दधिराज सुवेदी सानो छँदा

दुईपल्ट जात गयो र पाँच वर्षपछि फर्क्यो

दधिराज सुवेदी विराटनगरका क्याम्पसहरूमा धेरै वर्षदेखि पढाउँदै आउनुभएको छ । उहाँ लेखक पनि हुनुहुन्छ । बुबा शिवशंकर र आमा खड्गकुमारीका जेठो छोराका रूपमा उहाँ २००४ साल साउन ४ गते भोजपुरको दिङ्लामा जन्मनुभएको हो । उहाँको पढाइ दिङ्लाकै संस्कृत पाठशालाबाट भयो । भोजपुरबाट विराटनगर आउनुभयो । विराटनगरमा निकै दुःख झेल्दै पढ्नुभयो । धेरै संघ-संस्थामा रहेर काम गर्नुभयो । अहिले पूर्वाञ्चल विश्वविद्यालयको सूचना तथा सम्पर्क विभाग प्रमुख सुवेदी अझैं पढाउँदै हुनुहुन्छ । धेरै पुस्तक लेखेका सुवेदीका बाल्यकालका सम्झना प्रस्तुत छ :
त्यसबेला हाम्रो परिवार खेती-किसानीमा भर परेको थियो । बाख्रा, गाईबस्तु पालिन्थ्यो । घाँस काट्ने र घरको काम सघाउँदैमा समय बित्थ्यो । हिउँदमा यी कामबाट फुर्सद भएपछि हामी संस्कृत पाठशाला जान्थ्यौं । फुर्सद भनेको वर्षको ३-४ महिना हुन्थ्यो । माघसम्म गाईबस्तु चराउँथ्यौं अनि पढ्न जाने दिन सुरु हुन्थे । जेठ-असारमा मकै उम्रन्थे । मकैका बिरुवा बाख्रा-पाठाले खान्थे भनेर त्यो रुङ्नुपर्थ्यो । पाठशाला जाने काम बन्द हुन्थ्यो ।
संस्कृत पाठशालामा हामी चण्डी, वेद, रुद्री पढ्थ्यौं । घरबाट पाठशाला पुग्न आधा घन्टाजति लाग्थ्यो । पाठशालानजिक भएकैले छिटो पढ्न पायौं ।
मेरो पढ्ने वातावरण घरबाटै सुरु भयो । आमा लय हालेर ‘रामायण’ पढ्नुहुन्थ्यो । आफूलाई पनि पढ्न रहर लाग्थ्यो । लय टिपेर म पनि बेलाबखत गुनगुनाउँथे । उता बुबाले गोठमा बस्दा ढोंड (मकैको सुकेको बोट) बालेर पढ्न सिकाउनुहुन्थ्यो । ‘कपुरी क’, ‘पेट थोप्ली ख’ ….भनेर उहाँ भन्नुहुन्थ्यो । म दोहोर्‍याउँथेँ । तर क, ख कस्तो हुन्छ भन्ने नलेखी थाहा भएन । पछि मात्र यो बुझेँ ।
मैले वेद राम्ररी पढेबापत महिनाको ४ पाथी धान छात्रवृत्ति पाएँ । त्यसबेला मजदुरी गरेर एकदिनमा एक पाथी धान पाइन्थ्यो । एक पाथी धानलाई दुई रुपैयाँ पर्थ्यो । त्यो २०१५/१६ सालतिरको कुरा हो । म त खुसी भएँ नै । मेरा बा-आमा औधी खुसी हुनुभयो । धान दिने छात्रवृत्तिले मलाई प्रेरणा मिल्यो । परिवारले छोरो पढाउने पनि प्रेरणा पायो । शिक्षा अझ अगाडि बढ्यो । वैदिक शिक्षा सकियो । म विद्यालयको शिक्षातर्फ लागेँ । कक्षा ४ मा प्रवेश भएँ । ४-५ कक्षामा म प्रथम हुन थालेँ । प्रेरणा भयो ।
हामी स्कुल पढ्दा अरुण नदीमा मिल्ने चिर्खुवा खोलामा पौडन जान्थ्यौं । आप र कटहरका चिचिला टिपेर खान्थ्यौं ।
पाठशाला वरपर जामुनका रुख थिए । रुख बाक्लै भएकाले बाँदरले झैं एउटा रुखबाट अर्को रुखमा हामफाल्थ्यौं । धन्न कुनै दिन लडिएन । अग्लाअग्ला जामुनका रुखबाट लडेको भए के हुन्थ्यो होला ? अहिले सम्झँदा जिरिङ हुन्छ ।
