विभेदको छायामा महिला मृत्युदरमा कमी

विश्वले १ सय २१ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइरहेको बेला बेलायतको मेडिकल जर्नल ‘लान्सेट’ ले एउटा अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै विश्वमा महिला विभेद व्यापक रहेको जनायो । प्रतिवेदनले भनेको छ, ‘साइप्रसका महिला धेरै बाँचेका छन् भने आइसल्यान्डका पुरुष । साइप्रसमा १ हजार महिलामध्ये ३८ जना मात्र ६० वर्ष नपुग्दै मर्छन् । यही तथ्यांकले यो राष्ट्र नम्बर एक हुन पुगेको हो । सन् १९७० मा साइप्रस १० औं स्थानमा थियो । दक्षिण कोरियाले साइप्रसलाई पछ्याएको छ । विश्वका अधिकांश ठाउँमा महिला मृत्युदरको तुलनामा पुरुष मृत्युदर निकै बढी छ ।’ अध्ययनमा जनगणना, मृत्युदर्ता एवं विभिन्न सर्वेक्षण समावेश गरिए। अध्ययन सन् १९७०, सन् १९९० र सन् २०१० गरिएको र चाँडै हुने मृत्युमा विशेष ध्यान दिइएको थियो ।
दक्षिण कोरियामा १ हजार महिलामा ४० महिला ६० वर्ष नपुग्दै मर्छन् । यस्तो मृत्युलाई असामयिक भनिन्छ । जापान, इटाली र गि्रसका १ हजार महिलामध्ये ४१ जना ६० वर्ष नपुग्दै मर्छन् । ग्रिस, स्वीडेन, स्विट्जरल्यान्ड, स्पेन, आइसल्यान्ड, इटाली र साइप्रसले भने सन् १९७० देखि सन् २०१० सम्म माथिल्लो दसको सूचीमा आफूलाई राखिरहन सफल भए। सन् १९७० मा महिला मृत्युदर कम भएका देशमा युरोपेली र भूमध्यसागर आसपासका थिए । सन् १९७० मा गि्रसका महिला तेस्रो स्थानमा थिए भने अहिले चौथो स्थानमा छन् । त्यतिबेला त्यहाँका पुरुष पहिलो स्थानमा थिए भने अहिले २२ औं स्थानमा छन् ।
१ वर्षमा १ वर्षका दरले वयस्क मृत्युदर घटेको छ । अध्ययन भन्छ, ‘यो कमी पनि क्षेत्र र देशअनुसार भिन्न छ । अन्तर पनि अनौठो देखिन्छ ।’ यो मृत्युदरमा एड्स महामारी, सोभियत संघको विघटन र धूम्रपान मुख्य कारक देखिएका छन् । त्यसैले अफ्रिका महादेश र सोभियत संघअन्तर्गतका मुलुकमा वयस्क मृत्युदर बढेको छ।
सन् १९७० देखि सन् २०१० आइपुग्दा महिला वा पुरुषको मृत्युदरमा कसरी परिवर्तन आयो भनेर प्रतिवेदनले प्रस्ट पारेको छ। अफ्रिकी मुलुक स्वाजिल्यान्डमा वयस्क मृत्युदर बढेको छ । त्यहाँ पुरुष मृत्युदर ७६ दशमलव ४ प्रतिशत तथा महिला मृत्युदर ५९ दशमलव ६ प्रतिशत छ । जाम्बियामा महिला मृत्युदर ६० दशमलव ५ प्रतिशत छ । यो सबैभन्दा बढी हो । स्वाजिल्यान्डको मृत्युदर साइप्रसको भन्दा नौ गुणा बढी छ । युरोपेली मुलुक स्विडेनमा सन् १७५१ मा जति वयस्क मृत्युदर थियो, त्यसभन्दा धेरै नै मृत्युदर अफ्रिकी महादेशका दक्षिणमा अवस्थित मुलुकमा छ। यो अवधि भनेको अढाई सय वर्षअघिको तुलनामा समेत बढी हो ।
अनुसन्धान भन्छ, ‘संयुक्त राज्य अमेरिका पनि अरू राष्ट्रभन्दा पछि परेको छ । सन् १९९० मा वयस्क मृत्युदरको सूचीमा ३४ औं स्थान ओगट्न सफल अमेरिका अहिले ४१ औं स्थानमा छ । अमेरिका महिला मृत्युदर ४९ औं र पुरुष मृत्युदरको ४५ औं स्थानमा छ । सूची हेर्दा अमेरिका पश्चिमी युरोपेली मुलुक र निम्न आय भएका चिली, ट्युनिसिया र अल्बानिया आदि मुलुकभन्दा पछि छ ।’ सूचीमा १५ वर्षदेखि ६० वर्षका मानिसको आयुको विषय समेटिएको छ भने विश्वका १ सय ८९ मुलुक समावेश छन् । अध्ययन राष्ट्रपिच्छे गरिएको छ । मानिसको जिन्दगीलाई १५ देखि ६० वर्षबीचको मानेर यही उमेरलाई आधार मान्दै अध्ययन गरिएको छ ।
