जी.के. सिंह सानो छँदा

बडेमानको अजिंगरले झन्डै निलेको

जी.के. सिंह पुराना कलाकार र शिक्षक हुनुहुन्छ । उहाँको पूरा नाम गिल्बर्ट कालु सिंह हो । उहाँ ८३ वर्षका हुनुभयो । सिंह ललितपुरको जावलाखेलमा बस्नुहुन्छ । उहाँ बुबा दलवीर सिंह र आमा भक्तमाया सेलिनाका साहिला छोराका रूपमा सन् १९२३ मा जन्मनुभएको हो । सिंहको पुख्र्यौली घर बझाङ हो । दार्जिलिङमा स्कुलको पढाइपछि त्यहीँ आई.एस्सी., कोलकातामा बी.ए. पढ्नुभयो । ७३ वर्षको हुँदा उहाँले बी.एड. र ७९ वर्ष पुग्दा बी.एल. पास गर्नुभयो । एक दर्जनजति पुस्तक लेखेक सिंहका बाल्यकालका सम्झना प्रस्तुत छ :
हजुरआमा दोलखा, चरिकोटको मकैबारीमा बस्नुहुन्थ्यो । त्यहाँबाट हामी जावलाखेल आएका हौं । बुबा भण्डारेको काम गर्नुहुन्थ्यो । म जावलाखेलमा जन्मेँ । त्यसबेला जावलाखेलमा वरपर तितेनी घारी थियो । धान र मकै खेत देखिन्थ्यो । साँझ परेपछि स्याल कराउँथे । कहिलेकाहीँ हापसिला कराउँथे । ‘हाप हु हाप हु..’ कराएको सुनेपछि ठूलाबढाले, ‘अब मान्छे मर्छ,’ भन्थे । वास्तवमा त्यसोचाहिँ भएको थाहा भएन ।
मलाई चंगा उडाउन धेरै मन पथ्र्यो । वर्षामा रुझ्न लाग्दा आमाले खुब रोक्नुहुन्थ्यो । तर म रुझेर रमाइलो मान्थेँ ।
जावलाखेलबाट हामी दार्जिलिङ गयौं । त्यहाँ लेबोङमा बस्यौं । लेबोङमा एउटा मस्जिद थियो । त्यहाँ बिहानै मुसलमानहरू ‘अल्लाह-बिसमिल्लाह’ भनेर प्रार्थना गरेको सुन्थेँ । हामी बसेको घरभन्दा तल बाटो थियो । त्यो बाटोमा एकजना घोडा चढेर आउने/जाने गर्थे । उनी चिया-कमानका अंग्रेज साहेब रहेछन् । घोडाको घाँटीमा घण्टी थिए । ती घण्टी छिर्लिङ…छिर्लिङ गर्दै बज्थे । हामी ती साहेबलाई किङ छिर्लिङ साब भन्थ्यौं । तर पछि अलि ठूलो भएर बुझ्दा त उनको नाम किङ्सले रहेछ ।
घरछेउमै रुख थियो । म रुख चढ्दा धेरै माथिसम्म जान सक्दिनथेँ । तीन फिटजति माथि चढेर ‘काग…काग’ भनेर कराउँथेँ । मलाई आफू काग भएजस्तो लाग्थ्यो । तर माथि चढ्दा सिरिङ भएजस्तो हुन्थ्यो ।
मेरा हजुरबुबा आर्मीको पोशाक लगाएर बिहान घुम्न निस्कनुहुन्थ्यो । मलाई त्यही पोशाकमा आँगनमा डोर्‍याउनुहुन्थ्यो । बुबा आदिकवि भानुभक्तको जस्तो टोपी, दौरा- सुरुवाल र कालो कोट लगाएर लेबोङ क्यान्टोनमेन्टमा काम गर्न जानुहुन्थ्यो । आउनुहुन्थ्यो । पिता हिन्दु धर्ममा आस्था राख्नुहुन्थ्यो । हरेक आइतबार नुहाउनु हुन्थ्यो । रामायण पढ्नु हुन्थ्यो । रामायण पढेर सुनाउनु हुन्थ्यो । मलाई उहाँले सुनाएका दुई पंक्ति याद छन् । ती त्यस्तै हुन् कि फरक थिए मलाई थाहा छैन । सुन्दरकाण्डका ती पंक्ति यस्ता छन्ः
तर्छु क्षार समुद्र आज सहजै भन्या इरादा धरी ।
श्रीरामका चरण रवीन्द्र मनले अत्यन्त चिन्तन गरी ।