अग्ला रुख देख्दा केटाकेटीमा हामी हारजितका कुरा गथ्यौं । ‘यो रुखबाट को हामफाल्न सक्छ ? कि मेरै बुबाले सक्नुहुन्छ कि राजाले सक्छ,’ भन्ने विवाद चल्थ्यो ।
एकपटक म मामाघर गएको थिएँ । मामाघर दिङ्लामै थियो । टाँडबाट बोको कसले फ्याँक्न सक्छ भन्ने विवाद भयो । मैले बोको लगेर फ्याँकिदिएँ । तल ढुंगामा बोकोले खुट्टा टेकेछ । चारै खुट्टा लल्याकलुलुक भए । त्यो त अररियो । साँझमा मामा घर र्फकनुभयो । मामाले ‘के
भयो ?’ भनी सोध्दा ‘भान्जाले माथिबाट फ्याँक्दा यो अररिएको’ भन्ने थाहा पाउनुभयो । मामाले गाली गर्नुभयो । त्यो बोकाका सबै खुट्टा भाँचिएका रहेछन् । त्यसको उपचार सम्भव थिएन । अनि त्यसलाई काटेर खाइयो ।
कक्षा ६ मा पुगेपछि म गम्भीर बिरामी भएँ । शरीरभरि घाउ भए । औषधोपचारको व्यवस्था हुन सकेन । ७ वर्ष डल्लो परेर घरमा सुतिरहेँ । कहिले केराको पातमा सुताउनुहुन्थ्यो । कहिले के गर्नुहुन्थ्यो । मेरा वरपर भिंगा घुमिरहन्थे । घरै गन्हाउँथ्यो । नातागोताका मानिसलाई पनि आउन अप्ठ्यारो भएको थियो । गाउँमा गरिने उपचारले काम गरेन । मलाई धरानको घोपा अस्पताल लगेर औषधि गर्ने वा माया मार्ने निधो गरी बोकेर धरान ल्याइयो । बेलायती डाक्टरले हेरेर भने, ‘म यसलाई निको पार्छु । तर अस्पतालमा राख्न दिन्न । तिमीहरू जहाँ बसेका छौ, त्यहीँ बस ।’ हामी रुखका फेदमा बसेका थियौं । त्यही बस्यौं । अनेकन नयाँ विधिका औषधि गर्दा ७ दिनमै घाउ सुक्यो । पाप्रा झर्‍यो । जीउ फुक्यो । गुडुलो पर्नु परेन । लौरो टेकेर हिंड्न थालेँ । पछि थाहा पाउँदा त लुतो बिगि्रएर यस्तो दीर्घरोग भएको रहेछ ।
पहाडमा रहँदा हाम्रो घर डाँडामा थियो । खेती बेंसीमा थियो । बेंसीमा गाईबस्तुसहित त्यहाँ बनाएको कटेरोमा एकजना रात बस्नुपर्थ्यो । म घरको जेठो छोरा भएकाले त्यही कटेरोमा बस्थेँ । कटेरोनजिकको बाटोबाट लाश लाने गरिन्थ्यो र खोलामा संस्कार गरिन्थ्यो । त्यसबेला भूतप्रेतका खुब कुरा हुन्थेँ । रात बस्दा मलाई डर लाग्थ्यो । दिनभर त यसै बित्थ्यो । राति जतिखेर पनि मुटु ढुकढुक हुन्थ्यो । डरले बाछा-पाडा समातेर रात बिताउँथेँ । एकदिन म त्यहीं बसेको थिएँ । मेरो सानो भाइको निधन भएछ । भाइ सानो भएकाले उसको लाश पुरेको थियो । घर र्फकँदा बुबा कटेरोमा आउनुभयो । म बुबासँग बसेर रोएँ । बुबाले भन्नुभयो- ‘दिउँसो बस । रातिलाई अर्को व्यवस्था गरौंला ।’ त्यसपछिका एक रातबाहेक म त्यहाँ बस्नु परेन ।
