विष्णुभक्त फूँयाल सानो छँदा

टिएपी, आरएटी, सिएटी ……

विष्णुभक्त फुँयाल नामचलेका नाट्य तथा चलचित्रकलाकार हुनुहुन्छ । उहाँले अभिनय गरेका नाटकको संख्या सयौं भइसकेको छ । उहाँले टेलिचलचित्र र चलचित्रमा पनि अभिनय गर्नुभएको छ । उहाँलाई करिब २ सय टेलिचलचित्र र ४२ वटा चलचित्रमा देखिइसकेको छ । कति रेडियोनाटक र रूपकमा काम गर्नुभयो, उहाँलाई नै हेक्का छैन । फुँयालको जन्म वि.सं. १९९४ भदौ २३ गते भक्तपुर जिल्लाको वागेश्वरी, थाकलमाटमा भएको हो । उहाँका पिताको नाम कुलप्रसाद र माताको नाम महामाया हो । उहाँहरू तीन दाजुभाइ जन्मनुभएको हो । विष्णुभक्त कान्छो हो । बेलायत, बंगलादेश, भारतजस्ता देश भ्रमण गरेका उहाँले धेरै पुरस्कार र सम्मान पाउनुभएको छ । आर्थिक अवस्था कमजोर भएको परिवारमा जन्मेकाले उहाँले आफ्नो पढाइ राम्रो बनाउन सक्नुभएन । होटल मजदुरका रूपमा सार्वजनिक जीवन सुरु गरेका विष्णुभक्तले राजधानीका धेरैजसो होटलमा काम गर्नुभएको पनि छ । उहाँले बीस वर्षजति नाटक, टेलिचलचित्र र चलचित्रमा काम गरेर बिताउनुभएको छ । उहाँ भन्नुहुन्छ, ‘रंगमञ्चका नाटक गरेजस्तो अरू क्षेत्रमा जाँगर कम लाग्छ । धोको पूरा भएजस्तो लाग्दैन । गाउँघरमा पुगेर नाटक देखाउँदा धेरै आनन्द आउँछ ।’ उहाँले देशका धेरै गाउँठाउँमा पुगेर नाटक देखाउनुभएको छ । उहाँलाई आवाजकै कारण धेरै रेडियोका श्रोताले पनि चिन्छन् । उहाँका दस नाटकको संग्रह ‘बाध्यता’ (२०५९) प्रकाशित छ । यसपटक विष्णुभक्त सानो छँदाका केही सम्झना :
भक्तपुरमा जन्मे पनि मेरो बाल्यकालपछिको समय काठमाडौंको बौद्ध, महांकालमा बितेको छ । म जन्मिनासाथ बुबा बित्नुभयो । आमा २० वर्षकी मात्र हुनुहुन्थ्यो । उहाँले अर्को विवाह गर्नुभयो । आमाको नयाँ परिवारसँगै म र माहिलो दाजू बौद्ध, महांकाल आयौं । आठ वर्षको उमेरमा जेठो दाजूले घर छाडेर हिँड्नुभयो । बुबा बितेपछि आमालाई ठूलो पिर पर्‍यो । त्यसैले उहाँले अर्को विवाह गरेको हुनुपर्छ । हामी बौद्ध महांकालमा बस्न थाल्यौं । ९ वर्षको भएपछि माहिला दाजुको पनि निधन भयो ।
म पढ्न चाहन्थें । हाम्रो घरको अवस्था राम्रो थिएन । घरनजिकै एउटा लामो छाप्रोमा स्कुल खुलेको थियो । २००९ सालमा म त्यहाँ पढ्न गएँ । त्यहाँ कक्षा १/२ मा नै अंग्रेजी पढेको सुनिन्थ्यो । ‘टीएपी’ धारोको टुटो, ‘आरएटी’ मुसो, ‘सिएटी’ बिरालो …. । स्कुल गएको पहिलो दिन एकजना सरले मलाई सोध्नुभयो, ‘तिमीले नेपाली अरू स्कुलमा पढेको छ ?’ मैले भने, ‘अरू दरबार स्कुल जान्छन् । हामीलाई घरमा काम गर्नुपर्छ । पढाउँदैनन् ।’
