भीमबहादुर अधिकारी सानो छँदा

जीवनका तीन बुँदा

भीमबहादुर अधिकारीसँग लामो समय सरकारीसेवाको अनुभव छ । उहाँले सरकारको जागिरे भएर साठी वर्षभन्दा बढी बिताउनुभएको छ । उहाँ २०४७ सालमा अर्थ मन्त्रालयबाट सहसचिवमा सेवानिवृत्त हुनुभयो । तर बेरुजु हेर्न उहाँलाई सरकारले अझैं राखेको छ । त्यसपछिका १५ वर्ष उहाँ अर्थ मन्त्रालयको काम हेर्दै हुनुहुन्छ । अधिकारीको जन्म १९८७ साल कात्तिकमा तनहुँको मिर्लुङ कवाचितमा भएको हो । उहाँका पिता गञ्जसिंह र माता विष्णुकुमारी हुनुहुन्थ्यो । उहाँहरू दुई दाजुभाइ र चार दिदीबहिनी जन्मनुभएको हो । उहाँ जेठो छोरा हो । अर्थ मन्त्रालयबाहेक विभिन्न सामाजिक संस्थामा सक्रिय अधिकारी बिहान ४ बजे उठ्नुहुन्छ र दिनभर सक्रिय रहनुहुन्छ । यसपटक अधिकारीका बाल्यकालका केही सम्झना :
म हजुरबुबा बमबहादुरको प्यारो नाति हुँ । उहाँ मलाई, ‘मेरो स्वर्गबाट आएको नाति’ भन्नुहुन्थ्यो । उहाँ मलाई सँगै सुताउनुहुन्थ्यो । म निकै ठूलो हुन्जेल उहाँसँग सुते । हजुरबुबाले नै अक्षर चिनाउनुभयो । उहाँ पढेलेखेको त हुनुहुन्नथ्यो । तर धार्मिकग्रन्थ पाठ गर्नुहुन्थ्यो । साक्षर हुनुहुन्थ्यो । म लमजुङको जिता गएका बेला भानिज दाजुका घरबाट मैले काठको पाटी ल्याएको थिएँ । त्यसमा कालो लगाएर खरिले लेखिन्थ्यो । यसरी नै मैले पढ्न थालें । पढ्न जान्ने भएपछि मैले सुत्नेबेलामा हजुरबुबालाई महाभारत पढेर सुनाउनुपर्थ्यो । त्यसबेलाको त्यो महाभारत भारतको बनारसमा छापिएको होमनाथ-केदारनाथको थियो । महाभारत पढ्दा र हजुरबुबालाई सुनाउँदा मलाई तीन बुँदाले प्रभाव पारे ।
पहिलो बुँदा काममा ढिलो गर्नुहुन्न । काम समयमा गर्नुपर्छ । दोस्रो बुँदा हो- घाउको दाग मेटिन्छ । तर कसैले लगाएको वचन मेटिदैन । कटुवचन मेटिदैन । तेस्रो बुँदा, ‘बदनाम हुनु भनेको मर्नुबराबर हो,’ हो । म जीवनका हरेक क्षणमा यहि तीन बुँदा सम्झेर चल्दै आएको छु ।
फेरि पनि हजुरबुबाकै कुरा गरौं । उहाँ सधैं स्पष्ट हुनुहुन्थ्यो । हकी स्वभावको हुनुहुन्थ्यो । त्यसबेला गाउँमा एउटा मुद्दा परेछ । बुबासहित ९/१० जना भेला भएर अपराध गरेको भनिएको व्यक्तिबाट २ सय रुपैयाँ लिएछन् । आठ जनाले २५-२५ रुपैयाँ दाम बाँढेछन् । हजुरबुबाले यो चालपाउनु भएछ । बाटैबाट उक्त रकम फर्काउन लगाउनुभएको थियो ।
म गीता तथा महाभारतजस्ता ग्रन्थ पढ्न जान्ने भएपछि हजुरबुबा ठट्टा गर्दै भन्नुहुन्थ्यो, ‘मेरो नाति बाहुन भएको भए हुन्थ्यो ।’
वि. सं. १९९७ सालको कुरा हो । बुबा लप्टन भएर पूर्व सिन्धुलीगढी जानुभयो । म पनि उहाँसँगै गएँ । मसँग मामाका छोरा पनि गएका थिए । त्यहाँ पाठशाला थियो । हामी दुवै पाठशालामा पढ्न थाल्यौं । हामीलाई दिव्यदेव पण्डित (दिव्यदेव कोइराला) ले पढाउनुहुन्थ्यो । गुरुलाई पाँच पैसाको ढ्याक राख्नुपर्थ्यो । कक्षामा म पहिला हुन्थें र मामाका छोरा दोस्रा हुन्थे । राम्रो पढेकाले मलाई दुईटा पुस्तक पुरस्कारमा मिलेका थिए । ती पुस्तक काठमाडौंबाट पठाइएका थिए । ती पुस्तकमा राम्रो पढेको प्रशंसा गर्दै मेरो नाम लेखिएर पठाइएको थियो । सिन्धुलीगढीमा बडाहाकिम राणा थिए । बडाहाकिमका छोरा हाम्रै पाठशालामा पढ्थे । पढाई भने उनको राम्रो थिएन । उनी हामीलाई हेला गरेर के के भनिरहन्थे । हाम्रो सिन्धुलीगढी बसाइ लामो भएन । त्यहाँ दुई वर्ष बसियो । बुबा र बडाहाकिमबीच विवाद भयो । बुबाको जागिर खोसियो । हामी काठमाडौं हुँदै तनहुँ फर्क्यौं । घर फर्केपछि परिवारका सबै बिरामी भयौं । यो अनौठो संयोग थियो ।
