हे बिडम्बना ! आफ्नो शान्ति बेबारिसे

अमेरिका – अंग्रेजीमा एउटा वाक्यांश छ, ‘पिस इन्टु पिसेज’ (शान्तिका टुक्रा-टुक्रा) । अहिले नेपालको शान्ति प्रक्रियामा यहि वाक्यांश लागू हुने देखिन्छ । सन्दर्भ : नेपालबाट अनमिनको बिदाई ।
नेपाल र राष्ट्रसंघको सम्बन्ध सामान्य गतिमा गइरहेको भान हुँदैन । विश्व विभिन्न मुलुकको शान्ति निम्ति सहयोगी बनेको नेपाल आफ्नै शान्ति निम्ति भने काँचो देखिएको छ । पानी बाँढ्ने मुखिया तिर्खाले प्याक प्याक भएका छन् भने हुन्छ ।
धुमिल

स्पष्ट भन्नुपर्दा राष्ट्रसंघको बादलमा नेपाल काग बनेर उडिरहेछ । छर्लङ केहि छैन । धुमिल छ । हैटीमा खटाइएका नेपाली शान्तिसेनाले हैजा फैलाएको आरोप छानबिनकै अवस्थामा छ । सुडानस्थित शान्ति मिसनका लागि खटिएको नेपाल प्रहरीलाई एपीसी (आर्म्ड पर्सनल करिअर) लगायत अत्यावश्यक सामान खरिदमा भ्रष्टाचारको मुद्दा पनि छानबिनको घेरामा छ । राष्ट्रसंघीय शान्तिसेनामा नेपालीको उपस्थिति घटेर पाँचौबाट छैटौं स्थानमा झरेको छ । नेपालमा संविधानसभा निर्वाचन र शान्ति प्रक्रिया पुरा गरेर फर्कने जिम्मा पाएको संयुक्त राष्ट्रसंघीय मिसन, अनमिन आफ्नो पहिलो काम मात्र पुरा गरेर फर्कन लागेको छ । सन् २००७ जनवरी २३ मा राष्ट्रसंघीय सुरक्षा परिषद प्रस्ताव नं १७४० अनुसार स्थापित अनमिन ४ वर्ष पुरा हुन ८ दिन बाँकि रहँदै सन् २०११ जनवरी १५ नेपालबाट फर्कदैछ ।
अनमिनको काममा संशोधन वा उसको विकल्प तयार नहुँदै फिर्ता हुनु राम्रो पक्कै होइन । यसको प्रभाव अहिले नदेखिएला । अहिले त कच्चा मानसिकता हो जस्तो लागेको छ ।

एउटा आशा

यसका विपरित यहि वर्ष नेपालले राष्ट्रसंघसँग ठूलो आशा पनि गरेको छ, ६६ औं राष्ट्रसंघीय महासभा अध्यक्ष पदको । आगामी महासभाका लागि अध्यक्ष पदका उम्मेदवार कुलचन्द्र गौतमलाई अघिसारेको छ । नेपालले शान्ति सेनामा ५० हजार नेपाली सेना पठाएको र ५० जनाको मृत्यु समेत भएकाले शान्ति स्थापनामा नेपालको योगदान छ । यसैलाई अध्यक्षता पाउनुपर्ने पहिलो कारणका रुपमा प्रस्तुत गरिएको छ । एसीयाका कैयन देशले अध्यक्षता गरिसकेकाले अब महासभाको अध्यक्ष बन्ने पालो दक्षिण एसियाले पाउनुपर्ने दोश्रो तर्क छ । विश्वका भूपरिवेष्ठित मुलुकले अध्यक्षता गर्न पाउनुपर्ने र त्यसका लागि नेपालको उम्मेदवारी परेको तेस्रो तर्क छ ।
संघको महासभा अक्टोबरमा सुरु हुन्छ र आवश्यकताअनुसार वर्षको अन्त्यसम्म चल्छ । सन् १९४६ मा संघको पहिलो महासभा भएयता नेपालले एकपटक पनि अध्यक्षता गरेको छैन । संघको सुरक्षा परिषदमा भने दुइ पटक प्रतिनिधित्व गरेको छ ।
आगामी महासभा बैठकका लागि नेपालविरुद्ध कतारका नासिर बिन अब्दुल्लाजिज अल नासिर उम्मेदवार छन् । चालु एक वर्षका लागि महासभा बैठकको अध्यक्षता स्वीट्जरल्याण्डका जोसेफ डाइसले गरिरहेका छन् ।

