मदनकृष्ण श्रेष्ठ सानो छँदा

आहालमा पौडेपछि सानो माडसाबले पिटाइ खानुपर्‍यो

मदनकृष्ण श्रेष्ठ चर्चित कलाकार हुनुहुन्छ । श्रेष्ठको जन्म २००७ साल वैशाख ७ गते काठमाडौं जिल्लाको दुर्गम जितपुरफेदी गाउँमा भएको हो । उहाँका पिताको नाम रामकृष्णलाल श्रेष्ठ र आमाको नाम लक्ष्मीदेवी श्रेष्ठ हो । उहाँ ६ महिनाको भएपछि आमा लक्ष्मीदेवीको निधन भयो । उहाँ २०२८ सालमा मुनास संस्थामार्फत आयोजना गरिएको कार्यक्रममा नेवारी गीत गाएर हास्यव्यङ्ग्य क्षेत्रमा लाग्नुभयो । २०३७ साल वैशाख १४ गते राष्ट्रबैंकले आयोजना गरेको एउटा कार्यक्रमपछि हरिवंश आचार्यसँग एक भई कार्यक्रमहरू देखाउन थाल्नुभयो । ‘बैंकेश्वर’, ‘यमलोक,’ ‘प्यारालाइसिस,’ ‘ककफाइट’, ‘अंशवण्डा’, ‘रद्दीको टोकरी’, ‘ऐना’, ‘सपथग्रहण’, ‘होस्टे-हैँसे’, ‘काउकुती’, ‘गीतैगीत’, ‘लण्डन एयरपोर्ट’, ‘वडा नं. ३४’, ‘राष्ट्रिय गाउँखाने कथा’, ‘अभिभावक’, ‘श्राद्ध’, ‘पिकनिक’, ‘धुम्रकेतु’, ‘बोसे आन्द्राई भुँडीको’, ‘विज्ञापन’ आदि क्यासेट वा प्रदर्शनमा हरिवंशसँग आउनुभयो । ‘फिप्टी-फिप्टी’, ‘सन्तति’, ‘२१६७७७’, ‘भकुण्डे भूत’, ‘दसैं’, ‘१५ गते’, ‘चिरञ्जीवी’, ‘रात’, ‘वनपाले’, ‘लक्ष्मी’, ‘लालपुर्जा’, ‘कान्तिपुर’, ‘सुरबेसुर’ जस्ता २६ वटा टेलिफिल्ममा मदनकृष्ण-हरिवंश (मह) ले अभियान/लेखन/निर्देशन गर्नुभएको छ । ठूलो पर्दाका ‘के घर के डेरा’, ‘वासुदेव’, ‘लोभीपापी’, ‘ट्रक ड्राइभर’, ‘बलिदान’ र ‘फिलिम’ आदि १२ वटा चलचित्रमा काम गर्नुभएको छ । उहाँ ११ संस्थासँग आबद्ध हुनुहुन्छ । दुई दर्जनभन्दा बढी देश घुम्नुभएको छ । उहाँले २० वटा पुरस्कार र सम्मान पाउनुभएको छ । उहाँका एक छोरा यमन र छोरी सराना विदेशमा छन् । यसपटक मदनकृष्णका बाल्यकालका सम्झना :
पहाडको फेदैमा फेदी बजार
त्यही गाउँको हावापानी खोलानाला साथीभाइ
सम्झिन्छु म दिनको हजार
धेरै भयो नफर्केको आफ्नो गाउँघर
के सोच्दा हुन् घरका झ्यालढोका कठैवर
घरको छाना हिँड्यो अरे चित्त दुखाएर
गाईभैंसी मर्‍यो अरे सबै भोकाएर
मै पापी जन्मेको फेदी बजार
त्यही गाउँको कान्ला गरा
हात्तीजस्ता रूखका जरा
सम्झिन्छु म दिनको हजार
आफू जन्मेको ठाउँ जितपुरफेदी गाउँलाई म असाध्यै माया गर्छु । त्यही ठाउँको सम्झनामा मैले यो गीत लेखेको हुँ । फेदीमा नेवारहरूका ३१ घर थिए । त्यहाँ श्रेष्ठ र मानन्धर थिए ।
