तुलसी घिमिरे सानो छँदा

ती बिरुवा अहिले रुख

तुलसी घिमिरे चलचित्रका चर्चित निर्देशक हुनुहुन्छ । उहाँ चलचित्र-निर्माणका सबैजसो काम गर्नुहुन्छ । उहाँको जन्म २००८ असार ३१ मा कालिङपोङमा भएको हो । उहाँ ध्वजमान र नर्वदाको जेठो छोरो हुनुहुन्छ । उहाँहरू तीन दाजुभाइ र एक बहिनी जन्मनुभएको हो । ‘बाँसुरी,’ ‘कुसुमे रुमाल’, ‘लाहुरे,’ ‘अन्याय’, ‘दर्पण छायाँ, ‘गुरु दक्षिणा’ आदि चलचित्रको निर्देशन गर्नुभएको छ । उहाँका निर्देशनका सबैजसो चलचित्र धेरै दर्शकले रुचाएका चलचित्र हुन् । उहाँकै निर्देशनमा बनेका ‘देश’ र ‘स्वर्गकी परी’ नामक चलचित्र चाँडै आउँदै छन् । ‘स्वर्गकी परी’ बालबालिकाका विषयमा बनाइएको निकै राम्रो चलचित्र हो । उहाँले कालिङपोङ कलेजबाट बीए गर्नुभएको छ । केही समय जागिर खाएपछि उहाँ चलचित्र क्षेत्रमा लाग्नुभएको हो । उहाँ जागिर खाइरहेकै बेलाको कुरा हो । सिक्किममा भारतीय चलचित्र ‘रोमियो इन सिक्किम’ को छायांकन गर्ने टोली आयो । त्यही टोलीसँगै उहाँ मुम्बई (बम्बई) जानुभयो । मुम्बईमा रेल्वे प्लेटर्फममा भोकभोकै सुत्नुभयो । धेरै कार्यालय चहार्नुभयो । कहिं काम नपाएपछि ‘मेकअप ब्वाय’ (शृंगार गर्ने केटो) बाट काम सुरु गर्नुभयो । त्यसपछि ‘लाइट ब्वाय’, ‘चलचित्रको सम्पादक’ (एडिटिङ) को काम गर्नुभयो । धेरै नै दुःख झेल्नुभयो । उहाँलाई जीजी पटेलले एडिटिङ सिकाउनुभयो । चलचित्रको क्षेत्रमा कमलाकर कार्खानिसको चेलो हुनुभयो । चलचित्रको सहायक-सम्पादक र सम्पादक भई उहाँले हिन्दी चलचित्रहरू : ‘हुकुमत’, ‘बन्धन कच्चे धागेका’, ‘श्रद्धाञ्जली’, ‘नई दिशाएँ’, ‘हमसे बडकर कौन’ को काम गर्नुभयो । यीबाहेक उहाँले भोजपुरी, मराठी, गुजराती, पञ्जावी, हरियाणी, बंगाली आदि भाषाका चलचित्रको पनि सम्पादन गर्नुभयो । गुरुपूर्णिमाका दिन उहाँले आफ्ना गुरु कमलाकरलाई नेपाली भाषामा दस चलचित्र बनाउने बचन दिनुभएको थियो । त्यही बचन पूरा गर्दै विभिन्न नेपाली चलचित्र बनाउनुभयो । धेरै पुरस्कार र सम्मानबाट सम्मानित घिमिरे सानो छँदाका केही सम्झना :
मेरो पढाइ मनी मेमोरियल प्राइमरी स्कुलमा सुरु भएको हो । त्यहाँ कक्षा ४ सम्म पढाइ हुन्थ्यो । तर मैले त्यहाँ कक्षा २ सम्ममात्र पढें । उक्त स्कुल सिन्देबुङमा थियो । घरनजिक भएकाले नै त्यही स्कुल रोजिएको थियो ।
