मलाई चिनाउने ‘राजेश’ नाम

स्कूल पढ्दाका कुराहरू म त्यति सम्झन्न । तर यो एउटा चाहीं मलाई याद छ । अरू जे भए पनि, हामी स्कूले हुँदा नयाँ पाठ्यपुस्तक वा नयाँ कपि पाउनु अहोभाग्य हुन्थ्यो । मैले अक्षर लेख्न सिक्दा दाजुले लेखेका कपिहरू सदुपयोग गरेको बुबा सुनाउनु हुन्थ्यो । आधा पाना वा पुरै पानामा लेख्दै अक्षर चिने रे ! कपि चाहीं त्यसै-उसै भए पनि पुराना किताबको क्रम कक्षा ४ सम्म रह्यो ।
किताब ‘सेकेण्ड ह्याण्ड’ भए पनि बिक्थे । त्यसैले जतन गर्न सिकियो । कसका किताब राम्रा छन् भन्ने ‘कम्पिटिसन’ नै हुन्थ्यो । जसका किताब राम्रा हुन्थे, पहिले नै ‘बुक’ गर्ने चलन थियो । बेलाबखत दाम नै तोकिन्थ्यो ।
कक्षा ४ बाट ५ जाँदाको कुरा हो । मैले नयाँ किताब किनेको थिएँ । नयाँ किताब पाउन कठिन थियो । गाउँ छाडेर शहर जानुपर्थ्यो । मोरङको रमाइलो गाउँबाट सुनसरीको इटहरी, मोरङकै उर्लाबारी वा झापाको दमक पुग्दा मात्र नयाँ किताब पाइन्थे । रमाइलो गाउँबाट कानेपोखरीसम्म हिंडेपछि मात्र बस चढ्न पाइन्थ्यो । त्यसपछि दमक वा उर्लाबारी जाने भए पूर्व जाने बस र इटहरी जाने भए, पश्चिम जाने बस चढिन्छ । किताब महँगा पनि हुन्थे (किसान परिवारका लागि) ।
जब कक्षा फड्काइयो
कक्षा ५ का ती किताब किन्नु मात्र पर्‍यो, मैले पढ्न पाइँन । कुरा ०३४ सालको हो । मंसिरमा शैक्षिक-सत्र सकिन्थ्यो, उसबेला । स्कूल शुरु भएपछि मलाई कक्षा फड्काइयो । एकैपटक कक्षा ६ मा लाने निर्णय भयो । त्यसबेला सबै कक्षाका केही जान्ने विद्यार्थीलाई यसरी कक्षा ‘जम्प’ गराइएको थियो । म तिनैमध्ये परेको थियो । तर नाम भने फेर्नुपर्ने भयो ।
मेरा किताब किनेको मोलभन्दा केही घटाएर बेच्नु परेको थियो । नयाँ किताब पढ्न नपाएको दु:ख मात्र थियो । किनभने कक्षा टपाइएको खुसी अनुभूत गर्न मैले शायदै जानेको थिएँ ।
दाजु (तीर्थ कोइराला) गाउँ मै हुनुहुन्थ्यो । आफूले पढ्दा गाउँमा कक्षा ४ पछि नभएकाले उहाँले मामाघर (इटहरी) बसेर पढ्नु परेको थियो । एसएलसीपछिको फुर्सदमा हुनुहुन्थ्यो । शिक्षक हुनुभएको थियो, मेरो स्कूल जनसेवा माद्यमिक विद्यालयमा । दाजुको सल्लाहमा मैले मेरो नाम ‘राजेश’ पाएको थिएँ । त्यसअघि मेरो नाम ‘राजेन्द्र’ थियो । ‘राजेन्द्र’ वा ‘राजेन्द्रप्रसाद कोइराला’ । न्वारनको ‘तोयराज’ वा ‘तोयनाथ’ स्कूल भर्ना हुँदा राजेन्द्र भएको थियो र स्कूलमै म ‘राजेश’ भएको थिएँ ।
मेरा लागि ‘राजेश’ नाम नौलो थियो । त्यसबेला स्कूलमा कसैको नाम राजेश थिएन । ‘राजेश खन्ना’ (जन्म: २९ डिसेम्बर १९४२ – मृत्यु: १८ जुलाई २०१२) को नाम त मैले सुनेको पनि थिएन । उनको नाम थाहा पाएकाहरू मलाई जिस्क्याउँथे । खासमा बढी, सरहरू नै हुनुहुन्थ्यो, जसलाई राजेश खन्नाबारे थाहा थियो ।
जे भए पनि राजेश नाम मेरा लागि फापसिद्ध भयो । मैले दाजुको आड पनि पाएको थिएँ । मनमा ठूलो भरोसा थियो । दाजुका कारण सरहरूमाझ मैले बढी माया पाएको थिएँ । बालकले आफूतिर अरूले ध्यान देओस् भन्ने चाहना हुन्छ । मैले त्यो पाएको थिएँ । सरहरूको ध्यान मतिर तानिन थालेको थियो । म हौसिएको थियो । यसले मेरो प्रगतिको बाटो खुलेको थियो । उत्कृष्ठ दशमा पर्ने म विस्तारै माथि उक्लिदै जान थाले ।
साना कक्षाहरूमा म पहिलो त भइँन । तर कक्षा १० को योग्यतामा दोस्रा र एसएलसीमा स्कूलबाट परीक्षा दिने सबैलाई उछिनेको थिएँ । स्कूलबाट ४६ जना एसएलसी- २०३९ मा सहभागी भएका थियौं । २६ जना पास भयौं । कसैले फर्स्ट डिभिजन ल्याएन । सेकेन्ड डिभिजन ल्याउनेमध्ये म अगाडि थिएँ । म स्कूलका २६ पासमध्ये अगाडि थिएँ ।
खन्ना : मेरो आदर्श भने बनेनन्