म जितपुरफेदीमा जन्मे पनि पढ्ने र बढ्ने काममा काठमाडौं सहरको भूमिका छ । अहिले विश्वज्योति हलअगाडि मोन्टेश्वरी स्कुल थियो । बुबाले त्यहाँ कक्षा १ मा भर्ना गरिदिनुभयो । बुबा स्कुलको गेटसम्म पुर्‍याउन आएको र लिन आएको म अझै सम्झन्छु । हामी सहर र फेदी दुवैतिर बस्थ्यौं ।
कक्षा २, ३ र ४ मेरो पढाइ फेदीकै खड्वालकोट आधार स्कुलमा भयो । फर्स्ट बुक भन्ने अंग्रेजी किताब घरमा पढिन्थ्यो । फर्स्ट बुक पढेपछि त मान्छे एमए पढेबराबर हुन्छ भनेर खुब धक्कु लगाउने गरिन्थ्यो । घरमा केही पढ्दा ठूल्ठूलो स्वरले कराएर पढिन्थ्यो । पढ्दाका साथी वासुदेव लामिछाने, कमलभक्त श्रेष्ठ, पद्मभक्त मानन्धर, हरिप्रसाद घिमिरे आदि हुन् । गुरुहरू गोविन्द घिमिरे, केदारप्रसाद घिमिरे, हरिहर घिमिरे आदि हुनुहुन्थ्यो ।
मैले कक्षा ५ चाहिँ कन्या मन्दिरमा पढें । केटी पढ्ने स्कुलमा कसरी केटाले पढ्यो भन्नुभयो होला ? त्यहाँ कक्षा ५ सम्म केटाकेटी साथै राखेर पढ्ने व्यवस्था थियो । कक्षा ६ पछि भने केटीहरू मात्र हुन्थे । कन्या मन्दिरमा पढ्दा ठूल्दाई टिचर हुनुहुन्थ्यो । उहाँदेखि हामी थर्कमान हुन्थ्यौं । उहाँ हिसाब पढाउनुहुन्थ्यो । कहाँदेखि कहाँसम्म दिएको छ, सबै गृहकार्य र अभ्यास गर्नुपर्थ्यो । नत्र पिटाइ खाने डर थियो । म सोझो थिएँ । बेलाबखत चकचक गर्थें । चकचक गर्दा माफी कहाँ पाइन्थ्यो र पिटाइ खानुपर्थ्यो ।
म सानोमा चित्र पनि कोर्थे । यो बानी पछिसम्म पनि रह्यो । ‘ओहो’ टेलिफिल्म बनाउँदा मैले कुष्ठरोगीको अभिनय गरेको छु । त्यसमा मैले खुट्टाले चित्र बनाउनुपर्थ्यो । मैले हरिवंशको अनुहार खुट्टाले बनाएको त ठ्याक्कै मिलेछ । मेरो चित्र कोर्ने बानी अझै छ ।
२०१५ सालको कुरा हो । राजा महेन्द्र पश्चिम नेपालको भ्रमणमा जाने भएछन् । फेदीचाहिँ पश्चिम नेपाल जाने नाका थियो । फेदीबाट त्रिशूली, रसुवा, गोर्खा, मनकामना, पोखरा पनि जाने गरिन्थ्यो । व्यापारको त केन्द्र नै थियो । त्यसबेला फेदीमा स्वागत कार्यक्रम राखेको थियो । मैले पहिलोपटक मञ्चमा गएर गीत गाएँ । दर्शकसामुन्ने ओर्लंदा एउटा मान्छेको तीनतीनवटा नाक देख्थें । मञ्चबाट उत्रेपछि त केही पो नदेखेजस्तो भयो । के भयो ? के भयो ?