हामीलाई अक्षर चिनाउने काइदा रमाइलो थियो । सरले भुईंमा अक्षर लेख्नुहुन्थ्यो । हामी घरबाट लगेका ढुंगा सरले लेखेका अक्षरमा मिलाउँथ्यौं । ढुंगा बोकेको केही दिनमा हामीले मकै लिएर गयौं । मकैले पनि ढुंगाकै काम गर्थ्यो । यसरी एक दिनमा एउटा अक्षर चिनियो । मनी मेमोरियलमा एनके तिम्सिना, प्रभा गुरुआमा, बीसी सरले पढाउनुहुन्थ्यो । हामीलाई पढाउने एङ्लो शिक्षकशिक्षिका पनि थिए ।
कक्षा ३ देखि कक्षा ११ सम्म मैले स्कटिस युनिभर्सिटी मिसन इन्स्टीच्युट (सुमी) मा पढें । सुमी पढ्दा हामी हामी बिहान भात खाएर स्कुल जान्थ्यौं । टिफिन खानु पर्दैनथ्यो । हामी कक्षा ५ सम्म पढ्दा खालि खुट्टा हिँड्थ्यौं । स्कुल-ड्रेस थिएन । किताब झोलामा हालेर छिर्के पारेर भिर्थ्यौं र स्कुल जान्थ्यौं ।
सुमीमा पढ्दामा एउटा निकै राम्रो बानी लागेको थियो । हाम्रो घरछेउमा नर्सरी थियो । वर्षायाममा हामी त्यहाँबाट बिरुवा लिएर जान्थ्यौं । कोदाली पनि लिन्थ्यौं र ती बिरुवा रोप्थ्यौं । यो कक्षा ७/८ मा पढ्दाको कुरा हो । यसरी बिरुवा रोप्नेमा म, तुलमान, भाइ श्रवण आदि हुन्थ्यौं । त्यो कुनै वातावरणको चेतनाले होइन । कुनै स्कुलको पाखाभर रोपेका ती बिरुवाको अहिले जंगल छ । सन् १९७८/७९ मा जाँदा तिनै बिरुवाका लागि हामीलाई स्कुलमा खादा ओढाएर सम्मान गरिएको थियो । म पाखामा जंगल भएको देखेर भक्कानिएछु । अहिले पनि सरहरू हाम्रो त्यो कामको प्रशंसा गर्दा विद्यार्थीहरुलाई सुनाउनु हुन्छ रे । अहिले पनि हामी स्कुल पुग्छौं । स्कुलमा हामीलाई छोराजस्तो ठान्नुहुन्छ ।
त्यहाँ पढ्दा इन्द्रभूषण गोयल, उमाशंकर पेरिवाल, पाल्देन शेर्पा मेरा मिल्ने साथी थिए । त्यो स्कुल छात्रहरू मात्र पढ्ने स्कुल हो ।
गृहकार्य नगर्दा पिटाइ खाइन्थ्यो । मैले पनि पिटाइ खाएको छु । विश्वहाङ लेप्चा सरले खुब पिट्नुहुन्थ्यो । थप्पड हान्दा कानमा घन्टी बजेजस्तो टिनिन्न हुन्थ्यो । त्यहाँ स्कटल्यान्डबाट आएका बार्वेस सर पनि कडा हुनुहुन्थ्यो । निमा वाङ्दी सरको त ‘एक भूल, एक वेत’ भन्ने सिद्धान्त नै थियो ।
खेलकुदमा पनि अलिअलि भाग लिन्थ्यौं । भाइ श्रवण र म फुटबलमा साधारण खेलाडी थियौं । बेसबल, भलिबल, बास्केटबल खेल्थ्यौं । म औसत विद्यार्थी हुँ । त्यति राम्रो पनि होइन, नराम्रो पनि होइन । त्यसो भनेर साह्रै खत्तम होइन । जान्ने २० विद्यार्थीमध्ये पर्थें । त्यहाँको एसएलसीलाई स्कुल फाइनल भनिन्थ्यो । मैले स्कुल फाइनलमा सेकेन्ड डिभिजनमा पास गरें । हामीले स्कुलमा भाषा, अर्थशास्त्र, इतिहास, भूगोलजस्ता विषय पढ्नुपर्थ्यो ।
स्कुल पढ्दा मेरा अक्षर राम्रा थिएनन् । मलाई चाँडो लेख्न मनपर्थ्यो । चाँडो लेखेपछि अक्षर कसरी राम्रा हुन् र ?
