शंकर प्रधानाङ्ग सानो छँदा

अब पौडी खेल्दिन

शंकर प्रधानाङ्ग एसओएसका राष्ट्रिय निर्देशक हुनुहुन्छ । सहायता आवश्यक भएका बालबालिका र युवालाई एसओएसले आमाबुबाको भूमिका निर्वाह गर्छ । एसओएसका बालग्राम, युवाग्राम, विद्यालय, स्वास्थ्य केन्द्र आदि छन् । मुलुकका विभिन्न ठाउँ सानो ठिमी, कोटेश्वर, जोरपाटी, सुर्खेत, भरतपुर, काभ्रे, पोखरा, इटहरीमा यसका शाखा छन् । यी सबै शाखाको प्रमुख हुनुहुन्छ, शंकर प्रधानाङ्ग । उहाँको जन्म २०११ माघमा भक्तपुरको नगदेश (मध्यपुर ठिमी नगरपालिका) मा भएको हो । पिता भक्तशंकर र माता लक्ष्मीशोभाका ४ छोरा र ३ छोरी जन्मे । उहाँ जेठो छोरा हो । उहाँभन्दा अघि एक दिदी हुनुहुन्छ । उहाँले लेखाअधिकृतका रुपमा २०३७ मा एसओएसमा प्रवेश गर्नुभएको हो । एमकमसम्म अध्ययन गरेका प्रधानाङ्ग विश्वका विभिन्न मुलुकको भ्रमण गर्नुभएको छ । यसपटक उहाँ सानो हुँदाका केही सम्झना :
मेरो नाम ‘श्रीशंकर’ हो । क्षेत्रपाटीको जुद्धोदय पब्लिक स्कुलमा पढ्दा रामप्रसाद रिमाल सर सधैं मलाई, ‘तिमी त अरुले तपाईं भनोस्/नभनोस् आफैं मपाईं । आफैं श्रीशंकर,’ भनेर जिस्क्याउनुहुन्थ्यो । त्यसबेला म कक्षा ६ मा पढ्थें । सरले जिस्क्याएकाले म नाम फेर्ने विचारमा थिएँ । म त्यसबेला काठमाडौंमै बस्थें । एकपटक घर जाँदा आमालाई सोधें, ‘आमा मेरो नाम शंकरमात्र राख्दा के हुन्छ ?’ आमाले भन्नुभयो, ‘तिमी श्रीपञ्चमीमा जन्मेकाले श्रीशंकर राखिएको हो । त्यो तिम्रो जन्मसंकेत पनि हो ।’ त्यसपछि मैले नाम नफेर्ने विचार गरें । अहिले पनि एसओएसमा सबैले मलाई, ‘शंकर अंकल’ भनेर चिन्दा खुसी लाग्छ । मेरो नाम श्रीशंकर हो भनेर जान्ने चाहिँ बालसखा र नजिकका साथीहरू मात्र हुन् ।
हाम्रो संयुक्त परिवार थियो । बुबा पसल गर्नुहुन्थ्यो । उहाँ बेफुर्सदिलो हुनुहुन्थ्यो । मेरो पढाइका लागि केही सोच्न भ्याउनुहुन्न थियो । आमा नजान्ने र नपढेको भए पनि ‘पढाउनुपर्छ’ भन्ने विचार भएकी हुनुहुन्थ्यो । म छ वर्षको भएपछि ठिमीमा भएको एउटा पाठशाला गएँ । अक्षर चिन्न भनेर त्यहाँ गएको त खेल्नैमा मस्त हुन्थ्यौं । एकजना चुच्चो नाक भएका पालेदाइ हुनुहुन्थ्यो । उहाँ दिउँसो मज्जाले निदाउनुहुन्थ्यो । हामी चाहिं उहाँको ‘नाक छुने खेल’ खेल्थ्यौं । जसले नाक छोयो, उही फर्स्ट हुन्थ्यो । त्यहाँ २/३ महिना गएपछि नगदेशकै सिद्धिगणेश प्राथमिक विद्यालयमा भर्ना भए । त्यहाँ पढ्दा किसानका छोराहरु साथी हुन्थे । त्यहाँ प्रावि स्कुल मात्र थियो । त्यसपछि २/३ जना साथीले मात्र त्योभन्दा माथिका कक्षा पढ्नुभयो । कक्षा ५ भन्दामाथि पढ्न भक्तपुर वा काठमाडौं जानुपर्थ्यो ।
एकपटकको कुरा हो । त्यसदिन बुबा काठमाडौं जानुभयो । बुबा काठमाडौं गएको मौका छोपेर म भने साथीसँग एउटा पोखरीमा पौडी खेल्न गए । तर बुबा चाँडै फर्कनुभयो । पोखरीमा हामीलाई देखेर केही भन्नुभएन । खोलेर राखेको लुगा लिएर घर जानुभयो । म भने नाङ्गो भएँ । बाटोको एकातिर खेत थियो । खेतबाट लुक्दै घर पुगें । बुबाले मज्जाले पिट्नुभयो । त्यसपछि मैले जीवनभर पौडी सिक्न मन गरिन् ।