लेबोङमै पिताको निधन भयो । पिताको निधनपछि हामीलाई मेरा मामा डी.बी. सिंह पलले लेबोङबाट पेदोङ लानुभयो ।
पेदोङमै मेरो पढाइ सुरु भयो । म सेन्ट जर्जेस स्कुलमा पढ्न थालेँ । आमा त्यसै स्कुलमा होस्टल-इन्चार्ज बन्नुभयो । हामी पाँच भाइ र एक दिदी थियौँ । दिदी कालिङपोङ कन्भेन्टमा पढ्नु हुन्थ्यो । त्यसबेला नेपाली किताब थिएनन् । हिन्दी र अंग्रेजीका मात्र किताब थिए । बुबा हिन्दु भए पनि हामी फादरका चेला बन्यौं र इसाई धर्म अँगाल्यौं ।
एकपटकको कुरा हो । कक्षा एकको चित्र बनाउने परीक्षा थियो । हामीलाई गुलाबको फूल बनाउन भनिएको थियो । पेन्सिलले रेखाचित्र कोरिसकेपछि हाम्रो खाजा खाने समय भयो । खाजा खान निस्कँदा म बगैंचामा गएँ । गुलाफको फूलको पत्ता र पात टिपेर ल्याएँ । अघि बनाएको रेखाचित्रमा फूलको पत्तामा पत्ता र पातमा पात दलिदिएँ । त्यसबेला रंगीन पेन्सिल हुँदैनथ्यो । पछि सर मार्सेल ज्ञ्याँचेले कपी काट्दा मेरो कपी हेर्नुभयो र मुसुमुसु हाँस्नुभयो । मलाई पुलुक्क हेर्दै दशमा दश दिनुभयो । भविष्यमा कलाकार हुन रहेछ र मलाई यस्तो इच्छा भएको रहेछ । मलाई चित्र कोर्ने इच्छा पनि त्यसबेलादेखि नै रहेछ ।
सानो छँदा फुटबल खेल्न भनेपछि भुतुक्कै हुन्थेँ । त्यसबेला फुटबल पाउन गार्‍हो थियो । म र मेरा मिल्ने साथीहरू- जुल्स राई र राफायल ह्युँयासँग साँझसम्म भोगटे र सङ्खत्रको फुटबल खाली खुट्टाले खेल्थ्यौं । मलाई डण्डीबियो, टोल (मार्बल) र लड्डु खेल पनि मनपथ्र्यो । बिदामा म यस्तै खेल खेलेर बिताउँथेँ ।
हामीलाई फादरहरूले पढाउनुहुन्थ्यो । घनाबस्ती नभएर धेरैजसो भागमा जंगल भएकाले त्यसबेला शिकार खेल्न जाने चलन थियो । हरेक आइतबार हामी मट्याङ्ग्रा लिएर चरा माथ्यौर्ं । मैले धेरै चरा मारेँ । धेरै सुन्दर चरा मारेकोमा मलाई अहिले दुःख लाग्छ ।
एकपटक एकजना स्वीस फादरसँग म शिकार खेल्न गएँ । हामी ढुकुर मार्न हिंडेका थियौं । हामीलाई देखेर ढुकुर चिलाउनेको रुखमा पुग्थ्यो । त्यहाँबाट उडेर खेतमा आउँथ्यो । फादरले मलाई ‘रुखको फेदमा बस’ भन्नुभयो । त्यहाँ धेरै खर थियो । त्यो ठाउँ खरबारी नै भनेर चिनिथ्यो । फादर खेतमा जानुभयो । म रुखको फेदमा ढुटोमा उभिएँ । खरबारीमा ‘छस्ल्याङ… छस्ल्याङ…’ को आवाज आयो । आवाज नजिकनजिक हुँदै आए पनि केही देखिएन । एकछिनपछि मेरा अगाडि बडेमानको अजिंगर आएर मुख बाएर ठडिएको देखेँ । म सात-आठ वर्षको हुँदो हुँ । मेरो बोली बन्द भयो । ‘साप..साप..’ भन्न पनि नसक्ने भएँ । ढुकुरको शिकार गर्न पुग्दा आफैंलाई झन्डै अजिंगरले शिकार गरिदियो । म माथि र अजिंगर ओरालोमा भएकाले लडिबडी गर्दै म भाग्न सकेँ र बाँचे । फादर पनि आत्तिएर माथि आए । हामी शिकार नै नगरी फक्यौर्ं । अजिंगरले निलेको भए आज म कहाँ हुन्थे र ?
