चुडामणि गौतम सानो छँदा

पैसाको रुख, चिउँडोमा प्वाल र ऐनाबाट फ्रेम

चुडामणि गौतमले अंग्रेजी व्याकरण (ग्रामर) का धेरै पुस्तक लेख्नुभएको छ । साहित्यकार हुनुहुन्छ । ग्रामरजस्तै र अरु सहयोगी गरी उहाँका ५० पुस्तक प्रकाशित छन् । बजारमा बढी प्रचलित भने यस्ता २० पुस्तक छन् । २००० साल असोज १ मा तेर्‍हथुमको कोयाखोलामा जन्मेका गौतमका एक भाई र चार दीदि-बहिनी जन्मनुभएको थियो । उहाँका भाई रामचन्द्र गौतम गोरखापत्र दैनिकसँग आवद्ध हुनुहुन्थ्यो । रामचन्द्रको केही वर्षअघि निधन भइसक्यो । उहाँका पिता यमनाथ र माता भीमरुपा हुनुहुन्थ्यो । आफ्नो वाल्यकाल अभाव र दुःखमा बितेकाले उहाँले सस्तोमा ग्रामर पुस्तक बजारमा ल्याउनुभएको छ । विद्यालय नियमित गए पनि कलेज सबै प्राइभेट पढ्नुभयो । उहाँले बी.ए. र बी.एल. गर्नुभएको छ । कलेज पढ्न विराटनगरको महेन्द्र मोरङ कलेज भर्ना भए पनि नियमित हुन सक्नुभएन । हाल काठमाडौंको डिल्लीबजारमा बस्ने गौतमका वाल्यकालका केही सम्झना :
मलाई सानो छँदा ‘गोपाल’ भनेर बोलाइन्थ्यो । भागवतमा ‘गोपाल-चुडामणि’ एकै ठाउँ उल्लेख भएकाले मलाई ‘गोपाल’ भनिएको हो ।
मैले ६/७ वर्षको हुँदा अक्षर खुट्याउन थालेका हुँ । त्यो दिन सरस्वती पूजाकै दिन थियो । काइला गुरुले हामीलाई अक्षर लेख्न सिकाउनुभएको हो । मैले ‘क’ चिन्न सात दिन लगाए । तर अरु अक्षर दुई दिनमै सिके । कस्तो अचम्म ?
त्यसबेला अक्षर लेख्न काठको पाटी हुन्थ्यो । त्यसमा धुलो छर्थ्यौं । छेस्काले लेख्थ्यौं । त्यो सिक्ने काम गुरुकै घरमा गरिन्थ्यो । हाम्रो पढ्ने ठाउँ एउटा कटेरो थियो । तर धेरैजसो समय छहारीमा पढाइन्थ्यो । अलि पानी पर्ने भएपछि कटेरोमा लगिन्थ्यो । वर्षको दुई महिना छुट्टि हुन्थ्यो । हामी स्कुल जाँदा दौरा र सुरुवाल लगाएर जान्थ्यौं ।
हामीले गाउँको साधारण विद्यालयमा पढेका हौं । कक्षा ४ मा पुगेपछिमात्र ए, बि, सि, डि…सिकेको हो । तर बाहुनको छोरो भएकाले चण्डी, रुद्रि, गीता, वेद भने सानैमा पढ्नुपर्थ्यो । पढ्यौं पनि । पाठ पनि गर्नुपर्थ्यो । कक्षा ६ पढ्न आठराईको त्रिभुवन हाइस्कुल गइयो । मेसमा खाना खान थालियो । लुगा लाएरै खान थालियो । त्यसअघि घरमा धोती फेरेर खानुपर्थ्यो ।
एउटा कुरा त यहाँ भन्नैपर्छ । म दश वर्षको हुँदा बुबा बित्नुभयो । दिदी कृष्णकुमारीको बिहे भइसकेको थियो । कान्छी बहिनी अठार महिनाकी मात्र थिई । एक्ली आमाका लागि हामी बोझ बन्यौं । आमाले गाईबाख्रा हेरे सहयोग पुग्थ्यो भन्नुहुन्थ्यो । अवस्था त्यस्तै थियो । तर हामी बलजफ्ती स्कुल गयौं । पढाई निरन्तर राख्यौं ।
स्कुलमा मेरा साथीहरू ओमनाथ निरौला, डिल्लीराम निरौला, खिलप्रसाद निरौला, वासुदेव गौतम आदी थिए ।
सानोमा हामी डण्डी-बियो खेल्थ्यौं । कपर्दी पनि खेल्थ्यौं । अलि ठूलो भएपछि चंगा उडाउन थाल्यौं । चंगा आफैं बनाउँथ्यौं । नेपाली कागज हुन्थ्यो । बाँसको कप्टेरो पनि प्रशस्तै हुन्थ्यो । हामीलाई कागज र कप्टेरो टाँस्न गमको अभाव हुन्थ्यो । बडहरको रुखमा ढुंगाले हिर्काएपछि चोप निस्कन्थ्यो । त्यो चोपजति पक्को गम त्यसबेला केहि हुन्नथ्यो ।
दशैं र तिहारजस्ता चाडमा रोटेपिङ र लिङ्गेपिङ खेल्थ्यौं ।
