मुक्तिनाथ शर्मा नेउपाने सानो छँदा

आमाले कुटेर ठूलो पारेको भन्ने ठान्थ्यो मेरो भाइ

मुक्तिनाथ शर्मा नेउपानेसँग सरकारी सेवाको लामो अनुभव छ । उहाँ खरिदारदेखि उपसचिवसम्म हुनुभयो । ३३ वर्ष जागिर खानुभयो । जागिर खाँदा १८ ठाउँमा सरुवा हुनुभयो । यसैबेला ६७ जिल्ला पुग्नुभयो । उहाँले १३ पुस्तक लेख्नुभयो । ती पुस्तकमध्ये ‘पानी र नानी’ (बालगीतिकाव्य) र ‘सानी चरी गौथली’ (बालगीतसंग्रह) प्रकाशित छन् । उहाँ विसं १९९६ फागुन १९ गते लमजुङको दुराडाडा, खुम्रुकमा जन्मनुभएको हो । उहाँ खडानन्द र रुक्मिणीदेवीका साँहिलो छोरा हुनुहुन्छ । किसान पिताका चार छोरा र ६ छोरी जन्मेका हुन् । अहिले काठमाडौंको बानेश्वरमा बस्ने शर्माका बाल्यकालका सम्झना :
बुबाका समयमा पढ्ने बन्दोबस्त थिएन । त्यसैले बुबाले पढ्न पाउनुभएन । तर छोराहरूलाई पढाउने धोको रहेछ । उहाँ भैंसी चराउन जानुहुन्थ्यो । म पनि पछिपछि जान्थें । काठको पाटीमा धूलो छरेर सिन्काले लेख्न सिक्थें । हाम्रो गाउँको छिमेकमा जलकिने (जलुकिने) भन्ने ठाउँ छ । त्यहाँका मानिस अलि पढेलेखेका थिए । मैले त्यहाँ गएर पढ्न सुरु गरें । भद्रकाली, पीताम्बर र तीर्थराज नामका गुरु हुनुहुन्थ्यो । चण्डी, रुद्री पढ्नुपर्थ्यो ।
स्कुल (पाठशाला) थिएन । उहाँहरूकै घरमा गएर पढिएको हो । त्यहाँ पढेपछि म साक्षर भएँ । मेरा ठूला दाइले भारत गएर पढ्नुभयो । माहिलो दाइ अलि सोझो हुनुहुन्थ्यो । उहाँले मैले पाएजति पनि सुविधा पाउनुभएन । चेलीबेटीले त पढ्नुपर्छ भनेर सोच्ने समाज नै थिएन ।
जलकिनेपछि म भाषा पाठशालाको विद्यार्थी भए । म ध्वाउने ठाटी पुगें । त्यसबेला १२/१३ वर्षको पनि भएको थिएँ । मेरा गुरु प्रेमराज अधिकारी हुनुहुन्थ्यो । उहाँले पनि धार्मिक ग्रन्थ पढाउनुहुन्थ्यो । एकपटकको कुरा हो । म पनि प्रेमराज गुरुसग सदरमुकाम कुन्छा गएको थिएँ । त्यहाँ एक्कासि गुरु लड्नुभयो । उहाँको होस् त खुल्यो, तर बोली बन्द भयो । त्यो बोली उहाँको मृत्युसम्म खुलेन । उहाँको दाहिने हात चलेन । गुरुको बोलीसँग मेरो पढाइ पनि बन्द भयो । एक वर्ष कुनै बन्दोबस्त हुन सकेन ।
पढाइसँगै परिवारका विभिन्न प्रसंग रमाइला छन् । आमा मलाई असाध्यै माया गर्नुहुन्थ्यो । केही उपद्रो गरे पिट्नुहुन्थ्यो । ‘मैले कहाँ पिटेको हो र ? ठूलो बनाउन पिटेको हो,’ भन्नुहुन्थ्यो । एकपटक अम्बा टिप्न म रूख चढें । म रूख चढ्न सिपालु थिए । भाइ रूखको फेदमा बस्यो । म अम्बा टिप्दै खान थालेँ । भाइ भने रुँदै भन्न थाल्यो, ‘आमाले पिटेर तपाईं ठूलो हुनुभयो । रूख चढ्नुभयो । अम्बा खानुभयो । मलाई त पिट्दा पनि पिट्नुहुन्न । म ठूलो हुन पाइनँ । अम्बा खान पाइनँ ।’
