धनञ्जय तिमिल्सिना सानो छँदा

राजधानीको पढाई

धनञ्जय तिमिल्सिना सुदूरपश्चिमका शिक्षासेवी हुनुहुन्छ । उहाँ कैलाली, टिकापुरस्थित वीरेन्द्र विद्यामन्दिरमा ३० वर्ष प्रधानाध्यापक रहनुभयो । उहाँले पढाएका विद्यार्थी उच्च ओहदालगायत विभिन्न देश र मुलुकका विभिन्न स्थानमा पुगी देशको सेवा गरेका छन् । यसै वर्षको मदन पुरस्कार विजेता महेशविक्रम शाह उहाँकै विद्यार्थी हुनुहुन्छ । उहाँको जन्म २००७ साल चैत १३ गते अछाम जिल्लाको जुपु १ धुरालीमा भएको हो । उहाँका पिताको नाम वैजनाथ र आमाको नाम देवकला हो । उहाँले भाषा विज्ञानमा डिग्री तथा मेजर नेपालीमा बिएड गर्नुभएको छ । कैलालीबाट निस्कने विभिन्न पत्रिकामा उहाँका लेख प्रकाशित भएका छन् । उहाँले आफैं पनि सम्पादन गर्नुभएको छ । उहाँ सुदूरपश्चिमाञ्चल साहित्य कला प्रतिष्ठानका अध्यक्ष, कैलालीको सामुदायिक पुस्तकालयको सदस्य-सचिव, प्राज्ञिक समाजको सल्लाहकार सदस्य हुनुहुन्छ । यसपटक उहाँका बाल्यकालका केही सम्झना :
पिताजीले चण्डी धोकाउनुभयो । अमरकोश पढ्ने सिकाउनुभयो । वैदिक मन्त्र जाने । हामी सानोमा पाटीमा लेख्थ्यौं । पिताजी अलि पढेको भए पनि आमा साक्षरमात्र हुनुहुन्थ्यो । तर म पाँच वर्षको भएपछि आमा बित्नुभयो । तर पिताजीले जीवनभर अर्को विवाह गर्नुभएन । हाम्रै लालनपालन र शिक्षामा ध्यान दिनुभयो । हामी दुई भाई र एक दिदी जन्मेका हौं । दिदी साक्षर मात्र हुनुभयो । उसबेला छोरी पढाउने चलन थिएन । एसएलसी दिएपछि मेरा भाई बिते । म त्यसबेला काठमाडौंमा पढ्दै थिएँ ।
कक्षा ५ सम्मको पढाइ त मैले घरमै पूरा गरें । पिताजीको शिक्षाप्रति लगाव थियो । उहाँले २००९ सालमा ओलीगाउँमा कालिका धुम्रलोचनी प्रावि स्थापना गर्नुभएको थियो । त्यसबेला अछामको सदरमुकाम दैलेख थियो । २०१८ सालतिर पिताजी प्रा.वि.को हेडसर हुनुहुन्थ्यो । तलब लिन अछाम जानुहुन्थ्यो । उहाँको तलब महिनाको ५० रुपैयाँ थियो । त्यसबेला षटकोण आकारका चिल्किने मोहर हुन्थें । एक वर्षको ६ सय रुपैयाँ १२ सय मोहर हुन्थे । थौलो भरी हुन्थ्यो । भनौं न मोहरको थुप्रो नै हुन्थ्यो ।
पिताजी २००४ सालमा काठमाडौं आउनुभएको थियो । इन्द्रचोकमा नाटककार पहलमानसिंह स्वाँरको घर थियो । त्यहिं बसेर वेद विद्यालयमा वेद अध्ययन गर्नुभएको थियो । शिक्षा हुनुपर्छ भन्ने मेरा पिताजीले त्यसैले पनि मलाई पढाउन काठमाडौं पठाउनुभयो ।
मैले कक्षा ६ देखि दरबार हाईस्कुलमा पढें । त्यहाँबाट काठमाडौं आइपुग्न दश दिन लागेको थियो । हामी अछामबाट मिस्त्रु आयौं । सेती नदी काटेर लोडेघाट हुँदै कैलालीको भावर प्रवेश गर्‍यौं । त्यो क्षेत्रमा दशौं मानिसको डफ्फा भएर हिड्नुपर्थ्यो । हिड्दै बर्दियाको कतरनियाघाट आइपुग्यौं । बर्दियाबाट भारत पस्यौं । गौन्डा पुग्यौं । पटना हुँदै सुनौली अनि वीरगञ्ज आइपुग्यौं । त्यहाँबाट त्रिभुवन राजपथ हुँदै काठमाडौं भित्रिएका थियौं ।
