निगत अर्शद सानो छँदा

स्काउट जरुरी

निगत अर्शद स्काउटको एसिया प्रशान्त क्षेत्र (एपीआर) का उपाध्यक्ष हुनुहुन्छ । त्यस्तै उहाँ केटी गाइड तथा केटी स्काउटको विश्व संस्था (डब्लुएजीजीजीएस) को उपाध्यक्ष हुनुहुन्छ । उहाँ पाकिस्तानी नागरिक हुनुहुन्छ । उहाँका पिता एसएम नकी स्काउटमै हुनुहुन्थ्यो । उहाँबाट नै निगतले स्काउट बन्ने प्रेरणा पाउनुभयो । लाहोर राज्यको क्षेत्रीय कमिस्नर हुनुभयो । पछि एपीआरको सदस्य हुनुभयो । एक छोरी र दुई छोराकी आमा निगत एसिया-प्रशान्त क्षेत्रका विभिन्न मुलुकका स्काउट कार्यक्रममा पुग्नुहुन्छ । स्काउटको कार्यक्रममा काठमाडौं आउनुभएको थियो । यसपटक निगत सानो हुँदाका केही सम्झना :
हामी तीन दिदीबहिनी र तीन दाजुभाइ जन्मेका हौं । पिता इन्जिनियर र शिक्षक हो । माताले घर हेर्नुहुन्थ्यो । पिता छोराछोरीको पढाइ कसरी राम्रो हुन्छ ? भन्ने जान्नुहुन्थ्यो । प्रत्येक आइतबार घरमा हामी सबैको बैठक हुन्थ्यो । पिताले भन्नुहुन्थ्यो र हामी त्यहीं लेख्थ्यौं । धेरै मानिस भएका ठाउँमा कसरी बोल्ने भनी सिकाउनुहुन्थ्यो ।
स्कुल पढ्दा नै म स्काउट भएकी हुँ । एकपटक १५ दिने तालिमबाट फर्कंदा आफैंलाई नचिन्ने भएकी थिएँ । पाकिस्तानमा केटा-केटीको फरक स्काउट छ । हामी केटी स्काउटमात्र बेग्लै काम गछौं । मलाई स्काउट मनपरेको थियो । स्काउटमा लागेपछि नै निक्कै फुर्तिली बनेकी हुँ । अघि बढ्न स्काउट जरुरी छ । स्काउटले व्यक्तित्व विकाससमेत हुन्छ ।
मलाई विज्ञान मनपर्ने विषय हो । स्कुलमा राम्रो पढेकाले मैले विभिन्न पदक पाएँ । तर खेलकुदमा म अल्छी थिएँ । पछाडि पर्थें । उता परेड गर्दाचाहिं अगाडि हुन्थें । मलाई गाउन मनपर्छ । पहिले पनि गाउँथें । ढोलक बजाउन पनि मनपर्छ । म घरमा आमालाई काम सघाउँथें । रोटी पकाउन मनपर्थ्यो । जेठी छोरी भएपछि आमाको दाहिने हात नै थिए । खाना मीठो पकाउँथें ।
(शब्द : राजेश कोइराला, तस्बिर : नवराज वाग्ले, २०६५ असोज ३ मा कान्तिपुर दैनिकको बालकोसेली कोपिलामा प्रकाशित)

Write a comment