महिला नेतृलाई नाता जोडेरै हेर्नुपर्ने ?

गत माघ २६ गते कान्तिपुर दैनिकको पहिलो पृष्ठमा ‘कोस्टारिकामा महिला राष्ट्रपति’ समाचार प्रकाशित भयो । समाचारका दुईमध्ये पहिलो वाक्य ‘कोस्टारिकामा लाउरा चिन्चिला पहिलो महिला राष्ट्रपति भएकी छिन्’ थियो भने अन्तिम वाक्य ‘पिता नोबेल विजेता ओस्कार आरियासको कार्यकालमा उनी उप-राष्ट्रपति थिइन्’ भन्ने कुरा प्रकाशित भएको थियो ।
उक्त पछिल्लो वाक्यले समाचार संप्रेषणभन्दा पनि व्यंग्य गरेजस्तो अनुभव हुन्छ । विश्वमा राष्ट्रपति, प्रधानमन्त्री बनेका महिलाहरूको परिचयमा यस्तै वाक्य जोडिने क्रम रोकिएको छैन । यो त धनी र विकसित राक्ष्ट्रको कुरा भयो । गरिब र विकासशील राष्ट्रमा त यस्तो चलन अझ व्यापक छ । त्यसमा पनि दक्षिण एसियाली मुलुकले त कीर्तिमान नै बनाएका छन् । महिलाले नेतृत्व सम्हाल्दैमा ‘पिता वा पति’ को सम्बन्ध जोडिहाल्नुपर्छ र ?
अमेरिकामा बिल क्लिन्टन राष्ट्रपति रहँदा उनकी पत्नी हिलारीलाई अर्को राष्ट्रपति भनेर लिइयो । हिलारी त्यहाँ एक्लै उभिन सकिनन् । उनका नाममा पति बिलको नाम जोडियो । सञ्चारकर्मीले पनि यसलाई फरक ढंगबाट हेर्न कन्जुस्याइँ गरे । छोराले पिताको बिँडो थाम्न हुन्छ भने छोरीले किन नहुने ? पतिको नाम जोडेर अघि बढ्दैमा उसको के गल्ती ?
आफ्नै राजनीति
जर्मन चान्सलर एन्जेला मर्केल, चिलीकी राष्ट्रपति मिचेल बाचेलेट, फिनल्यान्डकी राष्ट्रपति तार्जा हेलोनन,  भारतीय राष्ट्रपति प्रतिभा पाटिल, आइसल्यान्डकी राष्ट्रपति जोहान्ना सिगौआर्दोट्टरि, आइरिस राष्ट्रपति मेरी म्याक एलिसी, जमैकाकी राष्ट्रपति पोर्टिया लुक्रेसिया सिम्पसन-मिलर, लात्भियाकी राष्ट्रपति भाइरा भाइक-फ्रेइबर्गा, न्युजिल्यान्डकी प्रधानमन्त्री हेलेन क्लार्क आदिसँग आ-आफ्नै सशक्त राजनैतिक पृष्ठभूमि छन् ।
नाताका विषयमा
समाचारकै विश्लेषण गर्ने हो भने बेनजिर भुट्टोको निधन भएताका बिबिसीको वेभमा लेखिएको ‘जीवनचित्र’ (समवेदनामा दिइने जीवनी) को पहिलो वाक्यमै भनिएको छ, ‘बेनजिर भुट्टोले पिताकै राजनीतिलाई पछ्याइन् र दुवैको मृत्यु भयो-एकलाई फाँसी एवं अर्को अप्रत्याशित बम आक्रमणको सिकार ।’ अर्को एक वाक्यमा भनिएको छ, ‘भारतको नेहरु-गान्धी परिवारजस्तै पाकिस्तानका भुट्टो प्रसिद्ध राजनैतिक परिवार हो । बेनजिरका पिता जुल्फिकर अली भुट्टो सन् ७० को दशकको सुरुमा पाकिस्तानका प्रधानमन्त्री थिए ।’
भारत एवं पाकिस्तानको राजनीतिमा पारिवारिक बाहुल्यका कुरा सञ्चार माध्यममा बारम्बार आउने गरेका छन् । भारतकी पूर्वप्रधानमन्त्री इन्दिरा गान्धीका बारेमा विकिपेडियाले लेखेको छ, ‘अक्सफोर्डमा पढेर सन् १९४१ मा भारत फर्किएपछि इन्दिरा पनि भारतको स्वतन्त्रता आन्दोलनमा होमिइन् । भारत स्वतन्त्र भएपछि उनका पिता जवाहरलाल नेहरु स्वतन्त्र भारतका प्रथम प्रधानमन्त्री भए । सन् १९५० को दशकमा उनी पिताकी अनौपचारिक स्वकीय सचिव बनिन् । सन् १९६४ मा पिताको निधनपछि राष्ट्रपतिले उनलाई राज्यसभामा मनोनयन गरे । त्यसपछि उनी लालबहादुर शास्त्री प्रधानमन्त्री रहँदा सूचना तथा सञ्चारमन्त्री बनाइन् ।’
दक्षिण एसियामै बढी
