म बयालीस नम्बरको मन्त्री

म ४२ नम्बरको मन्त्री । देशको १५ औं अञ्चलमा बस्ने । ७६ औं जिल्लाको क्षेत्र नं. १० बाट चुनाव जितेको । सांसद नम्बर २ सय ६ । ‘पावर’ का हिसाबले म सबैभन्दा उपल्लो दर्जाको । मेरा नम्बरमा ‘शून्य’ थप्दाको अर्थ नै खतरनाक । नागरिकता दुईतिरको । चरित्र विचित्रको । छालाको रंग थाहा पाइहाल्नुभयो नै होला । जिब्रो सर्पको जस्तो । व्यक्तित्वका हिसाबले मेरो तौल प्रधानमन्त्रीभन्दा बढी ।‘शून्य’ थप्दाकै कुरा गर्ने हो भने नम्बर १ का प्रधानमन्त्रीलाई ‘शून्य’ जोडिदे उहाँ दश नम्बरी । दुई नम्बरी मन्त्रीलाई शून्य किन पो थप्नुपर्‍यो र ? तर म पुच्छरको अंकधारी बेकारी मन्त्री ।
बाउन्न सालमा यिनै प्रधानमन्त्रीका पालामा नेपालको इतिहासकै सबैभन्दा ठूलो ४८ सदस्यीय मन्त्रिमण्डल बनाउँदा म ४९ औं नम्बरको मन्त्री भाको । खानु खाको । तर नपचाको । म छाया हुँ । जुन मन्त्रिमण्डल बने पनि मेरो नम्बर आइहाल्छ । भएका मन्त्री संख्यामा एक थपे मेरो नम्बर ठ्याक्कै । बाउन्न सालमा शरतसिंह राजभण्डारी र यसबेलाका ऋषिकेश गौतमभन्दा पनि काम नछुट्याइएको अर्थात् बिना विभागीयभन्दा पनि भिन्नै खाले मन्त्री ।
मेरो हविगतका कुरा गर्ने हो भने म सबैभन्दा ‘पावरफुल’ । चुनावमा पैसाको खोलो बगाउन जान्ने – म तपाईंकै मान्ने । कुरा गर्न जान्ने । अरूलाइ मूर्ख ठान्ने । विपक्षीलाई गोरूझैं हान्ने । मन्त्री खान नपाउँदा आफ्नै दलका नेतालाई कुकुरसमान ठान्ने । म नकचरो मन्त्री । सोमत नभाको । खेर गाको । घिउ नभई भान्सै नपस्ने । कुर्सी नपाए अन्त बस्दै नबस्ने । चाकडीमा तेल-घिउ मात्र घस्ने । म हुँ – मन्त्री नम्बर ४२ ।
निर्वाचन क्षेत्र जानु नपर्ने । पार्टी कार्यालय धाउन नपर्ने । कुर्सी नपाए नि मन्त्री । पाए नि म मन्त्री । काल्पनिक मन्त्री । देशको मन्त्री नभए अञ्चलकै भए पनि मन्त्री । अञ्चलको नभए जिल्लाकै मन्त्री । जिल्लाको नभए आफ्नै क्षेत्रकै भए पनि मन्त्री । क्षेत्रको मन्त्री भएको तपाईंले नपत्याए म आफ्नै गाउँ विकास समितिको मन्त्री । गाउँ विकास समितिको मन्त्री नभए टोलको मन्त्री । टोलको पनि नभए छरछिमेकका लागि मन्त्री । म मन्त्री कतैको नभए आफ्नै घर मन्त्री । सिगो घरको पनि नभए म मेरी श्रीमतीका लागि मन्त्री । म जबर्जस्ती मन्त्री ।
भाषण गर्नु नेताको विशेषता । म पनि कहाँ कम छु र ? कतै बोल्न नपाए घरैमा बोल्छु । मुखले नभ्याए अन्तैले पनि बोल्छु । बोल्नका लागि बोल्छु । नबोल्नै परे पनि बोल्छु । साँच्चैका मन्त्रीले दिनहुँ गर्ने विमोचन, उद्घाटन, गोष्ठीमा अरू के नै पो गर्छन् । मन्त्रालयका फायल आँखा चिम्लेर सही गर्‍यो । सरकार कहिले गिर्छ भनेर ढुक्ने काम गर्‍यो । बरु भाषणमै ध्यान दियो । म बकबक मन्त्री ।