मेरो ११ वर्षकै उमेर बिहे भएको थियो । काठमाडौं आउँदा म १३ वर्षको थिएँ । म काठमाडौं आएका बेला काठमाडौं आएर पढ्ने विद्यार्थी केही हुन्थे । धेरैजसो भारत जान्थे । मभन्दा रुपानन्द बजगाईं, सिद्धराज ओझा, बलबहादुर कुँवर, रामबहादुर कुँवर काठमाडौं आउनुभएको थियो । काठमाडौं आउनुलाई ‘नेपाल जाने’ भनिन्थ्यो । अलि सभ्रान्त परिवारका मात्र काठमाडौं पढ्न आउने चलन थियो ।
काठमाडौंमा म संस्कृतको विद्यार्थी थिएँ । म काठमाडौंको असन, गणेशस्थानमा डेरा गरेर बसें । डेरामा मेरा साथी मानबहादुर रावल थिए ।
त्यसबेला कोठाको भाडा १५ रुपैयाँ थियो । १० रुपैयाँ दिएपछि महिना दिनलाई भाँडा माझ्ने मान्छे (महिला) पाइन्थ्यो । एक सुकाको चौसुर र पालुंगोको सागले दुई जनालाई दुई छाक पुग्थ्यो । १० पैसा कप चिया मिल्थ्यो । एक सुकाको जेरी र स्वारी एक पाउ नै आउँथ्यो । एक रुपैयाँ कुरुवा चामल आउँथ्यो । एक किलो दाल पहिले ५० पैसा त पछि ७५ पैसामा पाइन्थ्यो । तेल मानामा किनिथ्यो ।
काठमाडौंबाट घर चिट्ठी लेख्दा एक-डेढ महिनामा पुग्थ्यो । अरु उपाय थिएन । मलाई चाहिने खर्च भने पिताजीका एक चेलाले उपलब्ध गराइदिन्थे । उनको नाम भैरवसिंह रावल हो । उनी मुम्बईमा बस्थे । रावलले धनादेश गरी ६ महिना वा वर्षदिनमा भारतीय रुपैयाँ १ सय पठाइदिन्थे । हल्काराले चिट्ठी ल्याउँथ्यो । म गोश्वारा हुलाक जान्थे । त्यहाँ गएर पैसा बुझ्थे । एक सय भारतीय रुपैयाँको १ सय ६० नेपाली रुपैयाँ हुन्थ्यो । अहिलेको जस्तै थियो । त्यहि एक सय भारतीय रुपैयाँले एक वर्ष चलाउनुपर्थ्यो । कोठामा बस्दा हामी आफैं खाना पकाउँथ्यौं । कोठामा के चाहिन्छ ? कति सामानले कति पुग्छ भन्ने कुरा चाहिं मुम्बईबाट पटकपटक काठमाडौं आउँदा भैरवसिंह रावलले बन्दोबस्त गरिदिनुहुन्थ्यो ।
म घरबुना कपडाको कमेज, सुरुवाल लगाउँथे । मोटो कपडाको कोट हुन्थ्यो । एसएलसी दिन जाँदा २०२५ सालमा मात्र मैले सिलाएको पेन्ट लगाएको हुँ । हाम्रो एसएलसीको केन्द्र नन्दि रात्री स्कुलमा परेको थियो ।
म अरुभन्दा गाउँले देखिन्थे । कक्षामा पस्दा सबै साथीहरू, ‘गुरु आयो । गुरु आयो’, भनेर जिस्क्याउँथे । मेरो बोली काठमाडौं र पूर्वको भन्दा फरक थियो । त्यसैले मेरो बोली सुन्दैपिच्छे सबै साथी हाँस्थे । मेरो बोली अछामी थियो ।
