आकाशैमा चील उड्यो…

राजेश कोइराला
अमेरिका, वैशाख १५ – ‘यी दुवै तामाङ सेलो । एउटाको लयमा बजाउन जान्यौं भने अर्कोमा पनि जान्दछौं,’ शरद आफ्ना चेलालाई गितार र किबोर्डमा नेपाली संगीत सिकाउँदै थिए, ‘आकाशैमा चील उड्यो…’, ‘धर्तीमा छाया…’ बजाऊ वा ‘असारै महिनामा…।’
प्रविधिको दुनियाँमा उनी अर्को उपाय सुझाउँछन्, ‘यो गीत युट्युबमा हेर । अनि हेर्दै बजाऊ ।’ कक्षामा सहयोग गरिरहेका रिकी गुरुङ आइपोड झिक्छन् र युट्युब खोल्छन् । अनि बजाउँछन्, ‘आकाशैमा चील उड्यो..।’ शनिबारे संगीत-कक्षामा शरद गितार, किबोर्ड र मादल सिकाइरहेका थिए ।
शरद अर्थात् पहिलो नेपाली डिजिटल फिल्म ‘कागबेनी’का संगीतकार शरद गुरुङ । अमेरिकाको व्यस्त जीवनमा उनी सातामा दुईभन्दा बढी संगीतका स्वयंसेवी कक्षा पुग्छन् ।
विद्यार्थीमध्ये एक श्रीशयलको संगीत सिक्ने मौका पिता रवीन र शरदको मिलनले जुराएको रहेछ । आधाघन्टा ड्राइभ गरेर रवीन छोरालाई संगीत सिकाउन हुक्सेट आइपुग्छन् । सेन्ट जेभियर्समा रवीनभन्दा शरद साना कक्षा पढ्थे । स्कुलेजीवन सकिएपछि दुवै आफ्नो बाटो लागे ।
मित्र मिलन मात्र होइन, शरदको सिर्जनामा पश्चिमा र नेपाली पाराको संगीतको पनि मिलन हुन्छ । भन्छन्- ‘यसैमा पहिचान बनाउन प्रयासमा छु ।’ न्यु ह्याम्सरमा करिब दुई दर्जन गुरुङ परिवार छन् । यही समुदायले जेसिका गुरुङको घरको बेसमेन्टमा कक्षाको व्यवस्था गरेको हो ।
रवीन भन्छन्- ‘उत्तर-पूर्वी अमेरिकाका नेपालीमाझ संगीत सम्वर्द्धन गर्न र नयाँ पुस्तालाई नेपाली संगीत सिकाउन सहयोग पुगेको छ ।’
वरिष्ठ संगीतकार अम्बरका कान्छा छोरा शरद नेपालको प्रतिनिधित्व गर्दै मलेसियामा १९९० मा भएको अन्तर्राष्ट्रिय गीत प्रतियोगिता ‘गोल्डन काइट वर्ल्ड सङ कम्पिटिसन’ मा भाग लिएलगत्तै ज्याज अध्ययनका लागि अमेरिका आउन पाए ।
ज्याज पियानोमा विश्व प्रसिद्ध संगीत बर्कली कलेजबाट स्नातक गर्ने उनी पहिलो नेपाली हुन् । उनी लियन सुजनवर्क स्कलरसिप अवार्ड १९९१ का विजेता पनि हुन् । सानो मुलुकका यिनको बर्कलीमा विद्यार्थी रहँदा इन्टरनेसनल हेराल्ड ट्रिब्युनले प्रोफाइल नै छाप्यो । स्तम्भमा पप र ज्याज संगीतका निकै चर्चित मात्र समेटिन्छन् । शरदका विभिन्न पहिचानमध्ये सबभन्दा बढी बिकेको पप एल्बम ‘क्रस रोड’ को अरेन्जमेन्ट र रेकर्डिङको श्रेय पनि उनलाई जान्छ । उनले नेपालको नयाँ राष्ट्रिय गानमा संगीतको पनि अरेन्ज गरेका थिए ।
त्यही संगीतलाई अन्तर्राष्ट्रिय क्षेत्रमा पहिलोपटक उनले नै प्रस्तुत गरे । नेपाली धुनलाई हलिउड शैलीमा ढालिएको कागबेनीलाई बोस्टनसम्म ल्याइपुर्‍याए र आफ्ना गुरुहरूलाई सुनाए । शरद कहिले अमेरिका त कहिले नेपाल हुन्छन् । भन्छन्, ‘नेपाल फर्कन मन छ । नेपाली र पश्चिमा संगीतलाई मिलाएर एउटा व्याकरण लेख्ने सोच बनाएको छु ।’
(२०६८ वैशाख १६ को कान्तिपुर दैनिकमा प्रकाशित)

Write a comment