अर्जुनप्रसाद पराजुली सानो छँदा

टोपीबाट निस्कने टुप्पी

अर्जुनप्रसाद पराजुली नागरिक आन्दोलनका अगुवामध्ये एक हुनुहुन्छ । उहाँ व्यङ्ग्य कविता लेखनमा पनि अगाडी हुनुहुन्छ । उहाँको जन्म २०२० साउन ५ गते काभ्रेपलाञ्चोकको ज्याम्दी गाउँ विकास समिति १ मा भएको हो । उहाँ होमनाथ र यदुकुमारीका जेठा छोरा हुनुहुन्छ । उहाँको हास्यव्यङ्ग्य कवितासंग्रह ‘आन्द्रालोक’ प्रकाशित छ । सिस्नोपानी नामक हास्यव्यङ्ग्य संस्थाका संस्थापक पराजुलीले ‘नेपालमा गणतन्त्र नआएसम्म कुनै पुरस्कार र सम्मान नलिने’ घोषणा गर्नुभएको छ । विभिन्न शैक्षिक संस्था एवं भुँडीपुराण प्रकाशनसँग सम्बद्ध पराजुलीका दुई सन्तान छन् । यसपटक उहाँका बाल्यकालका केही सम्झना :
म मेरा पितालाई ‘बा’ भनेर बोलाउँछु । बाले कहिं गएर पढ्नु भएको थिएन । गाउँघरमा स्कुल त कहाँ थिए र ? उहाँ स्कुले-शिक्षा नपाएपछि साक्षर हो । रुद्री, चण्डी त पढ्नुहुन्थ्यो । आमाले पढ्नुभएको थिएन । बाले नै अक्षर चिनाउनुभयो । त्यसपछि मैले स्कुल पढ्ने मौका पाएँ । दश कक्षासम्म पुग्दा मैले तीनवटा स्कुल फेर्नुपर्‍यो । मैले कक्षा एकदेखि तीनसम्म ज्याम्दीकै बाग्देवी प्राथमिक विद्यालयमा पढें । म टोपी लगाएर स्कुल जान्थें । टोपीबाट टुप्पी बाहिर निस्कन्थ्यो । पाटीमा लेख्ने चलन थियो । म सानैदेखी दुब्लो-पातलो हुँ । स्कुलमा मभन्दा बलिया केटा थिए । उनीहरू पाटीमा चकले लेख्थे र मेरो टोपी तानेर पुछ्थे । दुब्लो भएकाले मैले धेरै हेपाई खप्नुपर्‍यो ।
बाग्देवीमा एक जना सरमात्र हुनुहुन्थ्यो । तीनवटा कक्षा थिए । सरले त कसरी भ्याउनु ? त्यहाँ आफैं पढ्नुपर्थ्यो । पढ्नु पनि के भन्नु घोक्ने काम गरिन्थ्यो । कक्षा ३ मा म पुग्दा हामी दुई जना थियौं । रामजी पराजुली र म मात्र । कक्षा २ मा विद्यार्थी नै थिएनन् । स्कुल टाढा थिएन । दश मिनेटमा पुगिन्थ्यो ।
बाग्देवीमा पढ्दा शिवराम पराजुलीले सरले ‘बालक’ पत्रिका लानुहुन्थ्यो । हामी पढ्थ्यौं ।
कक्षा ३ बाट पास भएपछि घरमा ‘अब पढ्नु पर्दैन’ भन्ने कुरा उठ्यो । मैले ‘मेरो अंश बेचेर भए पनि पढाउनु’ भने रे । रे किनभने हजुरआमाले यो कुरा सुन्नुभएको रहेछ । पछिसम्म भन्नुहुन्थ्यो ।
कक्षा ४ र ५ मैले चण्डिनी गाविसको उमा सहशिक्षालय निम्न माध्यमिक विद्यालयमा पढें । कक्षा ४ भर्ना गर्न पैसा थिएन । बाग्देवीका हाम्रा शिक्षक शिवराम पराजुलीले भर्ना गरिदिनुभयो ।
यत्तिका कुरा गर्दा साथी पराजुली, शिक्षक पनि पराजुली भन्ने सुनेर सबैलाई यस्तो के भएको होला ? जस्तो लाग्ला । ज्याम्दीमा धेरै घर पराजुलीका थिए । त्यसैले पराजुली नै पराजुली भएको हो ।
