बेनजीर भुट्टो सानो छँदा

सानी पिङ्की

पाकिस्तानको पहिलो महिला प्रधानमन्त्री बेनजिर भुट्टोको हालै मृत्यु भयो । उहाँ मुस्लिम धर्म मान्ने मुलुकको पहिलो महिला प्रधानमन्त्री पनि हो । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का अहिलेसम्म १४ वटा शिखर सम्मेलन भए । ती सम्मेलनमा भाग लिने पहिलो महिला प्रधानमन्त्री हुनुभयो । उहाँका पिताको नाम जुल्फीकर अलि भुट्टो हो । माताको नाम नुसरत भुट्टो हो । उहाँ पितामाताकी पहिलो सन्तान एवं जेठी छोरीका रूपमा सन् १९५३ जून २१ तारिखमा जन्मनुभएको थियो । जुल्फीकर र नुसरतका दुई छोरा र दुई छोरी जन्मिएका थिए । बेनजिरले हार्भर्ड विश्वविद्यालय र अक्सफोर्डमा पढ्ने मौका पाउनुभयो । बेनजिरलाई सन् १९७७ देखि सन् १९८४ सम्म घरमा नै नजरबन्दमा राखियो । उहाँ देशबाहिर पनि बस्नुभयो । सन् १९८६ मा देश फर्कनुभयो । उहाँको विवाह सन् १९७८ डिसेम्बर १७ मा सिन्धी व्यापारी-परिवारका आसिफ अली जर्दारीसँग भयो । जर्दारी र बेनजिरका एक छोरा र दुई छोरी जन्मिए । सन् १९८८ नोभेम्बर १६ देखि सन् १९९० अगस्तसम्म पहिलोपटक बेनजिर पाकिस्तानकै पहिलो महिला प्रधानमन्त्री हुनुभयो । सन् १९९३ नोभेम्बर १४ मा सपथग्रहण गरी बेनजिरले दोस्रो कार्यकालका लागि प्रधानमन्त्री पद सम्हाल्नुभयो । उहाँलाई सन् १९९६ नोभेम्बर ५ तारिखका दिन राष्ट्रपति फारूक अहमद लेघारीले बर्खास्त गर्नुभयो । मुस्लिम समुदायमा महिलाले राजनीति गरेको उस्तो राम्रो मानिदैन । राजनीतिक कारणले आठ वर्ष देशबाहिर बस्नुभयो । स्वदेश फर्केको दुई महिना नपुग्दै उहाँको एक विस्फोटमा परी निधन भएको हो । भुट्टोको आत्मकथाको पुस्तक ‘डटर अफ द इस्ट’ प्रकाशित छ । यसपटक उक्त पुस्तकबाट बेनजिरको बाल्यकालको सम्झना :
मेरो जन्म कराँचीमा भएको हो । आमा भन्नुहुन्थ्यो- म जन्मँदा मेरो छाला गुलाफी/रातो रंगको थियो । गुलाफी रंगलाई अंग्रेजीमा पिङ्क भनिन्छ । त्यसैले मैले जन्मदै एउटा नाम पाएँ – पिङ्की ।
म जन्मेको अर्को वर्ष भाई मीर मुर्तजाको जन्म भयो । सन् १९५७ मा बहिनी सनम जन्मिईन् । सन् १९५८ मा शाह नवाजको जन्म भयो । यसरी हाम्रो घरमा चार सन्तान भए । म चाहिं सुरूमा जन्मिएकीले कहिलेकाही एक्लै समेत राखियो ।
म चार वर्षकी हुँदा मेरो बुबा अठ्ठाइस वर्षको हुनुहुन्थ्यो । त्यहिबेला बुबालाई राष्ट्रपति इस्कन्दर मिर्जाले संयुक्त राष्ट्रसंघ पठाउनुभयो ।
बुबाले विभिन्न मन्त्रालयको काम सम्हाल्नुभयो । तर संयुक्त राष्ट्रसंघमा बुबा-आमा जाँदा हामी केटाकेटी यतै भयौं । एक्लाएक्लै भयौं ।
बुबा राष्ट्रसंघ जाँदा उहाँका तस्बिर छापिएका अखबार खुबै देखिन्थ्यो । उहाँ संघबाहेक अन्य संस्थामा बोल्दै गरेका बुबाका तस्बिर हुन्थे । बुबा पुगेका अधिकांश ठाउँमा आमा पनि साथै हुनुहुन्थ्यो । ‘तिमी घरकी ठूली छोरी हौ । तिमीले अरूको हेरचाह गर्नुपर्छ,’ भनेर आमाले भन्नुहुन्थ्यो । घरमा काम सघाउने थिए । उनीहरूकै सहयोगबाट म सबैको हेरचाह गर्थे ।