छुट्टीमा म बाहिर निस्कन्नथें । कोठामा बसेर पढ्थे । त्यसबेला खेलकुद उत्तिको हुन्नथ्यो । त्यसै पनि अछामभन्दा फरक वातावरण थियो । मलाई खुब पढ्नुपर्छ भन्ने लाग्थ्यो । खुब मेहनत गर्थें । राती निद्रा लाग्छ भनेर खुर्सानीको धुलोको झोलसमेत आँखामा लगाएर पढ्थें । दिउँसो कोलाहल हुने असन राती सुनसान हुन्थ्यो । पढ्न सकिन्थ्यो ।
कक्षा ९ मा म विद्यार्थी युनियनको अध्यक्ष भएँ । संस्कृत विद्यार्थी भए पनि अंग्रेजी मेजर लिएको थिएँ । मसँग पढ्दाका साथीहरू- नरहरि आचार्य, जयराज आचार्य, टेकप्रसाद घिमिरे, दुर्गाप्रसाद अर्याल, ऋषिकेश उपाध्याय हुन् । हामीसँग पढ्ने छात्राको संख्या थोरै थियो । तिनीहरूमध्ये केहीको नाम मलाई याद छ- सरिता अर्याल, ललिता अर्याल, नन्दमाया नकर्मी आदि । हामीलाई विष्णुराज आत्रेय, विश्वनाथ पोखरेल, पूर्णभद्र सुवेदीले पढाउनु भयो । पढाउने शिक्षिका थिएनन् । पछि एसएलसी दिने बेलामा गोमादेवी उपाध्याय शिक्षिका भएर आउनुभयो ।
एउटा भन्ने पर्ने कुरा के छ भने त्यसबेला संस्कृत पढ्नेलाई अंग्रेजी पढ्नेले अलि हेप्थे । २०२४ सालमा मैले अंग्रेजी पढ्नेको युनियन र संस्कृत पढ्नेको युनियन मिलाएर एक बनाएँ । अंग्रेजी पढ्ने माथिल्लो तलामा बसेर पढ्थे । संस्कृत पढ्ने तल्लो तलामा बसेर पढ्थे । त्यही तलामा शौचालय (ट्वाइलेट) थियो । शौचालय खुब फोहोर थियो । धेरै गन्हाउँथ्यो । म युनियनको अध्यक्ष भएपछि शौचालय बनाउने योजना लिएर सिंहदरबार धाउन थाले । दुई बजेअघि सिंहदरबार पस्न पाइन्नथ्यो । एकपटक मलाई दुई बजेअघि सिंहदरबार पस्न खोजेको भनेर गार्डले एक घण्टा थुनिदियो । त्यसबेला ज्ञानेन्द्रबहादुर कार्की शिक्षामन्त्री थिए । अहिले पनि यहि नाम गरेका नेता छन्, ती होइनन् । ती मन्त्री चाँडै रिसाउँथे । स्कुलमा सधैं अन्तिम घन्टि छाडेर जानुपर्थ्यो । मैले तीन महिनापछि मन्त्रीलाई भेट्न पाएँ । मन्त्रीलाई आफ्ना कुरा राखें । उनले रिसाउँदै भने, ‘हे भाई, शौचालय बनाउने काम लिएर पनि यहाँ आउने ?’ मलाई पनि अलि रिस उठ्यो र मैले भने, ‘तपाईंले खाने र दिशा गर्नेबाहेक के गर्नु भएको छ र ? जंगबहादुरका पालामा बनेको थोत्रो शौचालय अझै कति चल्छ ?’ त्यसपछि मन्त्रीले तोक लगाईदिए । म शिक्षा-निर्देशक कृष्णबहादुर मानन्धरकहाँ गएँ । तोकअनुसार १६ हजार रुपैयाँ निकासा भयो । न्युरोडस्थित नेपाल बैंकको चेक थियो । त्यहिंबाट निकासाको रकम प्राप्त भयो ।
दरबार हाईस्कुलमा संस्कृततर्फ पूर्णभद्र सुवेदी प्रधानाध्यापक हुनुहुन्थ्यो । मैले प्रधानाध्यापकलाई समेत राखेर निर्माण विभाग बनाएर उक्त १६ हजार जिम्मा लगाएँ । त्यहाँ शौचालय बन्यो । अहिले पनि त्यो छ ।
