सुरेश वैद्य सानो छँदा

पहिलो घण्टी छुट्यो

सुरेशराज वैद्य साहित्यकार हुनुहुन्छ । उहाँ मुक्तक, गीत, कथा आदि लेख्नुहुन्छ । उहाँको कृति ‘स्तब्ध आकाश’ प्रकाशित छ भने उहाँका गीतहरू समेटिएको ‘दिलको पानामा’ नामक गीतिएल्बम आएको छ । उहाँको जन्म २००४ साल मंसिर २८ गते काठमाडौंको ह्युमत टोलमा भएको हो । पाँच दाजुभाई र तीन दिदीबहिनीमध्ये उहाँ माइलो छोरा हुनुहुन्छ । उहाँका पिताको नाम शम्भुराज र माताको नाम कपिलनानी हो । राजधानीमा औषधि-व्यवसाय गरे पनि उहाँको साहित्यलेखन चलिरहेको छ । स्कुल/कलेजदेखि नै साहित्य लेखनमा लागेका वैद्यका केही पाण्डुलिपि थन्किएका छन् । काठमाडौंमा जन्मेका उहाँको बाल्यकाल र युवावस्थाको धेरै समय विराटनगरमा बितेको छ । यसपटक वैद्य सानो छँदाका केही सम्झना :
पिता विराटनगर जुट मिलमा काम गर्नुहुन्थ्यो । म २/३ वर्षको भएपछि विराटनगर नै गएँ । मैले विराटनगर, रानीको मिल्स मिडिल स्कुलमा कक्षा १ र २ पढें । काठमाडौं आउनेजाने गरिन्थ्यो । त्यसपछिका २ वर्ष मैले काठमाडौंको त्रिपुरेश्वरस्थित विश्व निकेतनमा पढें । त्यसबेला म ८/९ वर्षको थिएँ ।
म फेरि विराटनगर नै पुगें । मिल्स हाई स्कुलमा पढ्न पुग्दा ९/१० वर्षको भइसकेको थिएँ । त्यहाँ कक्षा ६ मा भर्ना भएँ । कक्षा ७ पछि म विराटनगरको आदर्श स्कुलमा पढें । कक्षा ८ देखि १० सम्म त्यहाँ पढियो । एसएलसी त्यहीँबाट दिएँ । एसएलसी दिँदा २०२० साल भएको थियो । परीक्षा केन्द्र पनि आदर्शमै परेको थियो । मैले तेस्रो श्रेणीमा एसएलसी पास गरें । पढाइमा म कमजोर थिएँ । पढाइ कमजोर भएकैले डाक्टर बन्ने इच्छा पूरा हुन सकेन ।
त्यतिबेला मिल्समा पढ्दा दुईजना छात्रा थिए । आदर्श स्कुल त केटाहरूको मात्र स्कुल थियो । मिल्समा एकजना म्याडम हुनुहुन्थ्यो । आदर्श स्कुलमा सबै सरहरू हुनुहुन्थ्यो । भारतबाट आएका धेरै सरहरू हुनुहुन्थ्यो । मलाई अहिले यूके सर, दास सर, एनपी सर, जवाहर रोक्का आदि सरको नाम याद छ । विमल कोइरालाले इतिहास पढाउनुहुन्थ्यो भने श्यामकुमार झा प्रधानाध्यापक हुनुहुन्थ्यो । जवाहर सर अंग्रेजीका शिक्षक हुनुहुन्थ्यो ।
मिल्स क्लब थियो । म त्यसबेला टेबुल टेनिस चाहिँ खेल्थें । मलाई दसैं मन पर्थ्यो । मिल्स एरियाको काली मन्दिर जाने गरेको थियो । मारकाट भने मन पर्दैनथ्यो । तिहार घरभित्रको चाडजस्तै थियो । काठमाडौंकै चलन थियो । सरस्वती पूजामा सबैले पैसा उठाएर पूजा गर्ने चलन थियो । बाजा बजाइन्थ्यो । बुनियाँसहितको प्रसाद खान खुब मज्जा लाग्थ्यो । तराईमा होलीको रमाइलो अर्कै थियो । त्यहाँ भलाद्मी खालको होली हुन्थ्यो । होलीका लागि रङ भने बुबालाई जुट मिलबाट आउँथ्यो । भाङ खाएर मानिसहरू मातेको खुब देखिन्थ्यो ।
मेरो मामाघर कलैया हो । केटाकेटीमा मामाघर जान मनपर्थ्यो ।
म अलि एक्लो र गुप्त स्वभावको बालक थिएँ । घरबाट स्कुल गयो र स्कुलबाट घर फर्कनेबाहेक बदमासी गर्दिनथें । कक्षामा न अगाडि न पछाडि, बीचतिर बस्ने गर्थे ।
मिल्स एरियाबाट आदर्श स्कुल पुग्न एक घन्टा हिँड्नुपर्थ्यो । बाटोमा गफगाफ गर्दै जाँदा जहिले पनि पहिलो घन्टी छुट्थ्यो । गर्मीका बेला तराईमा बिहान स्कुल लाग्छन् । बिहान स्कुल हुँदा पनि पहिलो घन्टी छुटिहाल्थ्यो । त्यसबेला गाडी थिएनन् । अलिअलि जुट बोक्ने गाडी हुन्थे ।
गर्मीका बेला बाटोमा सयलमा बस्दै आउनेजाने गर्थ्यौं । बयलगाडा भेटे चढ्न पाइन्थ्यो । कसैको साइकल भए दुईजना जाइन्थ्यो ।
स्कुल पढ्दाका साथीहरू : रामबहादुर श्रेष्ठ, नरबहादुर रोक्का (मंग्रान्ती), तीर्थ प्रधान, रमेशराज लामा, कृष्णकुमार मोक्तान, जगदीश्वर कर्माचार्य, गंगा सुब्बाको नाम अझै बिर्सेको छैन । साथीहरूसँग सिनेमा हेर्न भने कहिलेकाही गइन्थ्यो । जोगबनी गएर पनि सिनेमा हेरिन्थ्यो । तर मैले ९/१० वर्षको हुँदा हेरेको सिनेमा काठमाडौंमा चलेको सिनेमा थियो । त्यसको नाम ‘गोलकुण्डका कैदी’ हो ।
विराटनगरमा हामी रेडियो सुन्थ्यौं । रेडियो सिलोङ सुनिन्थ्यो । रेडियो खर्स्याङबाट भने नेपाली गीत बज्थे । त्यसबेला भारतमा छापेका किताब पढिन्थ्यो । स्कुल जाँदा २५ पैसा (भारतीय) खर्च दिनुहुन्थ्यो । समोसा, चिया सबै खान पुग्थ्यो । पैसा उब्रीए साथीहरूलाई पनि खुवाउँथें ।
एकपटक नाकमा केराउ पस्यो । ढाडियो । निस्केन । अनि म खाटमुनि लुकें । किन लुक्यो भन्ने भएपछि केराउको कुरा सुनाए । घरमा अरूले के के आइडिया गरेर निकालिदिनुभयो ।
कक्षा ६/७ मा पढ्दाको कुरा हो । दाइले टेबुल हल्लाउँदा टाउको ठोक्कियो । घाउ लाग्यो । घाउको चोटको दाग अझै छ ।
(शब्द : राजेश कोइराला, तस्बिर : नवराज वाग्ले, २०६५ असोज १० मा कान्तिपुर दैनिकको बालकोसेली कोपिलामा प्रकाशित)

Write a comment