अब्दुल्लाह रसिद सानो छँदा

मैले स्काउट छानें

अब्दुल्लाह रसिद स्काउटको एसिया प्रशान्त क्षेत्र (एपीआर) का निर्देशक हुनुहुन्छ । उहाँ माल्दिभ्सका नागरिक हुनुहुन्छ । उहाँ ५५ वर्षका हुनुहुन्छ । रसिद माल्दिभ्समा एकपटक शिक्षा सहायकमन्त्री र अर्कोपटक अर्थ सहायकमन्त्री भइसक्नुभएको छ । उहाँ त्यहाँको निर्वाचन आयोगको आयुक्त पनि हुनुभएको थियो । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) को सहायक आवासीय प्रतिनिधि हुनुभएको थियो । उहाँ पनि केही सातापहिले नेपाल स्काउटको कार्यक्रमका लागि काठमाडौं आउनुभएको थियो । स्काउटले गरेका काम हेर्न र अब गर्न सकिने कामका लागि उहाँ यता आउनुभएको थियो । उहाँले नेपालमा स्काउट हुनेको संख्या कम भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘मैले काठमाडौंका कैयौं स्कुलमा समेत स्काउट नभएको थाहा पाएँ ।’ उहाँका अनुसार माल्दिभ्स, नेपाल, बंगलादेशजस्ता देशमा स्काउट बढेका छन् । तर खुसी हुने गरी बढेका छैनन् । माल्दिभ्समा जति नेपालमा स्काउट भएनन् । हाम्रोजस्तो देशमा ३० जनालाई एक स्काउट पर्ने गरी स्काउट बनाउन सके धेरै राम्रो हुन्छ । स्काउट कति चाहिन्छ भन्ने कुरा जनसंख्या हेरेर गरिन्छ । विकसित देशमा घटेका छन् । यस्तैयस्तै धेरै कुरा सुनाउने रसिद सानो छँदाका केही सम्झना :
हाम्रो घरमा पाँच दाजुभाइ र दिदीबहिनीको जन्म भएको हो । त्यसमा दुई दाजुभाइ र तीन दिदीबहिनी हो । म मुस्लिम धर्म मान्ने परिवारको सदस्य हुँ । मेरा पिता इमाम (मुस्लिम धर्मका ज्ञाता) हुनुहुन्थ्यो । म १४ वर्षको हुँदा पिता बित्नुभयो ।
मेरो स्कुल माल्दिभ्सको राजधानी मालेमा थियो । त्यहाँ कक्षा १ देखि नै अंग्रेजी पढ्नुपर्थ्यो । माल्दिभ्सको राष्ट्रभाषा ‘दिवेही’ हो, त्यो पनि पढ्नु नै पर्‍यो ।
सानो छँदा मलाई फुटबल, हकी, क्रिकेट, ब्याडमिन्टन खेल्थे । म हकीमा राम्रो थिएँ । अरू खेलमा सामान्य मात्र थिएँ ।
पढाइमा ठिक्क मात्र थिएँ । स्कुलमा मलाई अर्थशास्त्र (इकोनोमिक्स) विषय मनपर्थ्यो । माल्दिभ्समा छात्र र छात्रालाई बेग्लाबेग्लै राखेर पढाइन्थ्यो । सुविधा पनि उस्तै दिइन्थ्यो ।
स्कुलको पढाइ सकिएपछि मेट्रिक परीक्षा दिनुपर्‍यो । ६ विषयमा परीक्षा लिइएको थियो । मैले ५ विषयमात्र पास गरें । अंग्रेजीमा फेल भएँ । तर पाँच विषय पास भए पनि पासै भएको मानिन्थ्यो । मेट्रीकमा अर्थशास्त्र र इतिहासमा मैले ‘ए’ श्रेणी र गणितमा ‘सी’ श्रेणीमा पास भएको हुँ । गणितमा म कमजोर विद्यार्थी थिएँ ।
म स्कुल पढ्दैदेखि स्काउट भएको हुँ । हाम्रो देशमा छात्र र छात्रा दुवै स्काउट हुनसक्ने नियम छ । हाम्रो देशमा ब्यान्ड, क्याडेट र स्काउट छान्ने चलन छ । मैले त्यसबेला स्काउट छाने ।
स्कुलमा स्काउट रहँदै म श्रीलंका गएको थिएँ । यो सन् १९६९ को कुरा हो । त्यसबेला हामी ११ केटा थियौं । तीन दिन र तीन रातको डुंगायात्रामा बल्ल श्रीलंका पुगिएको थियो । हामी चढेको डुंगा कमजोर नै हो । त्यो माछा मार्न प्रयोग गर्ने खालको थियो । समुद्रमा यस्तो डुंगाका भरमा यात्रा गर्नु ठीक हुँदैन ।
कक्षा १० सकिनेबित्तिकै घरलाई सघाउनुपरेकाले मैले सरकारी जागिर खान थाले ।
(शब्द : राजेश कोइराला, तस्बिर : नवराज वाग्ले, २०६५ असोज ३ मा कान्तिपुर दैनिकको बालकोसेली कोपिलामा प्रकाशित)

Write a comment