गन्स एन्ड रोजेज

आमहड्तालको एकदिन पैदल घर फर्कदा बाटोछेउमा नानीहरु चिच्याइचिच्याइ भनिरहेका थिए, ‘ए फर आन्दोलन, बी फर बन्द, सी फर चक्काजाम…’ त्यसपछि भट्याउनेले भन्न जानेन र छेउमा बसेको दाईलाई सोध्यो, ‘डी फर के दादा -’ दादाले फर्कायो, ‘ढिच्युउ’ (गोली चल्दा आउने आवाजको सिने संस्करण) । म हिंडिरहेको थिएँ । त्यसपछि मैले केही सुनिन । घर पुगेर नेपाली शब्दसागर पल्टाएँ । कोशकार वसन्तकुमार शर्म्मा नेपालले ‘ढिच्युउ’ को अर्थ राख्नुभएको रहेनछ । वर्षौंदेखि सिनेमाको पर्दामा सिमित शब्द अब साना नानीहरूले शब्दकोशमा थपिदिएका छन् ।
आन्दोलनले शायद यस्तै सिकाउँछ । जनआन्दोलन २ मा माओवादी कार्यकर्ताले रुखको हाँगा बोकेका थिए । पछिल्लो आन्दोलनमा भाटा बोके । अबको यस्तै आन्दोलनमा के बोकेर आउलान् ? त्यसपछि नानीहरुले के सिक्लान् ? अस्थिर राजनीतिले उनीहरुलाई यस्तो मानसिक जालमा फसाइसकेको छ, जहाँबाट उनीहरु उम्केर जान सक्दैनन् ।
युद्धपछि शिकार
जनयुद्धका बेला गाडिएका बम विस्फोटमा नानीहरु परिरहेका छन् । आमाहरु परिरहेका छन् । यसले निम्त्याउने भयावकको संख्या बढेपछिमात्र हाम्रा आखा खुल्छन् कि – जनवरीयता नेपाली दैनिक पत्रिकाले छापेका समाचारले भयावह पुष्टि गरेका छन् -
० माओवादी कार्यकर्ताको निर्देशनमा गोली प्रहार (राजधानीको गोठाटारमा सन्तोष कार्कीको हत्या, २०६६ माघ ७, कान्तिपुर दैनिक) ।
० बम विष्फोटबाट घाइते बालिकालाई बोकेका बाबुको आवरण तस्बिर (२०६६ माघ १९, कान्तिपुर दैनिक) ।
० बम विष्फोटमा दुइ बालिका घाइते (२०६६ माघ २६, अन्नपूर्ण पोष्ट) ।
० बेबारिसे बलमे बालक घाइते (२०६६ माघ २८, नागरिक दैनिक) ।
० विष्फोटमा सात बालबालिका घाइते (२०६६ फागुन २६, कान्तिपुर दैनिक) ।
० नडाडेका जन्तीले गोली चलाए, रमाइलो गरिरहेका बालकसहित दुइको मृत्यु (२०६६ फागुन २६, नागरिक दैनिक) ।
कसैसग रहेका साना हतियार तथा भुइमा गाडिएका वा त्यसै छाडिएका बमले विस्तारै चमत्कार देखाइरहेका छन् । आउदो पुस्ता यसरी नै विगतको द्वन्द्वको शिकार भइरहेको छ । अनि त्यसमाथि वर्तमान अराजक राजनीतिले मानसिक शिकार बनाइरहेको छ ।
दक्षिण एसिया र आमसञ्चार
जनयुद्धका बेला बालबालिकालाई युद्धमा, सुराकीका रुपमा प्रयोग भएका समाचारहरु आए । संयुक्त राष्ट्रसंघलगायतका संस्थाले पनि आफ्ना प्रतिवेदनमा यस्ता तथ्यांक सार्वजनिक गरे । पछिल्लोपटक भारतमा बालबालिकाको प्रयोग हतियार ओसारपसारमा भएको समाचार ‘द हिन्दू’ (सन् २००९ नोभेम्बर १३) ले ‘चिल्ड्रेन बिइङ युज्ड एज आर्म्स करिअर्स’ शिर्षमा समाचार प्रकाशित गरेको थियो । समाचारमा नेपालको जनयुद्धताका झनै बढी भएको उल्लेख छ । श्रीलंकामा भएको तमिलयुद्धले जति बालबालिकाको प्रयोग दक्षिण एसियामा अरु कसैले गरेन ।
हिन्दू धर्मको पृष्ठभूमीमा हुर्केबढेको दक्षिण एसियामा यहि धर्मको प्रभाव छ । हिन्दू देवताहरु हतियारसहित तस्बिरमा देखिन्छन् । टेलिभिजनमा देखाइने धार्मिक श्रृंखलासमेतमा युद्ध देखिन्छ । अधर्म नाश गर्न देवता हतियार बोक्छन् भनेर भनिए पनि बालबालिकाले हतियार बोक्दाको ‘ग्ल्यामर’ लाई आत्मसात गरिरहेको छ । उ धर्म र अधर्म कसरी जानोस् र ? खेलौनामा पसलमा पुगेर उ अभिभावकलाई बन्दुक किनीदिने आग्रह गर्छ । कम्प्युटर गेममा युद्ध खेल्छ । युद्ध देख्छ, उ युद्ध चाहन्छ । पूर्वराजा दिपेन्द्र वा भारतीय सिनेअभिनेता सञ्जय दत्तको बाल्यकालदेखिको हतियार मोह त्यहि भन्छ । परिणाम आखिर दिपेन्द्र र सञ्जयले भोगेको तथ्य जगजाहेर छ ।
वास्तविक युद्धका तस्बिर त बालबालिकाका लागि रोकिइदैन । इराक युद्ध, अफगान युद्धमा हरेक दिन विष्फोट छ । अनि तीनकै समाचार छन् । ती समाचारबाट बालबालिका टाढा छैनन् । अनि के सिकुन र नानीहरुले ?
नानीहरुलाई धर्म, युद्ध, अराजक राजनीति सबैको एउटै ‘इन्पुट’ मिलिरहेछ, ‘नानीहरु हतियार बोक । तिमीहरुले पनि युद्ध गर्नुछ ।’
‘गन्स एन्ड रोजेज’ का कुरा गर्दा कृपया गरेर तिमी ‘रोजेज’ कै पक्षमा उभिदीउ । यी सुन्दर फूलहरुलाई मुस्कुराइमुस्कुराई फुल्न दीउ ।
(सन् २०१० मे १५- २०६७ जेठ १, कान्तिपुर दैनिकमा प्रकाशित)

Write a comment