मलाई रिस उठ्दैनथ्यो । म अलि धेरै नबोल्ने स्वभावको थिए । घरमा मेरो छुट्टै नाम थिएन । ‘तुलसी’ नै भनेर बोलाउनुहुन्थ्यो ।
छुट्टीको बेला हामी बस्तीको काम गर्थ्यौं । घरको काम गर्थ्यौं । घरमा गाईवस्तु पालेका थिए । बाख्रा र कुखुरा पनि थिए । १८/२० वटा गाई थिए । घट्टेखोलामा चराउन जाइन्थ्यो । गोठाला जाँदा धनुकाण खेल्थ्यौं ।
दसैं निकै रमाइलो हुन्थ्यो । नयाँ लुगाको एक खालको बेग्लै बास्ना हुन्छ । त्यो खुब मनपर्थ्यो । दसैंमा लुगा सिलाउने दाइले हाम्रो घरको लुगा सिलाउने काम भ्याउँछन् कि भ्याउँदैनन् भन्ने डर हुन्थ्यो । त्यसबेला लुगा सिलाउने दाइले धेरै घरका लुगा सिलाउनुपर्ने हुन्थ्यो । रातदिन नभनी लुगा सिलाएको देख्दा हाम्रो घर नआइपुग्ने हुन कि ? हाम्रो लुगा सिलाउन नभ्याउने हुन् कि ? भन्ने लाग्थ्यो । कहिलेकाहीँ सिलाउँदा बाङ्गो-टेडो हुन्थ्यो । टिकाको दिनजस्तो भए पनि लगाइन्थ्यो । बरु दसैंपछि ठीक बनाइन्थ्यो । पिङ मच्चाएर खेलिन्थ्यो । टीका लगाएर दुई आना दक्षिणा पाउँदा रमाइलो लाग्थ्यो । दसैंका चिउरा र मासु भिन्नै स्वादका हुन्थे । धेरै दिन राखेर मासु खाँदा झन् स्वादिलो लाग्थ्यो । दसैंमा भात कम खाइन्थ्यो । चिउरा र मासु, दही, चिउरा र केरा खाइन्थ्यो । केरा बारीको बोटमै पाक्थ्यो । चिउरा घरमै कुट्थ्यौं ।
तिहारमा लक्ष्मीपूजा गर्न केराको थाम गाडिन्थ्यो । दियो बाल्ने गरिन्थ्यो । गोरु तिहार र भाइ टीकामा दुई दिन देउसी खेलिन्थ्यो । चेलीलाई दक्षिणा दिन देउसीको पैसा जम्मा भएको हुन्थ्यो । माघे संक्रान्ति अर्को रमाइलो चाड थियो । वन तरुल खोज्ने, बारीमा तरुल खन्ने, फुरौलो खाने गरिन्थ्यो । बारीमा फलेका ठूला तरुल मात्र ६/७ वटा हुन्थे ।
अरू बेला खाजामा चाम्रे र गुन्द्रुक खुब मीठो मानेर खाइन्थ्यो । हजुरआमाले बनाएको मासुको पकुवा मलाई खुब मनपर्थ्यो ।
बाल्यकालका धेरै घटना छन् । एकपटकको कुरा हो । भाइ श्रवण सानो थियो । उ बामे सर्थ्यो । उसले ठेलेर मेरो गालामा चोट लाग्यो । त्यो अझै याद आउँछ ।
(शब्द : राजेश कोइराला, तस्बिर : नवराज वाग्ले, २०६५ असोज १७ मा कान्तिपुर दैनिकको बालकोसेली कोपिलामा प्रकाशित)

Write a comment