मलाई ‘राजेश खन्ना’ नामले कुनै आकर्षण गरेन । एसएलसीपछि म हिन्दी सिनेमा दर्शक बनेको थिएँ । एक हिसाबले राजेश खन्नाको जमाना गइसकेको थियो । अमिताभ बच्चनको आएको थियो । मलाई अमिताभ मनपर्थ्यो । खन्नाको ‘अवतार’ (१९८३) सिनेमा ठूलो पर्दामा हेरको थिएँ, खुब मनपरेको थियो । ‘सौतन’ (१९८३) मैले नबुझेको हुन सक्छ, मलाई त्यति मनपरेन । पछि कुनै बेला ‘बावर्ची’ (१९७२) भने टेलिभिजनमा हेरें, मलाई खुब मनपर्‍यो । ‘आखिर क्यों ?’ (१९८५) ठिक लागेको थियो । ‘आराधना’ (१९६९) मा दार्जिलिङमा पनि सुटिङ गरिएको थियो, जीप चढेर नेपाली-टोपीमा उनको गीत ‘मेरे सपनो की रानी कब आएगी तुँ — ‘ हेर्दा भने खन्नामा कता-कता आफ्नोपन पाएको थिएँ ।

कालान्तरमा भारतीय गायक किशोर कुमारका गीतहरू मलाई मनपर्न थाले । तर मलाई मनपर्ने ती गीतमा राजेश खन्नाका पुराना सिनेमाका थिए । आखिर समय-समयको कुरा न हो ।
राजेश नाम राखे अर्थात् नाम फेरिएपछि म उक्लिएको थिएँ । यसरी ‘राजेश’ नाम र दाजुको आडले मलाई कहाँबाट कहाँ पुर्‍याएको थियो । त्यो नाम ‘राजेश खन्ना’ को मात्र थिएन र हैन । तर मेरो आफ्नो पनि भएकाले रमाइलो र अनौठो लागि रहन्थ्यो । ती हिन्दी-चलचित्रका नायक मेरी आमाको उमेरका थिए ।
अब ‘राज’ मात्र सजिलो हुन थालेको छ
अस्ति राजेश खन्ना बितेछन् । अनि मैले आफ्नो नाम राजेश राखिएको प्रसंगहरू सम्झिए । अमेरिकामा मानिसहरूसँग कुरा गर्दा मलाई ‘राजेश’ हुँ भनेर परिचय गराउँदा निकै कठिन हुन्छ । उनीहरूलाई उच्चारण गर्न गाह्रो हुन्छ । म आफूलाई ‘राज’ मात्र भनेर चिनाउन सजिलो मान्छु । यहाँ नाम छोट्याउने चलन छ । ‘रबर्ट’ लाई ‘बब’, ‘विलियम’लाई ‘बिल’, ‘जेनिफर’ लाई ‘जेनी’ आदि भनिन्छ । मैले पनि राजेशलाई ‘राज’ भन्न सजिलो मान्न थालेको छ । आखिर ‘नाममे क्या रख्खा है ?’

Comments posted (7)

He he he…… Ramailo ramailo..!

Interesting cha rajesh jee..

rajeshwar pani raj, dhiraj pani raj and rajeshdaju pani raj….:)

राम्रो सम्झना चाख लाग्दो लेखाई ।

aru je bhaye pani nam change nagarnush. rajesh jati popular hundaina. ra ti bideshile ucharan gana janenan bhanera nam chage garnu teti ramro lagena malai.

Interesting ! Pahile pani padheko, aaja feri ‘buwa’ ko lekh padhna xireko thiye. Aafnai goun ra school ko serofero ani afnai jasto lagne balyakal ko katha pani……wah!
Rajesh daiko lekhne shaili(bisaya jesukai vayeni) jyadai meetho xa. Blog ma xire paxi niskinai gahro. Dhanyabad daju, keep it up.

it was still the same story Rajesh dai when i had studied at Jansewa School at RAMAILO. i had used second hand books and i had walked so many times from ramailo to Kanepokhari to catch a bus. though it is completely changed now but i still remember those days were golden days of my school life .

Write a comment