लक्ष्मी उप्रेती सानो छँदा

सख्खरको डल्लो चाट्दा बाटो बिराएँ

लक्ष्मी उप्रेती लामो समयदेखि बालसाहित्यका क्षेत्रमा काम गर्दै आउनुभएको छ । वनिता प्रकाशनका तर्फबाट उहाँले धेरै बालसाहित्यका कृति प्रकाशित गर्नुभएको छ । उहाँको जन्म २०१५ साल साउन २३ गते तेर्‍हथुमको आठराई, हाङपाङमा भएको हो । उहाँ पिता वृहस्पति र माता यज्ञमाया प्रसाईकी छोरी हुनुहुन्छ । उहाँले सातवटा बालसाहित्यका कृति लेख्नुभएको छ । ती पुस्तकहरू ‘कृष्णको पछुतो’ (बालकथासंग्रह), ‘मनेको म्याँ म्याँ’ (कवितासंग्रह), ‘कर्मको फल’ (बालकथासंग्रह), ‘कमिलाको ताँती’ (चित्र कवितासंग्रह), ‘बुद्धिमानी बाँदर’ (बालकथासंग्रह), ‘साहसी आकांक्षा र पवन परी’ (बालउपन्यास) र ’सुनको अन्डा दिने चरी’ (बालकथासंग्रह) लेख्नुभएको छ । यी पुस्तकबाहेक उहाँले अरु चार पुस्तक लेख्नुभएको छ भने दर्जनौं सम्पादन गर्नुभएको छ । उहाँ ‘वनिता’ साहित्यिक पत्रिका निकाल्नुहुन्छ । विभिन्न संस्थासँग आवद्ध उप्रेतीका बाल्यकालका सम्झना प्रस्तुत छन् :
मेरो बाल्यकालका केही वर्ष हाङपाङमै बित्यो । पहाडी जीवन अलि कठिन थियो । मेरी ठूलीदिदीले ‘धानको भात खान्छु’ भनिछ । धानको भात खान छोरा भएर जन्मनुपर्छ भन्ने तीतो भनाइ उसले सुनिछ । यो कुराले बुबाको मन सार्‍है दुःखी भएछ । ‘छोराछोरीलाई धानको भात खुवाउने बन्दोबस्त नमिलाई म घर फर्कन्न’ भनी बुबा तराई आउनुभयो । बुबाले यो बन्दोबस्त मिलाएर पहाड फर्केलगत्तै आमा बित्नुभयो । आमा बितेपछि रुक्सिला गुरुङ हाम्री धाईआमा हुनुहुन्थ्यो । आमाको निधन हुँदा म चार वर्षकी थिएँ । म आमा खोई भनेर झगडा गर्थेँ । मभन्दा साना दुई भाइ थिए । साहिँला र कान्छा काकाले ‘नानीकी आमा मामाघर गएकी छन् । भोलि-पर्सि राम्रा लुगा लगाएर राम्री भएर आउँछिन्,’ भन्नुहुन्थ्यो । आमा त आउनुभयो । डोली चढेर । म धेरै फुर्केँ । कसैलाई नटेरी म कराउँदै गएँ । बुबाको घोडामा बसेँ । नाच्दै कराउँदै रमाएँ । तर मलाई के थाहा बुबाले अर्को बिहे गर्नुभएको रहेछ ।
०२१ सालतिर हाम्रो परिवार तराई झर्‍यो । बाटामा कहिले म हिँड्थेँ । कहिले मलाई डोकामा बोक्नुहुन्थ्यो । हामी धरानमा बस्यौं । मामाघर छाताचोकमा थियो । केही दिन त्यहीँ बस्यौं । आफ्नो घर बनाएर केहीपछि सर्‍यौं । हाम्रो खेती झापा र मोरङमा थियो । हामीले धानको भात त पायौं । आमाको माया भने पाएनौं ।