उमा सहशिक्षालयकै कुरा गरौं । यो स्कुल पुग्न हामीलाई एक घण्टा लाग्थ्यो । साथीभाई भनेका नातागोताकै हुन्थे । त्यहाँ पढ्दा मेरा मिल्ने साथी रामप्रसाद नेपाल हुन् । उनी ४/५ वर्ष जेठा र ठूला थिए । पढाई उस्तैउस्तै थियो । चण्डिनी गाविसमा खेती राम्रो हुन्थ्यो । हाम्रो ज्याम्दीमा राम्रो खेती हुँदैनथ्यो । त्यहाँ हामीलाई हेला गर्थे । हामीलाई ‘च्याख्ले’, ‘गहते’ भन्थे । त्यहाँका मान्छेलाई खेतीले वर्षभरि भात खानपुग्थ्यो ।
म मेहनत गरेर पढ्थे । अरुले उपद्रो गरे भने सरलाई खुसुक्क सुनाइदिन्थे । ती सबै मलाई पिट्न खोज्थे । घर फर्कदा पनि पिट्न पो आइराखेका छन् भनेर पछि फर्केर हेर्दै हिड्नुपर्थ्यो । त्यहाँ पढाउने सरहरू- दामोदर नेपाल र दयाराम नेपालको नाम अझै पनि सम्झन्छु ।
चण्डिनीमा पढाई सकेपछि कक्षा ६ देखि कक्षा १० सम्म मैले पाँचखालको सर्वमंगला व्यावसायिक माध्यमिक विद्यालयमा पढें । घरबाटै धाएर स्कुल पुग्नुपर्थ्यो । घाम झुल्कने बित्तिकै हिड्नुपर्थ्यो । दिनभर पढेर घर  फर्कदा रातीको आठ बज्थ्यो । गाउँबाट हिंडेर जाँदा दुई घण्टा र ३० मिनेट, बेसी हुँदै जाँदा ३ घण्टा लाग्थ्यो ।
घरमा उज्यालो भएदेखि नै काम हुन्थ्यो । बिदाको दिन गोठालो जानुपर्थ्यो । कहिले घाँस पनि काट्नुपर्थ्यो । तर म पढ्ने भएकाले काम कमै गर्थे । गृहकार्य पनि त गर्नुपर्थ्यो । वर्षेविदामा भने काम गरिन्थ्यो । भैंसीको दुध बेच्ने गरेको थियो । गाईको दुध बेच्नु हुँदैन भनिन्थ्यो । अझ गाई पनि बेच्नु हुँदैन भनिन्थ्यो । हामी बसाईं सरेर तराई झर्दा हामीले घरमा पालेको गाई अरुलाई दिएका थियौं । उसबेला दश पैसा कप चिया आउँथ्यो ।
दुध बेच्न दोलालघाट ल्याउने गरिन्थ्यो । जंगलको बाटो भएर दोलालघाट आईपुगिन्थ्यो । कम्तीमा एक घण्टा त हिड्नुपर्थ्यो । दुध बेचेकै पैसाले मेरो पढाई खर्च हुन्थ्यो । एक माना दुधको एक रुपैयाँ पाइन्थ्यो ।
पाँचखाल आउँदा एउटा बाटो दोलालघाट हुँदै जानुपर्थ्यो । दुध बेच्ने काम त्यसरी पनि हुन्थ्यो ।
घर  फर्कदा भने सार्‍है गार्‍हो हुन्थ्यो । रात पर्थ्यो । जंगलको बाटोमा डर लाग्थ्यो । एक घण्टा अध्यारोमा हिड्दा स्कुले ठिटोलाई डर पनि कसरी नलागोस् ? सधैं घर पो कसरी पुग्नु हुन्थ्यो । आँखा चिम्लेर सास नफेरि दौडन्थें । घर पुगेर सास फेर्थे । ती दिन अत्यास लाग्दा थिए । गर्मीका दिन लामा हुँदा त अलि दौडनु पर्दैनथ्यो । जाडोका छोटा दिनमा साँझ परिहाल्थ्यो । दौडनुबाहेक उपाय पनि के नै थियो र ? साथी हुँदैनथे । एक्लै दौडदा खुट्टाका सबै नंग उप्केका थिए । कहिलेकाही खोलामा बाढी आउँथ्यो । कतिपटक बग्दाबग्दै बचेको छु । पाँचखाल पुग्न बस चढ्दा पैसा नभएको भनेर कतिपटक खलासीले आधाबाटोमा उतारिदिन्थे । त्यसपछि लुखुरलुखुर हिड्नुबाहेक अरु उपाय थिएन ।
