मैले यसरी सिकें

म मोरङको रमाइलो गाउँमा हुर्के । बयरवन गाउँ विकास समिति ८ रमाइलो गाउँको जनसेवा माध्यमिक विध्यालयको विध्यार्थी भएर स्कुले शिक्षा पूरा गरेको हुँ । सानैदेखि म सामान्यज्ञानमा रुचि राख्ने र यस्ता ज्ञान संकलन गर्न सिपालु हुँ ।
हामी तीन दाजुभाइ र पाँच दिदीबहिनी जन्मेका हौं । ठूलो परिवार र मध्यम वर्गीय आर्थिक अवस्थाले गर्दा अध्ययनको काम सोचेजस्तो कसैले गर्न सकेनौं । बुबाआमाले जति सक्नुभयो, त्यति भयो ।
सानो छँदा म राम्रा अक्षर लेख्थे । पढाइमा राम्रो विध्यार्थी थिएँ । एसएलसी दिंदा दोस्रो श्रेणीमा उत्तीर्ण गरे पनि म सबैभन्दा बढी अंक ल्याउने विध्यार्थी हुँ ।
स्कुल पढ्दा उत्तिको पत्रपत्रिका पढ्न पाइन्नथ्यो । मभन्दा पहिले गाउँको स्कुल प्राथमिक विध्यालयमात्र भएकाले दाजूले पढ्न अन्यत्र जानुपर्‍यो । सुरुमा उहाँ सानुबुबा बालकृष्ण पोखरेलसँग मोरङकै उर्लाबारीमा बसेर पढ्नुभयो । पछि सुनसरीको इटहरी जानुभयो र मामाघर बसेर पढ्नुभयो । दाजूले शहर बसेर बढी किताब र पत्रपत्रिका पढ्ने मौका पाउनुभयो । उहाँले ल्याएकै किताब र पत्रपत्रिका म हेर्थे । त्यसैगरी गाउँका पसलहरुमा सामान पोको पार्न ल्याएका बोराभरिका पत्रिका मेरा लागि सामग्री हुन्थे । घरमा भएको रेडियो मेरा लागि सञ्चारको विशेष माध्यम हुन्थ्यो ।
स्कुले पढाइमा उत्तिको धेरै थोक गर्ने अवस्था रहेन । मैले धरान र विराटनगरमा क्रमश: प्रवीणता प्रमाणपत्र र स्नातक तहको पढाइ सके । अनि स्नातकोत्तर (एमए) पढ्न काठमाडौं आएँ । दाजू र ज्वाईं केदार शर्मा नेपाल वातावरण पत्रकार समूहका संस्थापक हुनुहुन्छ । म उहाँहरुकै निकट रहे ।
वातावरण पत्रकार समूह जाँदा दाजू, ज्वाईं, हेमबहादुर बिष्ट, ओम खड्का, भैरव रिसाल आदि अग्रजहरुले ‘तिमी पनि तालिम लेउ,’ भन्नुहुन्थ्यो । मैले पत्रकारितासम्बन्धी झण्डै एक दर्जन तालिम लिएँ । तालिम प्रिन्ट, रेडियो र टिभी सबैका थिए । उक्त समूहले चलाउने रेडियो कार्यक्रम ‘वातावरण’ मा एक वर्ष काम गरे ।
२०५२ मा हाँस्यकवि अर्जुनप्रसाद पराजुली र व्दारिकाप्रसाद ढकालसँग मिलेर ‘विश्वज्ञान मञ्च’ (म सम्पादक) निकाल्न थालियो । मेहनती स्वभाव, सरल शब्द र छोटा वाक्यको मेरो शैलीले त्यसपछि ‘कान्तिपुर दैनिक’ (हाल वरिष्ठ उपसम्पादक), ‘साथी’ (सम्पादक, बालसाप्ताहिक), ‘सर्वज्ञान मञ्च’ (सम्पादक), ‘नयाँ अटो नेपाल’ (सम्पादक), ‘नौलो प्रतीक’ (बालमासिक पत्रिका, सदस्य-सम्पादक मण्डल) सम्म पुर्‍याएको छ ।
अब के गर्ने ? कुन किताब वा पत्रिका पढ्ने ? आज के गरे ? भोलि के गर्छु ? भनेर सोच्दै, काम गर्दै जाँदा नै अगाडि बढिन्छ । यस्तै प्रश्नले मलाई सिकायो । अहिलेसम्म हिंडाउँदैछ पनि ।
राजेश कोइराला
संयोजक, कोपिला (कान्तिपुर दैनिक)
(नेपाल बाल संगठनबाट प्रकाशित नेपालको जेठो बालपत्रिका ‘बालक’ को  वर्ष ४४, अंक २, सन् २००८, बाट साभार)

Comments posted (2)

sir,maile yo balak mai padeko thiye .ekdam ramro cha.prenadai balyakal ……..pasal ma saman poko parera phaleko patrika padako parsanga le man choyo..

Thank you so much for the post, it was interesting reading.

Write a comment