कृष्ण धरावासी सानो छँदा

सञ्जीव नभएको भए

कृष्ण धरावासी साहित्यकार हुनुहुन्छ । उहाँले २०६२ मा ‘राधा’ उपन्यासका लागि मदन पुरस्कार पाउनुभएको हो । धरावासीको जन्म २०१७ साउन २ मा पाँचथर जिल्लाको अमरपुर गाउँमा भएको हो । उहाँको खासनाम कृष्णप्रसाद भट्टराई हो । धरावासीका पिताको नाम टीकाराम र माताको नाम अम्बिका हो । उहाँका घरमा चार दिदी-बहिनी र दुई दाजुभाई जन्मे । उहाँ जेठो छोरा हो । अहिले उहाँ बैंक-कर्मचारी हुनुहुन्छ । कृषि विकास बैंक- केन्द्रीय कार्यालय (रामशाहपथ, काठमाडौं) मा कार्यरत हुनुहुन्छ । उहाँको पहिलो रचना २०३३ सालमा ‘सूर्योदय’ साप्ताहिकमा कविता प्रकाशित भएको थियो । उहाँका १५ पुस्तक प्रकाशित छन् । ती ‘बालक हराएको सूचना’ (निबन्धसंग्रह, २०४८), ‘विश्वेश्वरप्रसाद कोइरालाका उपन्यासहरू’ (समालोचना, २०४८), ‘उन्मुक्तिका आवाजहरू’ (कवितासंग्रह, २०५०), ‘लीलालेखन’ (समालोचना, २०५३), ‘नारीभित्र त्यस्ता के छ हजुर’ (निबन्धसंग्रह, २०५३), ‘उत्तमजंग सिजापतिको आलु’ (निबन्धसंग्रह, २०५५), ‘शरणार्थी’ (उपन्यास, २०५६), ‘आधा बाटो’ (उपन्यास, २०५९), ‘झोला’ (कथासंग्रह, २०६०), ‘पाठकको अदालतमा’ (मुद्दा, २०६२), ‘कान्धी राधा’ (काव्य, २०६२), ‘राधा’ (उपन्यास, २०६२), ‘तेस्रो आयाम र बैरागी काइँला’ (समालोचना, २०६३), ‘तपाईँ’ (उपन्यास, २०६४) र ‘मेरो साहित्यिक यात्रा र मदन पुरस्कार’ (संस्मरण, २०६४) हुन् । उहाँका झापाका विभिन्न संघ-संस्थासँग आबद्ध धरावासीले धेरै सम्मान एवं पुरस्कार पाइसक्नुभएको छ । यसपटक धरावासीका बाल्यकालका केही सम्झना :
बुबा ज्योतिष हुनुहुन्थ्यो । उहाँ अमरपुरको धुले-स्कुलको शिक्षक पनि हुनुहुन्थ्यो । म पनि बुबासँग त्यहि स्कुल जान्थें । बेलुका फर्कदा कति धुलो-मैलो हुन्थ्यो । नुहाउने कुरा गार्‍हो थियो । खानेपानीका लागि एक गाग्रो भर्न दुई घण्टा टाढा पुग्नुपर्थ्यो ।
अमरपुर गाउँमा तामांगको ठूलै बस्ती थियो । काकाका छोरा गोपाल, मेरी बहिनीबाहेक तामांग बालबालिका मेरा साथी हुन्थे । हामी सानामा बेहुला-बेहुली बनाएको खेल्थ्यौं । म सानो चुटुक्क परेको थिएँ । त्यसैले म सधैं बेहुला हुन्थे ।
बेलुका बुबाले पढाउनुहुन्थ्यो । म उत्तिको पढ्न मन गर्दिनथें । म भाग्थें । तर पनि पिटाइ भने कहिले खाइन । नपढेका कारण कहिल्यै सजायँ पाइनँ ।