कक्षा ९ उत्तीर्ण भएपछि कक्षा १० मा मेरा एक साथी बने । उनी देवीप्रसाद अर्याल थिए । हामीसँग पशुपति, देवपाटनका नेवारसँग सम्पर्क भयो । पशुपतिका भट्टले मन्दिरको भेटी खाने गरेको थाहा पायौं । त्यसबेला श्रीप्रसाद गौतम ‘गोरखापत्र’ मा काम गर्नुहुन्थ्यो । उहाँ पशुपतितिर बस्नुहुन्थ्यो । हामीले भट्टविरुद्ध समाचार लेखेर दियौं । त्यो ‘गोरखापत्र’ मा छापियो ।
त्यसबेलाको कुरा हो, हामीले पाँच विद्यार्थी पशुपति क्षेत्रको वासुकी आश्रममा बस्ने प्रवन्ध मिलायौं । त्यहाँ बाबा वासुकी महाराजको सेवा गनुपर्थ्यो । पाँच विद्यार्थीमध्ये म र देवी पनि थियौं । त्यहाँ बस्दा ९ बजेभित्र खाना खाएर हिड्दै रानीपोखरी आउनुपर्थ्यो । गोरेटो बाटो मात्र थियो । गाडी त थिएनन् । कार राजाको थियो । दरबारका अरु केही सदस्यका गाडी थिए । ट्रम कार थिए । साझा बस थियो । मुस्किलले पाइन्थ्यो । दश पैसा तिरे गौशाला-रत्नपार्क गर्न सकिन्थ्यो । तर दश पैसाको तरकारीले एक छाक टर्थ्यो । स्कुल छुटेपछि चार बजे फेरि हिड्दै र्फकनुपर्थ्यो । त्यहाँ म दश महिना बसें ।
अहिले प्रज्ञा प्रतिष्ठान भएका ठाउँमा गहिरो जमिन थियो । त्यहाँ प्रशस्त तरकारी हुन्थ्यो । दिउँसै डरलाग्दा ठाउँ थिए । लुटपाट र चोरी पनि हुन्थ्यो । लुट्ने मान्छे अलि मान्छे कम हिड्ने बाटामा लुकेर बसेका हुन्थे ।
नयाँ वानेश्वर चोक भएका ठाउँमा सैनिक बस्थे । थोरै घर थिए । स्याल कराएको सुनिन्थो । वानेश्वर हाइट त टार जस्तो थियो ।
२०२४ सालमा विद्या पुरस्कार पाएँ । मैले ‘हँसिलो हिमाल’ शिर्षकको निबन्ध लेखेर उत्तर पुरस्कार पाएको थिएँ । उक्त निबन्ध मदन पुरस्कार गुठीबाट प्रकाशित ‘विद्या पुरस्कार निबन्धसंग्रह’ मा छ ।
काठमाडौंका जात्राहरूमा भने म धेरैपटक गएँ । त्यसबेला ‘गोरखापत्र’बाहेक भारतबाट ‘नवभारत टाइम्स’ पत्रिका आउँथ्यो । मैले एसएलसी सेकेन्ड डिभीजनमा उत्तीर्ण गरेको हुँ । म एक वर्ष असन, ६ महिना डिल्लीबजार बाँसघारी, दश महिना वासुकी आश्रम बसेपछि कक्षा १० को टेस्ट पास गरेपछि संस्कृत छात्रावासमा बसें । त्यहाँ धेरै सुविधा थियो । कक्षा ६ भर्ना हुँदा मौखिक जाँच दिएको थिएँ । स्कुल प्रथम भएको थिएँ । कक्षा ७ मा पुगें । सिधैं कक्षा ८ मा पढ्न पाउँ भनि निवेदन दिएँ । त्यो पनि पाएँ । कक्षा ८ मा विद्यालय टप भएँ । राम्रो पढ्ने भएकाले मैले छात्रावासमा बस्ने मौका पाएको हुँ । त्यहाँ केही तिर्नुपर्ने थिएन ।
मेरो मामा अछाम, दर्नाका ओझा हुन् । पश्चिममा माघभर माघी त्यौहार मनाइन्छ । दशैं पनि मनाइन्छ । तर दक्षिणा दिने चलन थिएन । तिहारमा जुवा खेलेको देखिन्थ्यो । रुखहरूमा पिङ हुन्थे ।
(शब्द : राजेश कोइराला, तस्बिर : नवराज वाग्ले, २०६४ मंसिर २१ मा कान्तिपुर दैनिकको बालकोसेली कोपिलामा प्रकाशित)

Write a comment