निर्मलकुमार रिमाल सानो छँदा

कहिले गीत त कहिले भोगटेको फुटबलमा मस्त

निर्मलकुमार रिमाल कवि एवं गीतकार हुनुहुन्छ । उहाँ विसं १९९३ चैतमा काठमाडौंको कालिकामार्ग (कालिकास्थान) मा जन्मनुभएको हो । उहाँका पिताको नाम नरेन्द्रनाथ र माताको नाम शेष मञ्जरीदेवी हो । निर्मलकुमारका ६ दाजुभाइ र दुई दिदीबहिनी जन्मनुभएको हो । उहाँले अंग्रेजी साहित्यमा एमए गर्नुभएको छ । नवीन कला मन्दिरका अध्यक्ष रिमालका दस पुस्तक प्रकाशित छन् । नवीन कला मन्दिरले नाटक एवं कलासम्बन्धी विभिन्न पुस्तक प्रकाशित गरेको छ । त्यस्तै बर्सेनि यसै क्षेत्रका विभिन्न व्यक्तित्वलाई सम्मान प्रदान गर्दै आएको छ । आयुर्वेदिक औषधि निर्माण गर्ने उहाँहरूको पुर्ख्यौली पेसा हो । उहाँ कालिकास्थानस्थित आरोग्य भवन वर्क्सका प्रोपाइटर हुनुहुन्छ । यसपटक नेपाली, अंग्रेजी र हिन्दी भाषामा कविता लेख्ने रिमालका बाल्यकालका केही सम्झना :
उसबेला अंग्रेजीको चलन थिएन । संस्कृत पढ्न पाइन्थ्यो । बुवाले कौमुदी पढ्नुपर्छ भनेर दरबार हाइस्कुल भर्ना गरिदिनुभयो । एक वर्ष त्यहाँ पढेँ । अंग्रेजीको हावाले छोयो । जुद्धोदय पब्लिक स्कुलमा पढ्न थालियो । त्यसबेला ‘फर्स्ट बुक’ भन्ने किताब थियो । त्यसमा ‘दिस इज क्याट, दिस इज र्‍याट’ जस्ता कुरा थिए । रंग, फूल आदिको जानकारी थियो । अंग्रेजीबाहेक नेपाली, गणित पनि पढ्नुपर्थ्यो ।
२००३ सालमा पद्मोदय स्कुलको स्थापना भयो । म त्यही पढ्न थालें । कक्षा १ मा भर्ना भएँ । त्यसबेला हाम्रो हेडसर ईश्वरराज अर्याल हुनुहुन्थ्यो । हामी केही ठिटाहरू कलाकारितामा बढी ध्यान दिन्थ्यौं । शालिकराम श्रेष्ठ निकै चुट्किला भन्थ्यो । हामी गाना गाउँथ्यौं । पहिलो घण्टी सुरु हुँदा प्रार्थना गाउँथ्यौं । त्यो प्रार्थना यस्तो थियो :
सरस्वतीका कुमार हामी
सरस्वतीको पूजा गर्छौं ।
हामीलाई कृष्णबहादुर मानन्धरले अंग्रेजी, रामजीप्रसाद शर्माले इतिहास, नीलकण्ठ बज्राचार्यले गणित पढाउनुहुन्थ्यो । मैले एलएलसीसम्म त्यहीँ पढें । त्यसबेला एसएलसीलाई म्याट्रीक भनिन्थ्यो । थर्ड डिभिजनमा एसएलसी पास गरें । पढ्नभन्दा सांस्कृतिक कार्यक्रममा बढी नै चासो दिने भएकाले पढाइ उत्ति राम्रो नभएको होला । गीत गाउन त धेरै रहर थियो । किनभने संगीतकार कल्याण रिमाल मेरो भतिजो हो । म सानैदेखि उसको नजिक रहें । ऊ संगीत भर्थ्यो । म गाउँथें । ऊभन्दा बढी नै गाउँथें ।
गुरुपूर्णिमाका दिन हामी गुरुको पूजा गर्थ्यौं । हामी गुरुहरूलाई स्वयम्भूजस्तो स्थलमा बोलाउँथ्यौं । अझ त्यसमा क्लास टिचर (कक्षाशिक्षक) लाई बोलाउँथ्यौं । गुरुको पूजा गर्थ्यौं । खाना खुवाउँथ्यौं । ग्रामोफोनमा रेकर्ड बजाउँथ्यौं । कोही नाच्थे । म जहिले पनि गाउँथे । हामी बेजोड थियौं ।
