एइ अन्सारी सानो छँदा

संस्कृत पढ्ने मुस्लिम बालक

डा. एइ अन्सारी मुटुरोग हेर्ने चिकित्सक हुनुहुन्छ । उहाँको पूरा नाम अनवर एलाही अन्सारी हो । उहाँको जन्म २००९ चैत २३ गते पर्सा जिल्लाको बहुअरीमा भएको हो । उहाँका पिताको नाम अब्दुल हकिम र माताको नाम मजकुरन नेसा हो । उहाँहरू छ दाजुभाई र छ दिदीबहिनी जन्मनुभएको हो । अनवर एलाही काहिलो छोरा हो । उहाँ रुसको मस्कोबाट एमडी सक्नुभयो । मस्कोस्थित लुमुम्बा युनिभर्सिटीको त्यो पढाई एबिबिएस बराबर हो । त्यसपछि त्यहिं औषधीमा पोस्ट-ग्य्राजुएसन गर्नुभयो । नेपाल आएर काम गर्दागर्दै उहाँले भारत गएर फेलोसिप पुरा गर्नुभयो । त्यसपछि उहाँले मुटुरोगमा मात्र आफूलाई लगाउनुभयो । उहाँले चौतारा अस्पताल, सगरमाथा अञ्चल अस्पताल, मेची अञ्चल अस्पताल, भक्तपुर अस्पताल,, भेरी अञ्चल अस्पतालमा काम गरेपछि वीर अस्पताल आउन पाउनुभयो । अहिले वीर अस्पताल र मेडिकेयर अस्पतालमा काम गर्नुहुन्छ । अनवर एलाहीले भारत, थाइल्यान्ड, मलेसिया, सिंगापुर, बंगलादेश, रसिया, जर्मनी, पोल्यान्ड, बेलायत, फ्रान्स, बेल्जियमजस्ता देशको भ्रमण गर्नुभएको छ । यसपटक डा. एलाही सानो छँदाका केही सम्झना :
कान्छो भाइ जन्मनेबित्तिकै आमा बित्नुभयो । म त्यसबेला साढे तीन वर्षको थिएँ । त्यो भाइ पनि एक/डेढ वर्षको भएपछि बित्यो । म कक्षा ४ मा पढ्दा बुबा बित्नुभयो । हामीलाई ठूला दाई सम्सुल हकले अभिभावकका रुपमा हुर्काउनुभयो ।
हाम्रो गाउँमा नरसिंह संस्कृत पाठशाला थियो । त्यहाँ कक्षा ७ सम्म पढाई हुन्थ्यो । त्यहाँ संस्कृत अनिवार्य थियो । म मुसलमानको छोरो भए पनि संस्कृत पढें । मलाई सानै छँदा स्कुल जानुपर्छ भन्ने लाग्थ्यो । पाठशालामा साधुसन्त बस्थे । टिफिनमा पुरी, जीलेबी खान पाइन्थ्यो । खुसी लाग्थ्यो ।
कक्षा ८ पछि वीरगञ्जको त्रिजुद्ध हाइस्कुल गएँ । स्कुल पुग्न २ किलोमिटर त हिंड्नुपर्थ्यो । संस्कृत पढ्दाकै साथी रामानन्द गुप्ता पनि त्यहाँ गए । गुप्ता र म एउटै टोलका थियौं । दिनेश उपाध्याय पनि मसँग संस्कृत पढ्थे । त्रिजुद्धमा हरेराम बराल मेरा साथी थिए ।
सानोमा सरस्वती पूजा खुब रमाइलो लाग्थ्यो । हामी पूजाका लागि चन्दा उठाउँथ्यौं । चन्दा उठाउँदा पसलेहरू रिसाउँथे । पूजा विशाल हुन्थ्यो । आफू मुसलमानको छोरो भए पनि सरस्वती पूजा चाहिं निकै रमाइलो लाग्थ्यो ।
त्रिजुद्धमा कौशलराज उपाध्याय हेडमास्टर हुनुहुन्थ्यो । अंग्रेजी र विज्ञान पढाउने मदन उपाध्याय हुनुहुन्थ्यो । गणित र भूगोल पढाउने जीवनेश्वर मिश्र हुनुहुन्थ्यो । हामीलाई भगवान व्दिवेदीले इतिहास पढाउनुभयो । व्दिवेदी सर सबैलाई खुब माया गर्नुहुन्थ्यो । पैसा नहुँदा सघाउनुहुन्थ्यो । कसैको शुल्क नै तिरिदिनुहुन्थ्यो । उहाँ वीरगञ्जमा निकै प्रसिद्ध हुनुहुन्थ्यो । पढिसकेपछि पनि कसैलाई जागिर ख्वाउनुपर्‍यो भने कसरी सघाउन सकिन्छ विचार गर्नुहुन्थ्यो । सघाउनुहुन्थ्यो । उता शारदाप्रसाद चालिसेले नेपाली साहित्य पढाउनुहुन्थ्यो ।