बुबालाई मेरा साथीहरुको संगत छुटाउन मन रहेछ । केही साथीहरु भक्तपुरको श्रीपद्म माध्यमिक विद्यालय पढ्न गए । बुबालाई त्यता पनि पठाउन मन रहेनछ । मेरो मामा ‘कृष्णगोविन्द मूल’ भक्तपुरको भए पनि काठमाडौं बस्नुहुन्थ्यो । उहाँ कृषि अनुसन्धान केन्द्रमा ओभरसियर हुनुहुन्थ्यो । बुबाले मामासँग मलाई काठमाडौं राखेर पढाउने सल्लाह गर्नुभएछ । मामा मेरो एक्लो हो । उहाँले सहर्ष स्विकार्नुभएछ । मलाई कस्तोकस्तो लागेको थियो । आमाले ‘जानुपर्छ’ भनेपछि म गएँ । त्यहाँ हजुरआमा हुनुहुन्थ्यो । हजुरआमाले आमाको अभाव खड्किन दिनुभएन । खाना खान कुर्नुहुन्थ्यो । खाना छाडे भने, ‘छाड म खाउँला’ भन्नुहुन्थ्यो । खाना फ्याक्दा त मामामाइजुले के भन्लान् भनेर त्यसो गर्नुभएको हो । मैले जीवनमा आमापछि हजुरआमालाई आदर गर्ने अग्रज पाएँ । त्यसपछिमात्र बुबा हुनुभयो । हजुरआमा भन्नुहुन्थ्यो, ‘मेरा दुइटा छोरा, एउटा कृष्णगोविन्द र अर्को श्रीशंकर ।’
नगदेशमै ढिलो पढेकाले म जुद्धोदयमा कक्षा ६ मा भर्ना भएँ । कक्षा ६ मा पढ्दा मेरो मिल्ने साथी चलचित्र नायक शिव श्रेष्ठ थिए । उनी त्यसबेला नै बलिया थिए । कसैले हेप्यो भने शिवको नाम सुन्ने बित्तिकै डराउँथे । बिहानको स्कुल थियो । दिउँसो हामी घुम्थ्यौं । म किलागल र उनी केलटोलमा बस्ने टाढा थिएन । मामाघरको प्यारो र आमाले पनि थोरैथोरै पैसा दिनुहुन्थ्यो । सधैं मसँग ८/१० रुपैयाँ हुन्थ्यो । हामी सिनेमा हेर्न जान्थ्यौं । उनले केही महिनामात्र त्यहाँ पढे । त्यसपछि उनी विराटनगर फर्के ।
कक्षा ६ देखि कक्षा ८ सम्म मामासँग बसेर पढें । कक्षा ९ मा मैले नगदेश फर्कनुपर्‍यो । बुबाले घर बनाउनुभयो । बुबाले धेरै पैसा खर्चेर घर बनाएकाले मद्दत गर्न म नगदेश आएँ । तर बिहान स्कुल पढ्न काठमाडौं पुग्थे । कक्षा ८ सम्म राम्रो पढाई भएको विद्यार्थी कक्षा ९ मा बिग्रे । घरबाट स्कुल पुग्दै थाकिएको हुन्थ्यो । स्कुलबाट घर पुग्यो । साँझ पसलमा बस्ने मेरो काम थियो ।
बस चढ्नु, लामो यात्रा गर्नाले थाकिन्थ्यो नै । भीड उत्तिकै हुन्थ्यो । म सानो भएकाले झ्यालबाट छिरेर बसमा बस्थे । बस ठिमीमा आउँथ्यो । पचास पैसामा बागबजार पुगीन्थ्यो । हामी हिड्दै स्कुल पुग्थ्यौं ।
एकपटक म निकै थाकेर स्कुल पुगेको थिएँ । पढाइजस्तो भए पनि म अगाडि बस्थे । त्यसदिन गर्मीले म झकाएछु । मुकुन्दपाणी गौतम सरले कान समात्नुभएछ । म झल्यास्स् भएँ । उहाँले भन्नुभयो, ‘उठ पाजी । भन, मैले के पढाएको हुँ ?’ मैले भन्न सकिन । गालामा थप्पड हिर्काउनुभयो । उहाँ अलि डल्लो हुनुहुन्थ्यो । हात पनि कडा थिए । दिउँसो बाथरुम गएर फर्कंदा कसैले मेरो काँधमा हात राख्यो । यस्सो हेरेको त सर नै हुनुहुँदो रहेछ । उहाँलाई राम्रा विद्यार्थीलाई बेकारमा पिटेजस्तो भएछ । उहाँले भन्नुभयो, ‘के भएर कक्षामा सुतेको ?’ मैले भने, ‘बसमा आउँदा थाके ।’ उहाँले फेरि मलाई ‘पाजी, अघि नै भन्नुपर्दैन,’ भन्नुभयो ।
नगदेशमा पढ्नुपर्छ भन्ने चेतना कम थियो । थोरै घरका बालबालिका स्कुल जान्थे । त्यसमा पनि छात्रा कम थिए । जुद्धोदय त केटाहरुको मात्र स्कुल थियो ।
मैले जुद्धोदयबाटै एसएलसी दिएँ । तर तेस्रो डिभिजनमा भएँ । तेस्रो डिभिजनलाई हामी रोयल डिभिजन भन्थ्यौं । हाम्रो परिक्षाकेन्द्र न्योखाको कन्या मन्दिरमा परेको थियो ।
स्कुल पढ्दाका साथी : शिव श्रेष्ठबाहेक शंकर मालाकार, रामकृष्ण अमात्य, जनार्दन ताम्राकार मसँग धेरै मिल्थे । हामीलाई रामजीप्रसाद शर्मा, रामलाल मानन्धर, मित्रनाथ देवकोटा, कृष्णमुरारी अधिकारी, कृष्णमुरारी गौतम, अम्बिका अधिकारीले पढाउनुभयो ।
मलाई ठिमीको बिस्केट जात्रा खुब मनपर्थ्यो । त्योबाहेक दसैं, म्हपूजा, तिहार रमाइलो हुन्थ्यो ।
(शब्द : राजेश कोइराला, तस्बिर : नवराज वाग्ले, २०६५ भदौ १३ मा कान्तिपुर दैनिकको बालकोसेली कोपिलामा प्रकाशित)

Write a comment