गीत गाउने काम चलिरहँदा २००८ सालतिर मैले गीत गाएँ । त्यसबेला रेकर्ड भएन ।
उसबेला हामी डन्डिबियो, गुच्चा, कपर्दी, तेलकासा, लुकामारी खेल्थ्यौं । अनि प्रकृतिसँग नजिक थियौं । माटोसँग नजिक थियौं । त्यसबेला पढ्नुपर्छ भन्ने धारणा विकास हुँदै आएको थियो । केटीहरू पढेको देखिन्नथ्यो । धेरै समय बितेपछि मात्र केटीहरू पढ्न थालेका हुन् ।
म हिसाबमा अलि कमजोर थिएँ । घरमै गुरु आउनुहुन्थ्यो र पढाउनुहुन्थ्यो । गुरुलाई पाँच रुपैयाँ दिनुपर्थ्यो । पछिपछि दस रुपैयाँ दिएको याद छ । पैसाको कुरा गर्दा एक मोहरमा एक पाथी चामल आएको याद छ । एक धार्नी मासुलाई चार रुपैयाँ पचास पैसा पर्थ्यो । तेलचाहिँ पाथीले भरेर किन्नुपर्थ्यो । ललितपुरको खोकनाबाट तोरीको तेल ल्याएर आउँथें । पैसाको महत्त्व नै धेरै थियो । मेरो काका विष्णुनाथ मालपोत (उसबेला मालअड्डा भनिन्थ्यो) मा डिठ्ठा हुनुहुन्थ्यो । उहाँको महिनाभरको तलब नौ रुपैयाँ थियो । पाच रुपैयाँले महिनाको सबै खर्च मज्जाले पुग्थ्यो । ३/४ रुपैयाँ उभ्रन्थ्यो ।
उसबेला गाडी कम थिए । मोहनशमशेर गाडी चढ्थे । त्यो गाडी मानिसले बोकेर राजधानी ल्याएका थिए । त्यसैगरी बबरशमशेरले पनि गाडी चढेको देखिन्थ्यो । ती गाडी निकै बलिया हुन्थे । वर्षौं खराब हुन्नथे । पटकपटकको कुरा हो । अकस्मात डिल्लीबजार चारखालबाट बाजा बजाएर मानिस बाहिर निस्कन्थे । उनीहरूसँगै ‘जुवा फुक्यो, जुवा फुक्यो’ भनेको सुनिन्थ्यो । त्यस समयमा मनोरञ्जनका लागि केही थिएन । बेलाबखत राणा प्रधानमन्त्रीले यसरी आममानिसलाई जुवा खेल्न दिन्थे । जुवा खुला गरिन्थ्यो । खुला नभएका बेला जुवामाथि प्रतिबन्ध थियो । सहरमा जुवा कहिले फुक्का हुन्छ भनेर मानिस कुर्थे । कैयौंले जुवामा हारेर सबै सम्पत्ति सकेका घटना पनि सुनिन्थे । बुवा र दाजुहरू कौडा (जुवा) खेल्नुहुन्थ्यो । हामी साना जति लंगुरबुर्जा (डाइस) खेल्थ्यौं । एक, दुई र पाँच पैसा राखेर लंगुरबुर्जा खेलेको याद छ । पाँच पैसाको ढ्याक हुन्थ्यो । पाँच पैसामा खेल्ने त धनी ठहर्थ्यो । हामी त्यस्तै ढ्याक प्रयोग गरेर खोपी खेल्थ्यौं ।
दशैं निकै रमाइलो हुन्थ्यो । लुगा हाल्नुपर्छ भनिन्थ्यो । दशैंमा नयाँ लुगा हुनै पर्थ्यो । अरू बेला कमीज लाए पनि दशैंमा मयलपोश र सुरुवाल लाउँथ्यौं । कोट पनि लगाउँथ्यौं । जुत्ता सार्कीले सिलाएका पाइन्थे । दशैंमा डमरू खुब बिक्थ्यो । हामी डमरू बजाउँथ्यौं । टिका लगाउन जान्थ्यौं । अहिले बालमन्दिर भएको महल राणाको दरबार हो । त्यहाँ भीम शमशेरकी एउटी रानी बस्थिन । त्यो दरबारमा रानीका हातबाट टिका थाप्थ्यौं । टिका लगाउनेको लाइन हुन्थ्यो । म ७/८ वर्षको हुँदादेखि