संस्कृत पाठशालामा शान्ता र मीना उपाध्याय, अनि साह र गुप्ता परिवारका एक-एक गरी चार छात्रा थिए । उता त्रि-जुद्धमा २० प्रतिशत छात्रा थिए । हामीले पढ्दा बेन्च हुन्थ्यो, डेस्क हुँदैनथ्यो । घुँडामा राखेर लेख्नुपर्थ्यो । जाडोमा चौरमा बसेर पनि पढिन्थ्यो ।
मैले २०२५ सालमा एसएलसी दिएँ । ६३ प्रतिशत ल्याएर प्रथम श्रेणिमा पास भएँ । मलाई गणित नै मनपर्थ्यो । ९८ ल्याएको थिएँ । स्कुल जाँदा ड्रेस थिएन । पेन्ट, सर्ट लगायो । किताब हातैमा बोक्थ्यौं । मेरा ह्यान्डराइटिङ त्यति राम्रो थिएनन् । हामीलाई गृहकार्य कम दिइन्थ्यो । घरमा गर्ने काम थोरै हुन्थ्यो । तर मन लगाएर पढ्थ्यौं ।
मैले एसएलसी दिएको साल देशभरमा १२ हजारले परीक्षा दिएका थिए । गाउँभरमा धेरै नम्बर ल्याएर पास गर्ने म मात्र थिएँ ।
म घरमा तरकारी किनेर ल्याउँथे । कक्षा ८ मा पुगेपछि ‘रेले’ नामको साइकल किनीदिनुभयो । मलाई अहिले कार किनेभन्दा त्यो साइकलको खुसी थियो । अनि त तरकारी ल्याउन सजिलो भयो । धान लगेर मिलमा कुटाउँथे । चामल, भुस ल्याउँथे ।
सिनेमा खुब हेरिन्थ्यो । शुक्रबार आधा दिन स्कुल बिदापछि सिनेमा हेरिन्थ्यो । खाजा खर्च दिएको पैसा सिनेमा हेर्दा सकिन्थ्यो । कहिलेकाही त रक्सौल गएर पनि सिनेमा हेरियो ।
स्कुल जाँदा आँप झारेर खान्थ्यौं । चनाको खेती हुन्थ्यो । चना पनि टिपेर खान्थ्यौं । हामीलाई खेदाउँथे । घरमा एयरगन थियो । चरा मारेर खान्थें । चरा नपाए कुखुरासमेत मारियो । एकपटक गाउँ पञ्चायतको निर्णयबाट दश रुपैयाँ जरिवाना तिर्नु पर्‍यो । अनि त सतर्क भएर काम गर्न थालें ।
अरुलाई दुःख दिंदैनथें । गाउँमा बिहे आयो भने सघाउँथे । हामीले चन्दा संकलन गरेर बिहेमा चाहिने चाइनिज माटोका प्लेट किनेका थियौं । थोरै पैसा लिएर प्लेट दिन्थ्यौं । गाउँमा ‘नवयुवक संगठन’ नामक क्लब खोलेका थियौं । बिरामीलाई मद्दत गर्थ्यौं । गाउँमा बिजुली ल्याउन बिजुली अफिस गयौं । धम्क्याएर भए पनि बिजुली ल्यायौं । लठ्ठा र पोल बोक्न सघायौं ।
गाउँमा पढेलेखेका मानिस थिएनन् । हामी अरुका चिट्ठी पढिदिन्थ्यौं ।
गाउँमा धान नै मुख्य बाली थियो । पाँच बिगाहा खेतीको अन्नले ६/८ महिना खान पुग्थ्यो । वीरगञ्जमा हाम्रो टेलरिङको एउटा पसल थियो । २०१८/०२० सालतिर देशभर अकाल भयो । हामी सानासाना नानीहरू रासनको चामल लिन लाइन लाग्यौं । उसिना, मोटा चामल पाइन्थ्यो । चामल नहुँदा रोटी खाएर पेंट भर्नुपर्थ्यो ।
त्यसबेला सबैथोक सस्तो थियो । एक रुपैयाँ ४ किलो चामल आउँथ्यो । पाँच रुपैयाँमा २० किलो चामल किनेर साइकलमा ल्याएको याद छ । खसीको मासु दुई रुपैयाँ किलो थियो ।
म पढाई राम्रो भएको विद्यार्थी थिएँ । राम्रो पढ्न सबैलाई सल्लाह दिन्छु ।
(शब्द : राजेश कोइराला, तस्बिर : नवराज वाग्ले, २०६७ जेठ २ मा कान्तिपुर दैनिकको बालकोसेली कोपिलामा प्रकाशित)

Write a comment