२०१८ सालमा देशभर भुइँचालो जान्छ भन्ने हल्ला चल्यो । खड्गो कटोस् भनेर फेदीमा अखण्ड कीर्तन लगाएको थियो । एक वर्षका २४ सैं घन्टा लगाएको कीर्तनमा तलब दिएर भजन गाउने, हार्मोनियम बजाउने मानिस राखिएको थियो । मैले यही बेला तबला र हार्मोनियम बजाउन सिकेछु । यसोउसो गर्दा मैले सिक्ने मौका मिलेछ । अरू केही गर्नुपर्दैनथ्यो । खाली ‘हरे राम हरे कृष्ण’ बजाए पुग्थ्यो ।
फेदीका श्रेष्ठ जति हिन्दु धर्म मान्थे । मानन्धर बौद्ध धर्मका अनुयायी थिए । हामी सप्ताहमा पुग्थ्यौं । सानोमा पुराण सुन्थें । बेलाबखत गुम्बा जान्थ्यौं । भिक्षुले भनेका कथा सुन्थ्यौं । कथाहरू ज्ञानगुन र नीतिका हुन्थे । यस्तै बानीले मनमा आध्यात्मिक छाप पर्‍यो । त्यसबेलाको समाज राम्रो थियो । धर्मजस्तै सबै जाति पनि धेरै मिलेर बसेका थिए । हाम्रो गाउँवरपर लामिछाने, अर्ज्याल, घिमिरे गाउँ थियो । मेरो बुबा प्रधानपञ्च हुनुभएको थियो । उहाँ राजनीतिज्ञ होइन, सामाजिक कामले प्रधानपञ्च बन्नुभएको हो । अहिले पनि म गाउँ जाँदा उहाँको कामको खुब प्रशंसा गरेको सुन्छु ।
बुबा मलाई पढाएर चाँडै जागिर खाओस् भन्ने चाहनुहुन्थ्यो । म १४ वर्षकै उमेरमा स्कुलमा पढाउँथे । अब कति बेला चाहिँ पढें होला त ? बिहान ४ बजे आमाले भात पकाइदिनुहुन्थ्यो । असनमा पात बेच्न आउने मान्छेका साथ लगाएर बुबाले मलाई पठाउनुहुन्थ्यो । धर्मस्थली पुग्दा उज्यालो हुन्थ्यो । मचाहिँ चाँडो हिँडेर स्कुल पुग्थें । स्कुल पुग्न लगातार दुई घन्टा हिँड्नुपर्थ्यो । घडी कहिले हुन्थ्यो त कहिले हँदैनथ्यो । त्यसैले ठिक्क बेलामा त स्कुल कमै पुगियो । कक्षा नसकिँदै म स्कुल छाडेर हिँड्थे । ककनी जाने बाटोमा साढे आठ माइल भन्ने ठाउँमा कालिका राष्ट्रिय प्राथमिक स्कुल थियो । म त्यहाँ पढाउँथे । कोही विद्यार्थी त मभन्दा निकै ठूला थिए । हेडमास्टर पनि हुनुपर्थ्यो त कहिले घन्टी पनि बजाउनुपर्थ्यो । मलाई ‘सानो माडसाब’ भन्थे ।
स्कुल छेउमा आहाल थियो । टिफिनमा धेरै विद्यार्थी त्यही आहालमा पौडन्थे । मलाई पनि त्यहाँ पौडन पाए मज्जा हुन्थ्योजस्तो लागेको थियो । पटकपटक ‘म त मास्टर पो, धत् खेल्न हुन्न’ भन्दै मन मार्थे । एकदिन म पनि आहाल छेउ पुगे । मलाई पौडी खेल्न खुब मन लाग्यो । के सोचे कुन्नि ? सर्टका बटन खोल्दै गएछु । बटन खोलिसक्दा दिमागमा झलास्य सम्झना आयो, ‘मैले त कट्टु लगाएको छैन ।’ मैले गन्जीको तल्लो भाग दुवैतर्फबाट तानेर हुपले अड्काएँ । त्यो केटीमान्छेको स्विमसुटजस्तो भयो । म झ्वाम्म हामफालें । पानीमा पुगेर डुब्दा त ‘आहा क्या स्वर्गीय आनन्द’ भन्ने भयो । टाउको बाहिर निकालेर आँखा खोल्दा त आफूले लुगा खोलेर राखेका ठाउँमा बुबा उभिइराख्नुभएको थियो । हे आपत् । म डराएँ । लुगा लिन गएँ । बुबाले झ्यामझ्याम पिट्दै भन्नुभयो, ‘मास्टर भएर विद्यार्थीलाई सम्झाउनुपर्ने मान्छे, आफैं पो फोहोर पानीमा पौडने ।’ मलाई विद्यार्थीका सामुन्ने लाज लाग्यो ।