अर्कोपटक अर्कै स्वीस फादर सेयरसँग दाम्साङगढीमा साँझपख मृग शिकार गर्न गयौं । फादरले, ‘यहाँ मृग आउँछ । एकदम विस्तारो हिँड्नु,’ भन्नुभयो । हिंड्दै जाँदा मैले ‘छस्ल्याङ… छुस्लुङ’ गरेको आवाज सुनेँ । डाँडा मुन्तिर अम्लिसो हल्लिएको थियो । मैले फादरलाई, ‘मृग हुनुपर्छ’, भनेँ । उहाँले ‘हल्ला नगर्नु, म अलि माथि जान्छु । त्यहाँबाट देख्छु होला,’ भन्नुभयो । मैले नियालेर हेर्दा घाँसभित्र रातोरातो चिज देखेँ । घाँस हल्लिएको थियो । मैले फादरलाई त्यहाँ बन्दुक हान्न
भने । उहाँले मलाई, ‘थपडी मार, म रनिङ सट हान्छु,’ भन्नुभयो । उहाँ बन्दुक ताकेर ठिक्क पर्नुभयो । मैले थपडी मार्दा त एकजना घाँसी पो जुरुक्क उठ्यो । उसले भुत्ले टोपी लगाएको रहेछ । त्यो देखेर रातो-पिरो फादर पहेँलो हुनुभयो । मेरो मन ढुकढुक भयो । घाँसी भाग्यो । त्यो ठाउँमा घाँस काट्न रोक लगाइएको रहेछ । फादरले घाँसीलाई, ‘तिम्रो हँसिया लिएर आऊ । नत्र मार्छु,’ भन्नुभयो । ऊ हँसिया लिएर आयो । फादरले हँसिया जंगलमा हुइँक्याइदिनुभयो र भन्नुभयो, ‘फेरि पनि यहाँ घाँस नकाट्नू ।’ त्यो दिन मेरो कुरा सुनेर फादरले गोली चलाएको भए के हुन्थ्यो ? त्यसपछि मलाई शिकार जान मन लागेन ।
ठूलो भएपछि विभिन्न देश-देशावरमा काम गरेँ । धेरै कुरा देखेँ र लेखेँ । बालबालिकाका लागि चित्रहरू कोरेँ । जागिरबाट बिदावारी भएपछि म एकपटक दार्जिलिङ गएँ । आफूले सानोमा देखेका ठाउँ छन् कि छैनन् भनेर खोजेँ । पहिला त फेला पारिन । पछि ती ठाउँ भेटिए । ती सबै ठाउँ रहेछन् । दाइ लडेको भीर पनि रहेछ । सानोमा त्यो भीर अग्लो लाग्थ्यो । त्यस्तो रहेनछ । मस्जिद पनि रहेछ । किङ्सले हिँड्ने बाटो रहेछ ।
सिक्ने र जान्ने उमेर जहिले पनि हुन्छ । म अहिले आफूले जानेको कला अरुलाई सिकाउँदैछु । कम्प्युटर सिक्दैछु । बालबालिका र शिक्षकलाई रोटरी क्लबमार्फत तालिम दिँदैछु । त्यसैले जहिले पनि पढ्ने र सिक्ने अनि सिकाउने उमेर रहन्छ भन्ने कुरा अरूलाई पनि भन्न चाहन्छु ।
(शब्द : राजेश कोइराला, तस्बिर : नवराज वाग्ले, २०६३ जेठ २६ मा कान्तिपुर दैनिकको बालकोसेली कोपिलामा प्रकाशित)

Write a comment