आँप चोरेर खान पनि खाइन्थ्यो । गोठाला जान्थ्यौं । खेतको पुच्छरमा आँपका रूख थिए । एकपटक काँचो आँप टिप्न चढ्दा मेरो हात खुस्कियो । म खुट्टाका भरमा उल्टो भएर झुन्डिएँ । कसोकसो हातले समाए र बाँचे । आँप टन्न टिपेँ । मसँग गएका सबै साथी धेरै आँप लिएर घर फर्के ।
म दुराडाँडाको चन्द्रपाटास्थित सर्वोदय मिडिल स्कुलमा पढ्न थालें । त्यो स्कुल २००९ सालमा खुलेको हो । खुल्नेबित्तिकैको विद्यार्थी भए । मैले कक्षा १ मा भर्ना पाएँ । कक्षा ८ सम्म पढेँ । म सधैँ पहिला या दोस्रा हुन्थेँ । कक्षा ९ पास भएपछि एउटा समस्या आयो । हाम्रो स्कुलबाट प्रवेशिका परीक्षा दिने बन्दोबस्त मिलाइएको थिएन । स्कुलले सरकारबाट स्वीकृति नपाई कक्षा १० पढाउन मिल्दैन । स्कुलको स्वीकृतिका लागि हामी तीनजना विद्यार्थी प्रतिनिधि काठमाडौं गयौं । त्यो बेला महाकवि लक्ष्मीप्रसाद देवकोटा शिक्षामन्त्री हुनुहुन्थ्यो । प्रधानमन्त्री के.आई. सिंह हुनुहुन्थ्यो । दसैंमा आएर तिहारसम्म काठमाडौंमा बस्यौं । फूलपातिको अघिल्लो दिन हामीले मन्त्री देवकोटालाई भेट्न पायौं । मसग पूर्णचन्द्र घिमिरे र मनुराम अधिकारी पनि आउनुभएको थियो । हामी काठमाडौं आउन पाउनु पनि विद्यार्थी राजनीति थियो । हामीलाई विद्यार्थी फेडरेसनको सदस्य बनाइएको थियो । फेडरेसनका अध्यक्ष वासुदेव ढुंगाना थिए ।
घिमिरे र मनुराम मभन्दा अलि जेठा थिए । म अलि सानो थिए । म केटाकेटी पनि रहेछु । मैले फ्याट्ट, ‘स्वीकृति नदिए हामी जाँदैनौं,’ भनें । मेरो बोली सुनेर देवकोटाले भन्नुभयो, ‘भाइहरू चाँडै तात्नु हुँदोरहेछ । तात्नु हुँदैन बा ।’ उहाँले सचिवलाई अर्‍हाउनुभयो । सचिवले एउटा चिठी बनाए र दिए । चिठीमा, ‘यथाशीघ्र स्वीकृति दिने र यथाशक्य आर्थिक सहयोग दिने,’ लेखिएको थियो । हामी त्यही चिठी लिएर गाउँ फर्कियौं । गाउँमा चिठीका शब्द केलाउँदै फरकफरक अर्थ लगाइयो । यथाशीघ्र त कहिलेसम्म ? यथाशक्य कति रुपैयाँ ? भनियो । हामी छक्क पर्‍यौं । त्यस्तै भयो । स्कुलले स्वीकृति पाएन । मेरो पढाइ फेरि रोकियो ।
सर्वोदय स्कुलमा पढ्दा स्कुलकै काम पनि प्रशस्त गरियो । थाम बोक्यौं । चन्दा उठाउन हिँड्यौं । चन्दा उठाउँदा हामी धान, कोदो, मकै पाउँथ्यौं । त्यो जिन्सी स्कुलले बेच्थ्यो र पैसा जम्मा पार्थ्यो । स्कुलको विकासमा लगाउँथ्यो । हामी त साना थियौं । पहेंलो रुमाल बाधेर गुरुले दिएको मन्त्र पढ्दै चन्दा माग्थ्यौं । गुरुले दिएको मन्त्र यस्तो थियो :
शिक्षाले कति देश र दिलको मैलो पखाल्ने थिए ।
उत्साहीजन हो परन्तु बीचमै आए अज्कल्टिए ।
केही खर्च अझै उभाइदिनुहोस् होला सबैको जय
