रीतासिंह वैद्य सानो छँदा

मामाघर कति प्यारो

रीतासिंह वैद्य नेपाल बाल संगठनको अध्यक्ष हुनुहुन्छ । मुलुकभर बाल संगठनका ७५ वटा शाखा छन् । यिनै शाखाले देशका धेरै बालबालिकालाई लाउने, खाने र बस्ने सुविधा दिएका छन् । यहाँ बस्नेले पढ्न र बिरामी हुँदा स्वास्थ्य-उपचारसमेत पाउँछन् । उहाँको जन्म २०१० साल कात्तिक २१ गते काठमाडौंको किलागलमा भएको हो । उहाँ जनआन्दोलन २०४६ का अग्रज गणेशमानसिंह र मंगलदेवीकी जेठी छोरी हुनुहुन्छ । उहाँहरू दुई भाइ र तीन दिदी-बहिनी जन्मनुभएको हो । उहाँले अमेरिका, बेलायत, फ्रान्स, जर्मनी, क्यानडा, भारत, श्रीलंका, जापान, स्पेन, नर्वे, हल्यान्ड, स्विडेन आदि देशको भ्रमण गर्नुभएको छ । उहाँले पद्मकन्या क्याम्पसमा पढाएको २८ वर्ष भयो । उहाँ प्रवीणता प्रमाणपत्र तह र स्नातक तहमा इतिहास पढाउनुहुन्छ । उता बाल संगठनको अध्यक्ष भएको १६ वर्ष पुगेको छ । उहाँ २०४९ सालदेखि उक्त संगठनमा हुनुहुन्छ । यसपटक रीतासिंह सानो छँदाका केही सम्झना :
बाले मेरो नाम गीता राखिदिएको थियो । आमाले फेरिदिनुभयो र रीता राखिदिनुभयो ।
हाम्रो परिवारलाई २०१७ सालअघि कुनै साह्रो थिएन । बुबा हाम्रो शिक्षा राम्रो होस् भन्ने चाहनुहुन्थ्यो । त्यसैले अंग्रेजी पढाउनुपर्छ भन्ने चाहनुहुन्थ्यो । आफू राजनीतिमा व्यस्त हुँदा पनि हामीलाई पढाउन चनाखो भइ लाग्नुहुन्थ्यो । हामीलाई मात्र होइन, काकाका छोराछोरीलाई पनि अंग्रेजी स्कुलमा पढाउनुपर्छ भन्नुहुन्थ्यो ।
मैले विश्वज्योती सिनेमाहलअगाडीको एउटा मन्टेश्वरी स्कुलमा पढें । मसँगै भाइ प्रदीप पनि पढ्थ्यो ।
हामीले लाजीम्पाटको चेतभवन स्कुल पनि पढ्यौं । त्यो स्कुल लेबोरेटोरी स्कुल हो । सबैले चेत शमशेरको घरमा भएकाले चेतभवन स्कुल भनिएको हो ।
चेतभवन स्कुलमा भर्ना गर्न जाँदा हामीलाई, ‘तिम्रो बाको नाम के हो ?’ भनेर सोधेको थियो । मैले त, ‘गणेशमान सिंह हो,’ भने तर भाइले, ‘सानुबाबु’ भन्यो ।
चेतभवन स्कुल पढ्दा मलाई टाइफाइड भयो । प्रदीप असाध्य चकचक गर्थ्यो । उसले त्यहाँ पढ्दा टाउको फुटायो । त्यहाँ पढ्दा मेरी साथी मीना राजभण्डारी थिइन् । बिरामी भएकाले त्यहाँ ३ वा ४ महिनामात्र पढियो ।
त्यसपछि मैले कक्षा १ देखि ९ सम्म ललितपुरको सेन्ट मेरिज स्कुल पढें । त्यहाँ म होस्टलमा बसे । होस्टल राम्रो थियो । प्रशस्त खेलकुद हुन्थ्यो । अप्रिल फुलमा धेरैलाई झुक्याइन्थ्यो । साथीसाथीबीच झगडा हुन्थ्यो । कतिपटक झुट बोलिन्थ्यो ।
स्कुलको पुस्तकालय राम्रै थियो । हामी शुक्रबार त्यहाँबाट किताब लिन्थ्यौं र आइतबार वा सोमबार फर्काउन्थ्यौं । होस्टलमा बस्दा धेरै किताब पढ्ने बानी बस्यो ।
हामीलाई गर्मी, जाडो, इस्टर (इसाई धर्मको एक पर्व), दसैं, तिहार आदिमा बिदा दिइन्थ्यो । बिदामा मामाघर जान्थेँ । मामाघर टेंगलमा थियो । जेठो मामा केदारलाल श्रेष्ठ धेरै माया गर्नुहुन्थ्यो ।