पाँचखालबाट र्फकदा एकदिन राती भयो । म एउटा घरको छेउमा खरको थुप्रोमा लुक्छु भनेर जान लाग्दा घरबेटीले देखेछन् । उनले सोधे । मैले ‘कलम खस्यो’ भने । उनले ‘भोली भेटिन्छ । राती भयो । आज यतै बस’ भने । म डराएर लुक्न लागेको भन्न चाहन्नथें । म त्यस रात त्यहि बसें ।
चाँडै स्कुल जाने भएकाले आमाले बदाम, भटमास, मकै भुटेर पोको पारिदिनुहुन्थ्यो । त्यो पोको देखेपछि खानपुग्ने घरका केटाहरूले मलाई जिस्क्याउँदै खेदाउँथे । त्यो पोको कहिले स्कुलनजिकैको जंगलमा लुकाएर जान्थे । किनेर खाजा खाने पैसा नहुनाले पोकोमा खाजा लगेको हो ।
हुनेखानेका घरका केटाकेटी खाजा खाने बेलामा घरभित्र पस्थे । खान नपुग्ने घरका केटाकेटी ढोकामा गएर टुलुटुलु हेर्थे । म भने हिड्थे । मलाई लोभ, लालच हुन्नथ्यो । झूठो बोल्दिनथें ।
जहाँ पनि म पहिला वा दोस्रा हुन्थे । अंग्रेजीमा कमजोर थिएँ । मेरो गणित राम्रो हो । अक्षर सार्‍है राम्रा थिए । अहिले पनि छन् । किताब असाध्यै जतन गर्थें । हामीले जति पनि किताब पढ्यौं, ती अरुले एक साल पढेका हुन्थे । ती ‘सेकेन्ड ह्यान्ड’ किताब म एक साल पढ्थें । तर उत्तिकै सफा र राम्रा हुन्थे । म आफूले किनेकोभन्दा बढी मूल्यमा बेच्थे । कपीले पाँच रुपैयाँ दर्जन आउँथ्यो । पेन्सिल चलाएको याद छैन । मैले ‘फ्लेम’ कलमले लेखें । मसी चाहिं चक्कि हुन्थे । चक्कि पगालेर कलममा हालेर लेखिन्थ्यो ।
पहिला वा दोस्रा हुँदा कपि/कलम पुरस्कार पाइन्थ्यो । कहिलेकाही सिंगो कपि नदिएर पुरस्कारमा पाना धुतेर आधा पारेको कपि दिइन्थ्यो । त्यहि पाए पनि धेरै खुसी लाग्थ्यो । सफा कागजको पाना भेट्दा पोको पारेर राख्थे । कक्षा ८ वा ९ मा पढ्दाको कुरा हो । जिल्लास्तरीय वादविवाद प्रतियोगिता भएको थियो । म जिल्लाभरमा सेकेन्ड भएँ र पुरस्कार पाएँ ।
कक्षा ७/८ मा पढ्दा मेरो एकजना साथी थिए । उनी लामीडाँडाका व्यापारीका छोरा थिए । उनले ‘परीक्षामा चोर्न देऊ । म तिमीलाई दश रुपैयाँ दिन्छु’ भन्यो । मैले चोर्न दिएर दश रुपैयाँ कमाएको थिएँ ।
कक्षा ९ सम्म पढ्दा मैले कट्टु लगाएर स्कुल जानुपर्थ्यो । घरको अवस्था नाजुक भएकाले एसएलसी दिने बेलामा मात्र पेन्ट सिलाइएको थियो । कक्षा १० मा चाहिं म पाँचखालमा डेरा गरेर बसें । एसएलसीको परीक्षाकेन्द्र धुलिखेलको सञ्जिवनी माध्यमिक विद्यालयमा पर्‍यो । धुलिखेलमै डेरा गरियो । मैले एसएलसी सेकेन्ड डिभिजनमा पास गरें । तर स्कुलकै प्रथम भएँ ।
बाग्देवीमा एक जना केटी पढ्न आइन् । उनले कक्षा २ मै छाडिन् । उमा सहशिक्षालय केटी थिएनन् । सर्वमंगलामा एक जना थिइन् । कतै पनि शिक्षिका थिएनन् । पाँचखालमा एसएलसी दिने बेलामा काठमाडौंबाट गएका राष्ट्रिय विकास सेवाका शिक्षिकाले पढाएँ । नभए त छोरीले पढेको र पढाएको देखिएन ।