धरानबाट हामी विराटनगर गयौं । मजुवापोखरीनजिकै बस्यौं । त्यहीँ नजिकको स्कुलमा पढ्थ्यौं । २०२१/२२ सालतिरको कुरा हो । मलाई घरबाट नुन किन्न पठाउनुभयो । म गुद्री पुगेँ । भनेजति नुन किनिनँ । केही पैसा बचाएँ । सख्खरको डल्लो किनेर चाट्दै घर फर्के । मीठो सख्खरले गर्दा बाटो बिराएँ । म हराएँ । मलाई बुबाहरूले ‘अरुले लान्छन् । हातखुट्टा भाँचेर माग्ने बनाउँछन्,’ भन्नुभएको याद आयो । म त झनै डराएँ । धेरैबेर घर नफर्केपछि मलाई खोज्न दाइ (ठूलीआमाका छोरा) आउनुभयो । मलाई फेला पार्नुभयो ।
मैले १ र २ कक्षामात्र विराटनगरमा पढेँ । अनि हाम्रो परिवार फेरि धरान गयो ।
दिदी शान्ता र मेरो उमेर दुई वर्षले फरक थियो । ऊ मेरी साथीजस्तै थिई । पाँच कक्षासम्म दिदी र म छाताचोक छेउकै मिडिल स्कुलमा पढ्यौं । मलाई पढाउन भनेर बुबाले कालिङपोङ लानुभयो । प्रवेश-परीक्षा छुटेछ । बुबाले पछि आउने भनेर फर्काउनुभयो । धरान पुगेर फेरि बालिका विद्यालयमा भर्ना गरिदिनु भयो । कक्षा ६ मा पढ्दा लेखेको कविता मलाई अझै याद छ । मैले यो कविता कार्यक्रममा सुनाएकी थिए । कविता यस्तो छ :
दिनपछि दिन गनेर
शताब्दीले शताब्दीलाई जन्माइरहेछ
चीरकालदेखि बितेका ती अवशेषहरूले
इतिहासलाई रंगाइरहेछ
यो कविता मैले बुझेर लेखेकी थिइनँ । दिदीले मलाई कविता लेख्न सघाएकी थिई ।
कक्षा ६/७ मै पढ्दाको कुरा हो । गर्मीको छुट्टीका बेला परिवारका सबैजना मोरङको गछिया गएका थियौँ । म, दिदी र भाइहरू -काकाका छोरा) खेल्दाखेल्दै गछिया खोला पुग्यौं । नुहाउन भनेर पानीमा पस्यौं । खोलामा पस्दै जाँदा जति बीचतिर गयो, उति गहिरो हुँदै गयो । पानी त घाँटीसम्म आयो । मलाई अरुले झिकेर बचाएँ । आफूभन्दा ठूलालाई नभनी हिंड्दा यस्तो पो हुँदोरहेछ ।
मेरा भाइहरू सुरेन्द्र, कृष्ण अनि फुपूका छोराहरू महेन्द्र सिटौला र तुलसी विमली धरानको सेकेन्डरी स्कुलमा पढ्थे । उनीहरू स्कुलको होस्टलमा बस्थे । म बिहान सधैं दूध र खाजा पुर्‍याउन जान्थेँ । त्यहाँ एउटा पोखरी थियो । म पोखरीको डिलमा पुग्दा भाइहरू दौडेर आएको खुब रमाइलो लाग्थ्यो ।
कक्षा ७/८ मा पढ्दाको कुरा हो । भाइ सुरेन्द्र होस्टलबाट घर आएको थियो । त्यो बेला मकै फलेका थिए । हामी खुब चल्थ्यौं । ऊ पोलेको मकै खाइरहेको थियो । चल्दाचल्दै मैले उसलाई ठेलिदिएँ । ऊ भर्‍याङबाट लड्यो । उसको खुट्टा भाँच्चियो । बुबाले गाली गर्नुहुन्छ कि भन्ने लागेको थियो । तर गाली गर्नु भएन । वास्तवमा मेरो गल्ती थियो । बुबाले भाइको खुब स्याहार गर्नुभयो । मलाई त्यो बदमासी सम्झँदा अझै ‘धत्, त्यो त नगर्नु पर्ने काम पो गरेछु’ भन्ने लाग्छ ।