मामाघरका हजुरबुबा बद्रीलाल श्रेष्ठ पनि धेरै हेरचाह गर्नुहुन्थ्यो । हजुरबुबाले सानो छँदा हामीलाई धरहरा चढाउन लानुभएको थियो । अहिलेजस्तै त्यो बेला पनि धरहरा चढ्न पाइन्थ्यो । कक्षा ३, ४ र ५ मा पढ्दा उहाँले हामीलाई पिकनिक लगेको याद छ । बुबा-आमासँग भन्दा हामी मामा, हजुरबुबा र सानिमासँग नजिक भयौं ।
सानिमा हरिदेवी श्रेष्ठको घर ताहाचलमा थियो । हामी बिदामा ताहाचल पनि जान्थ्यौं ।
राजनीतिले गर्दा बुबा कहिले भारतमा त कहिले कता हुनुहुन्थ्यो । सबैजसो दसैं नरमाइलोसँग बिते । आमा पनि महिला संघमा लागेकाले हामी कोही नभएको घर जाँदैनथ्यौं । बरु मावल नै रमाइलो लाग्थ्यो ।
होस्टलमा बस्दा भेट्न आउनेले बिस्कुट, चकलेट, दालमोठ ल्याइदिनुहुन्थ्यो । त्यो हामी फारो गरेर खान्थ्यौं । सबैसँग बाँढेर खान्थ्यौं ।
होस्टलमा बस्दा बिहान ६ बजे उठ्नुपर्थ्यो । फ्रेस भएपछि ७ बजेदेखि ८ बजेसम्म पढिन्थ्यो । ब्रेकफास्ट खाएपछि ९ बजेदेखि ३ बजेसम्म स्कुल हुन्थ्यो । दिउँसो ठिक १२ बजे लन्च हुन्थ्यो ।
होस्टलमा बस्दा यो गर्नुहुँदैन र त्यो गर्नुहुँदैन भन्ने कुराले सधैं धेरै सताउँथ्यो । त्यहाँ गुन्द्रुक र आलु खान मनलाग्थ्यो । किनभने त्यहाँ ती चिज पाइन्नथ्यो । पालेदाईलाई भनेर बाहिरबाट ल्याएर खान्थ्यौं ।
सानो हुँदा आठ बजे सुत्नै पर्थ्यो । अनुशासन पालना गर्नुपर्थ्यो । सबै कडा गुरु थिए ।
हामीलाई पढाउने विदेशी, एङ्लो-इन्डियन र थोरै नेपाली थिए । नेपाली विषयबाहेक धेरै विषय पढाउने विदेशी र एङ्लो-इन्डियन थिए ।
त्यहाँ पढ्दा मसँग ज्ञानु थापा, मीना बस्नेत, रिता राणा आदि साथी थिए । त्यसबेला राम्रा स्कुलमा पढ्ने प्रायजसो राणा, बस्नेतका छोराछोरी हुन्थे । कक्षामा ४५ जना विद्यार्थी राखिन्थ्यो ।
होस्टल बस्नुअघि हामी घरबाट स्कुल गयौं । बसले लान्थ्यो । हामी केशरमलमा बस चढ्थ्यौं । करिब ४५ मिनेटमा स्कुल पुगिन्थ्यो ।
सेन्ट मेरिजमा हामीलाई अलि सुविधाहरू दिइएका थिए । बुबा र आमा राजनीतिमा लागेर भूमिगत भएकाले यस्ता सुविधा पाइएका हुन् ।
सत्र साल आएपछि पनि यी सुविधा दिइराखिएको थियो । अलिपछि स्कुलमा पाइएको सुविधा लिन मन लागेन । एसएलसी दिने बेलामा म कान्ति ईश्वरी स्कुल (त्रिपुरेश्वर) आइपुगेंकी थिएँ । त्यहिबाट २०२७ सालमा एसएलसी दिइयो ।
म पढाईमा ठिकैमात्र थिएँ । गणितमा त निकै कमजोर हुँ । गणितमा बढी होमवर्क दिइन्थ्यो ।
गणित पढाउने त बेलायती हुनुहुन्थ्यो । हामीलाई दिएको क्लासवर्क नसके खाना खान पाइन्नथ्यो । म चाहिं साथी शारदा मानन्धरको क्लासवर्क सारेर खाना (लन्च) खान जान्थे ।
म तेस्रो श्रेणीमा उत्तीर्ण भएँ । हाम्रो एसएलसीको परीक्षाकेन्द्र दरबार हाइस्कुलमा परेको थियो ।
(शब्द : राजेश कोइराला, तस्बिर : नवराज वाग्ले, २०६५ भदौ ६ मा कान्तिपुर दैनिकको बालकोसेली कोपिलामा प्रकाशित)

Write a comment