प्रा. डा. रामावतार यादव सानो छँदा

अंग्रेजको असल बानी मलाई अंग्रेजी पढाउने निर्णय

प्रा. डा. रामावतार यादव पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति हुनुहुन्छ । उहाँ सन् १९४२ सेप्टेम्बर १० मा धनुषाको मुडिबा गाउँमा जन्मनुभएको हो । यादवको नाम पिता प्रभु र माताको नाम जामवतीदेवी हो । उहाँ माता-पिताको एक्लो छोरो हो । यादवका दुई दिदी र एक बहिनी जन्मनुभएको हो । नेपाल र भारतमा स्कुल तथा कलेजस्तरको पढ्नुभयो । त्रिभुवन विश्वविद्यालयबाट एम.ए. गर्नुभयो । उहाँ ब्रिटिस काउन्सिल स्कलर बनेर बेलायत जानुभयो । बेलायतबाट टेफल (टिचिङ इङ्लिस एज अ फरेन ल्याङ्विज) मा पोस्ट-ग्रेजुयट डिप्लोमा गर्नुभयो । दुईपटक फुलब्राइट फेलोसिप (संरा अमेरिका) र तीनपटक हुम्बोल्ड छात्रवृत्ति पाउने पहिलो नेपाली हुनुहुन्छ । उहाँले मैथली ध्वनिशास्त्रमा पी.एचडी. गर्नुभएको छ । उहाँका विभिन्न जर्नलमा लेख तथा पुस्तक जर्मनी, बेलायत, भारत, अमेरिकाबाट प्रकाशित छन् । उहाँले सन् १९६४ मा राजधानीको चेतभवनस्थित कलेज अफ एजुकेसनबाट पढाउन थाल्नुभयो । त्यसपछि पाटन कलेजमा र त्रिभुवन विश्वविद्यालयमा अंग्रेजी पढाउनुभयो । उहाँ पाठ्यक्रम विकास केन्द्र (त्रिवि), उच्च माध्यमिक शिक्षा परिषद्को पहिलो सदस्य-सचिव, शैक्षिक जनशक्ति विकास केन्द्रको दुईपटक कार्यकारी निर्देशक, राष्ट्रिय शिक्षा आयोगको दुईपटक सदस्य, उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको सदस्य-सचिव आदि हुनुभयो । यादवले सन् १९९६ मा पासाङ ल्हामु प्रज्ञा पुरस्कारलगायत विभिन्न पुरस्कार पाउनुभएको छ । मल्ल राजा भूपतिन्द्र मल्लले लेखेको ‘परशुरामोपाख्यान’ नाटकको समीक्षात्मक सम्पादन गर्नुभएको छ । उक्त कृति चाँडै प्रकाशित हुँदैछ । उहाँले पढाएका कैयौं विद्यार्थी मुलुकका उच्च ओहदामा पुगेका छन् । यसपटक उहाँको बाल्यकालका केही सम्झना :
हामी बुवालाई ‘दादा’ भन्थ्यौं । दादाले गर्दा नै मैले अंग्रेजी पढेको हुँ । एकपटकको कुरा हो । दादाले रेलवे अंग्रेजले बनाउँदैछन् भन्ने सुन्नुभएछ । उहाँ रेलवे बनिरहेको ठाउँमा जानुभएछ । अंग्रेज गोरा, अग्ला, खाइलाग्दा थिए । दादाले अंग्रेजले कामदारलाई कस्तो व्यवहार गर्दा हुन् भन्ने लागेछ । भारतमा शासन गर्ने अंग्रेजले भारतीयलाई कोर्राले पिटेको कताकता सुन्नुभएको रहेछ । दादाले त्यहाँका कामदारलाई सोध्नुभएछ, ‘यो गोराले कस्तो व्यवहार गर्छ ? कोर्राले हान्छ ?’ कामदारहरूले त रमाइलो कुरा बताएछन् । उनीहरूले भनेछन्, ‘उहाँ समय आउने-जाने गर्नुहुन्छ । हामीलाई समयमा आउनु, समयमा जानु भन्नुहुन्छ । हामीलाई असाध्यै माया गर्नुहुन्छ । समयमै तलब दिनुहुन्छ ।’ यसरी अंग्रेजको प्रशंसा सुनेर दादाले अंग्रेजी पढेको मानिस यस्ता हुँदा रहेछन् । म पनि छोरालाई अंग्रेजी पढाउँछु भन्ने सोच्नुभयो । म बेलायत जाँदा दादा धेरै खुसी हुनुभएको थियो ।
