न्यूयोर्ककी नर्वदा र नेपालीलाई अधिकार

एउटी महिला आएर ढोकैमा रून थालिन्। निकै अप्ठ्यारो परेको रहेछ। उनको दुःख सुन्दा जोकोही रूने खालको थियो। मैले हामीले के गर्न सक्छौं, त्यो बताएँ। उनको जाने ठाउँ थिएन। आफैंले आफ्नो अपार्टमेन्टमा लगें। काम खोजेर लगाइदिएँ।
क्यान्सर पीडित एक महिलालाई उपचारमा सहयोग पुर्‍यायौं। अस्पतालमा राख्न मद्दत गर्‍यौं। एक महिनाको घरभाडा पनि दियौं।
दार्जीलिङ, सुकुनाकी शान्ति गुरूङलाई यातना दिएविरूद्ध न्यूयोर्कर्स्थित भारतीय नियोगमा कार्यरत तत्कालीन प्रेस, संस्कृति, सूचना एवं सामुदायिक मामिलासम्बन्धी कन्सुलर निना मल्होत्रा तथा उनका श्रीमान् इन्जिनियर जोगेश मलहोत्राविरूद्ध मुद्दा हाल्न अघि सर्‍यौं।
घरेलु कामदारको हक-अधिकारसम्बन्धी कानुन लागू गर्न न्यूयोर्कको अभियानमा सक्रिय संघसस्थाहरूमध्ये ‘अधिकार’ एक प्रमुख हो। धेरैको सल्लाह र दबाबमा केही समयअघि न्यूयोर्क राज्य घरेलु कामदार हक-अधिकारसम्बन्धी कानुन पास भएको थियो जसबाट नेपालीहरू पनि लाभान्वित भएका छन्।
विश्वको आर्थिक संकटका कारण डेट्रोयटमा कम आय भएका नेपालीले यसपटक निकै दुःख झेले। यो समस्याले न्यूयोर्कमा नेपालीका लागि लडिरहेको संस्था ‘अधिकार’ लाई निकै पिरोल्यो। अधिकार सक्रिय भयो। सहकर्मीहरूको सहयोगमा त्यहाँ पुगिन्-अधिकारकी नर्वदा क्षेत्री।
अधिकार अर्थात् अधिकार फर सोसल जस्टिस एण्ड ह्युमन राइट्स। यो संस्थाले आफ्नो स्थापनाको ५ वर्ष पूरा गरेको छ। यसले आफ्नो ५ वर्षे जीवनमा धेरै नेपालीलाई सहयोग गरेको छ। सन् २००५ जुलाईमा स्थापना भएको ‘अधिकार’ ले हरेक वर्ष ५ सयभन्दा बढी नेपालीलाई स्वास्थ्य सेवाका अतिरिक्त निःशुल्क ट्याक्स, इमिग्रेसन, श्रम अधिकार, दोभासे आदिका कार्यशाला, गोष्ठी एवं तालिम आदि संचालन गर्दै आएको छ।
त्यही संस्थामा सक्रिय छिन्, नर्वदा। त्यो पनि वरिष्ठ समुदाय संयोजकका रूपमा। कसका लागि हो त ‘अधिकार’ र उनको सक्रियता भन्ने प्रश्नमा नर्वदा भन्छिन्, ‘जो कोहीलाई सघाउँछौं तर नेपालीलाई बढी। भाषाले गर्दा पनि हामीलाई सजिलो हुन्छ।
नेपाली को ?
