सुधा त्रिपाठी सानो छँदा

बुवाकै बाटोमा हिँड्दा – जेठा साथीले दिएका दुःख

सुधा त्रिपाठी लामो समयदेखि नेपाली प्राध्यापन गराउँदै आउनुभएको छ । साहित्यमा पनि उत्तिकै सक्रिय हुनुहुन्छ । उहाँ २०१५ साल जेठ २८ मा दार्जिलिङको मिरिकमा जन्मनुभएको हो । उहाँका पिताको नाम जगन्नाथ शर्मा त्रिपाठी र माताको नाम भवानीदेवी त्रिपाठी हो । अहिले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको नेपाली केन्द्रीय विभागमा कार्यरत हुनुहुन्छ । २०३१ सालमा कविता लेखेर साहित्यमा लागेकी सुधाले धेरै कविता, कथा, निबन्ध, नाटक, समालोचना, समसामयिक राजनीतिक एवं सांस्कृतिक रचना तयार पार्नुभएको छ । निबन्ध, नाटक, समालोचना आदि गरी उहाँका नौ पुस्तक प्रकाशित छन् । उहाँ अभ्युत्थान महिला साहित्य प्रतिष्ठानको अध्यक्ष, प्रगतिशील लेखक संघ नेपालको उपाध्यक्ष साथै विभिन्न संस्थामा संलग्न हुनुहुन्छ । उहाँ जनआन्दोलन २ मा पक्राउ परी दुई साता थुनिनुभयो । त्यसबाहेक उहाँ पटकपटक पक्राउ पर्नुभएको छ । उहाँले पारिजात सृजन पुरस्कार, युद्धप्रसाद मिश्र पुरस्कार, अन्तर्राष्ट्रिय साहित्य समाज उत्कृष्ट पुरस्कार आदि पाउनुभएको छ । दोलखाको सुनखानीमा पुर्ख्यौली थलो भएकी त्रिपाठीका बाल्यकालका केही सम्झना :
मैले आफू वरपरका सबै कुरा थाहा पाउन थालेका कुरा गरौं । मैले थाहा पाउँदादेखि नै मेरा पिता समाजको प्रतिष्ठित व्यक्तिका रूपमा देखेकी हुँ । सबैले उहाँलाई मान गर्थे । प्रतिष्ठा आर्जन गर्ने र त्यसलाई जोगाउने काममा बुवाको रुचि थियो । मैले त्यो कुरा त्यसैबेला बुझेकी हुँ । अरूले सम्मान गरेको देखेपछि मलाई बुवाले गरेका सबै काम राम्रा रहेछन् भन्ने लाग्यो ।
यसैले ४/५ कक्षामा पढ्दादेखि नै बुवाको अनुकरण गर्न थाले । बुवाले जस्तै सम्मान प्राप्त गर्ने रहर लाग्थ्यो । उहाँले धेरै पढेकाले सम्मान पाउनुभएको होला भन्ने लाग्थ्यो । मैले पनि धेरै पढ्छु भन्ने सङ्कल्प गरें । तर त्यो कुरा मनमै लुकाएर राखे । एमए उत्तीर्ण नगरिञ्जेल मेरो जीवनमा न त अर्को कुनै रहर नै थियो न त उद्देश्यले नै ।
एकपटकको कुरा हो । म सुनखानीको श्रीकालीनाग नि.मा.वि.मा ६ कक्षामा पढ्थें । हामी संयुक्त परिवारमा बस्थ्यौं । बुवा काठमाडौंमा बस्न थाल्नुभएको थियो । तर पैसा कमाउन थाल्नुभएको थिएन । मेरो फी तिर्न सकिएन । बुवाबाहेक अरू कसैले त्यसलाई आफ्नो दायित्व सम्झेन । विद्यालयले फी नतिर्नेलाई परीक्षामा बस्न नदिने सूचना सुनायो । कहाँ धेरै पढ्ने सङ्कल्प, कहाँ त्यो अवस्था जिन्दगीमा । यहाँभन्दा माथि पढ्न नपाउने भएँ भनेर त्यसबेला म एकान्तमा बसेर एकदमै धेरै रोएँ । पछि बुवाले नै पढ्ने वातावरण मिलाइदिनुभयो । यस घटनालाई म कहिल्यै भुल्न सक्दिनँ ।
म त्यस्तै ४/५ कक्षामा पढ्थे हुँला । म विद्यालयबाट घरमा आइपुग्दा मुमा हुनुहुन्नथ्यो । एकछिनपछि आइपुग्नु भयो । अनि भन्नुभयो, ‘म भहेली गएकी थिएँ । त्यहाँका केटाकेटीहरू त विद्यालयबाट घर आउनासाथ पिँढीमा बसेर पढ्न थालिहाल्दा रहेछन् ।’ विद्यालयमा गुरुले पढाएकाले मात्रै पुग्दैन, घरमा पनि आफैंले पढ्नु पर्दोरहेछ भन्ने कुरा त्यसदिन थाहा पाएँ । यस्तो कुरा थाहा नपाउँदा पनि म आफ्नो कक्षामा पहिलो हुन्थें ।
म १२ वर्षकी भएपछि काठमाडौंमा पढ्न आएँ । बुवाको जागिर थिएन । त्यसबेला उहाँ लेखेरै गुजारा गर्नुहुन्थ्यो । त्यस्तो आर्थिक सङ्कटमा पनि बुवाले अर्काको घरमा गएर ट्युसन पढाउने र गाइड लेख्ने काम गर्नुभएन । अभाव स्वाभाविक थियो ।