त्यहा टिका लगाउन गएँ । टिका लगाएपछि ५ रूपैयाँको चाँदीको डबल पाइन्थ्यो । पाँच रूपैयाँको डबलका लागि वर्षदिन कुर्नुपर्थ्यो । मैले ५/७ वर्षको दशैको टिका लगाएँ । त्यसरी आएको दक्षिणा आमाले लिन खोज्नुहुन्थ्यो । भुराले जे पायो त्यहिमा खर्च गर्लान् भन्ने पीरले त्यसो गर्नुभएको होला । हामी भने हरेक बहाना गरेर दिन्नथ्यौं । धेरै पैसा हुने भएकाले मेरा अघिपछि ५/७ जना साथी हुन्थे । हामी फुक्का सख्खर खुब मन पराएर खान्थ्यौं । १ पैसाको सख्खर किन्दा टन्न हुन्थ्यो । इष्टकोटका दुवैतिर खल्तीमा टन्न हुन्थ्यो । पुष्टकारी कहिलेकाही खान्थ्यौं । पुष्टकारीभन्दा सख्खर सस्तो हुन्थ्यो । साथीभाइको कुरा गर्दा हामी कालिकास्थानमा सबै भेला हुन्थ्यौं । त्यहीँ बसेर गफगाफ गर्थ्यौं ।
पौडी खेल्न वागमती र धोबीखोला पुग्थ्यौं । स्कुलबाट भागेर जाने त हो नि । कैयौंपटक बाढीले उछिट्याएको छ । घर फर्केपछि बेलुका खुबै गाली खानुपर्थ्यो । दशरथ रंगशाला भएका ठाउँसम्म गएर भोगटेको फुटबल खेल्थ्यौं । भोगटेलाई खुब थिचथाच पारेपछि गिलो हुन्थ्यो । अनि त फुटबल बन्थ्यो । भोगटे सबैका बारीमा हुन्थ्यो । चोर्न हामी छँदै थियौं । गोल गरेर आएपछि हिरो भएजस्तो भान हुन्थ्यो ।
मेरो मामाघर हाँडीगाउँमा हो । गौतम मेरा मामा हुन् । हाँडीगाउँको जात्रामा जान्थ्यौं । जाँड खाएर आएको मान्छे देख्दा रमाइलो लाग्थ्यो । ‘जाँड खाएको छ नजिक नजाऊ’ भन्थे । मामाघरमा पाउने माया र सत्कारले सधैं जाऊजाऊ हुन्थ्यो । अक्सर मामाघर जान्थ्यौं । बुवा कम बोल्नुहुन्थ्यो । बुवाले आँखा तरेपछि म मामाघर पुगिहाल्थें । त्यहाँ ठूलो बारी थियो । बारीभर फलफूल हुन्थ्यो । बिदामा पनि मामाघर पुगिन्थ्यो । त्यहाँ २/३ पैसा भाडामा साइकल पाइन्थ्यो । मैले ९ वर्षको हुँदा साइकल सिकेको हुँ । दसैंमा मामाघरमा पचन्नी र तीनआनी दक्षिणा पाइन्थ्यो । सबैले खुट्टामा ढोग्दा म त ठूलो भएछु भन्ने लागेर जिल्ल पर्थें ।
हाम्रो घरमा टमाटर खानु हुन्न भनिन्थ्यो । त्यसबेला धेरैजसो बाहुनका घरमा टमाटर चल्दैनथ्यो । एकपटकको कुरा हो । मलाई अण्डा खान मन लाग्यो । बाहुनहरू अण्डा खाँदैनथे । डिल्लीबजारमा साहिलाकाजीको पसल थियो । एकदिन म त्यहाँ गएँ । भित्र पसें र अण्डा मागें । मुटु ढुकढुक भइरहेको थियो । अण्डा खाने तरिका थाहा थिएन । कसैले देख्ला भनेर डराइरहेको थिएँ । अण्डाको सेतो खाएछु र पहेंलो भाग छाडेर भागेछु । मलाई ठूलो पाप गरेजस्तो लागिरह्यो । राति सपनामा चारैतिर राक्षसले घेरेको देखें । राक्षसहरू भनिरहेका थिए, ‘तैंले पास गरिस् । तैले अण्डा खाइस् ।’
