फुच्चेहरुको दादागिरी

जापानी सम्राटकी नातिनी आइकोलाई स्कुलका ठूला केटाहरूले जिस्क्याए । आठ वर्षीया उनी स्कुल जान मानिनन् । स्कुल जाने बेलामा अल्छी केटाकेटीजस्तो उनले पनि बाहना बनाइन् । कारण बुझ्न खोजियो । अन्तत समस्याको पहिचान भयो । उनी ‘स्कुल बुलिङ’ को सिकार भएकी रहिछन् । के हो बुलिङ ? ‘अङ्ग्रेजी-नेपाली बृहत् शब्दकोश’मा प्रा. शंकरराज पाठकले ‘बुली’ लाई ‘निर्धोलाई तर्साउनु’, ‘बल प्रयोग गरेर धम्की दिनु’, भनी अर्थ्याउनु भएको छ । यसलाई ‘सताउनु’ मात्र पनि भन्न सकिन्छ । सताइ शारीरिक वा मानसिक जे पनि हुनसक्छ ।
‘सताइ’ यस स्तम्भको सन्दर्भमा स्कुलमा हुने ‘बुलिङ’मा सीमित छ । विश्वका सबैजसो देशका स्कुलमा ‘बुलिङ’को समस्या टड्कारो छ । प्लान इन्टरनेसनलले आफ्नो एउटा दस्तावेजमा भनेको छ, ‘सताउनु धेरैजसो ठाउँमा एउटा सामान्य आचरणजस्तो छ, तर यसो नहुनु पर्ने हो । प्रतिवेदनले देखाएअनुसार सताउनाले पीडितको जीवनमा घातक असर पुग्छ, शारीरिक र मानसिक चोट, मद्यपान (सानाले यसो नगर्लान्) अनि बढी नै हुने अवस्था रहे, आत्महत्या । सताइएका छात्रा अरू साथीको तुलनामा आत्महत्या गर्न आठ गुणा बढी अग्रसर हुने गरेको अनुसन्धानले देखाएको छ ।’
‘छात्राभन्दा छात्र बढी मात्रामा सताइन्छन् र सताउने काममा सरिक हुन्छन् । जापान अपवादमा पर्छ । छात्रहरू शारीरिक भय वा हिंसाबाट सताउँछन् भने छात्राहरू मौखिक वा सार्वजनिक बेइज्जतीको बाटो अपनाउँछन् ।’ केवल पाँच देश- कोरिया, नर्वे, श्रीलंका, बेलायत र अमेरिकाले सताउने क्रियाकलापलाई गैरकानुनी मानेको प्लानको अनुसन्धानमा पाइयो । नेपालमा यसलाई कुनै एउटा शब्द दिएर सम्बोधन गरिएको छैन । त्यसैले अंग्रेजले दिएको ‘बुलिङ’ हाम्रा लागि अनौठो भएको छ । तर यसका उदाहरण हामीकहाँ पनि प्रशस्त पाइन्छन् । गत वर्ष जेठमा शिल्पी थियटरका कलाकारले राजधानीमा स्कुल बुलिङबारे नाटक देखाए ।
नाटकमा स्कुलमा टिचरको आँखा छलेर ठूलाले सानालाई धेरै सताउने, साथीको ढाडमा चढेर ‘हट् घोडा हट्’ गर्ने, साथीको टिफिन खोसेर खाइदिने, अगाडिबाट टाई समातेर जनावरजस्तै तान्ने, पछाडिबाट ब्याग खोस्ने, ब्यागको पैसा चोर्ने, टिचर आउँदा माया गरेजस्तो गन र गइसकेपछि भुइँमा लडाइदिने आदि देखाइएको थियो । स्कुल आउँदा बाटोमा, स्कुल बसमा, कक्षा कोठामा, स्कुलको खेल्ने चौरमा धेरै साथीले आफ्नै साथीलाई दुःख दिन्छन् । चस्मा खोसेर फुटाइदिने, एसेम्ब्लीमा बस्दा शिक्षकहरूको आँखा छलेर एउटा साथीले पछाडिबाट दुख्ने गरी अर्को साथीको कपाल तान्ने, लात्ताले हिर्काउने, दुब्ला वा दुब्लीलाई लुरी भनेर हेप्ने, मोटा शरीर भएका साथीलाई मोटे, फ्याटे भनेर जिस्क्याउने गर्छन् । यस्तोमा दुःख पाउने साथीले आफ्नो दुःख कसैलाई सुनाउँदैन । उसलाई पढ्न, राम्ररी खान र बोल्न पनि मन लाग्दैन । रोगीजस्तै हुन्छ । तर अरूलाई दुःख दिने फटाहा साथीले दुःख पाउने साथीबारे कहिल्यै विचार गर्दैनन् । त्यो कुरा टिचरले पनि याद गर्दैनन् । घरमा बुवाआमालाई पनि याद हुँदैन ।
रक्षा नेपालद्वारा आयोजित उक्त कार्यक्रमका अतिथि तत्कालीन महिला बालबालिका तथा समाज कल्याणमन्त्री पम्फा भुसालले ‘बुलिङ’ लाई ‘सहरी कुरा रहेछ’ भन्दिनुभो । शिल्पीका घिमिरे युवराजले चाहिँ ‘बालबालिकामन्त्रीले समेत नबुझेको कुरा पो परेछ ।’ भनेर व्यंग्यात्मक टिप्पणी गरे । केही दिनअघि राजधानीको गुहेश्वरीस्थित प्रणवानन्द आश्रममा भएको ६ वर्षीय रूपेश गिरीको मृत्यु ‘बुलिङ’ को उत्कर्ष हो । होस्टल बस्ने साना नानीलाई आमाले दिएका खाना खोसेर खाइदिने, बिहान र बेलुका एकै ठाउँमा पढ्न बस्दा ठूलाले, ‘भुन्टे, डल्ले, पुड्के, गान्टे, मोटे आदि’ भन्ने, किताब बोकाउने, काम लगाउने गर्छन् । होस्टल वा आश्रममा हुने ‘बुलिङ’ अनौठा होइनन् ।
हाम्रा गाउँपाखामा पनि हुन्छ, ‘स्कुल बुलिङ’ । कान्तिपुरको ‘कोपिला’ को ‘म सानो छँदा’ स्तम्भमा कुरा गर्दै टेलिभिजन निर्देशक लय संग्रौलाले गत मंसिरमा भनेका थिए, ‘दाजुहरू बाठा थिए । मेरा हातमा मसी लगाइदिन्थे र उनीहरूका सबै किताब बोकाउँथे । मसी लगाएपछि देख्नेले मलाई खुब पढन्ते ठान्थे । म भरिया हुन्थें ।’
प्रणवानन्द आश्रमको घटना आउनुपर्ने अवस्थामा थियो र आयो । अन्यत्रका यस्ता घटना गुपचुप हुन्छन् । त्यसैले यो महामारीको ढिलो नगरी पहिचान गर्नु जरुरी छ । त्यसपछि यसमाथि बन्देज नै गर्नुपर्ने दूरी पार गर्न निकै समय लाग्छ नै ।
(२०६६ फागुन २६ कान्तिपुर दैनिकमा प्रकाशित)

Write a comment