एउटा अनौठो जन्मदिन

उनी १४ वर्षकी । तर उनको जन्मदिनमा १३ वटा मात्र मैनबत्ती बालिए । बेलुन थियो । गुलाफि रंगको केक र सबैका आँखामा आँसु ।
गत आइतबार उनका सबै नातेदार उनको समाधीस्थलमा भेला भएका थिए । हो, उनी आफैं भने थिइनन् । उनी अर्थात् टेक्सास राज्यको ह्युस्टनकी एभिअन्का कोर्टेज ।
उनी भएकी भए त हामी उनको जन्मदिन घरमा मनाउँथ्यौं – दिदी ब्रिटानी हचिन्सनले भनिन् । एभिअन्काकी आमाले भनिन् – हामीलाई दिनहुँ हुने पिडाको के कुरा रु यस्तो दुर्घटना भइ गो र त्यसको घाउ आलै छ ।
सन्दर्भ पाँच महिनाअघिको एक सडक दुर्घटनाको । प्रदर्शनीबाट फर्कदै गर्दा गत ९ जुलाईमा उनका साथ १७ वर्षीया रासुन्दा रालेघ घटनास्थलमा र १३ वर्षीया डेथ्रिहान्ना डेभिसको अस्पतालमा मृत्यु भएको थियो । एभिअन्का, रासुन्दा र डेथ्रिहान्ना चढेको एसयुभीलाई नेपाली युवा साजन तिमल्सिना, २५, ले चलाएको टोयोटा काम्री कारले स्थानीय समयअनुसार करिब राति साढे १ बजे रातो बत्तीको सडकबाट हरियो बत्तीतर्फको भागमा गएर ठक्कर दिएको थियो । रालेघका बाबुले चलाएको गाडीमा तीन किशोरीसहित सात जना थिए । तिमल्सिनाले रक्सीसेवनपछि गाडि चलाएका थिए । प्रहरीले दुर्घटनापछि परीक्षण गराउँदा उनको रगतमा थोरै र पछि धेरै मात्रा रक्सी भेटिएको थियो । थोरै मात्रा पाएकाले तत्कालका लागि प्रहरीले तिमल्सिनालाई छाडिदियो । पछि धेरै मात्रा रक्सीको रहस्य खुल्दा उनी भागिसकेका थिए । प्रहरीको अनुमानअनुसार उनी कतार हुँदै नेपाल गए । अनुसन्धानमा जुटेका अधिकारी भन्छन् – उ नेपालमै छ ।
घटनाले एक महिनापछि निकै ठूलो मोड लियो । अप्रत्याशित चोट सहिरहेको परिवारले फेरि अर्को सन्तान गुमायो । अगस्त मध्यमा बेन्निशा डेभिसले बहिनी डेथ्रिहान्ना डेभिस गुमाएको सहन नसकी आत्महत्या गरिन् । अरु बहिनीका साथी थिए । उनी भन्ने गर्थीन् – बहिनी त गई गई उसलाई मार्ने मान्छे पनि पक्राउ नपर्ने भयो ।
घटना निकै संवेदनशिल भयो । टेक्सासकी कंग्रेस प्रतिनिधिले तिमल्सिनालाई नेपालबाट फर्काउन आवाज उठाइन । नेपाल र अमेरिकाबीच सुपुर्दगी सन्धि नभएकाले तिमल्सिनालाई अमेरिका ल्याउन सजिलो रहेन । अमेरिकाले करिब एक सय देशसँग सुपुर्दगी सन्धि गरेको छ । ६७ देशसँग अमेरिकाको कुटनीतिक सम्बन्ध भएर पनि सुपुर्दगी सन्धि नभएका देशमा नेपाल पनि एक हो ।
प्रधानमन्त्री माधवकुमार नेपालका परराष्ट्र मामिला सल्लाहकारका अनुसार भारतबाहेक अमेरिका, पाकिस्तान, फ्रान्स, बंगलादेश आदिले सुपुर्दगी सन्धि गर्न नेपालसँग लामो समयदेखि प्रयास गर्दैछन् ।
अति कुटनीतिक धरातल त आमनागरिकको चासो होइन । ठूलो संख्यामा परिवारको सदस्य गुमाएको परिवारले बुझ्ने सत्य अर्कै छ । एभिअन्का कोर्टेजकी आमा भन्छिन्- हामी पिडामा बाँधिएका छौं । अपराध गरेर भागेको मानिस खुल्ला हिंडेको छ । चार महिना बितेको छ । जबसम्म उ समातिदैन, हामीले चैनको सास कसरी फेर्थ्यौ र !
(इकान्तिपुरमा पोष्टिङ – २०६७ मंसिर १०)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

<