६० वर्ष नपुग्दै आइसल्यान्डमा केवल ६ दशमलव ४९ प्रतिशत पुरुषमात्र मर्छन् । आइसल्यान्डपछि पुरुष मृत्युदर कम भएका मुलुकको सूचीमा स्वीडेन छ । तेस्रो स्थानमा माल्टा छ भने चौथो र पाँचौं स्थानमा क्रमशः निदरल्यान्ड्स तथा स्विट्जरल्यान्ड छन् । पुरुष मृत्युदरको छैटौं स्थानमा अस्ट्रेलिया छ । त्यहाँ ६० वर्ष नपुग्दै मर्ने पुरुष केवल ७ दशमलव ६५ प्रतिशतमात्र हुन्छन् ।
बेलायतमा १ हजारमा ५८ महिला ६० वर्ष नपुग्दै मर्छन् । पश्चिमी युरोपेली राष्ट्रमा बेल्जियमको अवस्था बेलायतको भन्दा खराब छ, जहाँ १ हजार महिलामध्ये ६० जना ६० वर्ष नपुग्दै मर्छन् । डेनमार्क त्यसभन्दा कमजोर साबित भएको छ, जहाँका १ हजार महिलामध्ये ६५ महिला ६० वर्ष नपुग्दै मर्छन् ।
पुरुष मृत्युदर कम भएको आइसल्यान्डमा महिला मृत्युदरको अवस्था हेर्दा रमाइलो तथ्यांक पाइन्छ । महिला मृत्युदरमा आइसल्यान्ड १० औं स्थानमा छ, त्यहाँ ६० वर्ष नपुग्दै मर्ने महिला ४ दशमलव ४२ प्रतिशतमात्र छन् । अस्ट्रेलियामा महिला मृत्युदर ४ दशमलव ३९ प्रतिशत छ । बेलायत महिला मृत्युदरमा ९ दशमलव ३ प्रतिशत भएर १९ औं स्थानमा छ । कोरिया ३३ औं स्थानमा छ भने लिबिया ३४ औं र क्युबा ३८ औं स्थानमा छन् । ६० वर्ष नपुग्दै मर्ने पुरुष १३ प्रतिशत र महिला ७ दशमलव ७५ प्रतिशत रहेर अमेरिका ४७ औं स्थानमा छ । अल्जेरिया ४७ औं र इराक ५३ औं स्थानमा छन् । चीन ६१ औं र भारत १०८ औं स्थानमा छन् ।
अध्ययनले भनेको छ, ‘महिलाको स्वास्थ्यमा पुरुषको भन्दा उल्लेख्य सुधार आएको पाइए पनि विभेदका कारण सोचेजस्तो प्रगति नभएको हो । सन् १९७० देखि सन् २०१० सम्ममा महिलातर्फको वयस्क मृत्युदर ३४ प्रतिशत कम भएको छ । उता पुरुषतर्फ केवल १९ प्रतिशतमात्र घटेको हो । यो अवधिमा पुरुष र महिलाको वयस्क मृत्युदरको अन्तर २७ प्रतिशत पुगेको छ ।’
यो अवधिमा बालमृत्युदरलाई विशिष्ट विषय बनाइयो । त्यसमाथि धेरै बहस भए । संयुक्त राष्ट्रसंघलगायतका विभिन्न संस्था बालमृत्युदर घटाउन बेजोडसाथ लागिपरे तर वयस्क मृत्युदरले बालमृत्युदरको हैसियत नै हासिल गर्न सकेन । समस्या समाधानतर्फ कसैले पहल गरेनन् । त्यस अर्थमा समस्या ‘ज्युँका त्युँ’ रह्यो । प्रत्येक वर्ष पाँचौं जन्मदिन नमनाई करिब ७ लाख ७० हजार बालबालिकाको मृत्यु हुन्छ भने ६० वर्ष पुग्नुभन्दा पहिले करिब २ करोड ४० लाखको मृत्यु हुन्छ ।
अध्ययन भन्छ, ‘सन् १९९० भन्दा अहिले पुरुष र महिला मृत्युदर ३७ देशमा निकै बढेको छ । पूर्वी युरोपमा सुधार देखियो भने सन् १९७० मा ४३ औं स्थानमा रहेको रुस १ सय २१ औं स्थानमा झरेको छ ।’
सन् २००५ यता उपसहारा अफ्रिकी क्षेत्रमा यो उमेर समूहमा वयस्क मृत्युदर घटेको छ । एड्सको महामारीले गाँजेको यो क्षेत्रमा एचआइभीबाट बच्न गरिएका प्रयास र एड्सविरुद्धको औषधि ‘एन्टिरेट्रोभाइरल’ ले ठोस काम गरेको हुनुपर्छ।
एसियाली महिला मृत्युदर घटेको छ । दक्षिण एसियामा, विशेष गरी भारतको कुरा गर्दा सन् १९७० मा महिला मृत्युदर निकै बढी थियो । यो क्षेत्र र स्वयं भारतका यो दर निकै घटेको पाइएको छ । सन् २०१० मा भारतमा महिला हुनु राम्रो र सन् १९९७ मा अमेरिकामा महिला हुनु नराम्रो मान्ने अवस्था आएको छ ।
कम वयस्क मृत्युदर भएका देशको सूचीमा ठूलो परिवर्तन भए पनि सन् १९७० र सन् २०१० का बीच माथिल्ला १० देशमा स्वीडेन, निदरल्यान्ड्स र नर्वेको स्थानमा खासै परिवर्तन आएको छैन ।
(२०६७ जेठको नारी मासिकमा प्रकाशित)

Write a comment