सरकारी गाडीमा तरकारी बोक्न लगायो । फरियावादलाई अघि बढायो । घरमा घिउ, चामल सित्तैमा । कमिसन आएजति सबै भ्यायो । अफिसमा सबैथोक कुम्ल्यायो । घर सजायो । कोहीसँग पनि नडरायो । टन्टैसाफ । म आम मन्त्री ।
नेपालको कानुन भगवान जानुन् । भनेकैले मलाई जे गर्न पनि छुट । चलाएको छु- ब्रह्मलुट । अझ भनौं न चलाइएको छ – आफ्नै गुट । कोही साँचा छैनन् – सबै झूट । देश थोत्र्याइएको छ, भएको छ – टुटफुट । बिग्रेको छ – देश विकासको रुट । म मन्त्रीमध्येको रफ मन्त्री ।
साँझ परेपछि पार्टी, रेष्टुराँ, तारे होटल, झारे होटल, ठर्रा-ढर्रा-टर्रा सबैमा आफू नै । भोलिको ह्याङ्ओभर । खानु खायो । बरु नपचायो । हजमोला खायो । फेरि कोच्यो । चार पटक, पाँच पटक, पटक-पटक खायो । उफ म घिचुवा मन्त्री ।
बिहान अबेर उठ्ने । उठ्नुभन्दा पहिले बैठक-कोठामा प्रशस्त मान्छे जुट्ने । बेस्सरी गफ चुट्ने । जिब्रो पड्काई कति बेला टुट्ने ? व्यापारी लुट्ने । आगेपिछे लाग्नेलाई ‘नोट’ भुट्ने, म बढो तथाकथित जनसेवी मन्त्री ।
खोला मिचेर घर बनाउने ताकको । मन्दिर भत्काएर घर ठड्याउने जातको । बाटो मिचेर भगवानको मूर्ति गाड्ने हातको । शिव ओम शिव ओम, म घात मन्त्री ।
म कलमन्त्री । म खलमन्त्री । म गलमन्त्री । म चलमन्त्री । म छलमन्त्री । म जलमन्त्री । म ढलमन्त्री । म तलमन्त्री । म थलमन्त्री । म दलमन्त्री । म नलमन्त्री । म फलमन्त्री । म बलमन्त्री । म भलमन्त्री । म मलमन्त्री । म सलमन्त्री । म हलमन्त्री । म खलबल मन्त्री ।
म खेलमन्त्री । म जेलमन्त्री । म झेलमन्त्री । म ठेलमन्त्री । म तेलमन्त्री । म नेलमन्त्री । म भेलमन्त्री । म मेल-बेमेल मन्त्री । म रेलमन्त्री । म सेलमन्त्री । वास्तवमा म कक्षा चार फेल मन्त्री ।
म देशमन्त्री । म अञ्चलमन्त्री । म जिल्लामन्त्री । म नगरमन्त्री । म गाउँ विकास समिति मन्त्री । म टोल मन्त्री । म छरछिमेक मन्त्री । म पर्खालमन्त्री । म घरमन्त्री । म चुकुलमन्त्री । म बुँइगलमन्त्री । म ढोकामन्त्री । म झ्यालमन्त्री । म शौचालयमन्त्री ।
म पुच्छरको अंकधारी बेकारी मन्त्री । बिना विभागीयभन्दा पनि भिन्नै खाले मन्त्री । म नकचरो मन्त्री । म जबर्जस्ती मन्त्री । म बकबक मन्त्री । म आममन्त्री । म मन्त्रीमध्येको रफमन्त्री । म घिचुवामन्त्री । म बढो तथाकथित जनसेवी मन्त्री । म घातमन्त्री । म खलबल मन्त्री । म कक्षा चार फेल मन्त्री । म ४२ नम्बरको मन्त्री ।
००००
(२०५८ पुस २ को ‘कान्तिपुर दैनिक’मा प्रकाशित)

Write a comment