कोयाखोलामाथि संक्रान्तिबजार छ । त्यहाँ संक्रान्तिमा हाट लाग्थ्यो । मानिसहरू आफूलाई चाहिने सबै खाले सामान किन्थे र एक महिनालाई पुर्‍याउँथे । मलाई भने अघाउन्जेल काजु खान मन लाग्थ्यो । पैसा हुन्नथ्यो । २० पैसाको काजु किनेर खाँदा म खुबै रमाएको छु । उसबेला दश पैसामा चिया आउँथ्यो । २० पैसामा २० वटै बिस्कुट भएको ‘शान्ति बिस्कुट’ पाइन्थ्यो ।
स्कुल जाँदा हामी चिउरा लान्थ्यौं । एक कप चिया किन्यो । घरबाट लगेको चिउरा चियाका हाल्यो । खपाखप खायो ।
एकपटकको कुरा हो । म साढे सात वर्षको हुँदो हुँ । भाई छ वर्षको थियो । सिमी रोप्दा फलेको देखिन्थ्यो । मकै रोप्दा फलेको देखिन्थ्यो । हामी दाजुभाई मिलेर आमाका ५ वटा चाँदीका सिक्का पनि चोरेर बारीमा रोप्यौं । म उम्रियो की भन्दै हेर्थे । आमाले सिक्का हरायो भनेर खोज्नुभयो । भाईले देखाईदिएछ । आमाले खोतलेर निकाल्नुभयो । पैसा त सिमी र मकैजस्तो नफल्ने रहेछ । केटाकेटी बुद्धि कस्तो ?
अर्को एउटा घटना छ । सुन्तला फल्ने मौसम थियो । दिदी र म सुन्तला टिप्न गयौं । फर्कदा हामीले एउटा पर्खालबाट ओर्लनुपर्थ्यो । म पर्खालबाट ओर्लदा लडें । मेरो चिउँडोमा चोट लाग्यो । आठ वर्षको थिएँ होला । मेरो चोटमा चरीअमीलो र अरु घरेलु औषधी लगाइयो । मलाई अरुले खुब जिस्क्याए, ‘तेरो चिउँडो प्वाल परेको छ । भात खाँदा सबै निस्कन्छ ।’ मैले त पत्याएँ । मलाई खुब डर पनि लाग्यो । तर त्यसो कहाँ हुँदो रहेछ । त्यो चोटको दाग (खत) अझै छ ।
एकपटक घरमा भएको सरस्वतीको तस्बिर सजाउन मैले ऐनाको पारो खुर्कें । त्यसलाई फ्रेम बनाएँ । खाटछेउको झ्यालमा राखें । आमाले ऐना खोज्दा मामा चाहिं ‘त्यो फोटो तस्बिर क्यारे’ भनेर जिस्क्याइरहनुहुन्थ्यो । तर आमाले त्यो गल्ती फेला पार्नुभएन ।
म सानोमा चञ्चले भए पनि खराब केटाकेटीको संगतमा लागिन ।
उसबेला छोरीले पढ्ने वातावरण नभए पनि दिदी कृष्णकुमारीले पढ्नु भएको थियो । छोरीले रुद्री पढ्नुहुन्न भनिन्थ्यो । त्योबाहेक उहाँले चण्डी, गीता, रामायण राम्ररी पढ्नुहुन्थ्यो । उहाँ चिठ्ठी लेख्नुहुन्थ्यो । उहाँलाई अंग्रेजी पनि आउँथ्यो । उहाँ रुचि लिएर पढ्नुहुन्थ्यो ।
म मेरा हेडसर र सरहरू सम्झन्छु । रामनारायण सिंह, छविरमण भट्टराई, छविलाल सिटौला, तेजप्रसाद सिटौला मेरा हेडसरहरू हुनुहुन्छ । पूर्णानन्द शर्मा व्याकरण पढाउनुहुन्थ्यो । मलाई सानैदेखि व्याकरणमा रुचि थियो ।
मलाई भने वाल्यकालदेखि नै केही लेखौं जस्तो लाग्थ्यो । २०३५ सालमा आएर मात्र ‘आभाष’ नामक कवितासंग्रह छापियो ।
नयाँ शिक्षा लागू भएपछि नेपाली व्याकरण र अंग्रेजी ग्रामरका छुट्टै पुस्तक थिएनन् । नेपाली व्याकरण र अंग्रेजी ग्रामर धेरै आवश्यक भएको ठानी मैले २०३५/३६ मा ग्रामर लेखेको हुँ । त्यो पुस्तक लेख्ने मसँग २ रुपैयाँको कलम थियो । मसी भरेर लेख्नुपर्थ्यो । पछि त्यो कलम हरायो । मलाई सबैभन्दा दुःख लागेको घटना त्यहि हो ।
अनि निकै रमाइलो लागेको एउटा घटना छ । मैले एकपटक ६ रुपैयाँ ४ पैसामा भारतीय बाटा कम्पनीका कपडाका जुत्ता किनेर लगाएँ ।
एसएलसी सकेर धरान आएपछि कमेज, सुरुवाल, टोपी फालें । आधुनिक हुन सुट सिलाएँ । पहिलोपटक टुप्पी छोट्याएँ ।
आजकलका बालबालिकाले किताबभन्दा बाहिरको ज्ञान पनि सिक्नुपर्छ । बुबाआमाको हैसियतअनुसार खर्च गर्ने बानी बसाल्नुपर्छ । गुरुको सत्कार गर्न छाड्नु हुन्न ।
(शब्द : राजेश कोइराला, तस्बिर : नवराज वाग्ले, २०६४ साउन ३२ मा कान्तिपुर दैनिकको बालकोसेली कोपिलामा प्रकाशित)

Write a comment