पहाडमा छँदा अन्धविश्वास पनि उत्तिकै थियो । हामी गरिब थियौं । बाहुनले हलो जोत्नु हुन्न भन्थे । वास्तवमा जसले हलो जोते पनि के हुन्छ र ? त्यतिबेला मानिस अन्धविश्वासी थिए । बुबाले हलो जोत्नुभयो । गरिब भएपछि बाहुनले पनि हलो जोते हुन्छ भन्ने सन्देश दिन त्यसो गर्दा हाम्रो जात गयो । मामा, फुपूहरू नै हाम्रो घर आउन छाडे । खाना खान छाडे ।
अर्को घटना यस्तो छ । डाँडाको फुच्चे सार्की एकदिन हाम्रा घर आएर मलाई भने, ‘ठूल्नानी, मेरी सालीको बिहे छ । त्यो बिहेमा मैले पढ्नुपर्ने भो । मलाई बिहे गर्न सिकाइदिनुहोस् ।’ मलाई डेढ रुपैयाँ गुरु-दक्षिणा पनि राखे । मैले वेद सिकाएँ । ‘सार्कीलाई वेद सिकायो’भनेर दोस्रोपटक जात गयो । वेदले पनि कतै जात छुट्याउँछ ? कस्ता अन्धविश्वास मानिस ।
२०१९ सालमा मुलुकी ऐन आयो । जातभातका कुरा नमान्ने घोषणा भयो । त्यसपछि हाम्रो जात फर्क्यो । सबै नातागोताका आउन थाले । हाम्रा घरमा खान थाले ।
पाठशालादेखि ठूलो कक्षा आइपुग्दा हामीले धेरै तरिकाले लेख्यौं । सुरुमा धुलौटे/धुलेपाटीमा लेख्यौं । त्यसपछि बाँसको पट्यासले हामीलाई मद्दत गर्‍यो । उन्यूँको डाठको कलम बनाएर लेख्यौं । जंगलमा पाइने विभिन्न वनस्पति बनाएर मसी बनायौं र लेख्यौं । धेरैपछि नेपाली कागज आयो र निकै सजिलो भयो । त्यसपछिमात्र खरिपाटी आएको हो ।
हामी सानो छँदा नरेन्द्र चापागाईं हाम्रा गुरुजस्ता हुनुहुन्थ्यो । उहाँ हाम्रा दाइ हुनुहुन्थ्यो । उहाँबाट हामीले धेरै कुरा सिक्यौं । गाईबस्तु चराउन सँगै जान्थ्यौं । बाँसको मोहला बुन्न सिकाउनुहुन्थ्यो । मोहला मुखमा लाएपछि मुख थुनिन्छ र खासगरी गोरुले बाली खान सक्दैनन् । उहाँ हामीलाई गफ गर्न सिकाउनुहुन्थ्यो । कटेरोमा भेला पारेर पढ्न सिकाउनुहुन्थ्यो । नरेन्द्र दाइले भाषाका क्षेत्रमा धेरै किताब लेख्नुभयो । धेरै वर्ष नेपाली पढाउनुभयो ।
एकपटक भोजपुरमा आधुनिक मास्टर आए । उनले प्राइमरी स्कुल खोले । मलाई पनि बुबाले त्यही स्कुलमा पठाउनुभयो । एक महिना पढेपछि ती मास्टर ‘फिस’ लिएर आउनु भने । मैले चार कक्षामा पढ्दा एक आना पर्ला भन्ठानेर ४ ढ्याक लिएर गएँ । त्यो पैसा ती मास्टरले लौरोले सोरेर हुर्‍याइदिए । मैले ढ्याक टिपेर गोजीमा हालेँ । पछि बुबाले हाट जाँदा फिस तिरिदिनुभयो । यही घटनाका बारेमा मैले ‘गुरुबाट अपमानित’ शीर्षकमा निबन्ध लेखेको छु ।
लुतोको रोगको जाँच बारम्बार गर्नुपर्ने भएकाले २०२३ सालमा म विराटनगर आएँ । नगरपालिकामा बहिदार भएँ । राति पढ्थेँ । पूर्वमध्यमाबाट सुरु भई आफैं पढेर एम.ए. सकेँ । सरकारी जागिर, क्याम्पसमा प्राध्यापन, समाजसेवा, लेखन सबै गरेँ । मेहनत गरे जे पनि हाँसिल गर्न सकिन्छ । हिम्मत हार्नु हुन्न ।
(शब्द : राजेश कोइराला, तस्बिर : नवराज वाग्ले, २०६३ असार २ मा कान्तिपुर दैनिकको बालकोसेली कोपिलामा प्रकाशित)

Write a comment