‘नेपालको सीमा कटेपछि नेपालीको परिभाषाले नेपाली भाषीलाई बुझाउँछ। ऊ भारत, बंगलादेश, बर्मा, भूटान वा जहाँबाट आएको होस्। नेपाली भनेर नेपाली भाषीलाई मद्दत गर्ने हो,’ नर्वदाले भनिन्।
बंगलादेशबाट आएको एक युवकको कथा सुनाउँदै उनले भनिन्, ‘एउटा बंगालीले ६ वर्षअघि ल्याएको एउटा नेपालीको कथा अनौठो छ। उसले नेपाली युवकलाई दास नै बनायो। गैरकानुनी रूपमा रहेका ती युवकलाई न दाम दिइएको थियो, न राम्रो सुविधा। र्फकन वा बस्न जसो गर्दा पनि गाह्रो हुने भएपछि उनलाई आत्मसमर्पण गर्न लगायौं। पक्राउ परेपछि उनलाई अमेरिकी नियमअनुसार यहाँ बस्न कुनै प्रायोजक चाहियो वा यहाँकै युवतीसँग विवाह गर भनियो। विवाह त कसले गथ्र्यो र ? उनका लागि यहाँ बस्न सक्ने कानुनी उपाय खोज्यौं।
संस्थाबाट गर्ने सहयोग त छँदै छ, नर्वदा अमेरिकाका नेपालीहरूका सम्बन्धमा धेरै जानकारी राख्छिन्। ‘अमेरिकामा नेपालीहरूको संख्या बढ्दो छ,’ उनी भन्छिन्। यसै वर्ष अमेरिकामा जनगणना भयो, उनकै अनुमानमा ५ लाख त नेपाली हुनुपर्ने हो। अहिलेसम्म नेपाली भाषी भूटानी ३० हजार आइसकेका छन् र नेपाललगायत अन्यत्रबाट अमेरिका आएका नेपालीसमेत गर्दा अधिकारबाट सेवा पाउनेहरूको संख्या पक्कै धेरै हुन्छ।
नेपाली भाषीलाई सघाउन अधिकारका सपना ठूला छन्। ‘अधिकारमा विभिन्न विषयमा सेवा दिने विभाग हुन सके धेरै सजिलो हुने थियो। अधिकार भाडाको घरमा बसेको छ। आफ्नो घर हुन सके आपत् परेर आउनेहरूलाई आश्रय दिने ठाउँ पनि हुन्छ,’ नर्वदाले भनिन्।
हेटौंडामा अनुभव
मानविकीमा स्नातक नर्वदा नेपालमा हुँदा पनि मानव अधिकारकर्मी थिइन्। ४५ वर्षीया क्षेत्रीले हेटौंडामा रहेर हिमराइटस् नामक मानव अधिकारसम्बन्धी संस्थामा काम गरेकी थिइन्। उनले अदालत, व्यावसायिक संस्था, नागरिक समाज, जिल्ला बालकल्याण समिति, जेसिज, मनकामना एफएम आदिमा पनि काम गरेर अनुभव बटुलिन्।
२५ वर्षअघि काठमाडौंको निजी स्कुलमा शिक्षिकाका रूपमा सार्वजनिक जीवन सुरू गरेकी नर्वदा ४ वर्षअघि अमेरिका पुगेकी हुन्। अमेरिका आएपछि उनले न्यूयोर्क, क्विन्सस्थित ‘वोमन वेलफेयर अर्गनाइजेसन’ को कोषाध्यक्ष भएर काम गरिन्।
अधिकारमा नर्वदा
नर्वदा सन् २००७ देखि अधिकारमा छिन्। संगठनमा रहँदा उनको अनुभव रमाइलो छ। अधिकारले अप्ठ्यारामा परेका सबैलाई सक्दो सहयोग गरेको छ। ‘त्यसमा पनि अप्ठ्यारो परेर अधिकारमा आइपुग्ने महिला बढी हुन्छन्,’ नर्वदा भन्छिन्, ‘समस्या परेर आउनेहरूमा पश्चिम नेपालका थोरै छन्। पूर्व, पोखरा, स्याङ्जा, काठमाडौं आदि ठाउँकै बढी छन्।’
अधिकार न्यूयोर्कको मात्र होइन, अब पूरै अमेरिकामा चिनिएको संस्था भएको छ। ‘यतिका फैलिएपछि हाम्रो सीमा छैन। अधिकार जात, धर्मकै कुरामा विभेद नहोस् भनेर सचेत छ,’ उनी भन्छिन्।
