मीनपचासको व्यवस्थापन

शब्द: मीनपचास । अर्थ: मंसिर एक्काइसदेखि माघ दस गतेसम्म पचास दिनको जाडोयाम । शिक्षण संस्थाहरूमा प्रायः सोही याममा दिइने हिउँदे बिदा, माछालाई समेत जाडो हुने अवधि (नेपाली शब्दसागर) । यसरी अर्थ्याइएको जाडो अब रहेन ।
उपत्यकाको तापमान बढेको छ । जाडो हुने दिन घटेका छन् । जाडो पहिलेजस्तो छैन । राजनीतिक अस्थिरताका कारण पढाइ प्रभावित भइरहेको छ । बिदा र बन्दबाट काम रोकिनेमा यसै पनि विद्यालय पहिलो नम्बरमा छन् । त्यसमा पनि सरकारी विद्यालयले आँखा चिम्लेर बिदा दिन्छन् । निजी विद्यालय व्यापार पनि भएकाले बिदामा थोरै सचेत रहन्छन् ।
स्कुल क्यालेन्डर बनाउँदै मीनपचास बिदाबारे सोच्नुपर्ने हो । यदि ढिलो भएको भए पनि पुनर्विचार गर्न सकिन्छ । यसका लागि नयाँ सोच आवश्यक छ । यसबेला आएर सोच्नुपर्ने अवस्था सरकारले बीचमा अपर्झट थप्दै गएका बिदा र बन्दले गराएका हुन् । नयाँ वर्ष सुरु हुनुअघि सरकारले गृह मन्त्रालयको सूचनामार्फत सार्वजनिक गरेका बिदाको संख्या पनि बीचमा गरिएका थप बिदा घोषणाले बढाएका छन् । बन्द त यसै पनि ‘दुर्घटना’ जस्ता भइहाले । कुरा निजी विद्यालयकै । अलि सचेत देखिएका निजी विद्यालयले जाडो बिदा कटौती गर्न भने कन्जुस्याइँ गरेको पाइँदैन । बिदाले सवारी, होस्टल, क्यान्टिन, बिजुली, पानी, अन्य मसलन्द आदि खर्च कटौती गर्छ । योभन्दा हाइसन्चो निजी विद्यालयहरूलाई के हुन्छ र ? खर्च नहुनु यसै पनि बचत हो ।
जाडोमा सानो कक्षाका विद्यार्थीका लागि लामो बिदा, निम्न माध्यमिकका विद्यार्थीलाई ठीकै बिदा र माध्यमिक विद्यार्थीलाई छोटो बिदा उपर्युक्त हुन्छ । तर विद्यार्थी बोक्न सवारी चलाउनुपर्ने, शिक्षकलाई तलब दिनुपर्ने अन्य खर्चमा कुनै कमी नआउने भएपछि एकै प्रकारको बिदा दिन विद्यालय रूचि राख्छन् । बढ्दो महँगी र शिक्षकशिक्षिकाको तलबमा बर्सेनि गर्नुपर्ने बढोत्तरीले विद्यालयलाई व्ययभार थपिएको छ ।
विद्यार्थीलाई बिदाको सट्टा सिर्जनशील काम, भ्रमण आदिमा व्यस्त गराउन सकिन्छ । कक्षा १० का विद्यार्थी प्रवेशिका परीक्षाको तयारीमा हुन्छन् । भ्रमणका लागि ७ देखि ९ कक्षाका विद्यार्थी सहभागी हुनसक्छन् । त्योभन्दा साना कक्षाका विद्यार्थीलाई छोटो दूरीको भ्रमणका समावेश वा स्कुलमा सिर्जनशील कक्षा चलाएर व्यस्त गराउन सकिन्छ । बिदालाई बालमैत्री वा छोराछारीका लागि सदुपयोग गराउन नसक्ने वा नजान्ने अभिभावकका लागि बिदा गलपासो नै बन्दै आएको छ । लामो बिदामा छोराछोरी घर बस्दा बाबु र आमा दुवै जागिरे छन् भने उनीहरूका आफ्नै समस्या हुन्छन् । यो अर्कै सन्दर्भ हो । पूरै जाडो बिदा दिने कुरा होइन । कक्षा चलाउने विषयमा पनि फरक तरिकाले व्यवस्थापन जरुरी हुन्छ । जाडोमा छोटा पिरियड र गर्मीमा लामा पिरियड गर्ने काम त धेरै विद्यालयले गर्छन् । तर पिरियडबीचमा दिइने ब्रेकको समयमा सोच उस्तै छ । त्यो समय यथावत राख्न जरुरी छ । गर्मीमा बालबालिका पानी खोज्छन् । कक्षामा आलस्य भइरहेका भेटिन्छन् । जाडोमा शौचालय गइरहनुपर्ने हुन्छ । यस हिसाबले ब्रेकको समय उत्तिकै (बराबर) जरुरी छ ।
बढ्दो लोडसेडिङले गर्दा पिरियड र पढाइको गतिमा परिवर्तन आवश्यक भएको छ । दसैं-तिहारपछि लोडसेडिङ सुरु हुने र बढ्ने भएकाले त्यसअघि नै कोर्सको ठूलो हिस्सा सक्नुपर्ने बाध्यता बढेको छ । लोडसेडिङ र बढी होमवर्क एकैसाथ अब सम्भव नहुने भएको छ । यस अवस्थामा हामी चस्मा लगाउने विद्यार्थीको संख्या बढाउने काम गरिरहेका त छैनौं ।
जाडोमा लुगाबारे गरिने कतिपय निर्णय स्वास्थ्यअनुकूल छैनन् । दार्जिलिङको प्रभाव कक्षामा मात्र छैन । कपडामा पनि छ । के लायो ? के खायो ? यो प्रश्न होइन । विद्यार्थीमा के प्रतिभा छ ? त्यो कसरी बाहिर निकाल्न सकिन्छ ? उसले के उपलब्धि हासिल गर्छ ? त्यो सोच्नुपर्ला । जाडोमा सायदै गर्मीका लुगाले काम गर्छन् । छात्रालाई फ्रक वा स्कर्टमा स्टकिङ लगाउन लगाएर कुनचाहिँ स्वास्थ्यअनुकूल काम भएजस्तो लाग्छ, विद्यालयहरूलाई ? कपाल आकासिएको र पेन्ट खुस्केर र्झन लागेको तर्फ चाहिँ ध्यान कसले दिने हो ? यो सन्दर्भ, जाडोको नभए पनि अनावश्यक विषयमा ध्यान नदिन आग्रहको ।
एउटा जाडोमा अनेकौं समस्या उब्जाएका छन् । जलाशयको पानीमात्र सुकेको छैन, यसतर्फ सोच्ने हाम्रो स्तरमा पनि वाष्पीकरण भइरहेको त छैन ?
(२०६६ पुस १४, कान्तिपुर दैनिकमा प्रकाशित)

Write a comment