विगत हेर्दा यस्ता प्रशस्त उदाहरण भेटिन्छन् । व्याख्या गर्ने शैली वास्तविक हुँदैन । पूर्वी पाकिस्तानबाट अलग्गिएर बनेको बंगलादेशमा प्रधानमन्त्री रहेकी खालिदा जियासँग उनका पति जियाउर रहमानको नाम जोडिएर आउँछ । रहमानको निधनपछि खालिदाले बंगलादेश नेसनालिस्ट पार्टीको नेतृत्त्व सम्हालेकी हुन् । रहमान सन् १९८१ मा मारिएका थिए । खालिदामाथि पतिको नाम भजाएर राजनैतिक जीवन अघि बढाएको आरोप लगाइन्छ । उनी सन् १९९१-९६ र सन् २००१-०६ मा प्रधानमन्त्री बनिन् । उनकी प्रतिद्वन्द्वी शेख हसिना वाजेदका पिता शेख मुजीबुर रहमान स्वतन्त्र बंगलादेशका राष्ट्रपिता मानिन्छन् । शेख मुजीबुरका परिवारका अधिकांश सदस्य सन् १९७५ अगस्तको हत्याकाण्डमा मारिएका थिए । त्यसमा हसिना र उनकी बहिनीमात्र बाँचेका थिए । बंगलादेशकी वर्तमान प्रधानमन्त्री शेख हसिना सन् १९९६ देखि सन् २००१ सम्म पनि प्रधानमन्त्री भैसकेकी छिन् ।
श्रीलंकाका प्रधानमन्त्री सोलोमन वेस्ट रिज्वे दियास बन्दरानायकाको सन् १९५९ मा हत्या भयो । त्यसको एक वर्ष नबित्दै उनकी पत्नी सिरिमाओलाई प्रधानमन्त्री बनाइयो । सिरिमाओ विश्वकै प्रथम महिला प्रधानमन्त्री भइन् । उनकै राजनैतिक पृष्ठभूमिमा छोरी चन्द्रिका कुमारातुङ्गा धेरैपटक प्रधानमन्त्री भइन् । छोरी प्रधानमन्त्री भएकै बेला उनले आमालाई राष्ट्रपति बनाइन् ।
जुल्फिकर, जवाहरलाल, जियाउर, शेख मुजीबुर, सोलोमन, सिरिमाओ आदि जसको सन्दर्भ लिए पनि उनीहरूका छोराहरू राजनीतिमा उदाएनन् तर इन्दिराका छोरा राजीव प्रधानमन्त्री भए । सञ्जय राजनीतिमा उदाउन लागेका बेला दुर्घटनामा मरे । जुल्फिकरका दुई छोरा मारिए । सोलोमन र सिरिमाओका छोरा अनुरा श्रीलंकाका सभामुखसम्म भए ।
दक्षिणपूर्व एसिया पनि उस्तै
दक्षिणपूर्व एसिया पुग्दा हामी फिलिपिन्स र इन्डोनेसियाको उदाहरण दिन सक्छौं । इन्डोनेसियामा निरंकुश सुहार्तोको शासन तीन दशकभन्दा बढी चल्यो । उनी पूर्वका नेता तथा संस्थापक राष्ट्रपति सुकार्नो मारिएका थिए । त्यसपछि राष्ट्रपति बनेका सुहार्तोले एकछत्र शासन गरे । सुहार्तो हटेपछि सुकार्नोकी छोरी मेगावती सुकार्नोपुत्री सन् १९९९-२००१ मा उप-राष्ट्रपति भइन् । उनी सन् २००४ मा राष्ट्रपति नै बनिन् ।
फिलिपिन्सका सिनेटर बेनिग्नो अक्विनो जुनियरसँग विवाह गरेकी कोराजन अक्विनो सन् १९८६ देखि सन् १९९२ सम्म राष्ट्रपति बनिन् । बेनिग्नो अक्विनो पनि निरंकुश फर्निनान्ड मार्कोसको शासनकालमा मारिएका थिए । वर्तमान फिलिपिनी राष्ट्रपति ग्लोरिया माकापागल अर्रोयोका पिता डियोस्दादो पान्गान माकापागल त्यहाँका नवौं राष्ट्रपति थिए ।
एसियाबाहिर पनि
दक्षिण अमेरिकामा पनि यस्तै लहर छ । ‘इभा पेरोन’ लाई विश्वकै प्रथम महिला राष्ट्रपति बनाउने अर्जेन्टिनाले अहिले अर्को यस्तै नाता सम्बन्धको इतिहास बनाएको छ । इभा त्यहाँका एकचालीसौं राष्ट्रपति हुँआ डोमिङ्गो पेरोनकी पत्नी थिइन् । सन् १९७४ मा हुँआको मृत्युपछि इभाले उक्त कीर्तिमान बनाएकी थिइन् । अहिले क्रिस्टिना इलिजाबेट फर्नान्डेज दे किर्चनर राष्ट्रपति छिन् । उनी पूर्वराष्ट्रपति नेस्टर किर्चनरकी पत्नी हुन् ।
कहाँ-कहाँ छ, महिला नेतृत्व ?
हाल विश्वका नौ देशमा महिला राष्ट्रपति छन् । ती अर्जेन्टिना, चिली, फिनल्यान्ड, भारत, आयरल्यान्ड, लाइबेरिया, लिथुआनिया, फिलिपिन्स तथा स्वीट्जरल्यान्ड हुन् । कोस्टारिकामा लाउरा चिन्चिला चुनिएकी मात्र हुन् । उनले वैशाखको मध्यमा पद सम्हाल्नेछिन् । त्यस्तै छ देशमा प्रधानमन्त्री छन्, ती बंगलादेश, जर्मनी (चान्सलर), आइल्यान्ड, निदरल्यान्ड्स एन्टिल्स्, युक्रेन र  आइसल्यान्ड हुन् ।
(२०६६ चैतको नारी मासिकमा प्रकाशित)

Write a comment