साना प्रश्नको ठूलो जवाफ ?

‘के बालबालिकालाई अभिभावकसँगै सुताउनु ठीक हो ?,’ मावली भाइ नवीन गौतमले हाम्रो पारिवारिक गुगलग्रुप चैनपुरेमा एउटा प्रश्न राख्यो। ऊ क्यानाडाको स्थायी बासिन्दा (पिआर) भएर गएको केही समय बितेको थियो। मुलुकमा रहँदा छोराछोरीलाई सँगै सुताएको बाबुले परिवारका सदस्यको राय लिन खोजेको मात्र थियो। करिब एक वर्षअघिको कुरा हो-टाइम पत्रिकाको अनलाइनमा एउटा अनुसन्धानको निष्कर्ष प्रकाशित भएको थियो। त्यसको अनुवाद विभिन्न नेपाली वेवसाइटले पनि गरेका थिए। उक्त निष्कर्षले उसमा कौतूहलता जगाएको थियो। गुगलग्रुपमा प्रश्न आएपछि हामीले आ-आफ्नो राय व्यक्त गर्‍यौं। टाइमले भनेको थियो, ‘शिशुलाई एउटै खाट वा कोठामा सुताउनु उसको विकासको पक्षमा छैन। स्मरण रहोस् शिशुलाई छुट्टै सुताउने चलन पश्चिमा विकसित राष्ट्रमा बढी छ। कम विकसित देशमा कमजोर आर्थिक अवस्था तथा स्थान-अभावले बालबालिका आमाबुवा अथवा हजुरबा-हजुरआमासँगै सुताइन्छन्। उनीहरूलाई एउटै खाटमा नभए एउटै कोठामा सुताइन्छ। एसियाली राष्ट्रमा त बालबालिकालाई आमाबुवासँग सुताउनु साधारण कुरा हो। सँगै सुताइएन भने त्यो निर्ममताको पराकाष्ठा हुन्छ तर पश्चिमा राष्ट्रमा ठ्याक्क उल्टो सोच छ। सेन्ट जोसेफ विश्वविद्यालयका मनोवैज्ञानिक तथा निद्रा शोधकर्ता जोडी मिनडेल्लको एक सर्वेक्षणअनुसार एसियाली राष्ट्रमा ६५ प्रतिशत अभिभावकले शिशुलाई एउटै खाटमा तथा ८७ प्रतिशतले एउटै कोठामा सुताउने गरेका छन् भने अमेरिका तथा अन्य पश्चिमी राष्ट्रमा मात्र १२ प्रतिशतले एउटै खाटमा र २२ प्रतिशतले एउटै कोठामा सुताउने गरेको पाइन्छ। शोधकर्ताका अनुसार सँगै सुताउँदा बालबालिकाको निद्रा खल्बलिन्छ। साथै बालबालिकाहरूलाई निद्रामा हल्लाउने, सुम्सुम्याउने, काखमा लिने गर्नाले उनीहरूमा आफैं निदाउन सक्ने क्षमताको विकास हुँदैन। उनीहरू निदाउनका लागि अभिभावकमा निर्भर रहन्छन्तसर्थ अमेरिकीहरूको तुलनामा एसियाली बालबालिका थोरै निदाउँछन् तथा राम्रो निद्रा पाउँदैनन्।’
प्रश्न सँगै सुताउनुको मात्र होइन। साना शिशुको कानमा तोरीको तेल हाल्नुहुन्छ कि हुँदैन ? जस्ता सयौं प्रश्न आमाबुवाले झेल्नुपर्छ। यद्यपि ती सबैको उत्तर सहज छैन। एक्काइसौं शताब्दीको प्रतिस्पर्धाका लागि तन्दुरुस्त पार्नुपर्ने हाम्रा नानीको विकासका निम्ति गर्नुपर्ने काम धेरै छन्। यसकारण अन्योल पनि धेरै छन्। हामी अवैज्ञानिक शैलीको सिकार पनि भएका छौं। त्यसैले उनीहरूको यथेष्ट विकासका निम्ति अब पढ्नुपर्ने भएको छ। साहित्य, यौनशास्त्र, पाठ्यपुस्तक, पत्रपत्रिका आदि पर्याप्त बिक्ने काठमाडौं उपत्यकामा समेत बाल विकासका निम्ति चाहिने पुस्तक पर्याप्त छैनन्, भएका पनि राम्रोसँग बिक्दैनन्। त्यसैले नानीहरूको चौतर्फी विकासमा हामी कमजोर ठहरिएका छौं।
