अमेरिकामा नेपालीभाषीलाई निःशुल्क डिक्सनरी वितरण

अमेरिकाका विभिन्न राज्यमा बस्ने १ सय ४३ नेपालीभाषी परिवारलाई ‘संक्षिप्त अङ्ग्रेजी-नेपाली–नेपाली-अङ्ग्रेजी शब्दकोश’ (डिक्सनरी) नि:शुल्क वितरण गरिएको छ ।
अमेरिकाको पहिलो नेपाली न्युजलेटर ‘अक्षरिका’ र नेपाली डिक्सनरी प्रोजेक्टको संयुक्त प्रयासमा उक्त डिक्सनरी वितरण गरिएको हो । अमेरिकामा बसोबास गराइएका नेपालीभाषी भूटानीलाई अमेरिकाका विभिन्न विषयको जानकारी दिन गत अगस्तदेखि ‘अक्षरिका’ पाक्षिक प्रकाशित हुँदै आएको छ । न्यु ह्याम्सर राज्यको म्यानचेस्टरस्थित एस एन्ड टी कम्युनिकेसन्सद्वारा स्वयंसेवी प्रयासका रुपमा प्रकाशित उक्त न्युजलेटरका पाहुना सम्पादक राजेश कोइराला हुनुहुन्छ । न्युजलेटर ४ पृष्ठको छ ।
नेपालबाट भूटानीलाई अमेरिकामा बसोबास गराउँदा भाषाको समस्या नहोस् भनेर ‘नेपाली डिक्सनरी प्रोजेक्ट’को स्थापना गरिएको हो । यो प्रोजेक्टको स्थापना डग हलले गर्नुभएको हो। यसै प्रोजेक्टले अमेरिकामा ‘संक्षिप्त अङ्ग्रेजी-नेपाली–नेपाली-अङ्ग्रेजी शब्दकोश’ प्रकाशित गरेको हो । अमेरिकामा यसअघि यस्तो डिक्सनरी छापिएको थिएन ।
डग हलले सन् १९६८ देखि पाँच वर्ष नेपालमा पिसकर्प स्वयंसेवकका रुपमा काम गर्नुभएको थियो । सन् १९९६ मा पनि उहाँ नेपाल जानुभएको थियो।
उक्त शब्दकोश कमलराज अधिकारीले तयार पार्नुभएको हो। विद्यावारिधि गरेका अधिकारीले अमेरिका, यमन र नेपालमा नेपाली र अङ्ग्रेजी पढाउनुभएको छ ।
डिक्शनरीका विशेषता डिक्शनरीमा दुई भाग छन् । पहिलो भागमा अङ्ग्रेजीबाट नेपाली १२ हजार र दोस्रो भागमा नेपालीबाट अङ्ग्रेजी १५ हजार शब्द छन् । ५०८+४ पृष्ठको यो पुस्तकको मूल्य १६ डलर छ। पुस्तक ३ पटक छापिइसकेको छ।
(इकान्तिपुरमा पोष्टिङ – २०६७ फागुन १)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

<