म आठ वर्षको हुँदा व्रतबन्ध गरिएको हो । मेरो र कल्याणको सँगै व्रतबन्ध गरिएको हो । दाजुको ससुरालीबाट किस्तीका किस्ती लुगा ल्याएको देख्दा ठूलो काम भएकोजस्तो लाग्यो । व्रतबन्धमा घर छाडेर भाग्नुपर्छ । म घरबाट भागेर कालिकास्थान मन्दिर पुगें । मामाले समातेर फर्काउनुभयो । बुवाआमालाई जिम्मा लगाउनुभयो ।
म ६/७ वर्षको हुँदा मलाई चोट लाग्यो । त्यो दिनपछि कैयौं दिन निकै कष्टमा बिते । मेरो गोडामा सिसाको टुक्रा पस्यो । २/३ दिनपछि थाहा पाएँ । गोडा सुन्नियो । कम्पाउन्डर आए । एउटा औंला चिरेर निकाले । घाउमा कपडा कोचेर जान्थे । भोलिपल्ट आएर निकाल्थे । मचाहिँ, ‘आज म रुन्न,’ भन्थें । कहिले रुन्नथें । कुनै दिन कम्पाउन्डरलाई देख्नेबित्तिकै रुन थाल्थें ।
म सानो छँदा एकोहोरो स्वभावको हुँ । कल्पनाकै सागरमा डुबिरहन्थे । खेल्दा भने अलि चकचके हुँ । कल्पना गरिरहँदा मलाई बुद्ध मनपर्थ्यो ।
बुपाहरू हुक्का खानुहुन्थ्यो । हुक्का खाएको देख्दा आनन्द लाग्थ्यो । आफू पनि खान पाए हुन्थ्योजस्तो लाग्थ्यो । हुक्का खाएर अरू हिँडेपछि तमाखु हाल्थे । यताउता हेर्थे । हुक्का तान्थे । अमिलो हुन्थ्यो । हामीलाई तमाखु भर्न लगाउनुहुन्थ्यो । त्यसैले पनि कस्तो पो हुँदो हो जस्तो लागेको हुनुपर्छ ।
एसएलसी परीक्षाअघि दरबार हाइस्कुलमा कोचिङको पढाइ हुन्थ्यो । मैले पनि कोचिङ पढें । महाकवि लक्ष्मीप्रसाद देवकोटाले अंग्रेजी पढाउनुभयो । उहाँको अंग्रेजी उच्चारण राम्रो थियो । बोल्ने तरिका आकर्षक थियो । ठूलो मान्छेसँग पढ्न पाउँदा खुसी लाग्थ्यो । उहाँ अत्यन्त दयालु हुनुहुन्थ्यो । उहाँ भन्नुहुन्थ्यो, ‘मनन गर है । पढेर मात्र हुँदैन ।’ हाम्रो रट्ने र घोक्ने बानी थियो । देवकोटा बिरामी भएर अशक्त हुँदा हामी भेट्न गयौं । उहाँको स्वीकृति लिएर डिल्लीबजार र वरपर चन्दा उठायौं । त्यसबेला ३ सय रुपैयाँ उठेको थियो । उहाँको उपचारमा मद्दत पुगेको थियो ।
हरिप्रसाद रिमालको नाटक गर्थे । उनले ‘यसो गर्न लागेका छन् । उसो गर्न लागेका छन्’ भन्ने खुब खबर हुन्थ्यो ।
मलाई सानोमा ‘कुमार’ भनेर बोलाउनुहुन्थ्यो । मलाई भारतीय सिनेमा हिरो दिलीप कुमार र हिरोइन मधुवाला धेरै मनपर्थ्यो । एसएलसीपछि म पनि कलाकार बन्न भारतको मुम्बई पुगें । त्यही बेला मैले आफूलाई ‘निर्मलकुमार’ नाम दिएको हुँ ।
काठमाडौंमा हिन्दी सिनेमा हेरिन्थ्यो । जनसेवा सिनेमा हल जान्थ्यौं । एक सुकामा एउटा टिकट पाइन्थ्यो । दुई घन्टा लाइन लाग्नुपर्थ्यो । लाइनका बीचमा कोही पस्न मिल्दैनथ्यो । कसैलाई बीचमै पस्न नदिन प्रहरी खडा हुन्थे । कोही पस्यो भने, ‘पुलिस दाइ घुस्यो, घुस्यो’ भनेर कराउँथ्यौं ।
(शब्द : राजेश कोइराला, तस्बिर : नवराज वाग्ले, २०६४ कात्तिक ३० मा कान्तिपुर दैनिकको बालकोसेली कोपिलामा प्रकाशित)

Write a comment