त्यसबेला जातपातका कुरा धेरै हुन्थे । दलितहरू बस चढे । आफू पनि बसमा भए । आफूले बोकेको खाजा खानुको सट्टा फ्याक्थें । कस्तो कुरिति रहेछ, त्यसबेला ? यस्तो कुरिति अहिले त मान्नुहुन्न ।
बाहुनले टमाटर, प्याज, लसुन पनि खानुहुन्न भनिन्थ्यो । तर बा-आमा, हजुरआमाबाहेक हामी केटाकेटी खान्थ्यौं ।
म सोझो पनि हुँ । जिद्दी भनौं की सन्काहा पनि हुँ । स्कुल जाने बेलामा भात पाकेको छैन भने भोकै स्कुल हिडिदिन्थे । त्यसो गर्नुको कारण पढ्ने इच्छा धेरै भएर हो ।
मैले भनेजस्तो भएन भने म रिसाउँथे । एकपटक के कुरा परेर मलाई रिस उठ्यो । घरअगाडीको चौतारोमा स्वामीको रुख थियो । रुखमा चढें । टुप्पोमा पुगें । रातभर बस्छु भनेको त पछि भाईले देखेछ । उसले सबैलाई सुनायो । सबैले देखे । मलाई लाज भयो । म उत्रे ।
मेरा मावली महादेवस्थानका नेपाल हुन् । दशैं, जनैपूर्णिमा, नागपञ्चमीमा मामाघर जाइन्थ्यो । दशैंमा दश पैसा दक्षिणा पाइन्थ्यो । त्यो दश पैसा पनि खुब जतन गरेर राख्थे । पोको पार्थे । प्रत्येक दिन हेर्दै राख्दै गर्थें । तीन चार वर्षमा ३/४ रुपैयाँ पुर्‍याउँदा खुब खुसी लाग्थ्यो ।
म सानोमा बालाचर्तुदशीमा हजुरआमा, दीदीसँग काठमाडौं आएँ । एकपटक भाई बिरामी भयो । ‘नेपाले लागेको’ भन्थे । आमाले भाकल गरेकाले स्वयम्भू, ज्ञानेश्वर र भाटभटेनीमा देवता दर्शन गर्न आउँदा म पनि पछि लागेर आएको हुँ । हामी महादेवस्थान, देउपुर, नगरकोट गल्छी हुँदै चाँगुनारायण आएको याद छ । त्यहाँ बत्ती बाल्न आउने चलन छ । एकपटक एयरपोर्ट आएको याद छ । अहिले जस्तो तारबार थिएन । मैले प्लेनको ढोकामा गएर भित्र के रहेछ भनेर हेरेको थिएँ ।
ज्याम्दीको देवीस्थानमा मंसिरतिर एउटा मेलाजस्तो लाग्थ्यो । हामी रातभर जागा बस्थ्यौं । आमाले लुकाएर राखेको सख्खर र बारीका उखु त धेरै खाइयो ।
एकपटक मैले भोगटे खाँदा त्यसको गेडो पनि निलेछु । एकजना गाउँका दाईले ‘तेरो पेटबाट रुख उम्रन्छ’ भनिदिए । म खुब रोएँ । बा-आमा घर आएर ‘त्यसरी रुख उम्रदैन’ भनेपछि मात्र रुन छाडें ।
पाँचखाल जाँदा पछाडी भिर्ने झोला थियो । झोलामा नाइलनका डोरी हुन्थ्यो । हतारमा गाडी चढ्न सजिलो हुन्थ्यो । हिड्न पनि सजिलो हुन्थ्यो । पाँचखालबाट  फर्कदा ढिलो भए दोलालघाटमा बस्ने बन्दोबस्त मिलाइएको थियो । त्यहाँका एकजना श्रेष्ठ व्यापारीलाई बुबाले भनिदिनुभएको थियो । एकपटक म त्यो घरमा बसें । भात पकाएपछि बाहुनको छोरोलाई चोखो खाना दिन तेल हालेर चोख्याएको मलाई याद छ ।
यस्ता याद धेरै छन् । ती दिन दुःखका थिए । तर हामीले हिम्मत हार्नु हुन्न । पहिलेजस्तो छोरीलाई नपढाउने भन्नुहुन्न । जातपात छुट्याउनुहन्न । देश र समाजलाई विकासको बाटोमा लानुपर्छ ।
(शब्द : राजेश कोइराला, तस्बिर : नवराज वाग्ले, २०६४ मंसिर २८ मा कान्तिपुर दैनिकको बालकोसेली कोपिलामा प्रकाशित)

Write a comment