‘पहिला नेपाली पढ्नुपर्छ । अनि मात्र अंग्रेजी पढ्न आउँछ,’ सरले भन्नुभयो ।
त्यसअघि २००५ सालमा भारतीय सेनामा जागिर खान गएका एकजना दाइले घर आएका बेला मलाई क ख ग… सिकाएका थिए । मलाई अ आ इ ई .. त आउँदैनथ्यो ।
त्यो दिन स्कुल गएकाले घरको काम छुट्यो । घर फर्केपछि गाली खाए । मैले खान पनि पाइन । त्यसपछि मैले जीवनभर स्कुल जान पाइन । हाम्रो आफ्नो पाँच रोपनी खेती थियो । मंसिरमा पाकेको धानबाट पुससम्म त खान पुग्थ्यो । अरू महिना अरूको खेतमा काम गरेर कमाएकोबाट खानुपर्थ्यो । कुनै दिन एक छाकमा बित्यो । फाटेको टोपी लगाएर हिँडिन्थ्यो । १५/१६ वर्षको हुन्जेल चप्पल/जुत्ता लगाइएन ।
सानोमा डन्डिबियो खेलिन्थ्यो । एकपटक आफूले हानेको बियोले भाइको निधारमा लागेपछि खेल्न छाडियो । गुलेली हानिन्थ्यो । एकपटक मैले हानेको गुलेलीले एउटी महिलालाई लागेछ । झन्डै पिटाइ खाइएको थियो । त्यसपछि गुलेली पनि छाडियो । गुच्चाले गोलीगाँठो ठोक्ने खेल खेलिन्थ्यो ।
चौथीमा चन्द्रमा देखेपछि केही न केही उपद्रो गर्नुपर्छ भन्ने चलन थियो । यस्तो बेलामा अरूका बारीमा पसेर भटमास उखेली दिइन्थ्यो । काँक्रा फुटाएर नष्ट पारिन्थ्यो । तर चोरेर भने कहिल्यै ल्याइएन ।
एकपटक तीजमा एउटा घैंटोमा केरा पकाएको थियो । मैले भने दिनहुँ चोरेर दुई घरी केरा सके । पछि थाहा पाएपछि म तीन दिनका लागि भागें । दोस्रो दिन पशुपतिमा एकजना छिमेकी देखेर गाली गरे । अनि घर फर्कें ।
अर्कोपटक मौरीको घार नै रित्याउँदा एक रात घर छाड्नुपरेको थियो ।
मैले बालक छँदा नाटक हेरेको याद छ । चाबहिलमा वर्षका १/२ वटा नाटक हुन्थे । बढी त गाईजात्रामा हुन्थे । नाटक पनि राति हुन्थे । घरमा सबै सुतेपछि आफू खुसुक्क उठेर नाटक हेर्न पुगिन्थ्यो । पछि टोलमा नाटक गर्ने भए । मैले पनि अभिनय गर्ने रहर गरें । फुच्चे भनेर दिएनन् । नाटकको पर्दा तान्न भए पनि गर्थें । कहिले आफू ठूलो हुनु र नाटक खेल्नु भइरहन्थ्यो । पछि २०१९ सालमा नेपाल (नेवार समुदायको) भाषामा ‘कर्मया भोग’ नाटकमा पहिलोपटक अभिनय गरें ।
म नौ वर्षको भएदेखि नै आर्थिक जुटाउन काम गर्थे । मैले काँचो इँटा बनाउन थालें । यो काम १५ वर्षको उमेर हुँदासम्म गरें ।
यसैबीचमा म १३/१४ वर्षको हुँदा त्रिभुवन राजपथ बनाएको ठाउँमा गएँ । बाटो खन्ने ज्यामीको काम गरें । एक साता काम गरेर म घर फर्कें ।
