मोहन दुवाल सानो छँदा

कालो लुगामा पुलिस, अरबी घोडा र खराब शिक्षक

मोहन दुवाल साहित्यकार हुनुहुन्छ । उहाँ राजधानीनजिकै बनेपामा बसेर साहित्यको सेवा गर्दै आउनुभएको छ । उहाँको जन्म २००६ जेठ २१ मा भोलाखा गाउँ पञ्चायत ७ मा भएको हो । त्यो ठाउँ अहिले बनेपा नगरपालिका ७ मा छ । उहाँका पिता गणेशबहादुर र माता खिलकुमारी हुनुहुन्थ्यो । २०२० देखि निरन्तर लेख्दै आएका दुवालले कक्षा ९ मा पढ्दा नेपाल भाषामा ‘चुलिजाः गु स्वाँ’ कवितासंग्रह लेख्नुभएको थियो । उक्त पुस्तकपछि उहाँका १४ पुस्तक प्रकाशित भएका छन् । उहाँले विभिन्न पुस्तकको सम्पादन गर्नुभएको छ । विभिन्न पुरस्कार र सम्मान प्राप्त दुवालले सम्पादन गरेको ‘जनमत’ साहित्यिक पत्रिकाका १ सय २२ अंक प्रकाशित भइसकेका छन् । बी.ए., बी.एड. गरेका उहाँले २७ वर्ष पढाउनुभयो । साथै ३३ वर्ष पत्रकारिता गर्नुभयो । उहाँले केही दशक राजनीति पनि गर्नुभयो । अहिले पनि विभिन्न संघसंस्था र विद्यालयका समितिमा रहेर काम गर्दै आउनुभएको छ । शरद, प्रतिमा श्रेष्ठ, लाल किरण, बहादुर, शरद श्रेष्ठ, शरद बनेपा, किरण र सुदिमजस्ता उपनामले विभिन्न रचना प्रकाशितसमेत गरेका मोहन दुवालका बाल्यकालका केही सम्झना :
मेरा जेठा दाजु गौप्रसाद दुवाल त्यसताका धुलिखेलमा प्रहरीको लप्टन हुनुहुन्थ्यो । बुवा र अन्य दाजुहरू कपडा पसलका साहुजीहरू । पसल निकै चल्तीको । एकबाते साहु भनी त्यसताका नै प्रख्यात नाम कमाएका मेरा बुवा बनेपाका चर्चित व्यापारी हुनुहुन्थ्यो । म कान्छो छोरा, घरमा पुल्पुल्याएर हुर्काएको । मभन्दा सानी एकजना बहिनी मात्र थिइन् घरमा । दाजु जागिरे त्यसमा पनि २०११-१२ तिर धुलिखेलमा जिल्ला प्रहरी हाकिम । सोखिन दाजु । बरोबर पञ्चबलि दिनुहुन्थ्यो धुलिखेलस्थित काली मन्दिर देवीस्थानमा । मलाई पुलिसहरूले बोकेर धुलिखेलमा लान्थे । कहिलेकाहीँ अरबी घोडामा राखेर डोर्‍याउँदै लाने गर्थे । सानो छँदा नै अरबी घोडा चढ्न पाएको र पुलिसहरूले बोकेर लग्ने वातावरणमा हुर्किएकाले म सानोमा निकै हठी खालको र घमण्डी स्वभावको केटा थिएँ । २०१२ सालतिर अर्थात् म ७ वर्ष छँदाताकाको कुरा हो यो ।
घरमा ठूलाठूला नेताहरू, प्रसिद्ध समाजसेवकहरू, प्रख्यात साहित्यकारहरू आइरहनुहुन्थ्यो । उदाहरणका रूपमा २०१५ सालमा कृष्णप्रसाद भट्टराई हाम्रो घरमा आउनुभएको मलाई याद छ । बनेपाका प्रख्यात राजनीतिज्ञ राजदास बादे श्रेष्ठ त दिनका दिनजसो आइरहनुहुन्थ्यो । नेपालका गान्धी नामले चिनिने समाजसेवी तुल्सीमेहर श्रेष्ठ त घरपरिवारकै सदस्यजस्तो बाका अनन्य मित्र भएकाले घरमा धाइरहनुहुन्थ्यो । साहित्यकारहरूमा सिद्धिचरण श्रेष्ठ, श्यामप्रसाद शर्मा, रमेश विकल, दुर्गालाल श्रेष्ठ, भवानी घिमिरेहरू आउने-जाने गर्नुहुन्थ्यो ।
बालककालदेखि नै मेरो मनमा राजनीतिज्ञ, समाजसेवी, साहित्यकारहरू राख्न पाएको कारणले मैले पनि यी तिनै क्षेत्रमा आफूलाई रमाउन दिन पाएको हो कि जस्तो लागिरहन्छ ।
धेरै ठूलो भएपछि अर्थात् ८ वर्षको हुँदा मात्र १ कक्षा पढ्न चण्डेश्वरीमा रहेको आजाद स्कुलमा माइला दाइ हरिप्रसाद दुवालले डोर्‍याएर लगेको मलाई याद छ । त्यस विद्यालयका त्यसताकाका सचिव मेरै माइला दाजु हरिप्रसाद दुवाल हुनुहुन्थ्यो । पढ्दै गएपछि पढाइमा रस बस्यो । कक्षा १ मा प्रथम भएकाले प्रमोसन पाई कक्षा ३ मा भर्ना भएँ । कक्षा ३ मा पनि प्रथम भएकाले कक्षा ५ मा पढ्ने मौका प्राप्त भयो ।