२००२ सालमा सरकारले एउटा चिठी पठायो । बुबाले सिन्धुलीगढीमा लप्टन हुँदा वर्षभर ३ सय ६० पाउनुभएको थियो । चिठीमा रकम फिर्ता गर्नुपर्ने लेखिएको थियो । रकम पनि सजायस्वरुप ३ सय ६० को दोब्बर ७ सय २० फर्काउनुपर्ने भयो । उसबेला नियम कडा थियो । अहिले म मन्त्रालयमा बेथितिमात्र देख्छु । सरकारको धेरै रकम कहाँ छ ? थाहा हुन्न ।
बुबा हवल्दार हुँदा म जन्मेको हुँ भने बुबा लप्टन हुँदा भाइ जन्मेको हो । हजुरबुबा रमाइलो गर्दै भन्नुहुन्थ्यो, ‘जेठो नाति हवल्दारको छोरो । कान्छो नाति लप्टनको छोरो । आफू लप्टन हुँदा घरका गाईवस्तु पनि लप्टनका गाईवस्तु हुन्छन् ।’
तनहुँ फर्केपछि मैले हितोपदेश, लौकौमुदी पढें । यो २००० सालको कुरा हो । मसँग पढ्ने साथी रेवतीरमण खनाल पनि हुनुहुन्थ्यो । त्यहाँ हामी गिर्रा, डन्डिबियो, पाङ्ग्रा खेल्थ्यौं ।
तनहुँ बसेर दुई वर्ष बिते । गोठालो जानुपर्थ्यो । एक वर्ष म गाई गोठालो गएँ । अर्को एक वर्ष भैंसी गोठालो गएँ । म भैंसी गोठालो जाँदा पाँचवटा भैंसी ब्याएका थिए । गाउँघरमा गाईभैंसी ब्याएपछि दूध हुन्छ । खुसी आउँछ । गोठालो जाँदाका साथी हरिबहादुर अधिकारी, अर्का भीमबहादुर अधिकारी थिए । हामी गाईवस्तु लिएर फाँटमा जान्थ्यौं । साउने, माली, चालिसे खोलातिर गाईवस्तु छाडेर ५/७ जनाका दरले दुईतिर बस्थ्यौं । गाईवस्तु फर्केपछि लिएर आउँथ्यौं ।
बुबा सवेरै उठ्नुहुन्थ्यो । गाईवस्तुको स्याहार गर्नुहुन्थ्यो । उहाँ असाध्यै सोझो हुनुहुन्थ्यो । घरको सानोतिनो काम हामी उठ्दा सकिएको हुन्थ्यो ।
यसैबीचमा २००१ सालको कुरा हो । आमा र म तिहारमा मामाघर गएका थियौं । मामाले, ‘भान्जा यहिँ बसेर पढ्नुहुन्छ’ भन्नुभयो । पढ्नु त त्यस्तै हो, मैले मालअड्डामा लेसि (लेखन्दास सिपाही) को काम सिके । त्यसबेला मेरो विवाह भइसकेको थियो । उसबेला सानैमा बिहे गर्ने चलन थियो । म १३ वर्षको हुँदा २००० सालमा ११ वर्षकी रेवतीसँग बिहे भएको हो । लेसिको तलब महिनाको पाँच रुपैयाँ थियो । मैले पहिलो तलबबाट हजुरआमालाई २ रुपैयाँ ५० पैसाको खद्दरको साडी किनिदिएको थिएँ । उहाँ भन्नुहुन्थ्यो, ‘मेरो नाति बहादुर भयो । पाँच रुपैयाँ बजायो ।’ त्यसबेलाको पाँच रुपैयाँ ठूलो रकम हुन्थ्यो ।
बुबालाई सरकारले ७ सय २० रुपैयाँ तिर्नु भनेपछि हामी २००२ साल फागुनमा काठमाडौं आयौं । त्यसबेला तनहुँबाट आउँदा पाँच दिन लागेको थियो । बबरमहल आएर बबर शमशेरको चाकडी गर्दा उक्त रकम मिनाहा हुन्छ भन्ने ठानेर ३ महिना नजिक हुन खोज्दा पनि उनले चिनेनन् । उनका छोरा बह्म शमशेरको भने म नजिक भएँ । उनले मलाई चिन्न थाले । यसैबीच म तनहुँ गएँ । २००३ सालमा फेरि काठमाडौं आएँ । त्यसबेला काठमाडौं आइपुग्न सात दिन लागेको थियो । त्यसै वर्ष पुस १ गतेदेखि म सरकारको जागिर भएँ । सुरुमा तलब महिनाको १३ रुपैयाँ थियो ।
म गलत काम गर्नबाट डराउँछु । सानोमा भैंसीले धानको बीउ खाँदा र रामतोरिया चोरेर ल्याएपछि ती बाटा हिड्न छाडेको थिएँ ।
(शब्द : राजेश कोइराला, तस्बिर : नवराज वाग्ले, २०६५ भदौ २७ मा कान्तिपुर दैनिकको बालकोसेली कोपिलामा प्रकाशित)

Write a comment