झनै तुल्बुल हुन्छ विचरा निष्पक्ष सर्वोदय
म २०१७ सालमा काठमाडौं आए । दरबार हाइस्कुलमा पढ्न थालें । त्यसबेला पैसाको निकै ठूलो महत्व थियो । मलाई काठमाडौं पठाउन तीन सय रुपैयाँ बन्दोबस्त गरियो । त्यही पैसाले दस महिना खर्च पुग्यो । अझ एक महिना ट्युसनसमेत पढियो । होला, ४/५ छाक खाना चाहिँ खाइएन कि ! म काठमाडौं बस्दा नरकान्त अधिकारी हाम्रा अभिभावक हुनुहुन्थ्यो । उहाँ लैनचौरमा बस्नुहुन्थ्यो । सबै पैसा उहाँले राखिदिनुभएको थियो । चाहिएको बेला म लिन जान्थेँ । बेलाबखत बोलाउनुहुन्थ्यो । पढाइ कस्तो छ ? भनी सोध्नुहुन्थ्यो । जिल्लाबाट आएका हामी चौधजना विद्यार्थी थियौं । दस कक्षाको टेस्ट दिएपछि एउटा विषयमा मेरो अंक कम आयो । मलाई एक्लै बोलाएर गाली गर्नुभयो । यसैबाट म मेहनत गर्न थालें । म मात्र पास भए । अरू साथीहरू फेल भए ।
त्यसबेला हामीले अंग्रेजीका बुक १, बुक २, अनुवाद (ट्रान्सलेसन), कम्पोजिसन (ग्रामर), गद्यसंग्रह/पद्यसंग्रह, स्वास्थ्यविज्ञानजस्ता किताब पढ्नुपर्थ्यो । दरबार हाइस्कुलमा पढ्दैको एउटा रमाइलो घटना छ । मलाई संस्कृत पढ्न रुचि थियो । संस्कृत इच्छाधीन विषय थियो । तर संस्कृत पढ्नेचाहिं ममात्र भएछु । गोपाल पाँडे ‘असीम’ हाम्रा नेपाली शिक्षक हुनुहुन्थ्यो । उहारूले बोलाएर भन्नुभयो, ‘बाबु तपाईंका निम्तिमात्र एउटा सेक्सन बनाउन सकिँदैन ।’ मैले संस्कृत पढ्न पाइनँ । मैले नागरिकशास्त्र पढें ।
गोपाल पाँडे ‘असीम’ मलाई खुबै माया गर्नुहुन्थ्यो । उहाँ अलि गाउँले भेशभूषामा आउनुहुन्थ्यो । उहाँलाई देखेर सबै हाहा र हुहु गर्थे । मचाहिं भद्र विद्यार्थी थिएँ । मलाई नै, ‘तिमी नै पढाउ’ भन्नुहुन्थ्यो ।
एकपटक गोपाल पाँडे ‘असीम’ ले मलाई कक्षाबाहिर बोलाउनुभयो र भन्नुभयो, ‘छात्रवृत्तिका लागि एउटा बन्दोबस्त छ । तिमी निवेदन देऊ । निवेदनमा आफू गरिब छु भनेर लेख्नुपर्छ है ।’ म कक्षा सकेर फर्कें । छात्रवृत्तिमा महिनाको १५ रुपैयाँ पाउने प्रबन्ध थियो । तर मैले सोचे, ‘मभन्दा अर्को झनै गरिब छ । त्योभन्दा अर्को झन् गरिब छ ।’ सम्झँदै जाँदा अरू पो धेरै गरिब हुन् भन्ने लाग्यो । मचाहिं आफू गरिब हुँ भनेर निवेदन नदिने निर्णयमा पुगें । मैले गोपाल सरलाई भनें, ‘मलाई आफू गरिब छु भनेर निवेदन दिन मन लागेन । मभन्दा अरू धेरै गरिब छन् ।’ सरले मलाई धाप मार्दै, ‘मैले खोजेको विद्यार्थी यस्तै हो,’ भन्नुभयो र उहाँका दुई आँखाबाट दुईटा आँसुको थोपा बगे ।
(शब्द : राजेश कोइराला, तस्बिर : नवराज वाग्ले, २०६४ कात्तिक २३ मा कान्तिपुर दैनिकको बालकोसेली कोपिलामा प्रकाशित)

Write a comment