त्यही कुराले मैले आफ्नो परिचय बनाउन पाएकी छु । त्यो कुरा मैले घरमै पाएको साहित्यिक वातावरण बुवा प्राध्यापक पनि र साहित्यकार पनि भएकाले घरमा त्यस्ता पुस्तक एवं पत्रपत्रिका थुप्रै हुन्थे । बुवाले साहित्यका बारेमा कुरा गरेको सुनेर म पनि साहित्यतिर आकर्षित भएँ । बिस्तारै लेख्न पनि थालें । साहित्यकार हुन्छु होला भन्ने विश्वास कहिल्यै मनमा उम्रिएन । अहिले पनि म आफूलाई साहित्यकार भन्ने आँट गर्दिनँ । अरूले साहित्यकार भनेर सम्बोधन गर्दा भित्रैदेखि लाज लागेर आउँछ । त्यो किन भयो भने आफ्नो हैसियतभन्दा ठूलो पगरी गुथाइदिए भनेर ।
बुवा ज्ञानेश्वरमा डेरा गरे बस्न हुन्थ्यो । म काठमाडौं आएको १२ महिनाभित्रकै कुरा होला र हाम्रो डेराभन्दा १० मिनट जति टाढा गाडी दुर्घटना भएछ । अरू केटाकेटी र ठूला पनि हेर्न गए, म पनि गएँ । फर्किएपछि बुवाले, ‘यसरी मनलाग्दो हिँड्ने हो भने जानू सुनखानी’ भन्नुभयो । ‘जानू सुनखानी’ भन्ने शब्दले मेरो सातो लियो । धेरै पढ्ने सपना संगालेर भर्खर त सुनखानीबाट आएकी थिएँ । फेरि सुनखानी नै फर्केर के गर्नु र भन्ने लाग्यो । त्यस दिनदेखि म सधैभरि जानू सुनखानी नै फर्केर के गर्नु र ? भन्ने लाग्यो । त्यसदिनदेखि म सधैभरि जानू सुनखानी भन्ने दुईवटा शब्दका अनुशासनमा बाँधिइरहे । पढ्नेबाहेकका अरू कुरामा कहिल्यै ध्यान दिइनँ । नानीमा लागेको त्यो बानी अझै हटेको छैन ।
त्यसबेला हाम्रो डेरामा साहित्यकार धरणीधर कोइराला, खेमराज केशवशरण, पदमप्रसाद देवकोटा (महाकवि लक्ष्मीप्रसादका छोरा), शैलेन्द्र खरेल, कुमुद देवकोटा आदि आउनुहुन्थ्यो । आउन त अरू पनि आउनुहुन्थ्यो । मैले सम्झेको चाहिँ यति नै हो । पछिपछि त यस्ता आउने मान्छेको गणना गर्ने नै नसक्ने भएँ । कोही साहित्यका कुरा गर्थे त कोही धर्म र दर्शनका । बुवाचाहिँ हत्तपत्त अरूका घरमा जानुहुन्नथ्यो । धरणीधर कोइराला र बालकृष्ण समकहाँ गएको मात्रै सम्झना छ, मलाई । ममा पनि यही बानी सरेको छ । मलाई पनि अरूका घर-घर डुलिहिँड्न जाँगर चल्दैन् । सीमित मानिसकहाँ काम-विशेषले मात्र जान्छु ।
म ६ कक्षामा उक्लिएपछि आफूभन्दा ४/५ वर्षले बढी उमेरमा साथीसँग पढ्नुपर्ने भयो । म असाध्यै सोझी थिएँ । बाठी त अहिले पनि भएको छैन । तर त्यसबेला ती छिप्पिएका साथीहरूले मलाई निकै हेप्थे, निकै सताउँथे । म रुन्थें मात्र, अरू केही गर्न सक्तिनथें । विद्यालयमा एक दिनमा पनि कैयौंपटक रुनुपर्थ्यो । त्यो पीडामा मैले फेरि अर्को सङ्कल्प गरें, ‘जिन्दगीमा जसरी भए पनि धेरै पढेर ठूलो मान्छे भएर यिनीहरूको सेंखी झारी छाड्छु’ भनेर । नभन्दै त्यसबेलाका मेरो साथीहरूमध्ये कसैले पनि मैले जति पढेन सकेनन् । मेरा ती दुवै सङ्कल्प मेरो बुवाले गर्दा नै पूरा भएका हुन् । यी सबै घटनाक्रमबाट मैले छोराछोरीलाई जसरी भए पनि उचित शिक्षा दिलाउनु मातापिताको कतर्व्य हो ।
शिक्षालाई जीवनको सबभन्दा ठूलो उद्देश्य सम्झनु तथा मातापिताप्रति सधैभरि कृतज्ञ भइरहनु सन्ततिको कर्तव्य हो भन्ने बुझेको छु । अर्को कुरा, अनुशासनले मानिसलाई सफल बनाउँछ । विनम्रताले सभ्य देखाउँछ भन्ने कुरा पनि मैले थाहा पाएकी छु । म आफ्ना मातापिता, गुरु र अग्रजहरूलाई सधैं सम्मान गर्छु ।
आफूलाई बिनसित्तीमा दुःख दिने दुष्टहरूतिर चाहिँ फर्केर पनि हेर्दिनँ । बाधा, दुःख र असफलता जीवनका सबैभन्दा ठूला गुरु हुन् भन्ने मान्यौं भने जीवनमा कोही पनि निराश हुँदैन भन्ने मलाई विश्वास छ ।
(शब्द : राजेश कोइराला, तस्बिर : नवराज वाग्ले, २०६४ भदौ १४ मा कान्तिपुर दैनिकको बालकोसेली कोपिलामा प्रकाशित)

Comments posted (1)

अगले पोस्ट के लिए इंतजार कर

Write a comment