म १६ वर्षको भएको बेला । एकजना मामा भारतबाट आउनुभएको थियो । उहाँ कोलाकाता (कलकत्ता) मा जागिरे हुनुहुन्थ्यो । मैले आफ्नो उन्नति नभएको ठानेर कोलकाता जाँदा पो हुन्छ कि भन्ने ठाने र भनें, ‘म पनि कलकत्ता जान्छु ।’
उहाँले भन्नुभयो, ‘केटाकेटी पनि कलकत्ता किन जाने ?’ मैले भनें, ‘१६ वर्षको भए पनि केटाकेटी हुन्छ ?’ उहाँले भन्नुभयो, ‘त्यहाँ गएर के गर्छौ ?’
मैले भनें, ‘जे पनि गर्छु ।’
म उहाँसँग कलकत्ता गएँ । मैले जे पनि गर्छु भन्नुको अर्थ के थियो भने म जीवनमा केही गर्नुपर्छ भन्ने सोच्थें । अरू दरबार स्कुल पढ्न जाँदा म डोको बोकेर तिनै विद्यार्थीलाई हेर्थें । केही गरौं भन्ने चाहना भइरहन्थ्यो ।
त्यसबेला भारत जान चिसापानी गढीमा दर्ता हुनुपर्थ्यो । भारत जाने स्वीकृति भएका कागजात हुनुपर्थ्यो । मैले कागजात बनाउनुको साटो त्रिभुवन राजपथ बनाउने काम गर्न जान लागेको भन्ने विचार गरें । डोको बोकें । नुन, तेल, बेसार आदि लिएँ । त्यहाँबाट त यस्तै कुरा देखाएर पार भइयो । अमलेखगन्जमा रेल आउँथ्यो । रेलमा समात्यो । मामाले पाँच रुपैयाँ (भारु) दिएर छुटकारा पाइयो । कलैया (त्यसबेला कलेवा भन्थे) बाट रक्सौल पुगियो ।
रेल चढ्दा पनि पक्राउ परिएला भनेर मामाले मलाई अलि टाढा राख्नुभयो । म रेलको टिकट लिएर बसें । रेलको सिट्टी बजेपछि दौडेर आएर चढ्नु भन्नुभयो । दुई सिट्टी बजेपछि म रेल चढ्न खोज्दा झन्डै मरें । झ्यालबाट एउटा मानिसले समातेर भित्र पुर्‍यायो । भित्र गएपछि सबैले सोधे, ‘कोसँग आएको ?’ मैले मामालाई देखाइदिएँ । सबैले मामालाई गाली गरे । यसरी कलकत्ता पुगियो ।
कलकत्तामा उसबेला हिन्दी बोलेको बुझिन्नथ्यो । नेपाली त कामै लागेन । आफूलाई अंग्रेजी नआउने । बंगाली नजानी नहुने भयो । एक ठाउँमा मैले काम गर्न थालें । भाषा नभएपछि इसारामा काम गर्नुपर्थ्यो । म काम गर्ने ठाउँमा एउटा पाँच वर्षकी बंगाली फुच्ची थिइन् । मैले उनैबाट बंगाली भाषा लेख्न सिकें । बिस्तारै बोल्न जानें । भाषा सिक्दा डेढ वर्ष बित्यो । करिब पाँच वर्ष बस्दा मैले केही काम सिकें र नेपाल फर्कें । धेरै होटलमा काम गरें । विद्रोही भएकाले धेरै समय कहीँ रहिन ।
पढ्न मौका पाउनेले पढ्नुपर्छ भन्छु ।
(शब्द : राजेश कोइराला, तस्बिर : नवराज वाग्ले, २०६५ कात्तिक १ मा कान्तिपुर दैनिकको बालकोसेली कोपिलामा प्रकाशित)

Comments posted (1)

एक बहुत कुछ सीखा

Write a comment