बुबाले हजुरबुबासँग अंश माग्नुभयो । त्यसबेला सरकारले जग्गाका लागि कागज दिंदैनथ्यो । ‘उ माथिको पाखा गरेर खा’, भन्नुभयो । तर पाखामा धान हुँदैनथ्यो । कोदो, मकै, फापर हुन्थ्यो । धानको भात खान मुस्किल थियो । धान भनेको रहरको अन्न मानिन्थ्यो । पवित्र अन्न मानिन्थ्यो । हामी साना भुरा मकैको भात र फाप्लो खाएर दिक्क भएका थियौं । हामी सधैं ‘जाउलो खाने’ भन्थ्यौं । हाम्रै कचकचले गर्दा हजुरबुबा र काकासँग बुबाको भनाभन भयो । यहि घटनाले बुबा र आमाले मधेश झर्ने निर्णय गर्नुभयो ।
२०२४ सालमा हामी मधेश झर्‍यौं । हिड्नुअघि अरुको ऋण तिर्न घरमा भएका खड्कुला, गाग्रा, भाडा आदि अरुलाई दिएको म अझै झलझल सम्झन्छु । हाम्रो घर दुई तले खरले छाएको थियो । माथिल्लो तलामा मकैका हार मिलाएर राखिएको थियो । घरबाहिर पनि मकै मिलाएर राखिएको थियो । हिड्ने दिन घरका सबै झ्याल-ढोका खोलीदियौं । बाख्रा, भैंसी, गाई आदि खोलेर बारीतिर छाडीदियौं । हाम्रो बारी पनि कसैले किनिदिएन । खर्चका लागि पचास रुपैयाँ थियो । त्यो पनि कालोदाल बेचेर आएको थियो ।
हामी पहाडबाट हिड्यौं । बुबा अपांग हुनुहुन्थ्यो । उहाँका कुर्कुच्चा टेकिन्नथे । दिदी ११ वर्ष, म ७ वर्ष, दुईटी बहिनी क्रमशः ५ र ३ वर्षका थिए । हाम्रो सम्पत्तिका नाममा दुईटा भरियालाई हुने सामानमात्र भए । दिदी, म र ५ वर्षकी बहिनी हिड्यौं । ३ वर्षकी बहिनीलाई आमाले बोक्नुभयो । गाउँको भट्टराई जेठो भनेर मेरा बुबाले बनाएको प्रतिष्ठा छाडेर हिड्यौं ।
हामी हिड्दा मुलघरको खैरे कुकुर पछि लाग्यो । त्यो कुकुर डरलाग्दो थियो । रातीमात्र खोल्ने गरेको त्यो कुकुर कसरी त्यो दिन खुल्यो ? साना लालाबाला र बुबालाई हिड्न गार्‍हो भएकाले हामी साँझ पर्दा हिवाँखोलाको बगरमा पुग्यौं । पुसको बेला थियो । स्याँठ चलेको थियो । हामी त्यहि बास बस्यौं । सार्‍हो भएको डल्लो ध्यू र भात खाएको याद छ । त्यहि सुत्यौं । रातभरको चिसो कसरी सुत्यौं होला ?
भोलीपल्ट खोला तर्‍यौं । तर कुकुर खोलो तरेन । हामी घर छाड्दा रोएका थिएनौं । तर कुकुरले खोला नतर्दा रोयौं । हामी पारी पुगेर धेरै पर जाँदासम्म कुकुर यता र उता गरिरहेको थियो । पछि सुनेको कुकुर दुई दिनपछि मात्र घर फर्क्यो रे !