हाम्रो घरमा मामाका छोरा डा. अनिल थपलिया आउनुहुन्थ्यो । उहाँ आउँदा खुब खुसी लाग्थ्यो । किन थाहा छ ? र्फकने बेलामा उहाँले मलाई २५ पैसा दिनुहुन्थ्यो । त्यो पैसा हामीलाई प्रशस्त हुन्थ्यो । ५ पैसाको पाचक कत्ति धेरै आउँथ्यो । हामी त्यस्तै कुरा किनेर खान्थ्यौं । तर घरबाहिरका कुरा जे पायो त्यही किनेर खाने बानी भने खराब हो । मलाई डाक्टर बन्ने मन थियो । त्यसबेलाका डाक्टर छत्रलाई देखेर मलाई डाक्टर बन्ने इच्छा जागेको थियो
शान्ता दिदी दश कक्षामा पढ्दा बिहे भयो । अनि मैले आफूलाई एक्लो महसुस गरेँ । उसको बिहे मोरङको गछियाबाट भएको थियो । त्यहाँ काका र फुपूका घर थिए । एकदिनको कुरा हो- म स्कुल गएँ । स्कुल त विशेष कार्यक्रमका कारण बिदा रहेछ । मसँग पैसा थियो । मलाई के मन लाग्यो कुन्नि त्यसबेलाको आराथुन भन्ने बस चढेर गछिया गएँ । मलाई एक्लै देखेर ‘तँ कसरी आइस् ?’ भनेर सोध्नुभयो । मलाई पैसा दिई फकाएर धरान फर्काउनुभयो । फुपूका छोरा चक्र सिटौलासँगै धरान पुग्नुभयो । स्कुल नगएर गछिया गएको थाहा पाए गाली खाइन्छ भन्ने डर थियो । ‘स्कुलमा खेलकुद भयो, मैले कचौरा जितेँ’ भन्दै कचौरा किनेर घर लगेकी थिएँ । खेलकुदमा म भाग लिए पनि अरुलाई ठग्न जान्दथेँ । तर ठग्नु राम्रो बानी होइन । म डण्डीबियो, कपर्दी, डोरी नाघ्ने, सियो-धागो रेसजस्ता खेल खेल्थेँ । एकपटकको कुरा हो । सियो-धागो रेस भएको थियो । मैले पनि भाग लिएँ । मैले एउटा सियोमा धागो उनेर लगेकी थिएँ । धागोको रंग पनि त्यहाँ राखेजस्तै मिलाएकी थिएँ । रेसमा राखेको सियो र धागो फालिदिएँ । आफूले उनेर ठिक्क पारेको सियो-धागो ल्याए । पुरस्कार जितेँ । त्यो बदमासी हो । यस्तो नगर्नु पर्ने रहेछ ।
कक्षा ६/७ मा पढ्दा माइली दिदी र भिनाजु धरान आउनुभयो । भिनाजु औलो उन्मूलन गर्ने संस्थामा काम गर्नुहुन्थ्यो । उहाँहरूको मलाया रोडमा डेरा थियो । भिनाजु काम पर्दा अरु ठाउँ जाइरहनु पथ्र्यो । दिदी भने माइत बस्न आउनुहुन्थ्यो । शान्ता दिदी र मलाई कोठा कुर्न पठाउनुहुन्थ्यो । एकपटक हामीले दिदीको ओछ्यान उल्टाएर हेर्दा ८ आना फेला पर्‍यो । त्यही पैसा लिएर रातिको शोमा सिनेमा हेर्‍यौं र दिदीको कोठा कुर्न फर्क्यौं ।
आमाले ओछ्यानमुनि पैसा लुकाउनुहुन्थ्यो । त्यसैले दिदीको ओछ्यान उल्टाएर हेरेका हौं ।
जुनै काम वा क्षेत्रमा लागे पनि लगन हुनुपर्छ । त्यसो भए सफल हुन सकिन्छ । कामबाट जे जति सफलता हात पर्छ, त्यसमा चित्त बुझाउँदै अगाडि बढ्नुपर्छ । मैले अझै केही गर्नु छ भनी काममा लागिरहनु भने पर्छ ।
(शब्द : राजेश कोइराला, तस्बिर : नवराज वाग्ले, २०६३ असार ९ मा कान्तिपुर दैनिकको बालकोसेली कोपिलामा प्रकाशित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

<