कालि आउट, अर्जुन इन

‘म फर्कदै छु, नेपाल,’ यो उनले दुई पटक मलाई भने । दुई सन्दर्भमा । ‘कूटनीतिक रिपोर्टिङ गर्नुपर्छ,’ उनको सल्लाह थियो, मेरा लागि ।
‘सुन्ने सबैको हो, गर्ने आफूले हो,’ भनेजस्तो म भने सामाजिक विषयमा नै अल्मलिन रुचाउने मान्छे । उनका अगाडि हुन्छ भने पनि मेरो इच्छाको विषय हैन ।
मैले दुईपटक अमेरिकास्थित नेपाली दूतावास जाँदा भेटे । फोनमा कुरा त धेरै भयो । सन्दर्भ, तीनै उपनियोक प्रमुख कालिप्रसाद पोखरेल (तस्बिर, बीचमा कालिप्रसाद र टोपी लगाएका गोविन्द गिरी ‘प्रेरणा’का साथमा म) को । उनले बिदा लिएका छन्, वासिंगटन डिसीको नेपाली दूतावासबाट ।
उनी फर्कन लागेको फेसबुकका कमेन्टहरुले भन्थ्यो र भन्छन् ।
‘दिन गन्दैछु ।’
‘बोरा-विस्तरा बाँध्ने दिन आए ।’
‘तिमी जानुअघि एउटा म:म: पार्टी हुनुपर्छ,’ काठमाडौंस्थित अमेरिकी दूतावासमा काम गरेर फर्केकी नताशा बास्लेले लेखेकी छन् ।
‘अहिले देखि नै शुन्य महशुस भैसक्यो; गए पछि त झनै के होला !!’ पत्रकार अमृता लम्सालको मनको कुरा ।
‘बिदाई पार्टीहरुमा रमाएको छु ।’
‘ओट्टावा आएको छु ।’
‘न्युयोर्कतिर ।’
पोखरेलले दूतावासमा ५० महिना बिताए । यहाँको कूल अवधिको ४० प्रतिशत कार्यवाहक राजदूत बनेर । अमेरिका आएकै दिन सिधै उनी विमानस्थलबाट नेपालमा प्रजातन्त्र आएको सन्देश दिन नेपालीको भेलामा पुगेका थिए, सन् २००७ अप्रिल २४ मा । त्यसपछिका २२ महिना उनले कार्यवाहक राजदूतको काम सम्हाले ।
पोखरेलले अमेरिका दुई राष्ट्रपति : जर्ज बुश र बाराक ओबामाका दुई विदेशमन्त्री कोन्डोलिजा राइस र हिलारी क्लिन्टनको नजिक रहेर काम गरे । यता नेपालका दुई सुरेश चालिसे र डा शंकर शर्मा अनि उताका नेन्सी जे पावेल र स्कट एच डिलिसीलाई मियो बनाएर नेपालका लागि सेवा गरे ।
एउटा अनौठो के पनि छ भने अमेरिकास्थित नेपाली दूतावासमा रहनु भनेको औपचारिक वा अनौपचारिक रुपमा नेपालीमाझ हुनुपर्छ । बिहावारी, व्रतबन्ध, न्वारान, पुराण, अन्तिमसंस्कार आदि आदि । दाजुभाई, इष्टमित्र, बाबु, काका जे भन्नुस्, त्यो हुनुपर्छ- वासिंगटनलाई सेरोफेरो बनाएर । सुख-दु:खमा दूतावास नै आफ्नो हुन्छ । काठमाडौंमा शनिबार मन्त्रीहरु जे गर्छन्, करिब त्यसरी नै राजदूतको केहि समय बित्छ । सन् २००९ नोभेम्बरमा डा शर्मा आएपछि पोखरेलले यी औपचारिक वा अनौपचारिक कार्यक्रमबाट ठूलो मुक्ति पाएको हुनुपर्छ ।
‘उहाँले निकै पुन:निर्माणको काम गर्नु भएको थियो । त्यहि भएर मलाई सजिलो भए । राजदूतका रुपमा मेरो पहिलो मुकाम थियो, अमेरिका । मैले कालिजीबाट धेरै सिके,’ डा शर्मा भन्छन्, ‘यहाँको दूतावास भनेको राजदूत-केन्द्रित हुँदोरहेछ ।’ पोखरेलले आफूलाई मियो बनाएर २२ महिना कसरी थेगे होलान् ?!
पोखरेल आफू जे सक्थे, गर्थे । कामअनुसार नाम दिन्थे र दूतावासबाट गराइने काममा सजिलो पारिदिन्थे । अब नेपालमा हुनेछन्, सरकारले परदेशमा अर्को मुकाम नतोकुञ्जेल । ‘फेसबुक छँदैछ नि,’ उनकै भाषामा, ‘यहाँ बसेर नेपाललाई केहि गर्न चाहनेको इच्छा बुझेको छु ।’
पोखरेल मिडियाका मानिससँग नजिक रहन रुचि भने राख्थे, ‘हो पनि को कति बेला काम लाग्छ !’ कूटनीतिक क्षेत्रमा लागेको मान्छेले जान्नु पनि त प-यो । पहिलो भेटपछि मैले उनका बारेमा जान्न इन्टरनेट चहारेको थिएँ । दूतावासको वेबसाइटमा उनका बारेमा एक अक्षर छैन, छ त मात्रै ‘बायोडाटा कमिङ सून —-’ । त्यहि भएर उनी मिडिया भने अलि कम खोज्ने खालका लाग्यो, मलाई ।
उनका ठाउँमा अर्जुनकान्त मैनाली आइसकेका छन् । बाल्टिमोर एसोसिएसन अफ नेप्लिज इन अमेरिका (बाना) ले हालै पोखरेलको बिदाई र मैनालीको स्वागत एउटै कार्यक्रममा ग-यो ।
पोखरेलको विदाईमा बाल्टिमोरका वसन्त श्रेष्ठले कविता सुनाए, ‘नसम्झ कालिप्रसादजी यो मेरो सधैंको बिदा गीत हो — ‘
यहिंबाट पनि पोखरेललाई सम्झने धेरै छन् भन्ने थाहा हुन्छ ।
००००
‘राजदूत (कामुले चल्दैन, अब) भएको खबर सुन्न पाइयोस्, जन्मदिनको शुभकामना ।’ फेब्रुअरी २३ मा जन्मदिन मनाएका पोखरेललाई मेरो शुभकामना यस्तै थियो ।
उनले प्रत्युतरमा लेखेका थिए, ‘कस्तो सुन्दर कामना, राजेश जी । तपाईंको मुखमा दूध र भात ।’
मेरो कामना पनि पुरा होस् र तपाईंको कामना भने मलाई कम भो !!

Comments posted (2)

Oh! sor kasto mitho yathartha lekhnu bhayako, padhirau lagne.

Rajesh ji , Jaha base pani yathartha lekhane bani natutne kasto ramro bani, Tapai ko basai le safalta pawos yehi kamana gardachu. R farkan lagnu bhayeko kaliprasad ji ko bidesh basai ko anubhava le desle -Nepal- le abasya kehi ramro sewa paune chha bhanne asha hami nepali le liya ka chau.

Write a comment