हामी इलामको फिदिम पुग्यौं । आठ आनाको सुन्तला किन्यौं । ५० वटा आयो । लालाबाला देखेर सुन्तला बेच्ने आमैले ५ वटा थपिदिइन । घर छाडेको पाँच दिनमा हामी साङ्रुम्बा पुग्यौं । त्यहाँ मामाघर थियो । मामाहरूको आर्थिक अवस्था खासै राम्रो थिएन ।
यसैबीचमा म मामाघरकी हजुरआमासँग एक दिन इलाम बजार गएको थिएँ । हजुरआमा के के बेच्न जानुभएको थियो । एउटा घर हिड्दै म भएतिर आयो । म त भागें । भाग्दै जान्छु, उतै आउँछ । अलि पर डोको बोकेर आएकी एउटी आमैलाई समाएँछु । उनले यो त मोटर हो । डराउनु पर्दैन भनेपछि म रोकिएँ । हजुरआमाकहाँ फर्के ।
घरबाट हिड्दा बचेको पैसाबाट १५ पाथी मकै किनेर बुबा र म मधेश झर्‍यौं । आमाले बाटामा खानु भनेर घर-तरुल उसिनेर र काँचो भट्मास पोको पारिदिनुभयो । अरु दुई घण्टामा पुग्ने हामीलाई भञ्ज्याङ्ग पुग्न दिनभर लाग्यो । त्यहाँ एउटा दोकानमा भट्मास भुट्न लाएर तरुलसँग खायौं । बुबाले एउटा धुस्सा बोक्नुभएको त्यहि ओढेर, गुद्री ओछ्याएर सुत्यौं । पुसको जाडो बाबु-छोरा नै खुब कामेका थियौं । मलाई काँचो र चिसो खानाले पखाला चल्यो । थाकेको र बिरामी भएपछि बल्ल निदाएँछु । चार बजे ब्युझँदा हामी सुतेको घरको भुँइतलामा टन्न मान्छे थिए । एउटा भरियाले मलाई उनको बर्को समेत ओढाएछन् । मान्छेको भीड भएपछि तातेर निदाइएछ ।
बिहान त्यहाँबाट हिडियो । राँगापानीको उकालो चढ्दा म बेहाश भएँ । बुबाले पानी खोजेर छम्की ख्याएपछि मेरो होश खुलेछ । त्यसपछि हामीले मोटर भेट्यौं । हामी मोटर चढ्यौं । सुरुमा त रमाइलो भयो । रुख, घर सबै पछि सर्थे । हामी अघि सथ्यौं । पछि त वान्ता भयो ।
यसरी हामी झापा पुग्यौं । काम के गर्ने ? बालबच्चा कसरी पाल्ने भनेर खोजेर बुबा थाक्नुभयो । खेती गर्नबाहेक केही काम भएन । बुबा अपांग भएकाले निराश हुनुभयो । अब पहाड फर्कन भन्नुभयो । हामी पहाड हिड्यौं । उताबाट आमाहरू आउँदै हुनुहुँदो रहेछ । बाटामा भेट भयो । बुबा र आमाबीच भनाभन भयो । आमाकै करले हामी मधेश गयौं ।
म ९ वर्षको भएपछि शनिश्चरेको प्राथमिक स्कुल पढ्न थालें । यसरी छोरालाई पढाउने काम मात्र भयो । कक्षा ३ मा नयाँ साथी आए । उनी राम्रा र गोरा थिए । उनी सञ्जीव उप्रेती थिए । राम्रो परिवारका थिए । राम्रा किताब पढ्थे । उनकै संगतले म पढ्न र लेख्न थालें । उनीसँग भेट नभएको भए म त्यहिको स्कुलमा शिक्षकमात्र हुन्थे ।
२०३३ मा पिताजी बित्नुभयो । शुक्रबार राती मेरै कारणले हाम्रो झुप्रो जल्यो । हामी त बाँच्यौं । थोरै जे थियो । सखाप भयो । सञ्जीवलाई चिठी लेखेर पठाएँ । उनकै पिता डा. शंकर उप्रेतीले पाँच सय रुपैयाँ दिनुभयो । हामीले सबैथोक किन्यौं । २०३४ मा मैले एस.एल.सी. दिएँ । दोस्रो श्रेणीमा पास गरें ।
(शब्द : राजेश कोइराला, तस्बिर : नवराज वाग्ले, २०६४ चैत १५ मा कान्तिपुर दैनिकको बालकोसेली कोपिलामा प्रकाशित)

Write a comment