म आठ वर्ष पुगेपछि त घरको मुख्य मान्छे जस्ती भएँ । घर खर्चका लागि आमाले पैसा दिनुहुन्थ्यो । म त्यो पैसा सिरानीमुनि लुकाउँथे । हाम्रो घरमा काम गर्ने बाबु नामका दाई थिए । सधैं बेलुकाको खाना खाएपछि बाबुसँग बसेर घरखर्चको हिसाब गर्थे । मैले स्कुलमा पैसाको हिसाब सिकेको धेरै भएको थिएन । धेरैजसो हिसाब ठिकै हुन्थ्यो । दश रुपैयाँको खाद्यान्न किन्दा घरका सबैलाई पुग्ने आउँथ्यो । सस्तो थियो ।
हाम्रो घरमा पढ्नुपर्छ भन्ने मान्यता थियो । पढाई पहिलो प्राथमिकता थियो । हामीलाई पढाउनुमात्र होइन्, यो पुस्ता पढेर आधुनिक पाकिस्तान बन्नेछ भन्ने विश्वास बुबाको थियो । म तीन वर्षको हुँदा मलाई लेडि जेनिङ्स नर्सरी स्कुल पठाइयो । पाँच वर्षमा म कराँचीकै पाँचमध्ये एक नामचलेको ‘कन्भेन्ट अफ जिसस एन्ड मेरी’ (सिजेएम) मा पढ्न गएँ । सिजेएममा अंग्रेजीमा पढाई हुन्थ्यो । अंग्रेजी त सिन्धी, पर्सियन वा उर्दु भाषाभन्दा धेरै फरक थियो । आइरल्यान्डबाट आएकी एक भिक्षुणीले हामीलाई अंग्रेजी पढाउनुहुन्थ्यो । सिजेएम त एउटा मिसनरी स्कुल थियो । त्यो इसाई धर्म मान्ने विदेशी दाताको खर्चमा चलेको थियो । त्यहाँ थोरै मुस्लिम बालबालिका थिए ।
‘अरु केही चाहिंदैन, तिमीले राम्रो पढे पुग्छ,’ बुबा मलाई बारम्बार भन्नुहुन्थ्यो । हामी ठूला हुँदै गयौं । बुबाले हामीलाई घरमै पढाउने शिक्षकको व्यवस्था गरिदिनुभएको थियो । घरका शिक्षकले हामीलाई अंग्रेजी र गणित पढाउनुहुन्थ्यो ।
हाम्रो पढाईमा बुबाको धेरै चासो हुन्थ्यो । उहाँ संसारको जुन कुनामा भए पनि फोन गरेर हाम्रो पढाईबारे जानकारी लिनुहुन्थ्यो । वास्तवमा म चाहीं जान्ने विद्यार्थी थिएँ । त्यहि भएकाले बुबा भुट्टो परिवारकी पहिलो छोरीलाई विदेशमा पठाएर पढाउन चाहनुहुन्थ्यो । त्यस्तै भयो ।
म मात्र होइन, हाम्रो परिवारमा सबैले उत्तिकै पढ्ने वातावरण पाए । यस्तो वातावरण अरुका घरमा कहाँ थियो र ? सानो छँदा मैले मुस्लिम समुदायमा पुरुषले जे गरे पनि हुन्छ भन्ने बुझेकी थिएँ । वास्तवमा त्यस्तै समाज थियो । बुबा धर्ममा आस्था राख्ने व्यक्ति हुनुहुन्थ्यो । तर आमाले प्रार्थना गर्न सिकाउनुभएको थियो । विश्वको कुनै कुनामा भए पनि आमा पनि प्रार्थना गर्नुहुन्थ्यो । म नौ वर्षकी भएपछि मलाई पनि आमाले प्रार्थनामा सहभागी गराउन थाल्नुभएको थियो । आमा सिया र बुबा सुन्नि समुदायबाट हुनुहुन्थ्यो । यी दुई समुदायका मानिस एकै थलोमा बसेको सयौं वर्ष बितेको थियो । समुदायबीच विवाहहरू पनि भएका थिए । बुबा र आमा दुई भिन्न समुदायका भए पनि मिलेर बस्नुपर्छ भन्ने शिक्षा घरबाट सिकेकी थिएँ ।
(अनुवाद : राजेश कोइराला, ‘डटर अफ द इस्ट’ बाट, तस्बिर : इन्टरनेट, २०६४ पुस २७ मा कान्तिपुर दैनिकको बालकोसेली कोपिलामा प्रकाशित)

Write a comment