म कक्षा ६ को विद्यार्थी छँदा अराष्ट्रिय तत्त्व भनी मेरा विद्यालयका धेरैजसो शिक्षकलाई पक्राउ गरी लगेको मलाई सम्झना छ । मेरा साहिँला दाइ कृष्णप्रसाद दुवाल (जो शिक्षक हुनाका साथै साहित्यकार पनि हुनुहुन्थ्यो) पनि पक्राउमा पर्नुभएको थियो । मेरी आमासँग भक्तपुरको डीएसपीको खोरमा भेट्न गएका सम्झनाहरू बिर्सिनसक्नु छ । यसैताका स्वयंसेवक शिक्षकहरूको प्रवेश भयो म पढ्ने विद्यालयमा । एकजना शिक्षक जो मद्यपान गर्न बहाना बनाइरहनुहुन्थ्यो त्यो शिक्षकसँग हाम्रो सम्पर्क बढ्यो । दिउँसोको खाजा खान जाने बेलामा उक्त शिक्षकलाई हामी तीन चारजना साथीहरूले पालोपालो गरेर खाजा खुवाउँथ्यौं । हामीलाई निकै माया गर्नुहुन्थ्यो, हामीले पनि निकै माया गर्दागर्दै उक्त शिक्षकको सम्मोहनमा परेर हामीले रक्सी पिउन सिक्यौं ।
त्यसताकाको हाम्रो कपडा पसल निकै चल्थ्यो । पसल चल्ती भएको हुनाले त्यसताका १-२ रुपैयाँ चोरेको थाहापत्तो हुँदैनथ्यो । पसलबाट पैसा चोरी गरी शिक्षकलाई खाजा खुवाउने सवालमा म स्कुलको हिरो । यस्तै कुलत सिकाउने शिक्षकको संगतले कक्षामा तेस्रो पोजिसनमा आइरहेको विद्यार्थी म परीक्षा परिणाममा तल पर्दै गएँ ।
खेलकुदमा भोगटेको फुटबल खेल्थ्यौं । तास, गुच्चा र खोपी खेल्ने कुलत पनि सानैदेखि छ । क्यारेमबोर्ड खेल्न सिकेँ पछि । क्यारेमबोर्ड खेलमा त निकै नाम चलाएको थिएँ । जुनसुकैमा मन लगाए पनि एकसुरमा लागिरहने मेरो बानी सानैदेखिको हो । म चेस पनि खेल्न मन पराउने केटो थिएँ ।
सत्र सालमा शिक्षकहरू पक्राउमा पर्नु र स्वयंसेवी एकजना शिक्षकको सङ्गतले खराब गर्न सिक्नुकै कारणले लज्जालु स्वभाव र सङ्कोची रूपरङ्गलाई अर्कै बहारमा मोडिदियो ।
मैले थाहा पाउँदा बनेपाबाट काठमाडौं जान हिँड्नुपर्थ्यो । साँगामा गएर दही-चिउरा खाएर हिँड्थ्यौं । काठमाडौं पुग्न ३/४ घन्टा लाग्थ्यो । यातायातका साधन थिएनन् नै । टेलिफोन पनि त थिएन । बनेपाका एकजना साहुको एउटा लरी थियो । खुब खुसी पार्‍यो भने लरी चढेर काठमाडौं जान पाइन्थ्यो । अहिले मिनेटपिच्छे गाडी आउँछन् ।
स्कुल पढ्दा मलाई मनपर्ने विषय ‘नागरिकशास्त्र’ थियो । त्यस किताबमा हाम्रो दायित्व के हो ? हाम्रो अधिकार केहो ? जस्ता विषय हुन्थे । अहिले त हामी आफ्नो दायित्व बिर्सने र अधिकारमात्र खोज्ने भएका छौं ।
एकपटकको कुरा हो । जेठा दाइका घरमा पाहुना आए । ती त राणाजीहरू रहेछन् । उनीहरूले हामीलाई चकलेट दिन्थे । निकै रमाइलो लाग्थ्यो । ‘ट्रान्जिस्टर’ लिएर आएका हुन्थे । ट्रान्जिस्टर (रेडियो) देख्दा हामीलाई झनै अनौठो लाग्थ्यो ।
सानै छँदादेखि नै असल पनि सिक्दै आउने हो, त्यस्तै खराब पनि भोग्दै आउने हो । सामाजिक संसर्ग, साथीभाइको सङ्गत, अर्काको देखासिकी, पारिवारिक व्यवहार र परिवेशले जीवनक्रमहरू गुजार्दै आउने भएकोले मैले पनि भोग्दै, सिक्दै, आफूलाई ढाल्दै यस रूपमा आएको
हुँ । जीवन भनेको बग्दै, भोग्दै आफूलाई परिमार्जित तुल्याउँदै आउने एउटा संयोग अर्थात् प्रयोग हो । म सानो छँदा जे भोगें, जे अनुभूत गरेँ, त्यसकै परिणतिबाट समष्टि आकार लिइदिएको स्वरूप आजको म मोहन दुवाल हुँ ।
(शब्द : राजेश कोइराला, तस्बिर : नवराज वाग्ले, २०६४ साउन २५ मा कान्तिपुर दैनिकको बालकोसेली कोपिलामा प्रकाशित)

Write a comment