अमेरिकामा नेपाली ए कता ? रुवाजस्तो

अमेरिका- वर्षमा एकपल्ट गोठधुप गर्ने चलन पूर्वी नेपालमा अझै छ । गोठधुपमा एकै गोत्रका मानिस भेला हुन्छन्, सामान्यतः पुरुष मात्र । गोठमा हुने उत्पादन मूलतः दूधमा आधारित पूजा हो यो । यी पूर्वीया किसानको यो चलन तीनकै घरपालुवा गाई, भैसीको रक्षार्थ हो भन्ने मैले बुझेको छु । यो पूजामा बलि दिंइदैन । कोइरालाकै गोठधूपको कुरा गर्दा हाम्रो (कोइराला) गोत्र ‘मौद् गल्य’ सँग मिल्ने कार्की, तिमल्सिना (तिम्सिना) का प्रतिनिधि पनि आउँछन्, त्यो पनि समय र सञ्चारले भ्याउँदा । खेतीपातीको फुर्सद निकालेर गरिन्छ, यो पूजापाठ हो । खिर, सेलरोटी जस्ता परिकार बनाउने, पूजा गर्ने, चढाउने अनि प्रसाद बाँढ्ने र खाने । पूजामा उपस्थित व्यक्तिले केही प्रसाद आफ्ना परिवारका सदस्य निम्ति बोकेर घर लैजाने गर्छन् । यसरी यो गोठाले संस्कृतिमा पनि यस्तो समाजिकरणले ठूलो योगदान दिएको छ । जानेका बुझेकाले रिठ्ठो नबिराइ गरेका छन् त भन्न मिल्दैन तर धानेका छन् ।सन्दर्भ, अमेरिकामा नेपाली एकताको । जुलाई पहिलो साता अमेरिकाका नेपाली उत्तरपूर्वी शहर बोस्टन पुगे । त्यहाँ मौतगल्य गोत्रको गोठधूपजस्तै त्यो नेपाली भनिनेको गोठधूप थियो । अमेरिकी भूमीमा वर्षेनी जुलाई ४ (अमेरिकी स्वतन्त्रता दिवस) लाई लक्षित गरेर गरिने गोठधूप सधैं विवादको विषय बन्दै आएको छ । झगडा र जालझेल नभई पछिल्ला कुनै भेला सकिएका छैनन् । हरि शर्मा मुडभरीले सन् १९८३ जुलाईमा द एशोसिएसन अफ नेपालीज इन अमेरिकाज (एएनए) खोलिदिए । कसैलाई लाग्दो हो, एएनए संस्थापक शर्माले यो के झमेला लगाई दिए ? कोही ठान्दा हुन्, यो राम्रै हो । अमेरिका पसेको नयाँ नेपाली यस्तो भेलालाई ठिक ठान्दो हो । युवा जोश भएका ठिटाहरु के न पो हुन्छ भनेर पुग्छन् । कुरो ठुस्स गन्हाउँछ । वर्षौंदेखि भेला देख्दै आएको नेपालीले भने यसप्रति आफ्नो दृष्टिकोण बनाउन सक्ने भएको छ । त्यसैले खुलेर गाली पनि गर्छन् । भेलाप्रति आफ्नो विचार राख्नु स्वभाविक हो ।

एएनए भेलामा बढी औपचारिकता छ । स्कुल, कलेज बिदा हुने समय (वर्षे बिदा) पर्ने भएकाले धेरैजसो अभिभावकलाई छोराछोरी लिएर कता जाऔं भइरहेको हुन्छ । त्यस अर्थमा यो भेला ठिकै हुन्छ । भेलामा निहुँमा गन्तव्यमा पुग्यो । होटल बुकिङ गर्‍यो । बेलाबखत यस्सो भेलामा निस्क्यो पनि । नेपाली खानेकुरा किन्यो र खायो । ऊ त भेला भनेर आयो । तर छोराछोरीलाई नेपाल र नेपालीको के मतलब ? शहरको रफुचक्कर हुन फुत्त निस्क्यो । धेरैजसो हुने छलफल र विशेष कार्यक्रममा उपस्थिति नै न्यून देखिंदा यहि अनुमान लगाउन सकिन्छ । योभन्दा लाजमर्दो अरु के नै हुन्छ ?