सन् १९९८ मार्च १५ मा अमेरिकामा एकजना चिकित्सकको निधन भयो। उनी डा. बेन्जामिन स्पोक थिए। उनको पुस्तक ‘बेबी एन्ड चाइल्ड केयर’ त्यहाँ बाइबलपछि सबैभन्दा बढी बिकेको पुस्तकका रूपमा परिचित छ। डा. स्पोकले पनि बालबालिकालाई सँगै नसुताउने सल्लाह दिएका छन्। स्पोक लेख्छन्, ‘उनीहरू आफ्नो कोठामा सुत्दा आत्मनिर्भर हुँदै जान्छन्।’ हामी पाको हुन्जेल औंला समाएर सन्तान डोर्‍याउन चाहन्छौं र पश्चिमाहरू सानैदेखि फरक राखेर आत्मनिर्भरताको पाठ सिकाउँछन्। १८ वर्षपछि आफ्नो गरेर खाऊ भन्छन्। चराले पनि बचेरालाई उड्नसम्म सक्ने बनाउने प्रयास गर्छ। उड्न सक्ने भएपछि गुँडबाट धपाउँछ।
हाम्रो बजारमा बाल विकासका निम्ति आवश्यक विदेशी (मूलतः अंग्रेजी) लगायत नेपाली पुस्तक प्रशस्त पाइन्छन्। डा. बेन्जामिन स्पोकको पुस्तक ‘बेबी एन्ड चाइल्ड केयर’ का धेरै अंश निकालेर विश्वका धेरै लेखकले अरू पुस्तक पनि तयार पारेका छन्। ‘बेबी एन्ड चाइल्ड केयर’ ३९ भाषामा अनुदित भैसकेको छ। करिब ५ करोडप्रति बिकेको अनुमान गरिएको यो पुस्तक विश्वमा बिक्ने ‘ननफिक्सन’ तर्फ सधैं सातौं रहँदै आएको छ। हाम्रो बजारमा गंगा पाठक रिमाल तथा उमा लामा श्रेष्ठले लेखेका दुई पुस्तक : ‘केटाकेटीका समस्यालाई कसरी बुझ्ने ?’ र ‘स्वस्थ बाल विकासका लागि प्रभावकारी क्रियाकलाप’ निकै उपयोगी साबित हुन सक्छन्। डा. डेभिड बर्नरको ‘डाक्टर नभएमा’ पुस्तक बालबालिकामात्र होइन, सबैका लागि उपयोगी छ। यो पुस्तकलाई युनिसेफले अनुवाद गरेर नेपाली बजारमा छाडेको हो। ‘डाक्टर नभएमा’ को सहयोग भए सानातिना समस्याका लागि हामीले मेडिकल पुग्नुपर्ने र डाक्टर गुहारिरहनुपर्दैन। बाल विकासका निम्ति मनोविज्ञान वा शिक्षा संकायका विद्यार्थीले पढे जतिको अधिकांश ज्ञान उसैमा मात्र सीमित हुन्छ। सबैमा यो पुग्दैन। त्यसैले सबैका लागि उपयोगी हुनसक्ने दिनेशराज सत्यालको ‘बालबालिकासँग कसरी व्यवहार गर्ने ?’ पुस्तक पनि छ। यस क्रममा केशव दुवाडीको ‘बाल सुलभ व्यवहार’ पनि उपलब्ध छ।
हामी केटाकेटी ‘लड्छन् बढ्छन्’ कै मानसिकतामा छौं। बाल अधिकार भर्खर बुझेका र केही वर्षअघिमात्र स्कुले पाठ्यक्रममा बाल अधिकार समावेश गरेका हामीलाई बाल विकासको पाटो नै नौलो लाग्छ। पछिल्ला दशकमा नेपालमा सक्रिय गैरसरकारी संस्थाहरूले बाल अधिकार र बाल विकासका पक्षमा निकै लबिङ गरे। त्यसको सकारात्मक प्रभाव दिनेशराज सत्याल र केशव दुवाडीका पुस्तकमा देखिन्छ। शिशु जन्मनुअघि, जन्मिएपछि र उसको पूर्ण विकासका निम्ति हामीले केही खर्च बाल विकासका पुस्तकमा लगाउन ढिलो गर्नु हुँदैन।
(२०६७ मंसिरको नारीमा प्रकाशित)

Write a comment