त्यो स्कुलमा मेरो तलब ७५ रुपैयाँ थियो । हजुरबुबा, ‘मेरो नातिले वर्षको नौ सय कमाउने भो ए’ भन्दै गाउँलेलाई सुनाउनुहुन्थ्यो । मैले त्यहाँ पढाउँदा एक वर्षको शिक्षक तालिम पनि लिएको थिएँ । २०२३ सालमा पढाउन छाडेर सञ्चयकोषमा जागिर खान थालें ।
ती दिनमा म धेरै हिँडेर थाक्थे । घर पुगेर डंग्रङ लड्थें । निदाउँथें । ८/९ बजेतिर आमाले भात खान उठाउनुहुन्थ्यो । निदाउँदै खान्थें । ती दिन सम्झँदा म अझै तर्सन्छु । चार बजे उठेर धेरै किलोमिटर हिँडेर स्कुल पुग्ने, अनि हिँडेर पढाउन पुग्थें । पढाएर घर पुग्न फेरि एक घन्टा हिँड्नुपर्दा १४ वर्षको केटाको जिन्दगी कस्तो होला ? कक्षा ६ मा म दरबार हाइस्कुल, कक्षा ७ मा पद्मोदय स्कुल, कक्षा ८ मा शान्ति विद्यागृह, कक्षा ९ मा जे.पी. स्कुलमा पढें । कक्षा १० मा त्रिभुवन प्रौढ स्कुल पढें । मरुस्थित शान्ति निकुञ्जबाट एसएलसी दिएँ । मलाई विज्ञान विषय मनपर्थ्यो । म नाटकमा भाग लिन्थें । त्यसबेला घाँगर लाएर नाचेको छु ।
मलाई सानोमा ‘मदनराजा’ नामले बोलाइन्थ्यो । पद्मोदयमा पढ्दादेखि मेरो नाम मदनकृष्ण भयो । मेरो मामाघर नया बजारमा हो ।
म नौ वर्षको हुँदा मैले भँगेरा मारें । गुलेली बोकेर हिँड्ने त चलन नै थियो । ठ्याक्क हिर्काउँदा लाग्यो । भँगेरा मर्‍यो । बढो बहादुरी गरेंजस्तो लागेर हजुरबुबालाई देखाएँ । उहाँले गाली गर्दै भन्नुभयो, ‘कात्तिक-मंसिरको बेला भँगेराले बच्चा हुर्काउने बेला हो । यसका बच्चा होलान् । आमाले खाना ल्याउलिन् भनेर कुरेर बसेका होलान् । धत् यस्तो पनि गर्ने हो ? तिमीले माउ मार्दा बच्चा पनि मरेनन् ?’ हजुरबुबाका कुराले म रातभर निदाइनँ । मैले गर्नु नहुने काम गरें भन्ने भयो । मलाई पीडा भयो । त्यही घटनाले समेत मलाई ४८ वर्षको उमेरमा आएर शाकाहारी बन्न मद्दत पुग्यो । अहिले म मासु खान्न ।
जे.पी. स्कुल पढ्दाको कुरा हो । त्यहाँ कक्षाकक्षामा माइकको स्पिकर थिए । फिस तिर्न बोलाइन्थ्यो । एकपटक राम्रो स्वर भएका विद्यार्थी खोजियो । मेरो स्वर राम्रो भएको ठहर भयो । गीत गाउँदा जेरी-स्वारी खान पाइन्थ्यो ।
२०२२ सालमा टेपमा आवाज भरेर सुन्दामात्र मैले मेरो स्वर आफैं दंग परेको थिएँ । त्यो टेपरेकर्डर दाइले ल्याउनुभएको थियो । २०२२ सालमै मैले भैरवलाल जोशीको सहयोगमा रेडियो नेपालमा गीत गाएँ । त्यो गीत प्रत्यक्ष सुनाइएको थियो । सबैलाई गीत सुन्नु भनेर भनेको थिएँ । गीत गाएर फर्कंदा खुब खुसी भएँ । २०२३ सालमा आवाजको जाँचमा पास भएँ । यसरी म पनि बिस्तारै गायक पनि बनें ।
(शब्द : राजेश कोइराला, तस्बिर : नवराज वाग्ले, २०६४ मंसिर ७ मा कान्तिपुर दैनिकको बालकोसेली कोपिलामा प्रकाशित)

Comments posted (1)

MaHa Jodiko telefilm jati ramaila 6an.Yes lekhko Jivani padda pani ramailo lagyo.

Write a comment