अधिकारलाई युवतीहरू ‘माइती’ भन्छन् भने युवाहरू ‘मावल’ भन्छन्। दुःख पर्दा चेलीले माइती र चेलाले मावली सम्झन्छन् भन्ने उखान यहाँ चरितार्थ हुन्छ। त्यसैले चाडपर्वमा अधिकारमा कार्यक्रमहरू भैरहन्छन्। तीजमा महिलाहरू छमछमी नाच्न भेला हुन्छन् भनै दसैंमा टीकाको कार्यक्रम हुन्छ। ल्होसार हुन्छ, नयाँ वर्ष, असार पन्ध्र, साउनको १ गते पनि अधिकारमा मनाइन्छ। भाइटीका लगाइदिन नर्वदा आफैं अघि सर्छिन्। नर्वदाका अनुसार ‘यसरी चाडपर्व मनाउँदा एक्लोपन बिर्सिन्छ।’
अधिकारले न्यून आय भएका, कतै गएर केही भन्न नसक्ने, वैधानिकताबिना अमेरिका बसेकाहरूलाई मद्दत गर्छ। अवैधलाई कानुनी आधार दिलाउनु र यहाँको कानुन मान्ने बनाउनु अधिकारको काम हो। ‘त्यसो त कानुनअनुरूप बसेका तर आम्दानी थोरै भएकालाई पनि सघाउने गरेका छौं,’ नर्वदाले भनिन्। नेपाली भाषीका लागि अमेरिकामा सबै नयाँ हुन्छ। आम्दानी धेरै भएका नेपाली भाषी पनि धेरै विषयमा अनभिज्ञ हुन्छन् र अधिकारकै सहारा लिन आइपुग्छन्।
नर्वदाको बोलीमा अधिकार र संस्थापिकाहरू लुना रञ्जित, ताफाद्ज्वा पासिपानोद्या, रश्मि श्रेष्ठ, सिर्जना श्रेष्ठको नाम बारम्बार आइरहन्छ। उनी भन्छिन्, ‘यो संस्था सानो छ। कोही छैनन् भन्नेले यहाँ आफ्नोपन पाउँछन्, थोरै स्पेस पाउँछन्। सूचना लिने ठाउँ भएको छ। जसलाई मर्का परेको छ, उसले भन्न आउने ठाउँ भएको छ। आफ्ना कुरा भन्ने थलो जस्तो छ।’ अधिकारमा स्वयंसेवक पनि हुन्छन् तर आफ्नो काम भएपछि जान्छन्। कर्मचारी थौरै छन्।
काम नहुँदा पत्रपत्रिका पढ्ने थलो पनि हुन्छ, अधिकार। त्यहाँ पुगेर पत्रिका पढ्न, इन्टरनेट चलाउन तथा आफूलाई चाहिने सल्लाह लिन सकिन्छ।
कसरी दिइन्छ, सेवा ?
समस्या परेर आउनेले एउटा फारम भर्नुपर्छ। इमेल र फोन नम्बर छाडेर आउनुपर्छ। अधिकारले लिएका सबै जानकारी गोप्य राख्छ। आफ्ना समस्या भन्न बन्द कोठाको व्यवस्था गरिएको छ। महिलाको उमेर सोधिँदैन। फारममा २०-३०, ३०-४०, ४०-५० भनेर राखिएको छ। ४० वर्षको भएपछि स्तन क्यान्सरको समस्या बढी भएकाले बर्सेनि निःशुल्क म्यामोग्राम परीक्षणको व्यवस्था पनि गरिएको छ। अमेरिकामा उपचारमा लाग्ने खर्च बीमाले बेहोर्छ तर बीमामा दर्ता नभएका, डाक्टरकहाँ जान नसक्नेहरूलाई साधारण स्वास्थ्य परीक्षण र अन्य सुविधा अधिकारले दिन्छ। नेपालीहरूलाई अप्ठ्यारो पर्दा सरकारले पनि अधिकारको सहायता लिने गरेको छ।
‘अर्को अमेरिका संभव छ, अर्को विश्व संभव छ’ भन्दै अघि बढेको अधिकारले सन् २००८ मा ५० हजार डलरको युनियन स्क्वायर अवार्ड पाएको थियो। नर्वदाको सबैभन्दा सबल पक्ष उनको कामप्रतिको दृढता, उनको व्यवहार एवं नेपालीहरूबीचको दरिलो सम्बन्ध भएको उनका निकट सहकर्मी बताउँछन्। नर्वदा आफ्नी छोरी प्रियंकासँग न्यूयोर्कको क्विन्समा बस्छिन्।
(२०६७ माघको नारीमा प्रकाशित)

Write a comment