कहाँ छ, नेपाल ?

दोस्रो विश्वयुध्दपछि राष्ट्रसंघको जन्म्यो । दुई ठूला देशको माझ (भूपरिवेष्ठित), गरिब जस्ता विविध कारणले त्यसबेला नेपालले असंलग्न आन्दोलन, शान्तिक्षेत्र जस्ता बाटाहरु समायो । असंलग्न आन्दोलन, राष्ट्रसंघ, छिमेकि मुलुक आदि सबैसँग सन्तुलित व्यवहार गर्न प्रयास पनि गरिरह्यो । केहि कदम रोकिए भने केहि चलिरहे ।
नेपालले राष्ट्रसंघलाई एकदमै न्युन सदस्यता रकम बुझाउँदै आएको छ । आर्थिकभन्दा शान्तिसेनामा यसको उपस्थिति वजनदार छ । त्यस्तै संघका धेरैजसो विशेष एजेन्सीमा नेपाल सदस्य छ र सबैजसो महासन्धिमा आफ्नो समर्थन जनाउँदै आएको छ ।
पछिल्लोपटक संरासंघीय सुरक्षा परिषद् अस्थायी सदस्यका लागि सन् २००६ अक्टोबर १६ मा न्युयोर्कमा भएको चुनावमा नेपाल पराजित भयो । त्यसअघि नेपालले सुरक्षा परिषद् अस्थायी सदस्यमा पटकपटक चुनिएर विभिन्न अन्तर्राष्ट्रिय मुद्दामा कामसमेत गरेको छ । महासभा अध्यक्ष, विशेष एजेन्सीको नेतृत्व तह, महासचिव जस्ता तहमा नपुगे पनि जनसंख्या, क्षेत्रफल, आर्थिक अवस्था, राजनीतिक अस्थिरताका बावजुद नेपालको राष्ट्रसंघीय उपस्थितिलाई सामान्य मान्न सकिदैन ।
सदस्य राष्ट्रको हैसियतमा नेपालले आफ्ना नियमित काम अरुले जस्तै गर्दै आएको छ । स्वयं कुलचन्द्र गौतम, शान्तिसेनाको विशेष भूमिका नेपाली सेनाका अवकाशप्राप्त रथी बालानन्द शर्मा हुन् वा सुडानको जनमतसंग्रहमा पूर्वनिर्वाचन आयुक्त भोजराज पोखरेलको छनौट गौरवका विषय हुन् । सानो अंशमा भए पनि संघ र यसका निकायमा नेपाली नागरिक काम गरिरहेका छन् ।
र, अन्त्यमा,
अहिले बिग्रिहाल्ने र धमाधम केहि भइहाल्ने पनि होइन । नेपाल-राष्ट्रसंघ सम्बन्धलाई थोरै सन्तुलनमा ल्याउन जरुरी छ । अनि नेपालको शान्तिप्रक्रिया चुडिएको चंगा बन्ने अवस्था हुनु भन्दा पहिले थोरै केहि सोच, अभ्यास आवश्यक भएको छ ।

(कान्तिपुरका वरिष्ठ उपसम्पादक कोइराला, हाल अमेरिकामा छन् ।)

(नेपाली पोष्ट डट कममा २०११ जनवरी १४ मा पोस्टिङ भएको)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

<