अमेरिकामा नेपाली एकता किन अप्ठ्यारोमा ? यो प्रश्नको उत्तर सजिलो छैन । हामी नेपालमै पनि एकता बनाउने अभ्यासमा धेरै चुकेका छौं । संविधानसभा निर्वाचनअघि नेपालमा करिब एक सय पार्टी दर्ता थिए । पार्टी धेरै भए त भन्न मिल्दैन । यो नागरिक अधिकार हो । भन्न खोजेको के पनि हो भने जसरी हामी नेपालमा हजार मुख हुन्छौं, त्योभन्दा राम्रो अवस्था अमेरिकामा बस्नेको छैन । यसो भनेर हामी विषय र प्रसंगबाट फुत्त बाहिर निस्कन सकिदैन । अमेरिका आउने नेपाली कुन हैसियतमा आएको छ ? यो प्रश्नको उत्तर खोज्दा पनि नेपाली एकताको विभिन्न कोण फेला पर्छन् । राणाकाल र शाहकालमा उनीहरुकै नातागोताका मानिस जसरी अमेरिका पसे, तीमध्ये कयौ त अझैं आफूलाई नेपाली हुँ भन्न मन पराउँदैनन् । पेशागत विकास निम्ति आएको नेपाली आफ्नो परिचय दिन चाहन्छ, लुकाउँदैन । चिठ्ठामा आएकाको अवस्था फरक छ । सुध्रन सक्ने सुध्रेका छन्, नसुध्रने जति उध्रेका छन् । काम गर्छु र खान्छु भन्ने मात्रको जमातलाई न नेपालमा फुर्सद थियो, न यहाँ छ । एक अर्थमा अमेरिका आएर पनि काठमा काँटी गाडिएझै गाडिएका नेपालीको अवस्था चाहिं अप्ठ्यारोमा नै छ । न्यूयोर्क, सिकागो, लस एन्जलस जस्ता शहरमा दिनभर काम गरेर लखतरान घर फिर्नेलाई कुनै एकताले छुँदैन । गैरकानुनी रुपमा वर्षौं बसेको अर्को जमातको लेखाजोखा न नेपाल सरकारसँग छ, न एएनए वा एनआरएनले नै गर्छ । जसरी क्षेत्र र जातभातका दल नेपालमा विद्यमान छन्, त्यसरी नै एकताको एउटा साङ्लोले अमेरिकी नेपालीलाई बाँध्न निकै ठूलो कसरत जसरी छ ।

सुरुवात जुन सोचले गरिएको भए पनि एएनएले आकार लिन सकेको छैन । एएनए यस अर्थमा अहिले अमूर्त नै छ । यसमा नेपालीको एकता रुवा (कपास) को गुजुल्टोजस्तो । देख्दा एउटै डल्लो । तर कहिं जोडिएको छैन । पछिल्लो २८ औं एएनए सम्मेलनले गैरआवासिय नेपालीको संगठन (एनआरएन) का दुइ पाटालाई एकै ठाउँमा ल्यायो । यसलाई उपलब्धि मान्नुपर्छ । अमेरिकी जनगणना २०१० मा थोरै भए पनि नेपाली एकताको प्रयास देख्न पाइयो । जनगणनाबाट नेपालीको संख्या सरकारी सुविधा पाउने गरी किटान भए, सबैका लागि फाइदाको विषय हो । यसमा जति सक्रियता हुनुपर्थ्यो, तर त्यो यथेष्ठ रहेन । पुराना नेपाली पनि अहिले एनआरएन र एएनए जस्ता संस्थासँग निकट हुन खोज्दैछन् । यसले आशा जगाएको छ ।

उच्च प्रविधिको मुलुकमा रहेर पनि त्यसको प्रयोग गर्दै सिंगो अमेरिकी नेपाली जमातलाई एउटा साङ्लोमा बाँध्न सक्नु एएनए, अमेरिकी एनआरएनको पहिलो काम हो । यसमा उनीहरु सफल हुनै पर्छ।

(कान्तिपुर दैनिकका वरिष्ठ उपसम्पादक कोइराला अहिले अमेरिकामा छन् ।)
(२०१० जुलाई ३०, नेपाली पोष्ट डट कममा पोस्टिङ भएको।)

Comments posted (1)

Koirala ji! tapainko Gotra Maudgaly (मौद् गल्य) hunu parne ho. Plz once check it.

Write a comment