बेखबर फिरन्ते केटी*

रसुवाका गाउँठाउँमा उनका तस्विर अझै भेटिन्छन् । कुनै खुइलिएका त कुनै सद्दे । ठमेलका होटल र खाजाघरहरुमा पनि । जनसम्पर्क हुने राजधानीको अमेरिकी दूतावासका ठाउँठाउँमा उनको तस्बिर राखिएको छ र उनी हराएको बताइएको छ ।
उनी अर्थात् अब्रे स्याक्को हराएको ठ्याक्कै एक वर्ष भएको छ । काठमाडौंस्थित अमेरिकी दूतावासले उनी अझै फेला नपरेको सूचना जारी गरेको छ । दूतावासको विज्ञप्तिमा भनिएको छ, ‘अमेरिकी महिला अब्रे स्याक्को नेपालमा लाङटाङ र क्यान्जिन गोम्पातर्फको पदयात्रा गर्ने क्रममा हराएको एक वर्ष पूरा भएको छ । उक्त क्षेत्रहरुमा गरिएको विस्तृत खोजीपश्चात् पनि उहाँको सम्बन्धमा कुनै जानकारी वा प्रमाण फेला पर्न सकेको छैन ।’
स्याक्को परिवार र काठमाडौंस्थित अमेरिकी दूतावासले अब्रेको सम्बन्धमा जानकारी प्राप्त गर्न धेरै प्रयास गरे । उनलाई २०६७ वैशाख ९ लामा होटल नाम गरेको एउटा सानो गाउँ छोड्दै गर्दा अन्तिम पटक देखिएको थियो ।
उनी नेपाल पर्यटन बोर्डबाट १०३३९२ नम्बरको टिम्स कार्ड लिएर काठमाडौंबाट स्याब्रुबेसी हुँदै लाङटाङतर्फ लागेकी हुन् । लाङटाङको ७-८ दिनको पदयात्रा सुरु गरिन् । उनले अप्रिल ३० देखि मे १ बीचमा काठमाडौं फर्कनु पर्ने थियो । तर उनी हराइन । स्याब्रुबेंसीभन्दा केही पर लाङटाङ राष्ट्रिय निकुञ्जस्थित घोडा तबेलामा उनी पुगेको बताइन्छ ।
खोजीको प्रयास
अमेरिकाबाट राजेश कोइराला लेख्छन्- उनको उमेर २४ वर्ष भयो । उनको घर कोलोरोडो राज्यको ग्रिलीमा छ । कोलोराडो विश्वविद्यालयबाट स्नातक गरेकी स्याक्कोका पिता पल र माता कोन्नीका अरु दुई छोरा छन् । उनलाई ‘शिकारु यात्रु’ भन्न मिल्दैन ।
उनी हराएको थाहा पाएपछि फिस्टेल एयरको हेलिकोप्टरबाट शंका लागेको सबै ठाउँमा खोजिएको थियो । उनलाई खोज्न ५७ वर्षीय पिता जुनमा नेपाल पुगे । फेरि उनका जेष्ठ पुत्र क्रफ्टनका साथ नेपाल पुगे ।
पलले आफ्नो खर्चमा स्थानिय मानिसहरु खोज्न खटाए । उनले भारत र तिब्बतसम्म पनि खोजी गरे । उनको खोजीमा नेपालस्थित अमेरिकी दूतावास, अमेरिकी संस्था एफबीआई र इन्टरनेटका माध्यमले उनको शुभेच्छुक धेरैले पललाई साथ दिए । उनको खोजीका लागि नोभेम्बरमा दोस्रो बृहत प्रयास भयो । खोजीको काममा विश्राम लिइएको छैन ।
कतै भेटिन सकिन्छ भन्ने आशामा भेट्टाउनेलाई दिने परस्कार रकम बढाएर करिब नेपाली दश लाख रुपैयाँ (१४ हजार डलर) पुर्‍याए  । त्यसपछि पनि उनको कुनै खबर आएको छैन ।
आमा कोन्नी भन्छिन्, ‘उनी साह्रै उत्साही खालकी हुन् । कलात्मक पनि हुन् । उनको आदर्श वाक्य ‘जीवनलाई माया गर’ हो ।’
अमेरिकाबाट सन् २००९ डिसेम्बरमा उनी पहिलो पटक एसियाका लागि हिडिन् । उनको यात्रा अवधि ५ महिना लामो थियो । उनी श्रीलंका पुगिन् । योगा सिकाइन । भारत गईन् । योगा सिकिन् । स्कुले नानीहरुलाई कला र संगीत सिकाइन् । अनि नेपाल पुगेकी हुन् । उनी चित्रकला, संगीत, योगामा रुचि राख्ने युवती हुन् । पूर्वीय संस्कृति सिक्ने उनको ठूलो इच्छा थियो ।
फेसबुकमा ८ हजार ६८१ जनाले उनलाई भेटिने आशासहितको सन्देश छाडेका छन् । उनको यथास्थिति थाहा पाउन ८ हजार पत्र विदेशमन्त्री हिलारी क्लिन्टनलाई बुझाइएको छ ।
कोन्नी भन्छिन्, ‘हामी कुहिरोका काग भएका छौं । अलमलमा छौं ।’
उनको परिवार फेरि मे महिनामा नेपाल जाने सोचमा छ । पिता भन्छन्, ‘उनी हुनुपर्छ कतै । हामीले आशा मारेका छैनौ ।’
उनका साथी र शुभेच्छुकले विभिन्न कार्यक्रम पनि गरे । यता घरमा उनी हराएको एक वर्षका दिन उनका चिनजान र शुभेच्छुकहरुको भेला भयो । सबैले उनको जुझारु जीवन र उत्साहका लागि रंगीन रिबनहरु बाँधे । उनको भलोको कामना गरे ।
उनका पिता भन्छन्, ‘हामी निराशाजनक खबर सुन्न चाहन्नौं । हामीले टाँगेका रिबन खुइलिएलान् । हाम्रो आशाको रंग उडेको छैन ।’
*अमेरिकामा राजेश कोइराला र काठमाडौंमा शेखर अधिकारी, इकान्तिपुरमा २०६८ वैशाख २७ मा पोष्टिङ

Comments posted (1)

मुझे आशा है , यह ठीक है

Write a comment