मैले पढ्न थाल्दा शिक्षाको महत्त्व मानिसले बुझ्न थालेका थिए । पढेलेखेका मानिसलाई इज्जत गर्थे । म सधैं राम्रो विद्यार्थी रहेकाले मैले पनि इज्जत पाएँ । एउटा छोरो भएकाले किसानका सन्तानले पाउने सबै खाले सुविधा मैले पाएँ । किसानसँग धेरै नगद नहुनाले किताब किनेर पढ्न भने अलि कठिन भयो । तर म जान्ने भएकाले किताब किन्न सक्ने साथीहरू मलाई मद्दत गर्थे ।
मैले साथीहरू किताब मागेर पढें । राती १२ बजेसम्म दिंदैनथे । सरले पढाएपछि गराएका प्रश्न-उत्तर मेरा लागि महत्वपूर्ण हुन्थे । एकपटक प्रश्न-उत्तर लेखेपछि मलाई सधैं याद रहन्थ्यो ।
एउटा रमाइलो प्रसंग छ । मेरो गाउँमा कपाल काट्ने बिलठ ठाकुर थिए । उनी अंग्रेजी पढ्ने विद्यार्थी भनेर मलाई विभिन्न अप्ठ्यारा प्रश्न सोध्थे । यो अंग्रेजी कस्तो विद्या हो भन्ने ठानेर बिलठ त्यस्ता प्रश्न गर्थे । उनी सुन-चाँदीको तौलबारे प्रश्न गर्थे । त्यो हिसाब निकै गार्‍हो हो । हाम्रो गाउँमा खेतको माटो काट्न मुसहरहरू आउँथे । माटो कति काटियो भनेर नाप्न पनि गार्‍हो हुन्थ्यो । त्यसको पनि हिसाब बिलठलाई चाहिन्थ्यो । उनलाई देखेपछि मैले तर्केर हिँड्नुपर्ने अवस्था आयो । तर मेरा एकजना मुसलमान साथी थिए । उनको नाम जुमराती राइन हो । राइनले यस्ता हिसाबको सूत्र भेट्टाएछन् । उनले मलाई ती सूत्र दिए । त्यसपछि म बिलठ देखेर भाग्न छाडें । मैले बिलठलाई उत्तर दिएँ । त्यसपछि उनी छक्क परे र अंग्रेजी पढ्नेसँग केही नलाग्ने रहेछ भन्ने भयो । उनले फेरि-फेरि प्रश्न सोध्न छाडे ।
मैले कक्षा १ देखि ५ सम्म घरनजिकै धबौलीको धबौली स्कुल पढें । त्यसबेला बीपी (विश्वेश्वरप्रसाद) कोइराला प्रधानमन्त्री हुनुभएको थियो । उहाँ धबौली आउनुभयो । मेरा साथी जनार्दन मण्डल र मैले स्वागत-गान गायौं । त्यहाँ उहाँको अभिनन्दन गरियो । बीपी आफूले खान बोकेको मोनाको बिस्कुट जनार्दन र मलाई दिनुभयो । हामी औधि रमायौं । धबौली पढ्दा जनार्दनबाहेक मेरा साथी रामस्वरूप यादव, सुखदेव साह थिए ।
हामी धबौलीमा पढ्दा नेपाली भाषाका किताब थिएनन् । धबौलीमा पढाइ सकिने बेलामा बनारसमा छापिएका र पारसमणि प्रधानले सम्पादन गरेका नेपाली किताब देखापरे । हामीलाई पढ्ने मौका मिलेन ।
