए । छन् । मैले दाजु भनेका धेरै हाम्रा काकाबुबा र नजिकका हुन् ।
गोठालोमा गुच्चा र डण्डीबीयो खेलिन्थ्यो । चौरमा चिप्लेटी खेलिन्थ्यो । सिउँडीको फप्ल्याँटो ल्यायो । अगाडि एउटा ड्राइभरजस्तो बस्थ्यो । ओरालोमा चिप्लिन्थ्यो । कतिपटक काँडामा खसेर घाउ लाग्यो । घरमा थाहा पाएपछि खेल्न बन्द भयो ।
वनमा कालिज हुन्थे । बाँसको भाटा र छाताको करंगबाट धनुकाँण बनाएर २/४ वटा कालिज मारियो । एकपटक ६/७ वटा तित्राका बच्चा लिएर घर आउँदा गाली खाइयो । जहाँबाट ल्याएको होस्, लगेर राखी दे भनेपछि मैले माने । शिकार खेल्न पनि छाडें ।
मलाई अंग्रेजी पढ्ने इच्छा थियो । स्कुल जाने इच्छा थियो । तर पिताजी दिनुहुन्नथ्यो । मैले काकी-आमा रोमकुमारीसँग भने, ‘म अंग्रेजी स्कुल जाने । के गरौं ?’
काकी-आमाले भन्नुभयो, ‘रुद्रीको किताब लिएर जा ।’
थानकोटको मंगलोदय स्कुल भएकै ठाउँमा छाप्रे स्कुल थियो । म गएँ । भुइँमा बसेर पढ्नुपर्थ्यो । म १३ वर्षको थिएँ । मैले नेपाली र गणित थोरै जानेको थिएँ । कक्षा ३ मा भर्ना भएँ ।
साथीहरू मेरा घुँडामा आउँथ्यो । म ठूलो थिएँ । जुँगाका रेखी बसीसकेका थिए । म रुद्री पढ्थे । अचम्मको कुरा पढेको ठानेर मेरा साथी मलाई घेर्थे । रामहरि दवाडी एकजना गुरु हुनुहुन्थ्यो । कक्षा ५ सम्म एक्लै पढाउनुहुन्थ्यो । मैले रुद्रीको किताब खोलामा बगाए र हरायो भनें । बाबुछोराको बोलचाल ३ दिन भएन । तीन दिनपछि बुबा बिहानै शहर जानुभयो र किताब लिएर साँझ फर्कनुभयो । अर्को दिन अंग्रेजी किताब लिएर गएँ र रामहरि गुरुलाई कक्षा ४ मा पढ्न पाए हुन्थ्यो भनें । १५ दिनमा सबै कन्ठस्थ पारें । मलाई कक्षा ४ मा राखिदिनुभयो । त्यहाँ एउटा नीजि मिडल स्कुल थियो । त्यहाँ कक्षा ७ मा पढ्ने मधुसुदन कार्कीले मलाई, ‘यत्रो भुसतिघ्रे भएर भुरासँग पढ्न लाज लाग्दैन,’ भने । उसैका इखले म कक्षा टपेर ऊभन्दा एक वर्षअघि एसएलसी दिन सक्ने भएँ । २०२४ सालमा एसएलसी दिएँ । काठमाडौंको पद्मोदयमा परीक्षाकेन्द्र परेको थियो । सेकेन्ड डिभिजन राम्रो अंक ल्याएर पास गरे ।
एउटा अचम्मको कुरा के भयो भने मैले बीएको परीक्षा दिँदा मलाई स्कुलमा पढाउने सरहरू पनि मसँगै परीक्षा दिन आइपुग्नुभयो । म राम्ररी पास भएँ । सरहरू भएर के भयो ? उहाँहरू पास हुनसक्नुभएन ।
(शब्द : राजेश कोइराला, तस्बिर : नवराज वाग्ले, २०६५ कात्तिक २२ मा कान्तिपुर दैनिकको बालकोसेली कोपिलामा प्रकाशित)

Write a comment