धबौलीमा ठूलो कक्षा थिएन । मैले त्यसपछि भारतको जटुलिया हाइस्कुल जानुपर्ने भयो । तर म जटुलिया जाँदैछु भन्ने थाहा थिएन । एउटा टिनको बाकसमा मेरा लुगा, किताब राखियो । मलाई तयार पारियो । धबौलीका हेडसर विमलचन्द्र यादव जटुलियाका हेडसरसँग गफ गर्न जानुभएको रहेछ । उहाँले जटुलियाका हेडसरसँग, ‘एउटा जेहेन्दार विद्यार्थी छ । ऊ किसानको छोरा हो । अन्नपात प्रशस्त भए पनि स्कुलमा शुल्क तिर्न सक्दैन,’ भन्नुभएछ । जटुलियाका हेडसरले, ‘म जाँच्छु । जेहेन्दार ठहरे, म निःशुल्क पढाईदिन्छु’ भन्नुभएछ । यता मेरो बयलगाडा हिँड्यो । म जटुलिया पुगें । जटुलियाका हेडसरले मलाई हिसाब नसोधेर अंग्रेजीबारे सोध्नुभयो । म फटाफट उत्तर दिएँ । मेरो उत्तर सुनेर उहाँले मलाई निःशुल्क पढाउनुभयो ।
जटुलिया हाइस्कुलको पहिलो साँझ खुब अनौठो भयो । हामीले मेसमा खानुपर्थ्यो । सानाठूला सबै कक्षाका विद्यार्थी साथै खान्थ्यौं । नेपालबाट गएका म, सुखदेव साह, पर्शुराम झा, खुसीलाल ठाकुर, केदार गिरी आदि एउटै लाइनमा बस्यौं । खाना खाइसकेपछि सबै उठेर गए । मचाहिं बसिरहेछु । मलाई मेसको मास्टरले सोधे, ‘के चाहियो ?’ मैले भने, ‘केही चाहिएन ।’ मेरा साथी खुसीलालले सोधे, ‘अनि किन बसेको त ?’ यो देखेर सबै हाँस्न थाले । मलाई त घरमा बसेर खाना खाइरहेको छु जस्तो लागेछ । घरमा खाना खाँदा सबैभन्दा अन्तिममा आमाले दूध, दही, तर (दूधको छाली) दिनुहुन्थ्यो । म त्यस्तै सम्झेर बसिरहेछु ।
मलाई जटुलियामा खुसीलाल ठाकुरलले निकै कुरा सिकाउनुभयो । दादापछि उहाँको नाम मैले सम्झने गरेको छु । दादाले के ठीक र के बेठीक सिकाउनुहुन्थ्यो । उहाँलाई तुलसीदासको रामायण याद थियो । त्यसैका प्रसंग ल्याएर नैतिकता सिकाउनुहुन्थ्यो । म महात्मा गान्धीबाट पनि धेरै प्रभावित छु ।
जटुलिया हाइस्कुल भारत सरकारबाट मान्यताप्राप्त स्कुल थिएन । मैले, सुखदेव र एकजना भारतीय मूलका साथीले फस्र्ट डिभिजनमा पास गरेपछि उक्त स्कुलले सरकारी मान्यता पायो ।
हाम्रो खेतबारीमा धान, आलु, काउली, भन्टा आदि प्रशस्त हुन्थ्यो । एउटा बयलगाडामा टन्न तरकारी बजार लगेर बेच्दा पनि दस रुपैयाँ आउँदैनथ्यो । दस रुपैयाँ मेरा लागि एक महिनाको पढाइ खर्च हुन्थ्यो । त्यस्तै त्यस क्षेत्रमा आँप, अम्बा, काक्रो, खरबुजा (कमला नदी किनारबाट टिपेर लगेको) प्रशस्त हुन्थ्यो । बारीमा धेरै आँपका बोट थिए । आँप पाक्ने सिजनमा ‘रौहिनिया आँप’ पहिले पाक्थ्यो । मेरा दिदी र बहिनीले आँप पाक्ने सिजनको पहिलो पाकेको आँप मलाई दिन्थे । त्यसपछि दादाको पालो ।
मैले सानैदेखि प्रशस्त पढ्ने, फुटबल खेल्ने र गर्मीमा आँप खाने गरें । मेरो समय पढ्न, पढाउन, खोज-अनुसन्धान गर्न, शिक्षाको सेवामा बितेको छ ।
(शब्द : राजेश कोइराला, तस्बिर : नवराज वाग्ले, २०६४ असोज १८ मा कान्तिपुर दैनिकको बालकोसेली कोपिलामा प्रकाशित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

<